सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भाषिक बोली शुद्धताको अहङ्कारवाद

शुक्रबार, १३ साउन २०७९, १० : २८
शुक्रबार, १३ साउन २०७९

आध्यात्मिक मुक्ति भनेको अरू केहीबाट मुक्ति होइन, आफ्नै अहङ्कारबाट मुक्ति हो । अहम्ले ग्रसित मानिस नै मायाजालमा हुन्छन् । तिनमा व्यक्तिगत अहम् त हुन्छ नै, त्यसैले दाजुभाइमै पनि काटमार हुन्छ । व्यक्तिगत अहम् जब सामूहिक बन्छ, तब झन् विकृत र जटिल हुन जान्छ । त्यसले विकराल समस्या निम्त्याउँछ । जातीय, धार्मिक आदि शोषण दमन चर्किन्छ र द्वन्द्व मच्चिन्छ ।

अहङ्कार भनेको मूर्खता (मूढता) हो । मानिसमा अनेक प्रकारका मूढता हुन्छन् । कतिपय पश्चिमीले गोरो वर्ण भएकैले आफू उच्च नश्लको ठान्छन् । धेरैलाई आफ्नै धर्म महान् भन्ने भ्रम हुन्छ, जबकि तिनलाई अर्को धर्मको ज्ञान नै हुँदैन । देशको अहङ्कार त शिक्षा र समाजले नै प्रवर्द्धन गरेको छ । 

त्यस्तै, सहरमा बस्नेलाई आफू सहरिया र सभ्य भन्ने भान पर्छ । बाँकी तुच्छ, ग्राम्य, गँवार, अशिष्ट । भारत वर्षमा जातीय शुद्धताको लामो परम्परा छ । बुद्धले पटक पटक भनेका छन्, जाति र कुलको घमण्ड हुञ्जेल आध्यात्मिक प्रगति सम्भव छैन । यी सबै खालका अहङ्कारले नश्लीय शुद्धताको उन्मादतिर डोर्‍याउँछन् । बीसौं शताब्दीको नाजीवाद यसैको परिणाम हो । यस्तैमा एउटा अटपटा खालको अहङ्कारवाद छ, बोलीको शुद्धताको अहङ्कारवाद ।

मन्त्रोच्चारणको शुद्धता

अढाइ दशकअघि म तराईको गाउँको बजारमा थिएँ । त्यहाँको मन्दिरमा बिहान बिहानै माइकबाट गायत्री मन्त्र पाठ गरिन्थ्यो । बाहिरबाट कोही पण्डित आयो भने हरेकले मन्दिरमा गएर मन्त्रोच्चारण गर्ने ब्राह्मणलाई मन्त्रोच्चारण मिलेन भनेर सिकाउन जान्थे । हरेकले फरक फरक सुझाव दिन्थे । जति सुझाव लिएर सच्याए पनि कहिल्यै नसकिने । यो प्रसङ्ग सुनेर मलाई हाँसो उठेको थियो । 

आफू प¥यो, भाषाविज्ञानको विद्यार्थी ! संस्कृतको शुद्ध उच्चारण के हो ? बनारसका पण्डितले भन्ने ‘हरिहर’ बङ्गाली ब्राह्मणको मुखबाट ‘होरिहोर’ निस्किन्छ । एउटै संस्कृत मन्त्र पनि नेपालका पहाडी ब्राह्मण, मधेसी ब्राह्मण, भारतका बिहारी ब्राह्मण, मराठी ब्राह्मण, कर्नाटक, उडिसा, तमिलनाडुका ब्राह्मणका आआफ्ना लवज अनुसार उच्चारण हुन्छ । सबैलाई आफ्नै उच्चारण सही लाग्छ । वास्तवमा हामीले जे सुन्दै आयौँ, त्यही सही लाग्ने हो । गल्ती त उच्चारणमा मात्र हुँदैन, सुनाइमा पनि हुन्छ । भाषाविज्ञान नबुझेकालाई यो अचम्म लाग्ला । तर यस्तो हुन्छ, किनभने हाम्रो सुनाइ पनि आफ्नो हुर्काइको परिवेशबाट प्रभावित (कन्डिशन्ड) हुन्छ । त्यसले हामीले थाहै नपाउने गरी हाम्रो सुनाइ क्षमतालाई निश्चित वर्ण (स्वनिम) मात्र ग्रहण गर्न सक्ने गरी सीमित गराइदिन्छ । 

नेवारको तट मट बोली

उल्लिखित कुराको एउटा राम्रो उदाहरण हो नेवारको ‘तट मट’ बोली । नेवारले नेपाली (खस भाषा) बोल्दा तट मट गरी बोल्छ भनेर गिज्याइन्छ । तर वास्तवमा नेवारले तट मट गरी बोल्ने होइन, सुन्नेले तट मट सुन्ने हो । नेपालीलगायत हिन्दी आदि इन्डो–आर्यन भाषाहरूमा ‘त’ को दन्त्य उच्चारण हुन्छ भने ‘ट’ को मूर्धन्य उच्चारण हुन्छ । तर नेवारले न दन्त्य ‘त’ नै उच्चारण गर्छ, न मूर्धन्य ‘ट’ नै । नेवारले उच्चारण गर्ने ‘त थ द ध न’ दन्तमूलीय (एल्वीलर) हो ।

नेवारले बोल्ने नेपालभाषामा ‘त वर्ग जिब्रोको टुप्पोलाई दाँतको फेद वा गिजामा  छुवाएर उच्चारण हुन्छ । सजिलोको लागि अङ्ग्रेजी भाषाको उदाहरण लिन सकिन्छ । अङ्ग्रेजीमा त र ट दुवैलाई ta मात्रै लेख्न सकिन्छ । त्यस्तै द र ड दुवैलाई da मात्र लेख्न सकिन्छ । नेवारले उच्चारण गर्ने त र द अङ्ग्रेजीसित मिल्न जान्छ । त्यसैले, यस मामिलामा नेवारको अङ्ग्रेजी शब्द tea, day आदिको उच्चारण शुद्ध हुन्छ । तर त्यसो भन्दैमा नेवारले अहम् देखाउनु आवश्यक छैन । किनभने they, think जस्ता शब्दमा भएका ड र थ को उच्चारण भिन्नै किसिमले हुन्छ । तिनको उच्चारण नेवार र पर्वर्ते दुवैले बेठीक किसिमले गरिरहेका हुन्छन् । तर व्यवहारमा मजाले काम चलिरहेकै छ । 

भाषा भनेकै व्यवहार हो । आफ्नोबाहेक अर्को भाषा वा भाषिका बोल्दा संसारका सबैलाई केही न केही अप्ठ्यारो पर्छ । त्यसलाई भाषाविज्ञानमा ‘मातृभाषाको हस्तक्षेप’ (मदरटंग इन्टरफरेन्स) भनिन्छ । जस्तो कि, संगीतकार न्ह्यू वज्राचार्यको नाम उच्चारण गर्न टिभी कार्यक्रमका प्रस्तोताहरुलाई निक्कै अप्ठ्यारो भएको पाउँछौं । अनि न्यू वा निउँ उच्चारण गर्छन् । 

अर्को समाचार वाचकहरुले म्हपूजामा ‘म्ह’ को उच्चारण गर्न नसकेर मुश्किलले ‘मह्’ भन्न पुग्छन् । किनभने नेपाली भाषामा ‘न्ह्य’ ‘म्ह’ वर्ण छैन । यी नै ज्वलन्त उदाहरण हुन्, फरक भाषा बोल्दा आफ्नो मातृभाषाको हस्तक्षेप हुनुको । यसलाई सामान्य रुपमा लिनुपर्छ । मुख्य कुरा, वक्ताले सकेसम्म लक्षित श्रोताले बुझ्ने गरी बोल्ने प्रयास गर्ने हो । अनि श्रोताले पनि आफ्नो तर्फबाट वक्ताको कुरा बुझ्ने प्रयास गर्ने हो । यसैलाई सञ्चार भनिन्छ । सञ्चारमा बोलीभन्दा पनि भावना र अन्तरवस्तु मुख्य कुरा हो ।

संसद्मा सांसद्को बोली

यस्तैमा आयो, सांसद नवीना लामाले संसदमा पढेर बोल्दा भएका उच्चारणका गल्तीप्रति क्षुद्र टीकाटिप्पणीको प्रसङ्ग । उच्चारणलाई लिएर गिज्याउने, बोल्न हतोत्साहित पार्ने कामलाई नेपाली समाजले रमाइलोको रुपमा लिने गरेको छ । कुनै समुदाय विशेषको बोलीको नक्कल गरेर मजाक गर्नु हाम्रो राष्ट्रिय चरित्र हो । चलचित्र आदि सार्वजनिक माध्यममै यस्ता भद्दा मजाकलाई हास्य भनेर प्रस्तुत गरिन्छ । 

पश्चिममा यस्तो मजाक, व्यवहारलाई ‘पलिटिकल्ली इनकरेक्ट’ भनेर धेरै दशकअघि नै अस्वीकार गरिसकेको छ । चर्चित व्यक्तिको बोलाइको क्यारिकेचर गर्नु कला मानिन्छ, तर कुनै समुदाय विशेषको बोलीलाई होच्याएर प्रस्तुत गर्नुलाई स्वीकार्य मानिंदैन । वास्तवमा त्यो कुनै कला होइन, केवल असभ्यता हो । यसले हाम्रो सामूहिक घटियापनलाई उजागर गर्छ । 

केवल मातृभाषीको मात्र पनि होइन, शेरबहादुर देउवाले बोलेको बुझिएन भनेर पनि धेरै उडाइन्छ । मैले सुनेअनुसार उनी प्रजातन्त्रको लागि संघर्ष गर्दा जेल बसेका थिए । जेलमा दिएको यातनाले गर्दा उनको बोली बिग्रियो भनिन्छ । त्यसो हो भने त उनलाई हामीले सम्मान पो गर्नुपर्ने त ! उनले बोलेको विषयवस्तुमा प्रश्न गर्न सकिएला, तर बोलीलाई लिएर नै होच्याउनु हाम्रो निकृष्टता हुन जान्छ । 

बोलीको शुद्धताको मापन के ?

कुनै पनि समाजमा शक्तिशालीको बोलीलाई शुद्ध मान्ने सिवाय भाषिक शुद्धता भनेको कतै छैन । त्यसैलाई ‘मानक’ भनिन्छ । मानक भनेकै ‘मानेको’ वा ‘मान्य’ । सत्ता र समाजले मान्ने वा मान्नुपर्ने मान्छेको बोली नै मानक हो । अरुको के कुरा गर्नु ? यदि भानुभक्त आज आएर नेपाली बोल्न थाले भने हामी उनको बोली सुनेर मरी मरी हास्छौं होला । 

सन् २००८ मा भारतको नयाँ दिल्लीमा जेएनयूले आयोजना गरेको मातृभाषासम्बन्धि अन्तरराष्ट्रिय संगोष्ठीमा नेपालको तर्फबाट मैले भाग लिएको थिएँ । त्यस संगोष्ठीमा टोब कंगास लगायत विश्वकै थुप्रै दिग्गज भाषा शास्त्रीहरुसँग अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ । सो संगोष्ठीका एक विद्वान भाषाशास्त्रीले भनेका थिए, ‘राजनीतिक शक्ति भएको भाषिका वा बोली मानक भाषा हो । भाषिका वा स्तरहीन बोली शक्ति नभएका भाषा हुन् ।’

यति मात्रै पनि होइन, ती मानक बोली बोल्नेहरू देशमै शक्तिशाली बन्दै जान्छन् । मानक बोली बोल्न नसक्नेहरु लज्जित हुन्छन् । बोल्न सक्दैनन्, हिच्किचाउँछन्, पछाडि पर्छन् । अनि, बिस्तारै ती मूलधारबाट हराउँछन्, बहिष्करणमा पर्छन् । 

यो फरक भाषीमा मात्र लागु हुने कुरा पनि होइन । खस नेपाली भाषाकै पनि धेरै भाषिका छन् । डेढ दशकअघि मैले काठमाडौंको एउटा समारोहमा बोल्नको लागि सुर्खेतबाट केही युवा ल्याएको थिएँ । बोल्न सुरु गर्दै एउटा क्षेत्री युवाले आफ्नो क्लब छेपन्न सालमा स्थापना गरेको भने । छप्पन्न (५६) लाई छेपन्न सुन्नासाथ सुन्न बसेका सबै गललल हाँसे । अब भरखर युवा उमेर टेक्दै गरेको, अनि काठमाडौँ नै पहिलो पल्ट आएकोलाई कस्तो महसुस भयो होला ? 

त्यसै पनि मञ्चमा उभिएर माइकको अगाडि बोल्न अधिकांशलाई निक्कै आत्मविश्वास जुटाउनुपर्ने हुन्छ । तर हामीले भरखर आफ्नो आवाज राख्न लागेकालाई प्रेरणा दिनुपर्ने ठाउँमा हतोत्साहित गर्छौं । मैले प्रस्तुतिकरणको तालिम लिँदा बेलायती प्रशिक्षकले भनेको एउटा कुरा कहिल्यै बिर्सन सक्दिनँ, 'भटाभट बोल्नसक्नु भनेको आत्मविश्वास होइन, निर्लज्जता हो ।' बोलक्कडहरुबाट उत्साहित हुने हामी नै हौं, र हामीले निर्लज्ज नेता पायौं भने के आश्चर्य ! हाम्रै प्रवृत्तिले गर्दा कम बोल्ने तर काममा पक्का भएका मानिसले राजनीतितिर चियाउँदै चियाएनन्, प्राविधिक क्षेत्रतिर लागे या विदेशिए । 

हामी समानता र समावेशीताको कुरा गर्छौं । तर हामी लवजको शुद्धतामा अल्झिने हो भने एकै किसिमका बोली भएका मात्र प्रोत्साहित हुन्छन् । हामीलाई यो कुरा सामान्य लाग्ला तर यो धेरै खतरनाक कुरा हो  । किनभने, बोलीको शुद्धताको अहङ्कारवाद नश्लीय शुद्धताको अहङ्कारवादकै अंश हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप