हात्तीसारका माउतेको पीडा: स्थायी हुने प्रक्रिया रोकियो, १५ वर्षसम्म करारमा काम
बाराको पर्सा राष्ट्रिय निकुञ्ज अमलेखगञ्जस्थित हात्तीसारमा कार्यरत सर्लाही, हरिपुर नगरपालिका–९ का अजयकुमार चौधरीको दैनिकी हात्तीसँगै जंगलमा बित्छ । बिहान ४ बजे हात्तीको लेडी (दिसा) सफा गर्ने, दाना हाल्ने, ९ बजेपछि खाना खाएर दिनभर हात्तीलाई जंगलमा चराउने चौधरीको दिनचर्या नै हो ।
साँझ फर्केपछि पर्यटकलाई जंगल घुमाउने, जंगलमा चोरी तस्करी घटना भए मध्यरातमा हात्तीसँगै गस्तीसमेत जानुपर्छ । जंगली हात्ती र अन्य वन्यजन्तुको आक्रमणबाट ज्यान जोगाउन पनि उत्तिकै मुस्किल छ । धेरै पटक भागाभाग समेत गर्नुपरेको उनले सुनाए ।
१६ वर्षको उमेरदेखि पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज हात्तीसारमा कार्यरत चौधरीले जीवनको ऊर्जावान् डेढ दशक समय जंगल र हात्तीसँगै बिताएका छन् । ‘जंगलमा काम गर्दागर्दै हाम्रो उमेर पनि बितिरहेको छ, त्यो हिसाबले सरकारले हामीलाई केही सुविधा दिएको छैन, भएको सबै सुविधा कटौती गरेको छ,’ माउते चौधरीले भने, ‘यो जागिरमा धेरै दुःख छ, दिनभर जंगलमै बिताउनुपर्छ, कहिलेकाहीँ जंगली हात्तीले लखेट्छ, जंगली हात्तीले लखेट्दा हात्तीलाई छोड्न मिल्दैन, आफ्नो हात्तीलाई सँगसँगै लिएर भागिएन भने जे पनि हुन सक्छ ।’

अमलेखगञ्ज हात्तीसारमा अहिले चौधरीजस्तै १८ जना माउते करारमा कार्यरत छन् । २०६८ सालपछि हात्तीसारमा करारमा कार्यरत माउतेहरूलाई सरकारले न त अहिलेसम्म स्थायी गरेको छ, न सेवा सुविधा नै बढाएको छ ।
देशैभरि रहेका निकुञ्ज र आरक्षका माउतेहरूको अवस्था पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत माउतेहरूको जस्तै छ । मासिक झण्डै १७ हजार तलबमात्रै पाउने माउतेहरू आफ्नो जवानी र बुढेसकाल दुवै निकै जोखिम र कष्टका बीच बित्ने गरेको बताउँछन् ।
माउतेहरूलाई सरकारले दिँदै आएको सेवा सुविधा कटौती गरेर श्रेणीविहीन बनाएपछि देशभरकै माउतेहरू उमेर ढल्केपछि खाली हात घर फर्कन बाध्य छन् । ‘हाम्रो जवानी त हात्तीसँगै जंगलमा बित्छ, घरजाने बेलामा केही पाउँदैनौँ, बुढो शरीर र खाली हात घर फर्कनुपर्छ,’ माउते चौधरीले भने, ‘बाहिरको मान्छेलाई हेर्छु, उनीहरू मजाले घुम्ने, मनोरञ्जन गर्ने गर्छन्, हामीलाई छुट्टी पनि मिल्दैन, साह्रै कठिन छ । तलब पनि कम छ, दुःख बढी छ ।’
विगतमा माउतेमा जागिर खाएकाहरू पदोन्नति भएर पछुवा, पुनित, राउत र दरोगा हुँदै सुब्बासम्म पुग्थे । तर २०७२ सालदेखि माउते पदलाई सरकारले श्रेणीविहीन बनाएर २०६८ साल यता स्थायी हुने प्रक्रियासमेत रोकेको छ ।

३५ वर्ष नाघेपछि स्थायी हुन नपाउने अवस्थाका बीच पदोन्नति प्रभावित हुँदा डेढ दशकदेखि हात्तीसारमा कार्यरत माउतेहरू जागिर अवधि सकेर घर जाने बेला निराश भएर रित्तो हात फर्किन बाध्य छन् । ‘करारको मान्छे जबसम्म उमेर छ, तबसम्म गर्ने हो, उमेर गएपछि स्थायीमा भर्न मिल्दैन,’ पर्सा राष्ट्रिय निकुञ्ज, अमलेखगञ्ज हात्तीसारका अर्का माउते ललित चौधरीले भने ।
पर्सा निकुञ्जको हात्तीसारमा एकदेखि १५ वर्षसम्म करारमा काम गरिरहेका १८ जना श्रेणीविहीन कर्मचारी छन् ।
निकुञ्जमा हुने चोरी तस्करी घटनामा मध्यरातमा गस्तीमा खट्ने, बेला बेलामा हुने बाघ, गैंडा, गौरीगाई लगायतका दुर्लभ वन्यजन्तु गणनामा पनि माउतेहरूको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । हात्तीसारमा कार्यरत बारा करैयामाई गाउँपालिका घर भएका सुब्बा जलेन्द्र प्रसाद चौधरी हात्तीको सरसफाई गर्ने, चरिचरन गराउने मुख्य काम माउतेकै भएको बताउँछन् । माउतेले बिहान ४ बजे उठेर घाँस काट्नेदेखि गस्ती जाँदा कतिखेर गैंडाले लखेट्छ, हात्ती भेटिन्छ निश्चित नहुने उनले बताए । ‘यो पेशामा धेरै जोखिम छ, माउतेहरू भोलिका दिनमा बढुवा हुन्छु, स्थायी हुन्छु भन्ने लोभले हात्तीसारमा जागिर खाएका थिए, तर आज सरकारले बढुवा हटाएपछि करारका माउतेहरू कतिखेर रिसाउँछन् र करार छाडेर फरार हुन्छन् भन्ने ठेगान छैन,’ उनले भने ।

सरकारले हात्तीसारमा काम गर्ने कर्मचारीहरूको पद खारेज गरेर करारमा खटाएपछि को सिनियर, को जुनियर भन्ने पद नै नभएकाले काममा खटाउन समेत समस्या भएको सुब्बा चौधरीले जनाए । चौधरीले २०४८ सालदेखि हात्तीसँगै जंगल जीवन बिताइरहेका छन् । ‘उमेर पनि गइरहेको छ, करार सेवामै चितवन र बर्दिया हात्तीसारमा काम गर्नेहरूको त १८/२० वर्ष पुगिसकेको छ । कति बाघले खाएर, रुखबाट लडेर अपाङ्ग भएर बसेका पनि छन्,’ चौधरीले भने ।
अन्तिम पटक स्थायीका लागि २०६८ सालमा लोकसेवा खुलेको थियो भने त्यसपछि कार्यरत कर्मचारीहरू ११ वर्षदेखि एउटै पदमा काम गर्न बाध्य छन् ।

३५ वर्षदेखि हात्तीको आहारा १५ किलो धान
कुनै बेला हात्तीको प्रयोग राणा र राजपरिवारको सवारीमा र जंगलमा सिकार खेल्नका लागिमात्रै हुन्थ्यो । अहिले जंगलमा हुने चोरी तस्करी नियन्त्रण, पर्यटक घुमाउन, बाघ, गैडा, गौरीगाई लगायत दुर्लभ वन्यजन्तुको गणनामा हात्तीको प्रयोग हुने गर्दछ । ५ दशकयता जंगलमा हुने हरेका गतिविधिमा हात्तीको प्रयोग ह्वात्तै बढेको छ तर हात्तीले खाने आहारा भने बढ्न सकेको छैन ।
२०४७ सालमा ज्यालादारीमा शुक्लाफाँटाको हात्तीसारमा काम सुरु गरेका बारा करैयामाई गाउँपालिकाका जलेन्द्र प्रसाद चौधरीले आफूले थाहा पाएदेखि हालसम्म हात्तीको आहारा १५ किलो धानबाट नबढेको बताउँछन् ।
‘मैले थाहा पाउँदादेखि हात्तीको आहारा १५ किलो धान नै छ, अहिले हात्तीको काम अनुसार १५ केजी धान असाध्यै कम भयो । सुक्खायाममा घाँस नहुँदा त झनै समस्या हुन्छ,’ चौधरीले भने ।
उनका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीका लागि घाँसपानीको सबैभन्दा बढी समस्या छ । ‘सुक्खायाममा ३ महिना पराल खुवाउनुपर्छ त्यो पनि पर्याप्त हुँदैन,’ उनले भने, ‘निकुञ्जले हात्तीलाई दैनिक १५ किलो धानमा डेढ केजी सख्खर, २५ ग्राम नुुन र मौसम अनुसार पराल वा घाँसमा मोलेर आहाराको रूपमा खुवाउने गर्दछ ।’
चरिचरनको अभाव तथा पर्याप्त आहारा खान नपाए माउतेमाथि नै आक्रमण गर्न खोज्ने चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण