बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन बैठक : मन्त्रीको विषयमा प्रश्न, काँग्रेसले खोज्यो सुदूरमा सत्ता

भारत भ्रमणका क्रममा देउवा चुके चुनावमा धक्का !
बिहीबार, १७ चैत २०७८, १८ : ०१
बिहीबार, १७ चैत २०७८

पाँच दलीय सत्ता गठबन्धनबीच लामो समयपछि बिहीबार छलफल भएको छ । स्थानीय तह निर्वाचनमा तालमेल र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलबीच तीन घण्टा छलफल भएको हो । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी  र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मुख्यत पाँच विषयमा छलफल भएको नेताहरुले बताएका छन् । 

स्थानीय चुनावमा तालमेल
सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमत भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेल गरेर जाने निष्कर्ष निकालेको हो ।
यसका लागि प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि तालमेलबारे थप निर्णय हुने उनको भनाइ छ । गठबन्धनले तीन तहको संयन्त्र बनाएर चैत २२ गतेसम्म केन्द्रमा रिपोर्ट पेस गर्न भनेको छ । 

काँग्रेसले खोज्यो सुदूर प्रदेशमा सत्ता
बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको छ ।  यसबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल टर्कीबाट फर्किएपछि विस्तृतमा छलफल हुने बताइएको छ । सत्तासीन दल माओवादी केन्द्र र एकीकृत समाजवादी काँग्रेसलाई सरकारमा सहभागी गराउन सहमत भएपनि मन्त्रालयगत भागबण्डामा कुरा मिलेको छैन ।

सत्ताको नेतृत्व माओवादीले गरेपनि काँग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले मन्त्री फिर्ता बेलाउनु पर्ने अवस्था छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् ।
अब सुदूरपश्चिमा एकीकृत समाजवादीलाई ४, माओवादी र काँग्रेसलाई २–२ वटा मन्त्रालय राखेर जान सकिने काँग्रेसको प्रस्ताव छ । यस्तै माओवादी र काँग्रेसले १–१ राज्यमन्त्री मिलाएर जाऊ भनेर प्रस्ताव राखेको काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले बताए । सरकारमा सहभागी गराए मात्र सुदूरपश्चिममा गठबन्धन गर्ने काँग्रेसको अडान छ ।

गृह–अर्थ प्रशासनमाथि गठबन्धनमा उठ्यो प्रश्न 
सत्ता गठबन्धनमा गृह र अर्थ प्रशासनमाथि प्रश्न उठेको छ । गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले अर्थ प्रशासनबारे प्रश्न उठाएका थिए । उनले मूलतः अर्थमन्त्रीको विषयमा प्रश्न उठाएको एक नेताको भनाइ छ ।  पौडेलले बैठकको सुरुमा अर्थतन्त्रको चिन्ताजनक अवस्थाबारे सल्लाह गर्नुपर्ने अवस्था आएको भन्दै विषय प्रवेश गरे । नेता पौडेलको भनाइमा काँग्रेस महामन्त्री गगन थापा पनि सहमत भएका थिए ।

उनले प्रधानमन्त्री फर्किसकेपछि अर्थतन्त्रबारे छलफलको आवश्यकता औँल्याए । तर माओवादीका नेता नारायणकाजी श्रेष्ठले संयुक्त सरकारको आभास नभएको भन्दै गृह प्रशासन र मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।
‘संयुक्त सरकारको आभास नै भएन । गृह प्रशासन एकलौटी चल्यो । गृहमन्त्रालयले हामीलाई संयुक्त सरकारको आभास दिनुपर्छ,’ श्रेष्ठले भनाइ उदृत गर्दै सहभागी एक नेताले भने, ‘यसमा प्रधानमन्त्रीले सोच्नुपर्ने मैले देखेको छु ।’
माओवादीहरुलाई गृह प्रशासन अनुभूति नभएजस्तै काँग्रेसलाई अर्थ प्रशासन अनुभूति नभएको थापाले जवाफ फर्काएका थिए । थापाले केन्द्रीय सरकारमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

नियुक्तिमा क्वालिटी हेरौं : गगन थापा
गठबन्धनको बैठकमा राजदूत नियुक्तिका विषयमा लामो छलफल भएको थियो । २० वटा देशमा राजदूत पद नियुक्त गर्ने विषयमा गठबन्धनमा भागबण्डा मिल्न सकेको छैन । मुख्यतः राजनीतिक रुपमा नियुक्त हुने राजदूतका विषयमा भागबण्डा मिलेको छैन ।

प्रधानमन्त्री देउवाले काँग्रेसको कोटामा भारत, अमेरिका र बेलायतमा राजदूत बनाइसकेका छन् । चीनको राजदूतमा माओवादी र एकीकृत समाजवादीको दाबी छ । बाँकी देशमा पनि काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच भागबण्डा मिलेको छैन ।  

आजको बैठकमा काँग्रेस महामन्त्री थापाले भागबण्डा भन्दा पनि योग्य व्यक्तिलाई नियुक्त गर्ने विषयमा गठबन्धन गम्भीर हुनुपर्ने बताएका थिए । ‘नियुक्तिहरुमा हाम्रोबीचमा कुन दलले के पाउने भन्नेबारे मात्र छलफल हुन्छ । तर आम नागरिकले नियुक्ति होइन नियुक्तिको क्वालिटी हेर्छ,’ उनले भने ।

यसअघि गठबन्धनको सरकार चलाउँदाको गल्ती सम्झेर निर्णय र नियुक्त गर्ने थापाको आग्रह छ । ‘केही दिनमा हामी राजदूत, प्रहरी प्रमुख लगायतका विषयमा नियुक्त गर्दैछौं । यसमा हामी चुक्यौँ भने सिंगो गठबन्धनमाथि प्रश्न आउछ । सरकारमाथि प्रश्न उठ्छ,’ उनले भने, ‘दलहरूको बीचमा तालमेल मिलाउनु राम्रो हो । तर नागरिकले गठबन्धनको बीचमा भागबण्डा मिल्यो कि मिलेन भन्ने हेर्दैन ।’
प्रधानमन्त्री देउवाले यी सबै विषयमा भारतबाट फर्किएपछि छलफल गरिने बचन दिए ।

देउवालाई सुझाव
गठबन्धनमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा पनि छलफल भएको छ । शुक्रबार हुने दुई दिने भारत भ्रमणको क्रममा सामान्य कुरामा पनि नचुक्न नेताहरुले प्रधानमन्त्री देउवालाई सचेत गराएका थिए । काँग्रेस महामन्त्री थापाले यतिखेरको भ्रमणमा सामान्य चुक्दा पनि निर्वाचनमा ठूलो मुद्दा बन्ने खतरा रहेको बताए ।

‘निर्वाचनको मुद्दा बनाइ दिने दल बाहिर छ । भारत भ्रमणबाट हामीले केही उपलब्धि लिने कुरासँग सँगै प्रधानमन्त्रीले स–सना कुरामा पनि ध्यान दिनुपर्छ,’  देउवालाई महामन्त्री थापाले भने, ‘हामी सानो कुरामा चुक्यौँ भने ठूलो मुद्दा बनाइदिन्छ । हल्ला गर्ने कम्पनी बाहिर छ ।’

यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सीमा समस्याबारे ठोस कुरा गर्ने प्रधानमन्त्री देउवालाई सुझाएका थिए । ‘लामो समयदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादमा छ । यसबारे ठोस कुरा अगाडि बढोस् । नेपाल र भारतबीच देखिएको समस्या समाधान गर्ने कुरामा जोड दिनुहोला,’ उनको भनाइ थियो । बैठकमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सीमाको विषयलाई कुटनीतिक तवरले समाधान निकाल्न प्रधानमन्त्रीलाई सुझाव दिएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप