आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मृतक उर्मिलाको परिवार नै प्रहरी सेवामा

गत वैशाखमा मात्रै भएको थियो उर्मिलाको विवाह
सोमबार, ०७ चैत २०७८, १३ : ०५
सोमबार, ०७ चैत २०७८

आइतबार मोरङ जिल्लाको लेटाङ नगरपालिकामा आक्रोशित स्थानीयको आक्रमणमा परी मृत्युवरण गरेकी प्रहरी जवान उर्मिला श्रेष्ठको परिवार नै प्रहरी सेवामा रहेको पाइएको छ । उनी तीन वर्ष अघिमात्रै प्रहरी सेवामा भर्ना भएकी थिइन् । 

मोरङको लेटाङमा आइतबार बिहानैदेखि बिग्रिएको माहोल शान्त पार्न उर्मिलासहितको प्रहरी टोली दिउँसो विराटनगरबाट त्यसतर्फ गएको थियो । स्थानीयको नाराबाजी र आन्दोलनलाई शान्त पार्न दिनभर खटिएका उर्मिलासहितको टोली साँझ कार्यालयमा फर्कने क्रममा भने आक्रोशित स्थानीयको निसानामा परे । आरोपित शिक्षकलाई प्रहरीले पक्राउ गरी लैजाने क्रममा ‘भीडबाट सजाय’ दिन चाहेको आक्रोशित स्थानीयले प्रहरीमाथि नै आक्रमण गर्दा उर्मिला घाइते बनिन् र उपचारको क्रममा उनको निधन भयो । 

२६ वर्षीय उर्मिलाले २०७६ साउन १ गते प्रहरीको जवान पदमा सेवा प्रवेश गरेकी थिइन् । उनको दरबन्दी प्रदेश नम्बर १ सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा थियो । लेटाङको माहोल बिग्रिएपछि शान्त पार्न भन्दै रानीबाट ५० जनाको थप फोर्स लेटाङमा पठाइएको थियो, जसमा उर्मिला पनि समावेश थिइन् । लेटाङको इलाका प्रहरी कार्यालयको टोलीलाई थप फोर्स आवश्यक परेको कारण उनीहरु त्यहाँ पुगेका थिए । 

२०५२ कात्तिक १४ गते खोटाङको बराहापोखरी गाउँपालिका–४ मा उर्मिलाको जन्म भएको थियो । तीन सन्तानमध्ये उर्मिला एक्ली छोरी हुन् । उर्मिलाको एक दाजु र एक भाइ छन् । उर्मिलाले उदयपुरको त्रियुगा जनता क्याम्पसबाट स्नातक पूरा गरेपछि प्रहरी सेवामा भर्ना भएकी थिइन् ।  

परिवार नै प्रहरी सेवामा
उर्मिलाको परिवारका अधिकांश सदस्य प्रहरी सेवामा रहेको पाइएको छ । गत वैशाख १९ गते मात्रै विवाह गरेकी उर्मिलाका श्रीमान पनि प्रहरी सेवामै कार्यरत छन् । उर्मिलाका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै कार्यरत हुन् र उनको दरवन्दी प्रहरी जवान पदमा इलाममा रहेको छ । कुमारको घर उदयपुर नै हो । उर्मिलाको दाजु भुवन श्रेष्ठ पनि प्रहरी सेवामै कार्यरत छन् । उनी प्रहरी सहायक निरीक्षक (असई) हुन् । 

लेटाङ नगरपालिका ५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा अध्यापनरत यौन दुर्व्यवहारका आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र शिक्षकलाई आक्रमण गर्न खोज्ने स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो । साँझ करिब ७ बजेको समयमा स्थानीयहरु घर फर्किएको र शिक्षकलाई पक्राउ गरी लैजान सकिने भन्दै प्रहरीले शिक्षकलाई विद्यालयबाट निकालेर इलाका प्रहरी कार्यालय लेटाङमा लैजान खोजेको थियो ।

जब प्रहरीले शिक्षक पौडेललाई पक्राउ गरी लैजाँदै थियो, त्यही समयमा वरिपरीको झाडीमा घरेलु हतियारसहित लुकेर बसेका स्थानीयले शिक्षकमाथि आक्रमणको प्रयास गरेका थिए । शिक्षकलाई बचाउने क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठमाथि नै भीडले आक्रमण गरेको थियो, सोही क्रममा घाइते बनेकी उर्मिलाको उपचारको क्रममा मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप