सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

होसियार ! बालबालिकालाई बर्खामा लाग्न सक्छन् यस्ता रोग

मङ्गलबार, ३१ जेठ २०७९, ०९ : १९
मङ्गलबार, ३१ जेठ २०७९

गर्मी महिना सुरु भएदेखि विभिन्न अस्पतालमा बालरोगी बढ्दै गएको बालरोग विशेषज्ञहरू बताउँछन् । राजधानीको कान्ति बाल अस्पतालमा ओपीडी र इमर्जेन्सीमा गरी दैनिक सरदर ५०० बालबालिका उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा जाडो महिनाको तुलनामा गर्मी महिनामा सरुवाजन्य रोगका बिरामीको चाप बढ्ने बालरोग विशेषज्ञ डा. अनिलकुमार श्रेष्ठ बताउँछन् । गर्मी याममा कीटाणुको सक्रियता बढ्ने भएकाले विभिन्न रोग तथा सङ्क्रमण बढ्ने उनी बताउँछन् ।

मनसुन महिनामा भाइरस, ब्याक्टेरिया लगायतका सूक्ष्म कीटाणु सक्रिय रहन्छन्, जसका कारण बालबालिकामा भाइरल ज्वरो, रुघाखोकी, शरीरमा साना डाबर आउने, झाडापखाला, निमोनिया हुने उनको भनाइ छ । दुई महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई ब्रमटाइटिस, श्वास फेर्न गाह्रो हुने, घ्वारघ्वार हुने, स्वाँ–स्वाँ हुनेजस्ता समस्या बढी देखिने उनले बताए । पछिल्लो समयमा श्वासप्रश्वासमा समस्या भएका बिरामी बढ्न थालेको डा. श्रेष्ठ बताउँछन् ।

बालरोग विशेषज्ञ श्रेष्ठका अनुसार यस मौसममा बालबालिकालाई बान्ता, झाडापखाला जस्ता रोग दूषित पानीबाट लाग्ने गर्छ । पछिल्लो समय यी रोग बच्चाहरूमा साझा रोगको रूपमा देखिएको छ । यस्तै, दूषित पानीबाट सर्ने हैजाका बिरामी बालबालिकाको सङ्ख्या पनि विगतको तुलना बढेको उनी सुनाउँछन् ।

उनका अनुसार यो सिजनमा हैजासँगै टाइफाइड, जन्डिस, हेपाटाइटिस ए र इ फैलने गर्छ । हैजा सर्ने माध्यम भनेको दूषित पानी र दूषित खाना नै प्रमुख कारण रहेको उनको भनाइ छ ।

बच्चा बिरामी भएको कसरी थाहा पाउने ?

साना नानीबाबु अर्थात् दुई वर्ष मुनिका बच्चाको क्रियाकलाप नियालेर उनीहरू बिरामी भए÷नभएको थाहा पाउन सकिने डा. श्रेष्ठले बताए । नियमित रूपमा खाना खाइरहेको बच्चाले खाना खान मानेन भने किन खाएन भनेर विचार गर्नुपर्ने उनी बताउँछन् । शरीरको तापक्रम बढेको अवस्थामा वा अघिपछिको तुलनामा बच्चा धेरै रोएमा पनि बिरामी भएको छ कि भनेर शंका गर्नुपर्ने उनले बताए । खाना खान नमानेर पेट दुखेजस्तो गरी घोप्टो परी सुत्ने वा रुने गरेमा पनि शंका गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, आमाको दूध खाने बच्चाले दूध खान सकेन, दूध खान मानेन, धेरै चिच्याएर रुने गरेमा पनि बच्चामा केही समस्या छ भनेर बझ्नुपर्ने उनले बताए ।

डा.श्रेष्ठका अनुसार, यस मौसममा बालबालिका धेरै बिरामी हुने गर्छन् । सङ्क्रमणजन्य रोग लागेका बालबालिकालाई निको नभएसम्म विद्यालय नपठाउन उनको सुझाव छ । सामान्य रुघाखोकी, ज्वरो आएको भनेर स्कुल पठाउँदा अन्य विद्यार्थीलाई पनि रोग सर्ने सम्भावना बढ्ने उनले बताए ।

सरुवा रोगबाट यसरी जोगाऔँ

बालबालिकामा ज्वरो, झाडापाखाला, शरीरमा बिमिरा देखिएमा वा रुघाखोकी लागेमा झोलिलो पदार्थ खुवाउन, सरसफाइमा विशेष ध्यान दिन उनको सुझाव छ ।

बालबालिकाहरूले ठूला व्यक्ति झैँ व्यक्तिगत सरसफाइ गर्न नसक्ने हुँदा उमालेको पानी, मौसम अनुसारको फलफूल राम्रोसँग सफा गरेर खुवाउन उनी सुझाव दिन्छन् । बच्चाहरूलाई घर बाहिरको जङ्कफुड, बोतलमा आउने जुस नखुवाई घरमै पोसिलो खानेकुरा बनाएर खुवाउनुपर्ने उनले बताए ।

दालभात, तरकारी, जाउलो, हलुवा, दही, दूध, गेडागुडी, माछा, मासु  मिलाएर खुवाउनुपर्ने उल्लेख गर्दै उनले बालबालिकालाई रुघाखोकी लागिरहने भएकाले घरमा ज्वरो नाप्ने थर्मामिटर, प्यारा सिटामोल, जीवनजल राख्नुपर्नेमा जोड दिए ।

यस्तो अवस्थामा बच्चालाई तत्काल अस्पताल लैजानुपर्छ

प्यारा सिटामोल खुवाउँदा पनि ज्वरो घटेन, बच्चा रोइरहने, झगडा गर्ने गरिरहेमा उपचारका लागि अस्पताल लैजान उनको सुझाव छ ।  

यस्तै, श्वासप्रश्वासमा समस्या भएमा, कोखा हानेजस्तो हुने, छाती र पेटको भागका धसिएर सास फेरे जस्तो लाग्ने, सास फेर्दा बच्चा निलो भएर रोएको खण्डमा तुरुन्तै अस्पताल लैजानुपर्ने उनले बताए ।

‘साना बच्चाले मास्कको प्रयोग, हात सरसफाइ गर्न सक्दैन, त्यसैले घरका अन्य सदस्यहरूले हातको सरसफाइ र मास्कको प्रयोगमा जोड दिनुपर्छ,’ उनले भने । घरका अन्य सदस्यहरूले ध्यान दिएको खण्डमा बच्चालाई सरुवाजन्य रोगबाट जोगाउन सकिने उनको भनाइ छ ।

साना बालबालिकालाई अरूले भनेको र कसैसँग सोधेको आधारमा  मेडिकल गएर औषधि नखुवाउन पनि उनले आग्रह गरे । ‘साधारण औषधि सेवन गरेर निको हुने रोगहरूलाई कडा खालको औषधि खुवाएर अस्पताल ल्याउँछन्,’ उनी भन्छन्, ‘ती बच्चालाई सामान्य औषधिले काम गर्दैन अनि अनावश्यक रूपमा औषधि खुवाउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप