शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कडा प्रशासक, रोमान्टिक गीतकार

भिजेकी युवतीलाई ‘लिफ्ट’ दिन नपाउँदा जन्मियो ‘मायालु तिमी कता छौ’
बुधबार, २३ भदौ २०७८, ११ : ३२
बुधबार, २३ भदौ २०७८

अध्ययनको हिसाबले पुल्चोक इन्जिनियरिङमा पढेर ओभरसियरको भूमिकासमेत निभाएका उनले राष्ट्रसेवकका रुपमा लामो समय विभिन्न जिल्लादेखि सिंहदरबारभित्रका भवनमा व्यतीत गरे । जागिरे जीवनको लामो समय उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा बिताए । धेरै जिल्लामा स्थानीय विकास अधिकारी र सीडीओ हुँदै विभिन्न मन्त्रालयको सचिव पदमा आसीन भए । हाल, निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी बहन गरिरहेका उनलाई धेरैले कडा प्रशासकका रुपमा चिन्दछन् ।

तर, उनको परिचय यतिमै सीमित छैन । हाल युवा पुस्तामाझ चर्चित भइरहेका धेरैजसो प्रेमिल गीतका रचनाकार उनै हुन् । छुराजस्तो जिब्रो, प्रष्ट स्वर, ओरालोमा सलल पानी बगेजस्तै बोली, कहिल्यै नथाक्ने गरी बोल्ने जाँगर भएका दिनेशकुमार थपलियाको दोस्रो परिचय हो – गीतकार ।

थपलियाले आफ्ना गीतलाई दुई पाटामा बाँडेका छन् । जागरण र व्यावसायिक । उनले रचना गरेका जागरण गीत लगभग १२० वटा जति भए । प्राय यी सबै रेकर्ड भइसकेका छन् । व्यावसायिक गीत उनको कम्प्युटरमा २३० वटा जति रेकर्ड छन् । तीमध्ये ८०–९० वटा रेकर्ड भइसके । यी गीतहरु प्रेमिल एवं रोमान्टिक छन् ।

रातोपाटीले प्रमुख निर्वाचन आयुक्त थपलियाको जीवनको अर्को जस्केलो उघार्ने जमर्को गर्दा केही रोचक प्रसङ्ग जान्ने मौका प्राप्त भयो ।

हो, त्यति नै बेला उनी मृत्युबारे घोत्लिन थालेको । सोचे – मृत्यु भनेको अनिवार्य हो, जीवन पो अनिश्चित हो त । मृत्युसँग डराएर भाग्दा मृत्युबाट बाचिन्नँ भन्ने उनलाई लाग्यो । यही अनुभूतिलाई सँगाल्दै उनले ‘मृत्युलाई सलाम’ नामको कविता लेखे र प्रकाशित गरे ।

त्यो दिनेश थपलिया तपाईं नै हो त ?

कुरा ०६९–७० सालतिरको हो । एउटा गीत आयो । यसको राम्रै चर्चा भयो, गीतकारमा नाम थियो– दिनेश थपलिया । तर, उनलाई आफ्नै निकटतम साथीहरुले पत्याएनन्, ‘त्यो दिनेश थपलिया तपाईं नै हो ?’ भनेर सोधे । उनले ‘म नै हुँ’ भनेपछि फेरि प्रश्न सोधियो ‘होइन, तपाईंलाई पनि यस्तो रोमान्टिक कुरा लेख्न आउँछ ?’

निकै मिल्ने साथीहरुबाटै यस्तो प्रश्न आउनुले उनको व्यक्तित्व विरोधाभाषपूर्ण छ भनेर बुझ्नुपर्छ ।

मृत्युलाई सलाम !

दिनेश थपलिया ०६० सालतिर चितवनमा स्थानीय विकास अधिकारी थिए । परिवेश भिन्न थियो । आफूलाई सुरक्षा दिनेहरु नै आफ्ना लागि असुरक्षित भएको उनलाई लाग्थ्यो ।  कहिले आक्रमण हुन्छ, एक किसिमको शंका उनको मनमा उब्जिइरहन्थ्यो  ।

हो, त्यति नै बेला उनी मृत्युबारे घोत्लिन थालेको । सोचे – मृत्यु भनेको अनिवार्य हो, जीवन पो अनिश्चित हो त । मृत्युसँग डराएर भाग्दा मृत्युबाट बाचिन्नँ भन्ने उनलाई लाग्यो । यही अनुभूतिलाई सँगाल्दै उनले ‘मृत्युलाई सलाम’ नामको कविता लेखे र प्रकाशित गरे ।

मान्छे तनावमा हुँदा गीत– कविताले निकै राहत दिने उनको ठम्याइ छ । केही सिर्जना गरेर होस् वा कसैको सिर्जना पढेर अथवा सुनेर होस्, मन हल्का बनाउन यसले निकै सघाउ पुर्याउने उनी बताउँछन् । ‘यो तनाव मुक्ति, आनन्द प्राप्तिको एउटा माध्यम हो,’ उनी भन्छन् । 

आफ्नो गीत सुनाउन आफैलाई अप्ठ्यारो !

एक दिन थपलियालाई शुभ मिडियाका सरोज वलीले ‘लभ सङ’ बनाइदिनुस् न भने । एकछिन छलफल भएपछि उनले ‘हुन्छ नि त, मैले पनि लेख्न जानुँला’ भने । उनको दिमागमा ‘लभ’ भन्ने शब्द गढेको थियो । त्यसैले गीतको पहिलो हरफमा लेखे–

‘तिमीलाई देखेपछि

आइ लभ यू, आइ लभ यू भन्न मन लाग्यो

मेरी सानू नजिक आउ न

मिठो माया गर्न मनलाग्यो ।’

थपलिया सुनाउँछन्, ‘त्यसभित्रका शब्दहरु एकदमै राम्रा छन् । तर, मलाई कस्तो गाह्रो भयो भने यो त भन्नै अफ्ठेरो । आजभन्दा १०–१२ वर्षअघि ४७–४८ वर्ष भइसकेको मान्छेले ‘तिमीलाई देखेपछि आइ लभ यू’ भनेर हिँड्न त मलाई नै गाह्रो भयो नि ! मेरो गीत मलाई नै गाउन अफ्ठेरो छ । तर, सबैभन्दा बढी चर्चित नै त्यही छ ।’

उनले साङ्गीतिक क्षेत्रको हालको स्थितिलाई सर्लक्कै बयान गर्दै यसो भने, ‘त्यहाँभित्रका अरु शब्द त्यस्ता छैनन्, क्याची बनाउन खोज्ने परम्पराका कारण त्यसपछिका लगभग धेरैजसो गीत त्यही लाइनमा गएका छन्, जस्तै कि– ‘जताजता पिरतीको बाटो, त्यतैतिर गुडाउँला पिरतीको गाडी’ ‘माछीले खाने खोलीको लेउ !’

तर, थपलिया आफू स्वयंलाई भने मार्मिक खालको गीत मनपर्छ । गीतमा उनी थोरै रोचकता र सरलता होस् भन्ने चाहन्छन् । सरर बुझियोस् भन्ने पनि उनको चाहना हुन्छ । उनलाई मनपर्ने खालका मार्मिक गीत उनीसँग लगभग ४०–५० वटा होलान् तर ती खासै रोजीमा नपर्ने पनि उनले बताए ।  

उनले पुरानो घटना स्मरण गर्दै भने, ‘त्यतिबेला हाम्रो गाडीमा बस्न दिएको भए उहाँलाई ओत लाग्ने ठाउँ हुन्थ्यो । म गाडीको पछाडि थिएँ, केही पढिरहेको थिएँ । मैले चालकलाई ‘ढोका खोलिदिनुस् त’ भनेँ । उहाँले ‘नखोलूम् सर’ भन्नुभयो । चालकलाई जबर्जस्ती गर्ने कुरा भएन ।’

भिजेकी युवतीलाई ‘लिफ्ट’ दिन नपाउँदा जन्मियो मायालु तिमी कता छौ ?

दिनेश थपलियाले लेखेको ‘मायालु तिमी कता छौ’ बोलको गीत निकै चर्चित छ । यसलाई स्मिता दाहाल र राजनराज सिवाकोटीले स्वरवद्ध गरेका हुन् । यसलाई हालसम्म २ करोड बढी पटक हेरिसकिएको छ । यो गीत लेखिनुमा एउटा रोचक प्रसङ्ग जोडिएको रचनाकार थपलियाले सुनाए ।

यो गीत उनले ०६८ सालतिर लेखेका हुन् । गाउन भने अलि पछि गाइएको हो ।

थपलिया त्यतिबेला सहसचिव थिए । वैशाख–जेठतिरको महिना, बेलुका सिंहदरबारबाट घर फर्कंदै थिए । एकाएक हावा हुरीसहितको अत्यधिक वर्षा भयो । उनी शान्तिनगर गेट अगाडितिर पुगेका मात्रै थिए, वातावरण कालो नीलो भएपछि उनले गाडी रोक्न लगाए ।  त्यति नै बेला अन्दाजी २०–२२ वर्षकी युवतीले उनको गाढी ढक्ढक्याइन् ।

उनले पुरानो घटना स्मरण गर्दै भने, ‘त्यतिबेला हाम्रो गाडीमा बस्न दिएको भए उहाँलाई ओत लाग्ने ठाउँ हुन्थ्यो । म गाडीको पछाडि थिएँ, केही पढिरहेको थिएँ । मैले चालकलाई ‘ढोका खोलिदिनुस् त’ भनेँ । उहाँले ‘नखोलूम् सर’ भन्नुभयो । चालकलाई जबर्जस्ती गर्ने कुरा भएन ।’

‘ढोका नखोलिएपछि ती महिला ओत लाग्ने ठाउँ खोज्न दौडिनुभयो । ठूल्ठूला थोप्लाका गड्याङ्गुडुङ सहितको पानी पर्यो । अनि मलाई अलि असहज लाग्यो । के हुन्थ्यो होला र ? बस्न दिएको भए, त्यस्तो केही आपत्ति त हुँदैनथ्यो नि भन्ने लाग्यो । ’

त्यसपछि थपलियाले चालकलाई सोधे, ‘किन ढोका नखोलेको ?’ उनले जवाफ दिए, ‘सरकारी गाडी, बीचमा केही भइहाल्यो भने, केही अप्ठेरो होला भनेर ढोका खोलिनँ ।’

चालकको जवाफ सुनेर नाजवाफ बनेका थपलियाले डायरीमा कलम दौडाउँदै तत्कालै लेखे

‘दरर दरर, दर्क्यो पानी दरर,

भिजेँ म त निथ्रुक्क मुटु काम्यो थरर,

ओत लाग्ने ठाउँ छैन लौन कता जाउँ ?’

घर पुगेपछि त्यही दिन उनले गीत टुङ्ग्याए । ‘मायालु तिमी कता छौ’ भनेर चाहिँ गीतमा मिठास भर्नका लागि पछि जोडिएको थियो ।  

धेरै पछि यसमा सङ्गीत भर्ने कुरा भएपछि उनले राजनराज सिवाकोटीलाई सुनाए । थपलिया रातोपाटीसँग कुरा गर्दै भन्छन्, ‘उहाँले ‘मलाई त्यही गीत चाहियो भनेपछि दिइयो । गीत हेरेपछि ‘यो त राम्रो बन्छ, तर यसमा म हुक लाइन हाल्छु’ भन्नुभयो र मायालु तिमी कता छौ, मायालु तिमी कता थ्यौ भनेर थप्नुभयो ।’

आफूले लेखेको गीतमध्ये यही गतिलो र यही राम्रो भन्ने उनलाई लाग्दैन । ‘छेकेर माया छेकिन्नँ’ भन्ने एउटा गीत मलाई अलि विशेष लाग्छ’ उनी भन्छन्, यस्तै, ‘पहिलो पल्ट भेट हुँदा लजाएकी थिएँ, त्यही बेला तिमीलाई मनमा सजाएकी थिएँ’ यो गीत पनि मनपर्छ ।

त्यति वाक्यले आफ्नो गीत थप सुन्दर बनाएको जस्तो थपलियालाई लाग्छ । उनी भन्छन्, ‘मायालु तिमी कता छौ को दोस्रो भाग पनि आइसक्यो । अब, तेस्रो पनि बनाउनुपर्यो भनेर कुरा आएको छ ।’  

थपलियाको गीत सिनेमामा प्रयोग भएको थिएन । चलचित्रमा पनि एक दुई गीत बनाउँदा राम्रै होला भन्ने उनलाई लागेको थियो । नाई न नभन्नु ल – ५ मा ‘तिम्रो आँखामा आँखा जुधाई भन्नु छ एउटा कुरा’ को भ्युज करोडभन्दा माथि पुग्यो ।

यो गीत तयार गर्न उनलाई १५–२० दिन लाग्यो । कसैले उनलाई विषय दिएर, परिवेश सम्झाएर लेखिदिनु भनेको गीत तयार पार्न समय लाग्ने उनी बताउँछन् । गीत तयार गर्नका लागि उनी कतिपय परिघटनालाई नियाल्छन् त कतिपय अनुभवलाई सङ्ग्रहित गर्छन् ।

आफूलाई मन परेको गीत

आफूले लेखेको गीतमध्ये यही गतिलो र यही राम्रो भन्ने उनलाई लाग्दैन । ‘छेकेर माया छेकिन्नँ’ भन्ने एउटा गीत मलाई अलि विशेष लाग्छ’ उनी भन्छन्, यस्तै, ‘पहिलो पल्ट भेट हुँदा लजाएकी थिएँ, त्यही बेला तिमीलाई मनमा सजाएकी थिएँ’ यो गीत पनि मनपर्छ ।

आफूले लेखेका गीत अलि सरल र भावुक होउन् र जीवनको यर्थाथतासँग  कहीँ न कहीँ जीवनसँग मेल खाओस् भन्ने गीतकार थपलियाको चाहना हुन्छ । गीत लेख्दा  गीतको लय यस्तो होस्, सङ्गीत यस्तो होस् भन्ने उनले कल्पना गरेका हुन्छन् । तर, सबै गीत उनले सोचेअनुरुप नहुने उनको अनुभव छ । उनी भन्छन्, ‘जोड घटाउ गुणा भाग’ राम्रै गएको होला । तर, सङ्गीत अलि फरक ढङ्गको भइदिएको भए राम्रो हुन्थ्यो होला भन्ने लाग्छ । तर, म सङ्गीतकार होइन ।’

गीतको रचनाबारे थपलिया अनुभव सुनाउँछन्, ‘एउटा मुडमा गीत लेखिन्छ, गायन र सङ्गीतमा आइसक्दा कहिलेकाहीँ अलि राम्रो आउनुपर्ने आएन कि भन्ने पनि लाग्छ । तर, अर्कोले पनि राम्रो गर्छु भनेरै गरेको हुन्छ । सङ्गीतकारले पनि यो बिगारौँ भनेको हुन्न । गायकले पनि ज्यान दिएर गाएको हुन्छ । भिडियो बनाउनेले पनि त्यसैगरी बनाएको हुन्छ ।’

भगवानले मलाई साहित्यकार हुन पठाएका होइनन्

हुन त दिनेश थपलिया सङ्खुवासभामा ९–१० कक्षा पढ्दा ताका नै कविता लेख्थे  । गीत भने ०५० सालपछि मात्रै लेख्न थालेका हुन् । शाखा अधिकृत भएर जागिरका क्रममा विभिन्न स्थानमा गएका बेला उनले आफूलाई फुर्सदिलो पाए  । त्यतिबेला उनले केही गीत लेखे । २०६२–६३ सम्म नेपाल सरकारको सचिव हुँदा उनले अलि बढी कविता लेखे । गीतहरु पनि राम्रै सङ्ख्यामा लेखे ।  त्यसताका उनले ३०–३५ वटा गीत लेखिसकेका थिए ।

राम्रा कवि, साहित्यकार जन्मजात नै हुन्छन् भन्ने कुरामा उनको दुई मत छैन । तर, भगवानले उनलाई साहित्यकार हुन पठाएको हो जस्तो लाग्दैन ।   यद्यपि, आफूभित्र अलिकति केही त थियो होला नि ? उनलाई कताकता त्यस्तो नलाग्ने पनि होइन । ‘केही नभए त कसरी आउँथ्यो होला ? तर, मैले यो जन्मजात नै लिएर आएको हुँ भन्ने मेरो बुझाइ छैन,’ उनी भन्छन्, ‘मिहिनेत गर्दै जाँदा, लेख्दै जाँदा, लेखेको कुरा यस्सो गीतजस्तो भइदिन्छ, कविताजस्तो भइदिन्छ, र यसैलाई मैले अघि बढाउने प्रयास गरेको हुँ ।’

उनी खासमा इन्जिनियर हुन हिँडेका, तर सम्भावना रहेन । त्यसपछि उनलाई साथी (हाल अख्तियार प्रमुख) प्रेमकुमार राईले  ‘तँ इन्जिनियर– इन्जिनियर भनेर किन कुद्छस् ? बीए पास गरिसकेको छ, हामी शाखा अधिकृत भइसकेका छौँ । सबै डकुमेन्ट छन्, प्रश्नहरु यस्तै आउने हुन् । मज्जाले टुप्पी कसेर पढ् न, अधिकृत भइहालिन्छ नि । अधिकृत हुनु र इन्जिनियर हुनु त्यही अधिकृत स्तरकै हो, यतैबाट पनि गर्न सकिन्छ ।’ भने ।

आफूले लेखेको कविता पढ्दा आफैँ चकित !

स्कुलमा हुँदा लेखेको ‘तिमी’ भन्ने कविता अहिले पढ्दा उनी दङ्गदास हुन्छन् । ‘यो मैले लेखेको हो र ?’ उनी आफैंलाई प्रश्न सोध्छन् । त्यो कविता हेरेर त्यो उमेरमा यस्तो शब्द कसरी आयो होला भनेर पनि जिल खान्छन् ‘तिमी नभए म पनि हुन्नँ, म नभए तिमी, जिन्दगीको छोटो यात्रा सँगै जाऊँ है हामी ’ त्यो जमानामा यस्तो लेख्न सकेकोमा उनी आफैंलाई अचम्म लाग्छ । उनले त्यसलाई केही मिलाएर आधुनिकतामा ढालेर गाउन दिएका छन् । ‘गीतबारे त्यतिबेला पनि अलिअलि चेत रहेछ,’ उनले अहिले बुझेका छन् ।

साहित्यतिर लगाव, प्रशासन फाँटमा कसरी ?

सुरुमा उनले  इन्जिनियरिङ विषय पढे । त्यसपछि ६ वर्ष जति ओभरसियर, प्राविधिकको रुपमा काम गरे । त्यही क्रममा स्नातक पनि पास गरे । स्नातकोत्तर पनि दिन थाले । सँगसँगै कानुन पनि पढ्न थाले । त्यसमाथि जागिर खानुपर्ने बाध्यता पनि ।

उनी खासमा इन्जिनियर हुन हिँडेका, तर सम्भावना रहेन । त्यसपछि उनलाई साथी (हाल अख्तियार प्रमुख) प्रेमकुमार राईले  ‘तँ इन्जिनियर– इन्जिनियर भनेर किन कुद्छस् ? बीए पास गरिसकेको छ, हामी शाखा अधिकृत भइसकेका छौँ । सबै डकुमेन्ट छन्, प्रश्नहरु यस्तै आउने हुन् । मज्जाले टुप्पी कसेर पढ् न, अधिकृत भइहालिन्छ नि । अधिकृत हुनु र इन्जिनियर हुनु त्यही अधिकृत स्तरकै हो, यतैबाट पनि गर्न सकिन्छ ।’ भने ।

साथीको यस्तो कुरा सुनेपछि अलमलको जाँतोले थिचेको उनको दिमागमा प्राविधिक विषय छोडेर पढ्नुपर्ने रहेछ है भन्ने चेत आयो । झट्पट लोकसेवा दिने निर्णय लिइहालेँ । लगभग डेढ वर्षको मिहिनेत पछि ०४७ सालमा शाखा अधिकृत भए । इन्जिनियर नभएकै कारण अहिले यस्तो प्रतिफल पाएको जस्तो उनलाई लाग्छ ।

पुराना गीत कालजयी आजकालका कस्मेटिक !

आजकल यस्तो आरोप धेरैले लगाउने गर्छन् । यसबारे उनी भन्छन्, ‘पुराना कालजयी गीतहरु सुनिन्थे, अहिले बडा द्वन्द्व छ, गीत सुनिन्छ कि हेरिन्छ ?’

अहिले गीतको ढाँचा अलि फरक हुँदै गएको उनलाई महसुस हुन्छ । उनी भन्छन्, ‘अहिले गीतलाई हेरिने वस्तुको रुपमा लिन थालिएको हुनाले यसमा गीतकार लगायत अरुले पनि केही न केही सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।’

हाम्रो गीतको ढाँचा परिवर्तन  हुँदै गएको अवस्थामा आफ्नो मौलिकता र गीतको गेयात्मकता र त्यसको मर्मलाई जोगाउँदै केही आधुनिकता पनि भित्र्याउनु पर्नेमा उनी जोड दिन्छन् । ‘हामीले हिजो सुन्दै आएका नारायण गोपाल, स्वर सम्राटले गाएका गीतलाई कतै न कतै सम्मान गर्दै अलिकति नयाँ ट्रेन्ड, नयाँ पुस्ताले खोज्ने कुरामा पनि जोड दिनुपर्छ ।’

यसलाई उनी कठिन मान्छन् । तर, यसरी नै जानुपर्ने उनको मान्यता छ ।  

‘पहिला कसले लेखेको गीत भन्ने चलन थियो, अहिले गीत कसले लेखेको हो, त्यसबारे कसैलाई मतलब छैन । यो पनि फेरिएको छ । मैले लेखेका गीतहरुको भिडियो बनेका छन्, त्यसमा मेरो नाम निकै भित्र गएर खोज्नुपर्छ,’ उनले वास्तविकता ओकले । गीतपछि अरु क्रियाकलाप सुरु हुने भएकाले, गीतकार अलि ओझेलमा नै परेका हुन् कि जस्तो उनलाई लाग्छ ।

आफू सूचना तथा सञ्चार मन्त्रालयको सचिव हुँदा सबै निकायलाई थपलियाले एउटा परिपत्र  गरेका थिए, जसमा लेखिएको थियो – रेडियो, टेलिभिजनबाट गीतहरु बजाउँदा तीनवटा कुरा कृपया भनिदिनुहोला । गीतकार को हो भनिदिनुहोस् । सङ्गीतकार को हो भनिदिनुस् । अनि गायक को हो भनिदिनुहोस् ।

आफू हुँदा अलिअलि ती कुरा कार्यान्वयनमा आएको, तर अहिले आफूले लेखेको गीत रेडियो टीभीमा बजेको सुन्दा कसले लेख्यो भनेर कसैले पनि भनेको उनी सुन्दैनन् ।

कविता र गीत थपलियाका लागि सुख व्यक्त गर्ने, दुःख बिसाउने माध्यम हो । तनावलाई बिर्सने र मित्रता–सद्भाव बढाउने माध्यमको रुपमा उनी यसलाई हेर्छन् । अस्वस्थ भएका बेलामा पनि गीत कवितामा उनी बसे भने स्वस्थ महसुस गर्छन् । गीत पनि आनन्दित हुने असल माध्यम हो । यसबाट चर्चित हुने, कमाउने उनको कुनै चाहना छैन ।

गीतसङ्गीतका सातवटा सूत्र

गीतकार थपलिया गीत सङ्गीतका सातवटा सूत्र अनुभव गर्छन् । उनी भन्छन्–

पहिलो– गीतकार हुन् । गीतकार शब्दहरुको अस्थिपञ्जर हो ।

दोस्रो– सङ्गीतकार, जसले अस्थिपञ्जरमा मासु भर्ने काम गर्छन् । त्यसपछि चित्र बन्छ ।

तेस्रो–  गायक हुन्, जसले चित्रलाई बोल्ने बनाइदिन्छन् ।

चौथो– भिजुअल गर्ने, जसमा कलाकारहरु हुन्छन् । उनीहरुले आकर्षक बनाउने, नृत्य आदि गर्छन् । कसरी भिडियो निर्देशन गर्ने आदि हुन्छ ।

पाँचौँ– व्याख्या गरिदिने, लेखिदिने वा समीक्षा गरिदिने हुन्छन् ।

छैटौँ–  गीत बजाउने र देखाउने । जस्तै– रेडियो, टिभी, युट्युब, टिकटक आदि ।

र, सातौँ–  यसलाई ग्रहण गर्ने स्रोता, दर्शक ।

यी सातवटै सूत्रको संयोजन मिलाउने काम निकै कठिन भएको थपलिया मान्छन् ।

हामी सबै पूर्व, स्रष्टा र सिर्जना अभूतपूर्व !

साहित्य क्षेत्रलाई थपलिया जीवन्त क्षेत्र मान्छन् । ‘सिर्जना कहिल्यै मर्दैन,’ उनी भन्छन् ।  

आफूले एकपटक पोखरामा बोलेको कुरा स्मरण गर्दै उनले भने, ‘मलाई अस्तिसम्म मन्त्रालयको सहसचिव भनेर चिन्नुहुन्थ्यो । अहिले क्षेत्रीय प्रसाशक भएर आएँ । भोलि यहाँबाट गइसकेपछि भूतपूर्व क्षेत्रीय प्रशासक भन्नुहुन्छ । त्यसपछि म सचिव होऔँला, पूर्वसचिव भन्नुहुन्छ । हुँदाहुँदै यी सबै पूर्व हुन्छन् । तर, कसैले पूर्वमहाकवि लक्ष्मीप्रसाद देवकोटा, पूर्वस्वरसम्राट नारायण गोपाल भनेको सुनेको छैन । त्यसकारण हामी सबै पूर्व हुने रहेछौँ, स्रस्टा र सिर्जना गर्ने मानिस अभूतपूर्व हुने रहेछ ।’

उनी आफूलाई सिद्धहस्त लेखक, गीतकार मान्दैनन् । उनी भन्छन्, ‘रुचि छ, रुचि जगाएको छु । म जति सक्छु, त्यति गर्छु भन्ने छ । गर्व र घमण्ड पनि छैन । लेख्नै सकिनँ भन्ने हीनताबोध पनि छैन । प्रयास गरिरहेको छु ।’

गीत र कविता सुख–दुःख बिसाउने माध्यम

कविता र गीत थपलियाका लागि सुख व्यक्त गर्ने, दुःख बिसाउने माध्यम हो । तनावलाई बिर्सने र मित्रता–सद्भाव बढाउने माध्यमको रुपमा उनी यसलाई हेर्छन् । अस्वस्थ भएका बेलामा पनि गीत कवितामा उनी बसे भने स्वस्थ महसुस गर्छन् । गीत पनि आनन्दित हुने असल माध्यम हो । यसबाट चर्चित हुने, कमाउने उनको कुनै चाहना छैन ।

थपलियालाई पहिला कविता लेख्न सजिलो लाग्थ्यो । ०४८–४९ सालदेखि दुवैलाई एकसाथ लगे । गीतमा थोरै शब्दमा धेरै बोल्न सकिने । थोरै लेखेर धेरै अर्थ्याउन मिल्ने ।

अन्त्यमा,

गीतकार थपलियाले आफ्नो यो साङ्गीतिक यात्रामा आफूलाई साथ दिनेलाई सबैलाई धन्यवाद दिए । उनले आफ्नो डायरीमा राखिराखेका गीतहरुलाई सङ्गीत र गायनको माध्यमबाट ल्याइदिने सरोज वली, सङ्गीतकर्मी वसन्त सापकोटा, राजन राज सिवाकोटी, गाइदिने वरिष्ठ गायक गायिकाहरु, प्रचार प्रसार गरिदिने समस्त जन र रुचाइदिनेहरुप्रति आफ्नो ‘चित्तको भित्री पत्र’ देखि कृतज्ञता व्यक्त गरे ।

 


 

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप