शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमगञ्ज’ : आफ्नै फिल्मले बेनिशालाई रुवायो

शुक्रबार, ०३ भदौ २०७९, १२ : ४१
शुक्रबार, ०३ भदौ २०७९

अभिनेत्री बेनिशा हमालको व्यस्तता केही दिनयता निकै बढेको छ । उनको व्यस्तताको कारण हो ‘प्रेमगञ्ज’ र ‘छक्का पन्जा’ फिल्म । ‘प्रेमगञ्ज’ करिब तीन वर्षपछि रिलिज हुन लागेको उनको फिल्म हो, भने ‘छक्का पन्जा ४’ अहिले उनले अभिनय गरिहेको फिल्म हो । दुबै फिल्मका लागि समय मिलाउन उनलाई अहिले हम्मेहम्मे परेको छ ।

‘‘छक्का पन्जा ४’ को सुटिङबाट बचेको  र मिलेको समय ‘प्रेमगञ्ज’ प्रचारमा दिइरहेको छु,’ बेनिशाले भनिन् ‘दुबै फिल्मका काम मेरा लागि महत्त्वपूर्ण छ । त्यसैले मिले र भ्याएसम्म दुबैका लागि समय उपलब्ध गराउने गरेकी छु ।’ समय अभावको कारण म्युजिक भिडियोको अभिनय भने नकार्दै आएको उनले सुनाइन् ।

कलाकारलाई आफ्नो फिल्म रिलिज हुँदा उत्साह लाग्नु स्वाभाविक हो । तर उनलाई भने अनौठो लागिरहेको छ । केही वर्ष अगाडिसम्म उनी फिल्म रिलिजको समय टेलिभिजन, पत्रपत्रिका र अनलाइन मिडियामा धाएर भ्याउँदिन थिइन् । तर अहिले फिल्मको धेरै प्रचार सामाजिक सञ्जालमा भइरहेको छ । एक त नयाँ फिल्मको सुटिङको व्यस्तता । अर्काे फेरिएको फिल्म प्रचार शैली । त्यसैले पनि के गर्ने, कसो गर्ने, उनले मेसो पाउन सकेकी छैनन् ।
‘प्रेमगञ्ज’ सिंगल रिलिज हुन लागेको भने होइन । योसँग अन्य दुई फिल्म जुध्दैछ । त्यो नभएको भए हुन्थ्यो । आफ्नो फिल्मले एकल प्रदर्शन अवसर पाएको भए हुन्थ्यो भन्ने निर्माण टिमको चाहना नै हो । उनको चाहना पनि त्यही छ ।  
‘एउटै समय तीन फिल्म रिलिज हुँदा दर्शक बाँडिन्छन्,’ उनले चिन्ता राखिन्, ‘यस्तो अवस्थामा तीनै फिल्मले दर्शक पाउन गाह्रो हुन्छ ।’ ‘कोरोनाको कारण धेरै फिल्म निर्माण भएर बसेका छन्,’ उनले थपिन्, ‘धेरै फिल्म तयार भएर बसेको अवस्थामा जुध्नु स्वाभाविक हो । किनभने सबैलाई आफ्नो फिल्म रिलिजको हतारो छ ।’ जुनै समय पनि फिल्म जुध्ने भएकोले सिंगल रिलिज अवसर पाउने फिल्म र निर्मातालाई भाग्यमानी ठान्छिन् उनी ।

ढुक्क बेनिशा
फिल्म ‘प्रेमगञ्ज’ को मंगलबार प्रिमियर थियो । प्रिमियरमा सहभागी सबैले फिल्मका साथै बेनिशाको अभिनयको समेत तारिफ गरे । फिल्म राम्रो लागेर धेरैले व्यक्तिगत रुपमा समेत बधाई दिए । यो हिसावले फिल्मको ब्यवसाय राम्रो हुनेमा उनी ढुक्क हुनुपर्ने हो । तर तीन फिल्म एकसाथ रिलिज भएका कारण डर छ उनलाई ।

‘एउटा कलाकारको सफलता भनेको अभिनय राम्रो हुनु हो,’ उनी ढुक्कसाथ भन्छिन्, ‘फिल्म हेर्नेले अभिनय र फिल्म नराम्रो भन्दैनन् । व्यवसायिक पाटो अर्काे कुरो हो । त्यसैले, ढुक्क छैन ।’ उनले फिल्मको प्रचारप्रसारमा कमी देखेकी छन् । ‘हरेक पटक काम राम्रो हुने र निर्माण टिमले प्रचारप्रसार नगरिदिँदा फिल्म नचलेको यथार्थ छ’, उनले दुःखी हुँदै भनिन्, ‘फिल्मको दोष कलाकारले मात्र लिनुपर्दा गाह्रो हुन्छ ।’ पछिल्लो समय कुनै फिल्मबाट पनि धेरै आस नराख्ने गरेको उनले सुनाइन् । तर पनि उनी आफै व्यक्तिगत र निर्माण युनिटसँग मिलेर जतिसक्दो प्रचारमा जुटिरहेकी छन् ।

आँखाबाट झर्यो आँसु
‘प्रेमगञ्ज’ नयाँ कथामा बनेको फिल्म भने होइन । यसले पनि प्रेमकथा नै विषयवस्तुको रुपमा उठाएको छ । ‘फरक यति हो, फिल्ममा प्रेमकथाको प्रस्तुति अहिलेसम्मकै भिन्न र आकर्षक छ’, बेनिशा भन्छिन् । ‘फिल्म हेरेपछि मानिसको मनमा प्रेमका विषयमा अनेक प्रश्न जन्मिन्छ । कतिपयलाई के मानिसले यति सम्मपनि प्रेम गर्न सक्छ र भन्ने पनि लाग्न सक्छ,’ उनले थप बिषयबस्तु खोलिन्, ‘एउटा मानिसले अरुको प्रेमका लागि
कतिसम्म त्याग गर्न सक्छ भनेर प्रश्न उठाउने ठाउँ पनि धेरै छन् ।’ फिल्मले हरेक मानिसलाई मेरो जीवनमा पनि यस्तो प्रेम आए हुन्थ्यो भन्ने फिल गराउने दाबी उनले गरिन् ।

‘हुन त प्रेमकथामा यस अगाडि पनि धेरै फिल्म आएका छन् । तर प्रस्तुतिका हिसावले निर्देशकले एकदमै राम्रो तारिफयोग्य काम देखाउनु भएको छ,’ उनले अगाडि भनिन्, ‘म आफूले अभिनय गरेको कमै फिल्म हेर्न सिफारिस गर्छु, तर यो फिल्म भने हेर्न सिफारिस गर्छु । ‘प्रेमगञ्ज’ हेर्दा एकपटक होइन, कयौँ पटक म भावुक  भएको छु । अनि आँखाबाट आँसु पनि झर्यो ।’ फिल्म आफ्नो कल्पनाभन्दा राम्रो भएकोले अझै केही पटक हेर्ने उनले सुनाइन् ।

त्यो सफलता 
हरेक कलाकारलाई कामले चिनियोस् भन्ने हुन्छ । काम उत्कृष्ट छ भनेर सबैले भनिदियो भने उसका लागि त्यो भन्दा गौरव र खुसीको विषय अर्काे हुनै सक्दैन । उनको सोच पनि यो भन्दा फरक छैन ।
उनले अभिनय गरेको फिल्म अभिनयको हिसावले राम्रै चर्चा भएपनि व्यवसायिक पाटो भने राम्रो हुन सकेको छैन । यो उनले पनि महसुस गरेकी छन् । ‘व्यवसायिक पाटो एउटा हो, अभिनय अर्काे । मैले गरेको सबै फिल्म समीक्षात्मक हिसावले राम्रो भनिएको छ,’ उनले भनिन्, ‘एउटा कलाकारलाई फिल्मको ब्यवसाय कत्तिको गर्यो भनेर मूल्याङ्कन गर्नु भन्दा अभिनय राम्रो गरेको छ छैन भनेर हेर्नुपर्छ जस्तो लाग्छ ।’ व्यवसाय राम्रो गरेपनि फिल्मले समीक्षा नराम्रो पाए त्यो कलाकारको असफलता हुने उनको धारणा छ ।

त्यसो त यस अघिका फिल्म हिट नहुँदा पनि फिल्म अफरमा फरक नपरेको बेनिशाले बताइन् । ‘पहिले त फिल्मको व्यवसायले खासै फरक पर्दैनथ्यो । अहिले फिल्म राम्रो हुनुको अलवा ब्यवसाय पनि राम्रो भए हुन्थ्यो जस्तो लाग्न थालेको छ’, उनले कारण सुनाइन् ‘ठुला ब्यानरका मेकरले हेर्दा यो राम्रो कलाकार हो वा होइन भन्दा पनि यसको फिल्मले कमर्सियल ब्यवसाय गरेको छ कि छैन भनेर हेर्दा रहेछन् ।’
त्यसैले, ठुला ब्यानरका लागि अहिले आएर आफ्नो  फिल्म हिट भए हुन्थ्यो भनेर लाग्न थालेको उनले सुनाइन् ।

विवाहको दवाव
बेनिशाले अहिलेसम्म रिल लाइफमा धेरै प्रेमका अनुभव लिएकी छन् । त्यो अनुभवका हिसावले पनि उनी रियल जीवनमा प्रेममा हुनुपर्ने हो । तर उनी आफूलाई सिंगल बताउँछिन् । ‘अहिलेसम्म मैले कसैलाई मन पराइन भन्दा त्यो पत्याउने कुरो हुँदैन । प्रेमको महसुस छ,’ उनले भनिन् ‘अहिलेको परिस्थितिमा प्रेमी छन् भनेर भन्न सक्दिन । सिंगल छु ।’

केकी अधिकारी, बर्षा शिवाकोटीलगायत उनका समकक्षीले केही अगाडि विवाह गरे । केही विवाह गर्ने तरखरमा छन् । समकक्षीहरुले धमाधम विवाह गर्दा उनलाई पनि विवाहको प्रेसर हुन थालेको छ । फ्यान, परिवार, आफन्त र साथीभाइहरुबाट उनलाई अहिले विवाहको दवाब हुने गरेको छ । जन्म, मृत्यु र विवाह मानिसको हातमा हुँदैन । समय आएपछि हुन्छ उनले रेडिमेट जवाफ दिइन् ।

‘सबैले प्रेसर गरिरहनु भएको छ । त्यो हुँदैमा अहिलेसम्म विवाह गर्छु भन्न पनि सक्दिन,’ उनले समस्या राखिन्, ‘तिमीसँग जीवन कटाउन सक्छु भन्ने मानिस अहिलेसम्म भेटेको पनि छैन ।’ 
आफ्नो लागि राइट पर्सन भेटेपछि विवाह गर्ने बताउने उनी साथीभाइको विवाहको निम्तो घरमा आउँदा  परिवार र आफन्तले विवाहका लागि प्रेसर गर्ने सुनाउँछिन् । ‘त्यो बेला अव त विवाहको बेला भयो कि भन्न लाग्दो रहेछ,’ उनले हाँस्दै भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप