सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा नयाँ मतदाता नै निर्णायक

आइतबार, १८ वैशाख २०७९, १३ : २४
आइतबार, १८ वैशाख २०७९

पोखरा महानगरपालिकामा चुनावी रौनक बढेको छ । उम्मेदवारहरु दैनिकजसो घरदैलो र चुनावी कार्यक्रममा व्यस्त देखिन्छन् । महानगरको प्रमुख÷उपप्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । तर निर्वाचनको नतिजा कसको पक्षमा आउँछ भनेर आकलन गर्न सक्ने अवस्था भने छैन ।

पाँच दलीय गठबन्धन र नेकपा एमाले मुख्य प्रतिस्पर्धी रहेको पोखरा महानगरपालिकामा ‘अटेरी अभियान’का उम्मेदवारको चर्चा पनि निकै छ । अघिल्लो निर्वाचनको तुलनामा करिब ४० हजार मतदाता थपिएको पोखरा महानगरपालिकामा नेकपा एमाले फुटको असरले पनि निर्वाचन परिणामलाई एक हदसम्म निर्धारण गर्ने देखिन्छ ।

पोखरा महानगरपालिकाको प्रमुखमा पाँच दलीय गठबन्धनले नेकपा एकीकृत समाजबादीका धनराज आचार्य र उपप्रमुखमा काँग्रेसकी कोपिला रानाभाटलाई अगाडि सारेको छ । नेकपा एमालेले भने करिब २४ वर्ष अगाडि मेयर बनिसकेका कृष्ण थापालाई महानगर प्रमुखमा र बहालवाला उपप्रमुख मञ्जुदेवी गुरुङलाई फेरि उपप्रमुखमा उम्मेदवार बनाएको छ ।

पोखरा महानगरपालिकाको ३३ वटै वडाको मतादाता नामावली अनुसार यो पाँच वर्षको अवधिमा ३९ हजार ६ सय ३८ मतदाता थपिएका छ् । २०७४ को स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मतदाता संख्या १ लाख ६८ हजार ६७ रहेकोमा २ लाख ७ हजार ७०५ जना मतदाता छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित मानबहादुर जीसीले ६० हजार ११८ मत प्राप्त गरेका थिए भने दोस्रो धेरै मत ल्याउने नेपाली काँग्रेसका रामजी कुँवरले ४३ हजार ४१६ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा माओवादी केन्द्रले नेपाली काँग्रेसलाई सहयोग गरेको थियो । यस्तै, संघीय समाजवादी फोरमले ३ हजार १७० मत र राष्ट्रिय जनमोर्चाले २०६ मत ल्याएको थियो ।

एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले एमालेको कति मत काट्छ भन्ने प्रस्ट छैन । नेकपा एकीकृत समाजवादीका नेताहरु एमालेले पाएको करिब दश हजार मत आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् । गठबन्धनका कारण जनता समाजवादी पार्टीको पोखरा महानगरमा रहेको ३ हजार मत पनि गठबन्धनको उम्मेदवारलाई नै जाने देखिन्छ ।

यो अवस्थामा सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्यसैले थपिएका मतदाता नै पोखरा महानगरपालिकाको निर्वाचनमा कसलाई जिताउने भन्नेबारे निर्णायक बन्ने देखिन्छ ।

अघिल्लो निर्वाचनमा स्वतन्त्र उठेका उम्मेदवारको खासै प्रभाव नभए पनि यो पटक ‘अटेरी समूह’का तर्फबाट मेयरका उम्मेदवार बनेका गनेस पौडेले कसको मत काट्छन भन्ने कुराले पनि हारजित निर्क्यौल हुने देखिन्छ ।

काँग्रेसले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका उम्मेदवारलाई गठबन्धनले कसरी व्यवस्थापन गर्छ भन्ने कुराले पनि नतिजामा प्रभाव पार्ने देखिन्छ भने नेकपा एमालेका तर्फबाट उम्मेदवारीको क्रममा देखिएको विवादले मतमा असर गर्छ कि गर्दैन भन्ने कुराले पनि ठुलो अर्थ राख्ने देखिन्छ ।

एमालेका तर्फबाट थापाले मेयरको टिकट पाउनुअघि एमालेका तर्फबाट दिपक पौडेललाई टिकट दिने निर्णय गरेको थियो । पौडेलको उम्मेदवारी चयनसँगै एमालेमा पौडेल इतरका कार्यकर्ताहरुले नै पौडेललाई रोक्नका लागि सुनकाण्ड बाहिर ल्याएको चर्चा एमालेभित्र चलिरहेको छ । त्यो घटनाले एमालेलाई कति असर पार्छ भन्ने पनि अहिले प्रस्ट भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप