सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कथा : आइ एम सरी

शनिबार, २१ जेठ २०७९, ०९ : ०९
शनिबार, २१ जेठ २०७९

अफिसको काम सकिँदा सकिँदै ढिलो भयो । कहिलेकाहीँ त आफ्नो साधन नहुनु पनि अभिशाप जस्तै हुँदो रहेछ । यसो लिफ्ट दिने मान्छे पनि कोही भेटिदैन । फेरि ६ बजिसक्दा पनि घर पुगिन भने आमाको मनमा अनगिन्ती कुरा खेल्न थाल्छ । आमाको मन न हो ! के के कुरा खेल्दो हो । 

२० मिनेट पर्खेपछि बल्ल बस आइ पुग्यो, त्यो पनि यात्रुहरूको उस्तै भीड । बल्लतल्ल भित्र पसेपछि मुस्किलले एउटा महिला सिट खाली देखेँ । हो, यस्तै बेलामा हो, मलाई महिला हुनुमा गर्व महसुस हुने । लखतरान परेको ज्यानलाई बिसाउन पाएर केही राहत महसुस गरेँ । बसले दुई स्टप मात्र पार गरेको थियो । थापाथलीबाट गठ्ठाघर पुग्न पनि दुई घन्टै जस्तो लाग्ने भयो । एक त काठमाडौँको जाम त्यसमाथि खाली सिट छ कि छैन पर्वाह नगरी घण्टौँ रोकेर भए पनि यात्रु चढाउन तम्तयार हुन्छन् चालक र सहचालक । अनि यात्रुहरू नचढुन् पनि कसरी ? उनीहरूलाई पनि त तोकिएको समयमा गन्तव्य स्थानमा पुग्न हतार हुन्छ । 

म बसेको सिट नजिकै सिउँदोभरी सिन्दूर लगाएकी एउटी अन्दाजी १६÷१७ वर्षकी महिला आइपुगिन् । झट्ट हेर्दा पनि निकै राम्री देखिन्थिन् उनी । तर पनि यस्तो लाग्थ्यो कि उनी मनभरि पीडा बोकेर हिँडेकी छिन् । उनले बोकेको ब्याग अचानक भुईँमा खस्यो । उनले निकै सकसका साथ निहुरेर त्यो ब्याग उठाइन् ।  उनी उठिसकेपछि मात्रै मेरो आँखा अचानक उनको पेटमा गयो । गर्भवती रहिछिन् बिचरी ! मैले आफूलाई उभिने मन नहुँदा नहुँदै पनि उनको लागि सिट छोडिदिएँ । 

“बहिनी, तपाईं बस्नुस् ।” सुरुमा बस्न असहज माने पनि एकछिनपछि उनी बसिन् । 

मैले उनलाई सोधेँ, “ तपाईं कति वर्ष पुग्नु भयो ?” उनले एकछिनसम्म मलाई हेरेपछि भनिन्, “गएको वैशाख २० गते १८ वर्ष लागेँ ।” 

मैले फेरि उनलाई प्रश्न गरेँ, “अनि किन यति छिटो विवाह त ?” 

उनी मौन रहिन् । मलाई गलत प्रश्न सोधेकोमा पछुतो पनि लाग्यो । दुई थोपा आँसु सुटुक्क पुछ्दै उनले भनिन्, “छिटो विवाह गर्ने रहर त मेरो पनि कहाँ थियो र ? तर सन्तान धेरै भएपछि बुवाआमालाई पनि बोझ हुने रहेछ । म घरकी जेठी छोरी । गाउँमा यसै पनि धित मरुञ्जेल माइतीमा कहाँ बस्न पाइन्छ र ? बहिनीहरूको पनि विवाह गर्नुपर्छ भनेर मेरो विवाह छिट्टै गरिदिए । उहाँहरूले नै खोज्नुभएको केटासँग दुई वर्षअघि मेरो विवाह भयो । 

यति भनिसकेपछि उनले बसको झ्यालबाट बाहिर टाउको निकालिन् । बसमै सुरु भएको संवादमा ‘तपाईं’ बाट सुरु भएको सम्बोधन ‘तिमी’ मा पुग्यो । म ओर्लिने बेला हुन लागेको थियो । मैले उनलाई सोधेँ, “तिमी कहाँ ओर्लिन्छौ ?” 

“कौशलटार” उनले छोटो जवाफ दिइन् । सायद मदेखि उसलाई झिँजो लाग्न थालेको थियो होला । 

म ओर्लिने तरखर गर्दागर्दै उनले भनिन्, “दिदी तपाईं घर जानुअघि के हामी कतै बसेर गफ गर्न सक्छौँ ?’

साँझको सात बज्नै लागिसकेको थियो । मैले उनलाई मेरै घरमा हिँड्न अनुरोध गरेँ तर उनले मानिनन् । भोलिपल्ट सार्वजनिक बिदा पनि परेकाले मैले उनलाई भोलिपल्ट नै भेट्ने वाचाको साथमा उनको मोबाइल नम्बर लिएर बिदा मागेँ । तर बसबाट ओर्लिएपछि पनि मेरो मन त्यही बसमा बसेकी महिलाको पछि पछि गयो । 

भोलिपल्ट नारी दिवसको दिन मैले उनलाई फोन गरेँ अनि उनैले दिएको लोकेसनमा पर्खेर बसेँ । निकैबेर पर्खेपछि उनी आइन् । अनुहारमा उही नैराश्यता । ६ महिनाको प्रेग्नेन्ट । उनलाई देख्नेबित्तिकै मैले कुर्सी तानेर उनको अगाडि राखिदिएँ । “भन के खान्छौ ?” 

उनले मतिर हेर्दै भनिन्, “दिदी म आज खान हैन, बर्षौदेखि मनमा रहेका कुण्ठा पोख्न आएकी छु ।” उनको कुरा सुनेर खुसी लाग्यो, मलाई यति छिटो विश्वास गरेकोमा । 

उनले आँखाबाट बग्न तम्तयार रहेको आँसुलाई बल्ल बल्ल रोक्दै भन्न थालिन्, “म भर्खर स्कुलको पढाई सकेर बसेकी थिएँ । हाम्रो एकजना काका पर्नेले मेरो लागि विवाहको कुरा ल्याउनुभयो । पढ्न मन त मलाई कम्तिमा स्नातकसम्म थियो । तर बुवाआमाको मनसाय म बुझ्थेँ । त्यसैले मैले चुपचाप उहाँहरूको निर्णयमा सहमति जनाउन बाध्य भएँ ।’

उनी धाराप्रवाहले भन्दै गइन्, ‘म जम्मा १६ वर्षकी, मभन्दा १० वर्ष जेठो केटासँग मेरो विवाह भयो । सुरु सुरुमा सबै ठिक थियो । सासू, ससुरा र देवर मात्र भएको सानो परिवार थियो । तर, मलाई सधैँ एक्लो महसुस हुन्थ्यो, त्यो घरमा । श्रीमान्को त के कुरा ? राती नौ बजेभन्दा अगाडि उनी घरमा कहिल्यै आएनन् । म गाउँमा हुर्केकी केटीलाई सहरको धनाढ्यसँग बुवाआमाले विवाह गरेर दिनुभयो । सायद मेरो खुसी हेरेरै त्यसो गर्नुभएको होला । तर उहाँहरुलाई के थाहा, म यो महलमा भन्दा आफ्नै गाउँको झुपडीमा कैयौँ गुना खुसी थिएँ भन्ने कुरा ।” 

उनको कुरा बिचमा काट्दै मैले सोधेँ, “के तिमी अहिले आफ्नो श्रीमानसँग खुसी छैनौ ?” 

उनले जवाफ दिइन्, “अहँ, न अहिले, न त पहिला म कहिल्यै खुसी हुन सकेँ त्यो घरमा ।” 

मैले सोधेँ, “त्यसको कारण के हो त ?” उनले जवाफ दिनुभन्दा अगाडि वेटरले दुई कप कफी ल्याएर हाम्रो टेबलमा राखिदियो । 

कफीको घुट्को तान्दै उनले फेरि वेदना पोख्न सुरु गरिन्, “कारण धेरै छ दिदी । जुन घरमा श्रीमतीलाई श्रीमतीको दर्जा दिइदैन, त्यो ठाउँमा म कसरी खुसी हुन सक्छु र ?” 

मैले सोधेँ, “अनि घरको अरू सदस्यले कस्तो व्यवहार गर्नुहुन्छ नि तिमीलाई ?’

हातमा भएको कप टेबलमा राख्दै उनले भनिन्, “जोसँग अग्निलाई साक्षी राखेर कसम खाएर विवाह गरेँ, उसले त मेरो वास्ता गरेन भने अरूले किन वास्ता गरुन् ?” 

उनको कुरा सुनेर मेरो मनमा चिसो पस्यो । कति निर्दयी हुन्छन् कोही पुरुषहरू । बिचरीको उमेर नै कति भएको छ र ? हाँस्ने खेल्ने उमेरमा यो सब सहेर बसेकी छे । 

“दिदी कता हराउनुभएको ?” उनको प्रश्नले म झस्किएँ । 

उनको कहानी सुन्दा र हाउभाउ हेर्दा लाग्थ्यो कि उनी डिप्रेसनमा छिन् । मनमा फेरि प्रश्न उब्जियो । मैले बिना कुनै हिच्किचाहट उनलाई सोधेँ, “अनि पेटमा बच्चा...?” 

उनले भनिन्, “यो हाम्रो सहमतिमै हो । मलाई लाग्यो कि बच्चा भएपछि उहाँको बानीमा परिवर्तन आउने छ । तर अहँ ! केही परिवर्तन आएन । बरु कुट्ने भइदिएको भए मेरो चोट सबैले देखेर पीडा बुझ्थे होलान् । हात त उहाँले कहिल्यै उठाउनु भएन । तर उहाँको मौनताले मलाई सकस हुन्छ दिदी ।” बोल्दा बोल्दै उनी टेबलमा हातले हिर्काएर डाँको छोडेर रुन थालिन् । 

मलाइ के गरौँ, कसो गरौँ भयो । वातावरण सहज बनाउन उनलाई वासरुम लिएर गएँ । दिल खोलेर रुन आग्रह गरेँ । उनले आफ्नो सारा पीडा आँसुमा बगाइन् । एउटा मनोसामाजिक परामर्शदाता भएको नाताले मैले उनलाई सहयोग गर्न जरुरी ठानेँ । 

ओहो ! भेटेर यत्रो समय गफ गर्दा पनि मैले उनको नाम नै सोध्न बिर्सेछु । न त उनले नै मेरो नाम सोधिन् । “साँच्चै तिम्रो नाम के हो ?” मेरो प्रश्न सुनेर एकछिन अगाडिसम्म रोइरहेकी उनी खित्का छोडेर हाँसिन् । उनले भनिन्, “हामीले त एकअर्काको नाम समेत सोधेका रहेनछौँ अहिलेसम्म ।” 

मैले नै आफ्नो हात अगाडि बढाएँ अनि भनेँ, “म सपना ।” उनले पनि हातमा हात मिलाउँदै भनिन्, “म पूर्णिमा ।” 

मैले भनेँ, “आहा ! कति राम्रो नाम ।” 

उनले निराश हुँदै भनिन्, “नाम पूर्णिमा भएर मात्र के गर्नु, जीवन औँसीको कालो रात जस्तो अन्धकार छ मेरो ।” 

मैले उनलाई सम्झाउँदै भनेँ, “हिम्मत राख, सबै ठिक हुन्छ । सबैभन्दा पहिला तिमीले आफूले आफैलाई माया गर्न सिक्नुपर्छ । म मनोसामाजिक परामर्शदाता पनि हुँ । तिमी मेरो अफिस आऊ, म त्यही तिमीलाई परामर्श दिउँला । मेरो एकजना सिनियर सर पनि हुनुहुन्छ । उहाँले पनि तिमीलाई परामर्श दिनुहुन्छ । त्यसले तिमीलाई केही सहयोग हुन सक्छ । उनले हुन्छ भनिन् र हामी त्यहाँबाट छुट्टियौँ । मेरो मानसपटलमा उनको मुहार झलझली नाचिरह्यो । 

केही समयपछि मैले फेरि पूर्णिमालाई भेट्ने विचार गरेर त्यही क्याफेमा साँझ पाँच बजेतिर बोलाएँ । हाम्रो सम्बन्ध आत्मीय भइसकेको थियो । उनी पनि मलाई आफ्नै दिदी जस्तो मान्न थालेकी थिइन् । त्यस दिन क्याफेमा केही बेर कुरा गरिसकेपछि मैले उनलाई उनको श्रीमान्को बारेमा सोधेंं । उनले मोबाइलमा श्रीमान्को फोटो देखाइन् । 

त्यो फोटो देखेर मलाई ठूलो भूकम्प गएको जस्तो महसुस भयो । उनले देखाएको फोटो मेरै अफिसको हाकिमको थियो, जोसँग म केही वर्षदेखि प्रेममा थिएँ । अनि मलाई यो पनि थाहा थिएन कि उनको यति राम्री श्रीमती छिन् भनेर । मैले आफैँले आफैँलाई धिक्कारेँ । उनको अगाडि केही बोल्न सकिनँ । कसरी भनूँ म पूर्णिमालाई कि उनको खुसीको हत्यारा मै हो भनेर । कसरी भनूँ पूर्णिमालाई कि उसको जीवन औँसीको कालो रात जस्तो अन्धकार बनाइदिने मैँ हो भनेर । 

त्यस रात मैले निकैबेर आफ्नो मुहार ऐना अगाडि उभिएर हेरेँ । मलाई आफ्नै मुहार देखेर आफैंप्रति घृणा जाग्यो । मोबाइल उठाएँ अनि पूर्णिमालाई एउटा म्यासेज गरेँ, “आइ एम सो सरी, मलाई माफ गरिदेऊ पूर्णिमा । तिम्रो सारा समस्याको जड मंै हुँ । म अब यो बोझ बोकेर धेरै जिउन चाहन्न ।” 

त्यसपछि मैले चक्कुले आफैँलाई प्रहार गरेँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप