सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बलात्कारको सिकार हुनेमा बालिका र अपाङ्ग महिला धेरै

बुधबार, २५ जेठ २०७९, ०८ : १७
बुधबार, २५ जेठ २०७९

१७ जेठको दिउँसो मामाघरमा सात वर्षीया बालिका खेलिरहेकी थिइन् । आफ्नै उमेरका बालबालिकासँग खेलिरहेकी बालिका एक्कासी हराइन् । अबोध बालिका एक्कासी हराएपछि गाउँघरमा खैलाबैला मच्चियो । खेल्ने ठाउँबाट केही घण्टा हराएकी बालिका जब बलात्कृत भएको थाहा भयो, तब उनका बाबुआमा मर्माहत बने ।

पीडित बालिकाको बयान र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले ६० वर्षीय एक पुरुषलाई पक्राउ गर्यो । 

१६ जेठको बिहान छ वर्षीया बालिका आफ्नै घर अगाडि खेलिरहेकी थिइन् । खेल्दा खेल्दै उनी हराइन् । हराएकी उनलाई सहगोत्रभित्रका दाइ पर्ने दुई दाजुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी परेको छ ।

जाहेरीका आधारमा प्रहरीले आरोपी दुवैलाई पक्राउ परेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेर प्रहरीले बलात्कार (जबर्जस्ती करणी)सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । 

महोत्तरीमा गत हप्ता घटेका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । बलात्कारका घटनाहरू महोत्तरीमा दिन–प्रतिदिन बढिरहेको तथ्याङ्कले देखाएको छ । बलात्कार घटनाको सिकार हुनेमध्ये धेरै बालिका र अपाङ्गता भएकी महिला छन् ।

जिल्ला प्रहरी उपरीक्षक (एसपी) प्रकाश विष्टका अनुसार महोत्तरीमा २०७८ सालमा बलात्कार घटनाका १९ वटा उजुरी परेका छन् ।

उजुरीका आधारमा अधिकांश घटनाको अनुसन्धान प्रहरीले गरिसकेको छ । अनुसन्धान गरेर बुझाएको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।  तर, दायर मुद्दाहरूको टुङ्गो अदालतबाट हुन बाँकी छ । 

एसपी विष्टले १९ वटा बलात्कारका घटनामा संलग्नमध्ये पक्राउ परेर धेरै पुर्पक्षका लागि थुनामा रहँदा केही भने फरार नै छन् । कतिपय भने अझै फरार छन् । रोचक त के छ भने बलात्कार जस्तो गम्भीर प्रकृतिका आपराधिक घटनामासमेत पीडित पक्षलाई दबाब दिएर जनप्रतिनिधिहरूकै रोहबरमा कतिपय घटना मिलाइएका छन्। 

जबकि, बलात्कार मिलापत्र गर्न नमिल्ने घटना हो । यद्यपि, कानुनलाई चुनौती दिँदै केही जनप्रतिनिधि नै संलग्न भएर बलात्कारका घटनामा मिलापत्र गरेको घटना जिल्लामा बेलाबेला हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप