आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लेटाङ घटना : कहाँ चुक्यो प्रहरी, जसका कारण गुमायो एक सहयात्री ?

सोमबार, ०७ चैत २०७८, २० : ४१
सोमबार, ०७ चैत २०७८

आइतबार मोरङको लेटाङमा स्थानीयवासीको आक्रमणमा परी एक प्रहरी जवानकै मृत्यु भयो । जनताको शान्ति सुरक्षाका लागि प्रहरी सेवामा खटिएकी एक प्रहरी जवानमाथि स्थानीयवासीले नै आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी जनार्दन जिसीका अनुसार उग्र स्थानीयको एक समूहले आरोपितलाई पक्राउ गरी प्रहरीले लगिसकेपछि आक्रमण गरेर एक प्रहरीको हत्या गरेको हो । उक्त घटना कसरी भयो र आफ्नै सहयात्रीलाई गुमाउनु पर्ने अवस्थामा प्रहरी कसरी पुग्यो र कहाँ चुक्यो भन्ने विषयमा एसपी जनार्दन जिसीसँग कुराकानी गरेका छौँ । एसपी जनार्दन जिसीसँग घटनाका सम्बन्धमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

आइतबार लेटाङको शिक्षा सेवा माविका शिक्षक मनोज पौडेलले एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो । आरोप लागेपछि प्रहरीलाई पनि खबर आयो र स्थानीय लेटाङ इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली आरोपित शिक्षकलाई पक्राउ गर्न भनी गएको थियो ।

प्रहरीको काम भनेको सुरुमा आरोपितलाई पक्राउ गरी घटनाको सम्बन्धमा अनुसन्धान गर्नु नै थियो । तर आरोपितलाई पक्राउ गर्न गएको प्रहरीमाथि बिहानै आक्रमण भयो । आरोपित शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी उनलाई विद्यालयबाट बाहिर निकाल्नै नसक्ने अवस्थामा पुग्यो । यौन दुर्व्यवहारका आरोपित शिक्षकलाई पक्राउ गर्न गएको प्रहरीमाथि नै पटकपटक आक्रमण भएको थियो । स्थानीय युवाको समूहले यौन दुर्व्यवहारका आरोपित शिक्षकलाई आफूहरुले नै कारवाही गर्न पाउनुपर्ने भन्दै आन्दोलन र नाराबाजी गरिरहेका थिए । इलाका प्रहरीको टोलीलाई उक्त स्थान नियन्त्रणमा लिन र आरोपित शिक्षकलाई पक्राउ गर्न अप्ठ्यारो परेपछि उसले थप फोर्स मगायो ।

इलाका प्रहरी कार्यालयले थप फोर्स मगाएपछि हामीले जिल्ला र प्रदेश १ सशस्त्र प्रहरी गण (दंगा नियन्त्रण) बाट ५० जनाको फोर्स पनि मगायौँ । विद्यालय प्राङ्गणमा करिब ५ सयको हाराहारीमा स्थानीय, विद्यार्थी र अभिभावक उपस्थित भएका थिए ।

मोरङकै लेटाङ र सुन्दरहरैंचामा यसअघि दुईवटा बलात्कार हत्याका घटना भएका थिए, जसकारण स्थानीयहरु यौन दुर्व्यवहारको विषयमा ज्यादै आक्रोशित भएका थिए । आरोपित शिक्षकलाई विद्यालय प्राङ्गणमै ‘सवक सिकाउने’ भन्दै स्थानीय स्तरका युवाको उग्र समूह ज्यादै आक्रोशित बनिरहेका थिए ।

ती युवाको समूहलाई सम्झाउन हामीले पटकपटक प्रयत्न ग¥यौँ । आरोप पुष्टी भए कारवाही कानून र अदालतले गर्नेछ भनेर हामीले उनीहरुलाई बुझाउन खोज्यौँ । त्यसैका लागि स्थानीय भद्र भलाद्मी र जनप्रतिनिधिलाई पनि आग्रह ग¥यौँ । उनीहरुले पनि उक्त समूहलाई सम्झाउन खोजेकै थियो, तर उक्त भिड सम्झने अवस्थामा थिएन ।

हामीले आरोपित शिक्षकलाई प्रहरी चौकी लगेपछि भिड शान्त होला कि भनेर शिक्षकलाई दिउँसै प्रहरी कार्यालय लैजाने प्रयास पनि ग¥यौँ । तर आक्रोशित भिडले शिक्षकलाई पक्राउ गरी लैजान लागेको नभई आरोपितलाई बचाउन लागेको आरोप लगाइरहे । हामीले सम्झाउन खोजे पनि हाम्रो कुरा सुन्नै खोजेनन् । दिनभरको प्रयासपश्चात साँझ ७ बजेतिर मानिसहरु बिस्तारै आ–आफ्नो घरतिर लागे । हामीले धेरैलाई सम्झायौँ र आरोपितलाई लगेर अनुसन्धान गरी दोषी देखिए कारवाही गर्ने आश्वासन पनि दियौँ । अन्तिम समयमा स्थानीय युवाहरुको समूह पनि सहमत भएको जस्तो देखिए ।

एसपी जिसी

त्यसपछि त्यहाँ रहेको विद्यालयको एउटा गेटमा रहेका मानिसहरुलाई हटाएर हामीले आरोपित शिक्षकलाई प्रहरीकै भ्यानमा राखेर इलाका प्रहरी कार्यालयमा ल्यायौँ । त्यतिबेला करिब ८ बजेको होला ।

आरोपित शिक्षकलाई ल्याएपछि त्यहाँ रहेका प्रहरीहरु पनि बिस्तारै बिस्तारै आ–आफ्ना कार्यालयतिर जाने क्रम चलिरहेको थियो । यद्यपि स्थानीयको आरोप प्रहरीले लगेपछि शिक्षकलाई उन्मुक्ति दिन्छ भन्ने थियो र शिक्षकलाई कडा कारवाहीको माग उनीहरुले गरिरहेका थिए । जसकारण प्रहरीमाथि सामान्य ढुङ्गामुढा भइरहेकै थियो ।

राति करिब ९ बजेतिर भिड बिस्तारै हट्दै गएपछि प्रहरी पनि आ–आफ्नो कार्यालयमा फर्किने क्रम जारी थियो । त्यही क्रममा हाम्रो प्रहरी जवान उर्मिला श्रेष्ठ लगायतको टोली पनि फर्किँदै थियो । फर्कने क्रममा विद्यालय नजिकै झाडीमा लुकेर बसेको उग्र युवाहरुको समूहले एक्कासी ढुङ्गामुढा गर्न थाले । ढुङ्गा प्रहारबाट प्रहरी जवान उर्मिला श्रेष्ठ घाइते बनिन् र त्यहीँ ढलिन् । सोही क्रममा युवाहरुको समूह आएर प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गर्न थाले । घरेलु हतियार आदि लिएर आएका युवाको समूहले प्रहरी जवान उर्मिला लगायतका अन्य प्रहरीमाथि आक्रमण गरे । सोही क्रममा मृतक प्रहरी जवानमाथि धारिलो हतियारले घाँटीमा प्रहार गरिएजस्तो देखिन्छ, जसको कारण उनको मृत्यु भयो ।

जनताको शान्ति सुरक्षाका लागि खटिएका प्रहरीमाथि आक्रमण गरी ज्यान नै लिनुपर्ने कारण केही थिएन । तर दुःखको कुरा, जसको सुरक्षाका लागि प्रहरी खटिएका थिए, उनीहरुबाटै प्रहरी मारिए ।

​घटनाको मुख्य कारण र कारक भनेको यसअघिका दुईवटा घटना नै हुन् । यसअघि भएका दुईवटा बलात्कार र हत्याका घटनाले स्थानीय त्रसित र आक्रोशित थिए, यही क्रममा शिक्षकले नै यौन दुर्व्यवहार गरिएको कुरा बाहिर आएपछि भिड अनियन्त्रित बनेको थियो । आरोपित शिक्षकलाई त्यहीँ आक्रमण गर्ने योजनामा केही युवा थिए, जसलाई रोक्नु र अप्रिय घटना हुन नदिनु प्रहरीको कर्तव्य थियो । किनभने आरोप पुष्टी भएमा सजाय दिने अदालत हो, भिडले निर्णय गर्न हुँदैनथ्यो । तर दुईवटा बलात्कार र हत्याले स्थानीय आक्रोशितचाहिँ थिए ।

त्यही बुझेर नै हामीले लेटाङमा करिब १ सय ५० जना सुरक्षाकर्मी तैनाथ गरेका थियौँ । त्यसको नेतृत्व म आफैले गरेको थिएँ । दिनैभर प्रहरीमाथि आक्रमण भइरहेको थियो, यद्यपि प्रहरी ज्यादै संयमित भएकै थियो । भिड हटाउनै धेरै मुस्किल भएपछि हामीले राति ८ बजेतिर आरोपितलाई उद्धार गरी प्रहरी कार्यालयमा ल्याएका थियौँ । त्यसपछि घटना भयो, जतिबेला म पनि ईलाका प्रहरी कार्यालयमा आइसकेको थिएँ ।

के लागूऔषध दुर्व्यसनीले गरेका थिए प्रहरीमाथि आक्रमण ?

त्यहाँ यसअघिका दुई घटनाबाट आक्रोशित स्थानीयको समूहसँगै लागूऔषध प्रयोग गर्ने युवाहरुको समूह पनि धेरै छ । ग्रामीण भूभाग भएकाले प्रहरीको उपस्थिति पनि सधैँ हुन सक्ने कुरा भएन । तर उक्त क्षेत्रमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या धेरै रहेको र प्रहरीले बेलाबेलामा उनीहरुमाथि एक्सन लिएको पनि रहेछ । त्यही कारणले पनि प्रहरीप्रति त्यसक्षेत्रका युवा आक्रोशित भएको हुनसक्ने सम्भावना छ । लागूऔषध नियन्त्रण र कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ र कारवाहीको कारण पनि प्रहरीप्रति त्यस्ता युवाहरुको धारणा नकारात्मक भएको पाएका छौँ । प्रहरीमाथि नै आक्रमण गर्नुको कारण त्यो पनि हुन सक्छ ।

सुकुमबासी बस्तीका युवाहरु पनि थिए आक्रोशित

आन्दोलनका क्रममा त्यसक्षेत्रमा रहेका सुकुमबासी बस्तीका युवा बढी आक्रोशित देखिएका थिए । अधिकांश युवाको शैक्षिक स्तर कमजोर रहेको र बेरोजगार पनि रहेका कारण कैयन् युवा कुलत वा अपराधमा पनि संलग्न रहेको बिगतका घटनाले देखाएका छन् । प्रहरीले पक्राउ र धरपकड गरेको कारण त्यस्ता युवा पनि प्रहरीप्रति नकारात्मक भएको हुनसक्ने हामीले अनुमान गरेका छौँ । त्यही कारणले युवाहरुले प्रहरीलाई नै निसाना बनाएको पो हो कि भन्ने सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ ।

राजनीतिक कारणबारे पनि खोजी जारी

आइतबार प्रहरीमाथि नै आक्रमण हुनुको अर्को कारण राजनीतिक कारण पनि हो कि भनेर अनुसन्धान गरिरहेका छौँ । चुनावको मिति घोषणा भइसकेका कारण चुनावमा आफू अनुकुलको नतिजा निकाल्न पनि यसप्रकारको अपराध हुनसक्छ भन्ने कोणबाट पनि हामीले अनुसन्धान गरिरहेका छौँ ।

अर्को कुरा, आरोपित शिक्षकको राजनीतिक आस्था रहेको राजनीतिक दल र आक्रोशित अधिकांश भिडले आस्था राख्ने राजनीतिक दल पनि फरक हुनसक्छ, त्यही कारण राजनीतिक दाउपेचका कारण पनि भिड उग्र बनेको हुनसक्छ । यीबारे पनि हामी खोजी गर्दैछौँ ।

प्रहरी चुकेको बचाउन नसक्नुमा मात्रै हो

तपाइँले प्रहरी कहाँ चुक्यो भनेर भन्नुभयो भने प्रहरी अन्त कतै चुकेको छैन । प्रहरीको अनुमान भनेको भिडले आरोपितलाई आक्रमण गर्न सक्छ भन्नेमात्रै थियो । भिडले प्रहरीमाथि नै आक्रमण गरेर ज्यान नै लेला भन्ने लागेको थिएन, त्यही अनुमानमा हामी चुकेका हौँ । नत्र प्रहरी दिनभर संयम भएकै हो । प्रहरीमाथि नै आक्रमण भएर मृत्यु हुँदासमेत प्रहरी संयम नै रहेको छ । यदि प्रहरी चुक्ने र संयमता गुमाउने हो भने अर्को दुर्घटना पनि हुन सक्थ्यो । त्यसकारण भिडबाट हुनसक्ने आक्रमणबारे सचेत हुन नसक्नुबाहेक प्रहरी अन्यत्र कहीँ चुकेको छैन । अपराधी र आपराधिक समूहको योजनाबारे प्रहरी जानकार थिएन, त्यही नै प्रहरीको कमजोरी भयो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप