मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण होटलबाट उठाएको चन्दा फिर्ता गर्ने डेडलाइन आज सकिँदै

विवाद झनै चुलिँदै, फिर्ता भएन पैसा
बुधबार, ३० चैत २०७८, १४ : ३८
बुधबार, ३० चैत २०७८

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा अन्नपूर्ण होटलको चन्दा उठाएको पैसा पार्टीलाई बुझाउने डेडलान आज सकिदैछ । पार्टी सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’ र तत्कालीन मुस्ताङ जिल्लाका सेक्रेटरी भीमप्रसाद चापागाईले होटलबाट चन्दा असुलेर आर्थिक अनियमितता गरेको आरोप लागेपछि महासचिव विप्लवले आर्थिक अनियमितता गरेको भन्दै चैत मसान्तभित्र पार्टीलाई बुझाउन केन्द्रीय सर्कुलर मार्फत निर्देशन दिएका थिए । तर चैत महिना सकिँदासम्म आर्थिक अनियमितताको विषयमा कुनै छिनोफानो भएको छैन। उल्टै दुई पक्ष आरोप प्रत्यारोपमा उत्रेका छन् ।

यसअघि चैतमा बसेको केन्द्रीय समितिमा बैठकमा आर्थिक अनियमितताको विषय उठेपछि ओलीले केदार खतिवडालाई ५० लाख दिएको जवाफ दिएर प्रष्टीकरण दिएका थिए। अरू पार्टीको नाममा आर्थिक अनियमितता भए छानबिन गर्नुपर्ने माग राखेका थिए। आर्थिक अनियमितता गरेको भन्दै छानबिन गरी कारबाही हुनुपर्ने पार्टीका विप्लव र प्रवक्ता प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्षको माग छ ।  तर, हेमन्तप्रकाश ओली र धमेन्द्र बास्तोला पक्षका नेताहरूले पार्टीमा कसैले आर्थिक अनियमितता नगरेको भन्दै अनावश्यक विषयमा अल्झन नहुने जिकिर गरेका छन् ।

सचिवालय सदस्य ओलीले वैचारिक रूपमा प्रतिवाद गर्न नसकेपछि प्राविधिक विषय उठाएर आरोपित गरिएको टिप्पणी गरे।  ‘मैले बैठकमै मेरो केही दोष देखिन्छ भने छानबिन गरियोस् भनेको छु । अरू मलाई केही छैन। मलाई निराधार आरोप लगाइयो भनेर दिनुपर्ने स्पष्टीकरण दिइसकेको छु,’ केही दिन रातोपाटीसँगको अन्तर्वार्तामा ओलीले भनेका थिए, ‘मैले तत्कालीन माओवादीको बालाजु बैठकपछि मेरो सम्पत्ति प्रचण्डलाई बुझाएको छु । सर्वहाराकरण गर्ने गरी प्रस्ताव ल्याएँ । साँच्चै होला भनेर बुझाएँ । अरूले बुझाएनन् । अहिले मेरो नाममा केही छैन । यही डेरा हो ।’ पार्टीले दिएको आर्थिक सहयोगमा आफू चल्ने गरेको ओलीले प्रष्टीकरण दिए।

त्यस्तै पार्टीका कुनै पनि नेताहरूले आर्थिक अनियमितता नगरेकाले के को आर्थिक छानबिन भन्दै सचिवालय सदस्य धमेन्द्र बास्तोलाले प्रश्न गरेका छन् ।  ‘पार्टीमा आर्थिक अनियमितताको विषय आएको छ। बेकार कुरा हो। कसले देख्यो अनियमितता भएको ?’ रातोपाटीसँग कुरा गर्दै बास्तोलाले भने, ‘बेकारको हल्ला हो । केही होइन। पार्टीका केही नेताहरूले काम गर्दा केही पैसा उठाएको हुन सक्छ। अरू केही छैन।’  पार्टीमा वैचारिक रूपमा प्रतिवाद गर्न नसकेपछि आर्थिक अनियमितताको विषय उठाएर बदनाम गरिएको बास्तोलाले जिकिर गरे।

आर्थिक अनियमितता भएकै छ कारबाही हुनुपर्छ: पुन

 उता, पार्टी केन्द्रीय सदस्य ओमप्रकाश पुनले पार्टीमा आर्थिक अनियमितता भएको भन्दै छानबिन हुनुपर्ने बताए। पार्टीको नाममा आर्थिक अनियमितता गर्ने जुनसुकै नेतालाई पनि कारबाही हुनुपर्ने बताए। ‘भीम चापागाईले आर्थिक अनियमितता गरेकाले छानबिन हुनुपर्ने विषय केन्द्रीय समितिमा छलफल भयो। उहाँको विषयमा धेरै ठाउँमा कहीँ डिल गरेको कतै पैसा लिएको कुरा औपचारिक रूपमा बैठकमा आयो’  पुनले भने,‘ उहाँ(भीम चापागाई) कुन विचारको हो ? कुन नेतासँग नजिक हुनुहुन्छ थाहा छैन? मुस्ताङको डिसिएस हुनुहुन्थ्यो छानबिन गर्ने भनिएको छ।’ 

यस्तै अन्नपूर्ण होटलको चन्दा उठाएको पैसा अनियमितता भएकोले त्यसमा समेत पार्टीले छानबिन गरेर कारबाही गर्ने पुनले बताए। यस्तै हेमन्तप्रकाश ओलीले केदार खतिवडालाई ५० लाख रुपैयाँ राख्न दिएको भनेकाले त्यो पैसा समेत उठाउने निर्णय भएको पुनले बताए।

चन्दा सङ्कलनमा वानडोर प्रणाली 

पार्टीको आर्थिक विभाग प्रमुखमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा आफै छन्। उनले आर्थिक डिल गरेर चन्दा लिने गर्छन्। अरू उनले परिचालन गरेका नेताहरूले बजारबाट चन्दा लिने गर्छन्। यसरी एकपछि अर्को गर्दै नेताहरूले मनोमानी ढंगले चन्दा असुल्न थालेपछि विप्लवले कडाइ गरेका छन् । आर्थिक परिचालनमा गम्भीर समस्या देखिएपछि आर्थिक विभागबाट मात्रै चन्दा लिने निर्णय गराएको छ । यसमा सचिवालय सदस्य र केन्द्रीय सदस्यले आर्थिक सङ्कलनमा सहभागी नभई समन्वय कर्ताको मात्रै भूमिका निर्वाह गर्ने भएका छन्। 

यस्तै सबै केन्द्रीय सदस्यलाई आफ्नो सबै सम्पत्ति केन्द्रीय कार्यालयलाई बुझाउन निर्देशन दिएको छ। पार्टीलाई आर्थिक रूपमा पारदर्शी बनाउन विप्लवले केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका हुन्। यद्यपि धेरै केन्द्रीय सदस्यले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप