बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँको मुखमा पनि रोजगारीका लागि भारत जानेको लर्को

बिहीबार, ०७ असोज २०७८, १६ : २०
बिहीबार, ०७ असोज २०७८


 

हिन्दुहरूको महान् चाड विजया दशमी नजिकिएको छ । रोजगारीका लागि गाउँघर छाडेर देश–विदेशका पुगेकाहरू दसैँ मनाउनका लागि घर फर्कने गर्दछन् । तर सुदूरपश्चिममा दसैँको मुखमै पनि रोजगारीका लागि भारत जाने नेपालीको लर्को लागेको छ ।

कैलालीको त्रिनगर नाकास्थित हेल्प डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार भदौ ३० गते मात्र २८५ जना नेपाली त्रिनगर भन्सार नाका हुँदै भारत गएका छन् । यस्तै भदौ ३१ गते २२७ जना, असोज १ गते २२५ जना, २ गते १८६ जना, ३ गते ३२९ जना, ४ गते २१४ जना, ५ गते २३३ जना र ६ गते २५६ जना भारततर्फ गएका छन् ।

कोरोनाको तेस्रो लहर आउने चेतावनी विज्ञहरूले दिइरहेको समयमा सो नाका हुँदै दैनिक औसत २२५ भन्दा बढी नेपाली रोजगारीका लागि भारत गइरहेको पाइएको हो । अन्य समयमा यसरी कामको खोजीमा भारत जानेहरूको सङ्ख्या स्वाभाविक लागे पनि मुख्य चाडबाड भित्रिसकेको अवस्थामा भने यति ठुलो सङ्ख्यामा दैनिक नेपाली नागरिक भारततिर जानुले देशमा बेरोजगारीको अवस्था कुन हदसम्म पुगेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

कामको खोजीमा भारत जानु बाध्यता

हेल्प डेस्क इन्चार्ज ठकुल्लाका अनुसार गरिबीका कारण जीविकोपार्जनै समस्या भएपछि सुदूरपश्चिमका मानिस कामको खोजीमा भारत जाने गरेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१ का नवीन भट्टराई परिवार पाल्नकै लागि आफू भारत जानु परेको बताउँछन् । ‘६ जनाको परिवार छ, यहाँ काम छैन, भारत नगएर के गर्नु ?’ १० वर्षदेखि भारतको बैंग्लोर रोजगारी गर्दै आएका उनले भने, ‘त्यहाँ मासिक १० हजार भारु कमाउँछु, त्यही पैसाले परिवारको गुजारा चलाउँछु ।’

कोरोना कारण एक वर्षअघि नेपाल आएका उनले गाउँघरमै केही गरौँ भनेर प्रयास गरे पनि सफल हुन नसकेको रातोपाटीलाई बताए । ‘भैँसी पालनका लागि प्रदेश सरकारले अनुदान दिने रहेछ, भैँसी पालेर गुजारा गर्छु भनेर प्रयास पनि गरेँ,’ उनले भने, ‘तर अनुदान रकम हामीजस्ताका लागि होइन रहेछ, मन्त्री, नेताहरूकै नजिक हुनेले मात्र पाउने रहेछन् ।’

दसैँको मुखमा भारततिर जानुपर्ने बाध्यता प्रस्ट्याउँदै उनले भने, ‘दसैँ आएर के गर्नु ?  परिवार पाल्नु छ, छोराछोरीलाई पढाउनु पर्छ । खर्च जुटाउन सके पो चाडबाडको रमाइलो हुन्छ ।’

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का रंगलाल एसकेको एक खुट्टा कम चल्छ । तै पनि भारतमा गएर रोजगारी गर्दै उनले ४ जनाको परिवारको जीविका चलाउँदै आएका छन् ।

कोरोना महामारीका बीच उनी नेपाल आएको ६ महिना भयो । स्वदेशमा अपाङ्गता सम्बन्धी प्रमाणपत्रसमेत प्राप्त गर्न नसकेको बताउने उनले रोजगारीका कुनै सम्भावना नभएपछि दसैँको मुखमै भारत जानुपरेको सुनाए ।

घोडाघोडी नगरपालिकाका कविराज भण्डारी पनि कामको खोजीका लागि भारततर्फ प्रस्थान गरे । भारतको बैंग्लोर १० वर्षदेखि काम गर्दै आएका उनी कोरोना महामारीका कारण नेपाल आएर करिब डेढ वर्ष बसे । मासिक १२ हजार भारु कमाइ गर्दै आएका उनले नेपाल बसुन्जेल सो आम्दानीको बाटो गुमाए । ४ जनाको परिवार पाल्न कठिन भएपछि दसैँको मुखमै आफू भारत जानु परेको उनले सुनाए ।

भारतबाट आउनेको सङ्ख्या पनि बढ्दो

दसैँ नजिकिएसँगै भारतबाट रोजगारी गरी घर फर्कने नेपालीको सङ्ख्या पनि बढ्न थालेको छ । त्रिनगर भन्सार नाका हुँदै घर फर्कने नेपालीको सङ्ख्या उल्लेख्य छ ।

हेल्प डेस्क इन्चार्ज ठकुल्लाका अनुसार सो नाकाबाट भदौ ३० गते ४७२ पुरुष, १९३ महिला र ८१ बालबालिका नेपाल आएका छन् । यस्तै, ३१ गते ७१२ जना, असोज १ गते ६८८ जना, २ गते ५२३ जना, ३ गते ४११ जना, ४ गते ४९८ जना, ५ मा ४६७ जना र ६ गते ३६० जना नेपाल फर्केको उनले जानकारी दिए ।

दसैँ मनाउन घर फर्किनेमध्येकै एक हुन् कैलालीको गोदावरी नगरपालिका–११ का वीरबहादुर साउद । उनी भारतको बैंग्लोर एक कम्पनीमा काम गर्छन् । मासिक १२ हजार भारु कमाउँदै आएका उनले सोही रकमबाट ७ जनाको परिवार पाल्नु पर्छ ।

१० वर्षदेखि आफू भारतमै रोजगारी गर्दै आएको उनी सुनाउँछन् । कोरोनाको पहिलो लहरमा करिब ६ महिना जति घरमै बसेका उनी त्यसपछि पुनः कामका लागि बेंग्लोर गएको बताउँछन् । दसैँ मनाउनका लागि अहिले आफू नेपाल फर्किएको उनको भनाइ छ ।

घोडाघोडी नगरपालिका–११, पहलमानपुर निवासी लोकेन्द्र साउद पनि ११ वर्षदेखि भारतको बेंग्लोरमा काम गर्दै आएका छन् । मासिक १० हजार भारु कमाउनका लागि आफू गाउँघर छाडेर भारत जानु परेको उनले सुनाए । ‘यहाँ त्यति कमाउन मुस्किल छ, हामीसँग व्यापार व्यवसाय गर्न पूँजी पनि छैन,’ उनले भने, ‘यहाँ हामीजस्ता सामान्य मानिसले त्यति पैसा कमाउन पनि सक्दैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप