सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षकको चोर औँलो अरूतिर, चार औँला आफैँतिर

आइतबार, ०५ भदौ २०७९, १९ : १३
आइतबार, ०५ भदौ २०७९

वैशाख ३० को स्थानीय निर्वाचन भर्खरै सम्पन्न भएको थियो । मासुभात र ककटेल पार्टीको ‘ह्याङ्ओभर’ अझै उत्रिसकेको थिएन । देशभरका अधिकांश स्थानीय निकायको मत परिणाम पनि सार्वजनिक भइसकेको थियो । कोही गठबन्धनको लगौंटीले बल्लतल्ल लाज छोपिएकोमा दङ्ग देखिए । कोही गठबन्धनले धोका दियो भन्दै खिन्न देखिए । कोही ‘विश्वासघात भयो’ भन्दै कुइँकुइँ गर्दै थिए । कोही ‘अन्तर्घात’ भयो भन्दै ङ्यार ङ्यार ।

शिक्षक पनि के कम । चुनाव शिक्षकका लागि दलप्रतिको बफादारी सावित गर्ने सुवर्ण अवसर थियो । ‘झोले झाँकी’ प्रदर्शन गर्ने महाकुम्भ थियो । चुनावको नशा उम्मेदवारलाई भन्दा शिक्षकलाई चर्को प्रतीत हुन्थ्यो । विजयी पक्षधर शिक्षक आफूलाई उम्मेदवारको ‘खास मान्छे’ देखाउन आफ्नो डिजिटल डिभाइसका ग्यालरी स्क्रोल गरी गरी फोटो हाल्थे र ‘स्वस्ति श्री गिरिराजचक्रचूडामणि...” वाला विरुदावली लेखेर सामाजिक सज्जालमा पोस्ट्याउँदै थिए ।

कोही कोहीलाई फेरि विजयसभा नामको ‘हाँडी गाउँ’ले जात्रामा कुनामा उभिन पाएकामा पनि छाती फुलेर नाङ्ला झैँ भएको थियो । नाक तन्केर घिरौँला । पराजित पक्षधरको तमासा झन हेरिनसक्नु देखियो । तिनीहरू हारलाई पनि हार मान्न तयार भएनन् । जितै भने । तिनका शब्दजाल देखेर सर्वलोक दङ्ग पर्यो । ‘चुनाव हारे पनि मतदाताको दिल जितिस्यो,’ टाइपको उदेकलाग्दो ‘स्टाटस’ लेखेर तिनले दुनियाँलाई तिनछक पारे । चह्र्याएको छातीमा त्यसैको मलमले मालिस गरे ।

आम सर्वसाधारणको भने यस्ता कुनै कुरामा दिलचस्पी थिएन । यस्ता जित–हारका प्रहसन तिनका लागि कुनै नौलो चासोको विषय पनि थिएन । यस्ता कलाहीन नौटङ्की तिनले वर्षौदेखि हेर्दै, सुन्दै र भोग्दै आएका थिए । बरू तिनीहरूको चासो काठमाडौं, धरान र धनगढीका स्वतन्त्र उम्मेदवारतर्फ बढिरहेको थियो । चुनाव अघि र्‘यापर र ट्यापर’ भन्दै खिसिटयुरी गर्ने सञ्चार माध्यमहरू उनीहरूकै मत परिणामको अद्यावधिक खबर लिन–दिन हारालुछ गर्न थालिसकेका थिए ।

यसै क्रममा जेठ १३ गते “काठमाडौँका मेयर बालेन शाहलाई १८ प्रश्न” शीर्षकसहित ‘सेतोपाटी’मा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहसँग गरिएको अन्तर्वार्ता प्रकाशन भयो । अन्तर्वार्ताको सुरुवातमै सार्वजनिक शिक्षा सुधारको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा शिक्षकसँग सम्बन्धित उनको अभिव्यक्तिको सानो अंश सामाजिक सञ्जालमा एकाएक ‘भाइरल’ भयो ।

बालेनको अप्रत्याशित उदयबाट चुर भइरहेकाहरूलाई कुनै सानो निहुँ चाहिएको थियो । त्यही अभिव्यक्तिको अंश काफी भयो । उनीहरूले त्यसलाई फोटोसहित ‘स्टिकर फम्र्याट’मा सञ्जालहरूमा छ्यापछ्याप्ती फैलाए । यद्यपि महानगरको आगामी शैक्षिक नीति तथा कार्यक्रम कस्तो हुन्छ भनेर सोधिएको सवालको जवाफमा बताइएको शैक्षिक प्रसङ्गको सानो अंश मात्र थियो त्यो । त्यसको अघि र पछि सार्वजनिक शिक्षा सुधारका लागि गरिने कार्यक्रमहरूको लामो वर्णन थियो ।

सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, प्रविधि जडान, शिक्षकहरूलाई उचित सेवा, सुविधा र तालिम प्रदान, विद्यार्र्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री तथा पौष्टिक आहारको पर्याप्त व्यवस्थापन गरिसकेपछि पनि राम्रो नतिजा आएन वा विद्यार्थीको सिकाइ स्तरमा सुधार भएन भने त्यसको जिम्मेवार शिक्षक पनि हुनुपर्छ भन्ने सन्दर्भको एक अंश थियो बालेनको त्यो भनाइ । तर शिक्षकहरू खास सन्दर्भ के हो भन्ने बुझ्नतिर लागेनन्, बरू त्यही चिर्कटोलाई आधार मानेर बालेनलाई सराप्दै ‘कान छाम्नु छैन, कागको पछि दगुर्नु’ भन्ने उखानलाई चरितार्थ गरिदिए ।

त्यसको केही समयपछि बर्दिया, राजापुर नगरपालिकाले “राजनीतिक दलमा आबद्ध शिक्षकहरूले सात दिनभित्र राजीनामा नगरे  शिक्षा नियमावलीअनुसार कानुनी कारवाही गरिने” व्यहोरा उल्लिखित अल्टिमेटमसहितको सूचना प्रकाशित गर्यो । त्यसले पनि केही दिन शिक्षकवृत्तमा तहल्का मच्चायो ।

त्यसपछि शिक्षाविद् मार्क कोलिन्सको शिक्षकसँग सम्बन्धित वाणी सामाजिक सञ्जालमा छायो । त्यसपछि गाली खाने पालो थियो शिक्षाविद् विद्यानाथ कोइरालाको । उनीप्रति घृणाभाव व्यक्त गर्न कतिपय शिक्षकले उनको नामै बिगारेर “विद्यानाश” लेखिदिने गरेका छन् ।

उता पछिल्लो पटक “शिक्षकले विद्यालयमा विद्यार्र्थीलाई पढाएर मात्र हुन्न । होम भिजिट पनि गर्नुपर्छ ।” भन्ने अभिव्यक्तिले शिक्षकवर्गबाट सर्वत्र आलोचित बने शिक्षामन्त्री देवेन्द्र पौडेल ।

बालेन, दीपेश, विद्यानाथ, मार्वा कोलिन्स हुँदै देवेन्द्र पौडेलसम्मका अभिव्यक्तिका विरूद्धमा शिक्षकले व्यक्त गरेका आक्रोश, आलोचना, टिप्पणी र गालीसम्मलाई समग्रमा अध्ययन गर्दा जम्माजम्मी निम्न तीन बुँदामा सारांशीकृत गर्न सकिन्छः

पहिलो, नेपालको सार्वजनिक शिक्षाको गुणस्तर ह्रास हुँदै जानुमा शिक्षकको दोष छैन ।

दोस्रो, सामुदायिक विद्यालयका शिक्षकहरू आफ्नो पेसागत दक्षतामा उत्कृष्ट छन् ।

तेस्रो, नेपालमा शिक्षकलाई अपमान गरिने भएकोले शैक्षिक अवस्था कमजोर भएको हो । 

सार्वजनिक शिक्षाको गुणस्तर

पहिलो सवालतिर जाऔँ । नेपालको सार्वजनिक शिक्षाको गुणस्तर खस्किएको ठिक साँचो हो । तथ्यहरूले त्यही पुष्टि गर्दछन् । यसको दोषी को ? सरोकारवाला पक्षहरू एक अर्कातिर चोर औँलो तेस्र्याएर आफू पानीमाथि ओभानो देखिने चेष्टा गरिरहन्छन् । शिक्षकहरू पनि दाबी गर्दछन् , ‘यसमा उनीहरूको कुनै दोष छैन ।’

झट्ट सुन्दा यो वाक्य सत्यझैँ लाग्छ । किनभने सरकार गणतन्त्र आएको १५ वर्षसम्म पनि नयाँ शिक्षा ऐनसम्म ल्याउन सक्दैन ।  राज्य पुनसंरचनाको दशक बित्दा पनि शिक्षाको स्वरूप बदल्न सक्दैन । शिक्षामा आवश्यक बजेट विनियोजन गर्न सक्दैन । सरकारसँग सामुदायिक विद्यालयको न्यूनतम पूर्वाधार के कस्तो हुनुपर्ने भन्ने मापदण्डको निश्चित मोडेल नै छैन ।

शक्ति र पहुँच हुनेहरूले सुविधामाथि सुविधा थपेर ‘नमुना स्कुल’, ‘मेगा स्कुल’, ‘मेट्रो स्कुल’को जुरो ढल्काउँदै फाँफाँ र फूँफू गर्छन् । शक्तिहीन निमुखाहरू हिउँदमा शीत चुहिने, गर्मीमा पसिना चुहिने र वर्षामा पानी चुहिने टिनका एकपाखे छाप्रालाई विद्यालय भन्न विवश छन् । राजनीतिक दलको नाङ्गो हस्तक्षेप छ । विव्यसको चुनावमा गोलीसमेत चल्छन् । हचुवामा स्कुल खुल्छन् । हचुवामै ‘मर्ज’ हुन्छन् ।

सरकार स्कुल खोल्न अनुमति दिन्छ । शिक्षक दिन्न । बजेट दिन्न । समयमा पाठ्यपुस्तक दिन्न । दरबन्दी मिलानको रसबरी कुन ढाडे बिरालाले खाइदिन्छ पत्तै हुन्न । अनुदान, राहत र बालविकासका शिक्षकको समस्यामा कानमा तेल हाली बस्छ । मर्यादाक्रममा शिक्षकलाई सूचिकृत गर्दैन । सेवा सुविधामा विभेद गर्छ ।

निःशुल्क शिक्षाको संवैधानिक व्यवस्थालाई समेत लगौँटी लाउँदै सरकारकै निकायहरू सयौँ, हजारौँ र लाखौँ रूपियाँ शुल्क असुल्छन् । घुस, भनुसुन र कमिसन विना कुनै पनि कार्य गर्न असम्भवप्रायः छ । विद्यालयमा एउटा शौचालय माग गर्न सत्र ठाउँ ढोग्न जानुपर्छ । त्यसकै उद्घाटन गर्न फेरि रमिता हुन्छ । एउटाले ताला लाउँछ । अर्कोले ताला तोड्छ । अर्कोले झन ढोकै फोड्छ । 

जनप्रतिनिधि र हाकिमहरूको निकृष्ट नोकरशाही प्रवृत्तिले ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ हुन्छ ।  यस्तो निकम्मा सरकारी संयन्त्र, “हामीले बच्चा पाइदिएका छौँ र पो तिमीहरूले जागिर खान पाएका छौ” खालको सोच भएका र विद्यालयले बारबार बोलाउँदासमेत पाइलै नटेक्ने अभिभावक, विद्यालयसम्म आउन परे विद्यालयले नै अतिरिक्त भत्ता बेहोरिदिनुपर्ने शिक्षाका हाकिमसाबहरू, जन्मोत्सवका दिन वा विव्यस चुनावका दिन आएर ‘शिक्षाविद्’को स्वाङ पार्ने नकचरा बुद्धिजीवीहरू,बारम्बार सम्झाउँदा, बुझाउँदा, सिकाउँदा पनि टेरपुच्छर नलाउने विद्यार्र्थीहरू र बृटिश उपनिवेशकालीन सिङ्गो मेकाले शिक्षा पद्धिति नै यसका खसोखास दोषी हुन् । शिक्षक कसरी दोषी हुन सक्छन् र ? शिक्षक त स्कुल आएकै छन् । पढाएकै छन् ।  यसमा शिक्षकको कुनै दोष छैन ।

यी त भए अरूतिर फर्किएको चोर औँलाका कुरा । अब आफैँतिर फर्किएका चार औँलाका कुरा गरौँ ।

“शिक्षण सिकाइ क्रियाकलाप के कसरी गरी विद्यार्थीहरूमा आवश्यक  ज्ञान, सिप र क्षमता हासिल गराउन सकिन्छ भनी योजनाबद्ध ढङ्गले गरिने तयारी नै शैक्षणिक योजना हो । योजनाबद्ध शैक्षणिक क्रियाकलापबिना पाठ्यक्रमले अपेक्षा गरेका उद्देश्यहरू प्राप्त गर्न सहज र सम्भव हुँदैन । अतः कुनै पनि शिक्षकले कक्षाकोठामा जानुपूर्व पूर्व तयारी गर्नुपर्छ । पूर्व तयारीलाई योजना तयारी र कार्यान्वयन पूर्वको चरणका रूपमा पनि लिइन्छ । शिक्षण गर्नुपूर्व के कसरी शिक्षण प्रभावकारी बनाउने भन्ने बारेमा वार्षिक तथा एकाइगत शिक्षण योजनालाई ध्यान दिएर दैनिक शिक्षण योजना बनाई सो अनुसार शिक्षण गर्न पूर्व तयारी जरुरी हुन्छ ।

सिकाइ सहजीकरण गर्नुअघि पूर्व तयारी गर्न सकेमात्र सिकाइ सहजीकरण योजनाबद्ध र प्रभावकारी बनाउन सकिन्छ । पाठ्यक्रमद्वारा निर्देश गरेअनुसार योजना तयारी तथा विषयवस्तुगत, कार्यकलापगत, शैक्षिक सामग्रीगत लगायत विद्यार्र्थी मूल्याङ्कन समेतका कार्यका लागि पूर्व तयारी साथ कक्षाकोठमा गए मात्र सिकाइ प्रभावकारी हुन सक्छ ।” भनेर पढ्दै र पढाउदै हामीमध्ये कतिपयको त कपाल पाकिसक्यो, तालु खुइलिसक्यो तर व्यवहारमा यसको प्रयोग लगभग शून्य छ भने हुन्छ ।

अपवादका कुरा नगरौँ । सिद्धान्तका ठेली धेरै घोक्यौँ, घोकायौँ तर व्यावहारिक प्रयोगमा हामीले केवल बहाना बनायौँ । योजना कहिल्यै बनाएनौँ । अचेल त झन बनाउनै पर्ने बाध्यात्मक परिस्थितिमा बनाउँदैनौँ । बरु चोर्छौँ, सार्छौँ, ऐँचोपैँचोले गर्ज टार्छौँ ।

विद्यालयले पञ्चवर्षीय दूरदृष्टि लक्ष्यसहितको ‘विद्यालय सुधार योजना बनाउनुपर्ने सरकारी नीति छ । प्रअ, शिक्षक र कर्मचारी, विव्यस, शिअसंलगायतको उपस्थितिमा व्यापक छलफल गरेर ‘सिप’ निर्माण तथा अद्यावधिक गर्ने प्रावधान पनि छ तर व्यवहारमा सबलाई हतार छ । कसलाई फुर्सद छ, यहाँ सामुदायिक विद्यालयका लागि बृहत् छलफल गर्न र कामयाबी योजना तयार गर्न <

नियमनकारी निकायबाट ‘सिप अद्यावधिक नगर्ने विद्यालयको निकासा रोक्का गरिने छ’ भन्ने बाध्यात्मक निर्देशन पाइसकेपछि बल्ल कर्मकाण्ड त पुर्याउनै पर्यो । बैठक बोलायो । चिया चमेना हजम पार्यो । अन्तमा पोहोर सालकै योजनालाई  ‘कपि एन्ड पेस्ट’ हान्दियो । टन्टै साफ । केका भिजन, केका मिसन  ।

  अर्को छ, वार्षिक कार्यतालिका । प्रअ, शिक्षक, विद्यार्थीलगायत मिलेर तयार गर्नुपर्ने । चालु शैक्षिक सत्रमा विद्यालयले गर्ने सम्पूर्ण गतिविधिको प्रतिबिम्ब नै वार्षिक कार्यतालिका हो । यसकै आधारमा मात्र विद्यालयका सम्पूर्ण कार्यक्रमहरू व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकिन्छ । तर यसको पनि व्यावहारिक हालत उस्तै छ । हेडसर भन्नुहुन्छ, “ओइ सर, तपाईंका अक्षर पनि राम्रा छन् । पोहोर पनि कति राम्रो पारेर टाँस्नु भाथ्यो । अहिले नि यसो फुर्सदमा बनाएर टाँस्नुस् न । अनि के छ र, पोहोरकै तालिकामाथि वा छेउतिर मिति फेर्यो टाँसिदियो । टाँस्नु त छ । त्यसको अरू के काम छ ? के प्रयोजन छ ? स्मरणीय के छ भने त्यसमा बिदाबाहेक अरू सबै कुरा परिवर्तनीय छन् ।

वार्षिक सिकाइ योजना,  शिक्षण सुधार योजना, एकाइ योजना र दैनिक पाठयोजना ।  भो कुरै नगरौँ ।

प्राय शिक्षक सिधै कक्षा कोठामा पस्छौँ र “हिजो के पढेका थियौँ रे  ? खै खै, किताब ल्याऊ त ,” भन्दै पूर्व सिकाइ क्रियाकलापको जानकारी र पाठ्यपुस्तकसमेत विद्यार्थीसँग माग्छौँ । बरू कतिपयको हातमा सिकाइ सामग्रीको सट्टा पाइप वा कट्बाँसको लठ्ठीचाहीँ अवश्य हुन सक्छ । अघिल्लो कक्षामा के कस्ता क्रियाकलाप गरिएको थियो त्यसको याद पनि हुँदैन । आजको पाठ के हो, पाठ्यवस्तु के हो , उद्देश्य के के हुन् , अपेक्षित सक्षमता के के हुन्, आवश्यक सामग्री के के हुन्, अपनाउनुपर्ने विधि के हो, उपयोग गर्नुपर्ने प्रविधि के हो, मूल्याङ्कनको साधन के हो,  आधार के हो < केही अत्तोपत्तो छैन ।

जुद्धशमशेर झैँ गर्जियो । विद्यार्थीको सातो उडायो । जति चुपचाप उति अनुशासित विद्यार्थी भन्ने हाम्रो मूल मान्यता नै हो क्यार । “उहिले हाम्रा पालामा त” भन्दै आफ्नै पुरुषार्थको बखान गर्दा गर्दै आधा घण्टी स्वाट्ट भइसकेको हुन्छ । बाँकी आधा घण्टी एकोहोरो फतफत गर्यो, गुजार्यो । ढोकाबाहिर निस्किँदै गर्दा विद्यार्थी मुरमुरिदै उसैले घृणाले राखिदिएको उपनामले पुकार्छ , “ बल्ल गयो मा–स्साला ।”

हामी पाठ्यपुस्तकसमेत विद्यार्थीसँगै माग्छौँ भने पूर्व तयारीको के कुरा गराइ भो र । पाठ्यक्रमको गहन अध्ययन त के हामीमध्ये कतिपयलाई पाठ्यक्रमको अलग्गै पुस्तक हुन्छ भन्ने पनि पत्तो छैन । हामीलाई कुन नेताले कति पेजको दस्तावेज सुनायो कण्ठै हुन्छ तर आफूले शिक्षण गर्नुपर्ने विषयको पाठ्यक्रमका बारेमा अत्तोपत्तो हुन्न ।  शिक्षक निर्देशिका र अन्य सन्दर्भ सामग्री झन कुन चरीको नाम भइहाल्यो । सिकाइका सिद्धान्त, विधि, प्रविधि, सामग्री आदिका क्षेत्रमा कति धेरै खोज, अनुसन्धान, आविष्कार र अभ्याससमेत भइरहेका छन् । तर हामीलाई बाल मतलब । हाम्रो त सदावहार ‘प्रवचन विधि’ छँदैछ । मानौँ ब्रह्माण्डमा चन्द्र, सूर्य रहुन्जेल यो फेर्न मिल्दैन । ज्ञात रहोस्, अचेल हाम्रो सिकाउने तरिकालाई लिएर विद्यार्थीहरूले हामीलाई “४५ मिनेटको झ्यारझ्यारे रेडियो”को संज्ञा दिने गरेका छन् ।

विद्यार्थी मूल्याङ्कनको हालत झन “कठै बरी लै लै” भन्ने खालको छ । विद्यार्थी मूल्याङ्कनसम्बन्धि मूल्य मान्यताहरूमा नै कति बदलाव आइसक्यो । प्रणालीहरूमा कति धेरै हेरफेर भइसक्यो । मूल्याङ्कन साधनहरूमा कति फेरबदल भइसक्यो । हामी अझैँ “टेस्ट–बोर्ड, पास–फेल, फस्ट–सेकेन्ड डिभिजन–प्रतिशत, जिल्ला टप–बोर्ड टप–नेपाल टप”को कुहिगन्धे सिनो सुमसुम्याइरहेछौँ । खासमा भन्नुपर्दा हामी निकै परम्परावादी र रुढीग्रस्त मानसिकताका छौँ । हाम्रै अल्छीपन, लापरवाही र उदासीनताका कारणले नै हो निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली राम्रोसँग लागु नभएरै  तुहिएर गएको ।

मूल्याङ्कन पनि सिकाइ प्रक्रियाकै एक अभिन्न अङ्ग हो । यसलाई केवल विद्यार्थी ‘पास–फेल’को निर्णायक आधारका रूपमा होइन, निरन्तर सिकाइ प्रक्रियाकै रूपमा जोड्नु पर्दछ । आइन्दा सिकाइको मूल्याङ्कन होइन, सिकाइका लागि मूल्याङ्कन हुनुपर्छ भन्ने नै निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको मूल मर्म थियो । यसको कार्यान्वयनका लागि करोडौँ बजेट निकासा भयो । अनेक सामग्रीहरू तयार गरी वितरण गरियो । तालिम, कार्यशाला, गोष्ठी, भेला, अन्तर्क्रिया अनेक भए । तर व्यावहारिक प्रयोगको नतिजा “बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गा बाङ्गै” भने झैँ भयो ।

प्रणालीले भन्यो, “प्रत्येक सिकाइ उद्देश्यको क्रियाकलाप सकिएपछि तोकिएका मापदण्डको आधारमा रेजा लगाऊ र सिकारुको सिकाइ स्तरको रूजु गरी अभिलेख राख ।” हामी पनि के कम वार्षिक नतिजा प्रकाशनका अघिल्लो रातभरि ज्वरो आउने गरी  रेजा लाइदियौँ । प्रणालीले भन्यो, “सिकाइ अभिलेखको विश्लेषण गर । जसको सिकाइस्तर कमजोर छ, उसलाई थप सहायता गर र सिकाइस्तर सुधार गर्ने पुनः अवसर देऊ । बारबार अभ्यासको अवसर प्रदान गरी कसैलाई पनि ‘फेल’ नहुने गरी सिकाऊ ।”

हामी पनि के कमm सारा दोष मूल्याङ्कन प्रणालीलाई थोपरेर डेस्क बेन्चबाहेक सब ‘पास’ गरिदियौँ । अझैँ निर्लज्ज भनिरहेछौँ, “सिकाइ स्तर ध्वस्त हुँदै जानुको मूल कारण नै विदेशीको नक्कल गरिएको त्यही निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली हो ।”

कमसेकम कुनै पनि कार्यक्रमलाई निश्चित अवधिभर व्यावहारिक रूपमा पूर्ण अभ्यास गरिसकेपछि त्यसका बारेमा शोध अध्ययन, अनुसन्धान गरी प्राप्त तथ्याङ्कको विश्लेषणका आधारमा  सफल वा असफलको निष्कर्षमा पुग्नुपर्ने हो । तर हामीले हावामा होहल्ला मच्चायौँ, “यसको काम छैन ।” 

त्यही हालत फेरि अक्षराङ्कन प्रणालीमा देखिइरहेको छ । अक्षराङ्कन प्रणाली लागु भएको पनि करिब दशक हुनै लागिसक्यो तर यसका बारेमा हाम्रो बुझाइको स्तर कस्तो छ भन्ने ददृष्टान्त भरखर प्रकाशित भएको एईईको नतिजाका सम्बन्धमा विभिन्न विद्यालय तथा शिक्षकहरूले सार्वजनिक गरेका सूचनाहरूलाई हेरे पुग्छ । निश्चितै छ कि, एकदिन फेरि हामी हावामै घोषणा गरिदिने छौँ, “यसको पनि अब काम छैन ।”

यी सबै असफल प्रयासहरूको मूल कारण हो योजनाविहीन शिक्षण सिकाइ क्रियाकलाप । यदि शिक्षकले योजनाबद्ध शिक्षण क्रियाकलाप अङ्गालेको भए सब प्रक्रियाहरू व्यावहारिक अभ्यासमा निरन्तर प्रयोग भइरहन्थे । कुनै प्रकारको अलमल वा अन्योलता रहँदैनथ्यो । असफलै भए पनि प्रयोगसिद्ध तथ्यका आधारमा हुन्थ्यो । सिकाइका क्षेत्रमा नवीन उपलब्धि हुन्थ्यो । अरू देशमा किन सफल रह्यो र हामीकहाँ किन असफल भयो भन्ने कारणसहित पुष्टि हुन्थ्यो ।

हामीसँग त व्यावहारिक प्रयोग गर्ने जोस, जाँगर या उत्साह केही छैन । केवल थरीथरीका बहानाका चाङ छन् । कसैले “खै त सर, म्याम हजुरको पाठयोजना ?” सोधिहाल्यो भने हामीसँग ‘रेडिमेड’ जवाफ तयार छ, “ह्या, यत्रो वर्ष पढाइसकेपछि पनि पाठयोजना लेखिरहनु पर्छ र ? हाम्रो त यहाँ दिमागमा पूरै सेट भइसक्या छ नि” ।

प्रश्नकर्ता जिद्दी गर्छ, “तैपनि हुनु त पर्यो नि ?” हामी बहानाका चाङबाट फ्याट्ट एक बहाना निकालिहाल्छौँ , “यति धेरै पिरियड पढाउनुपर्छ कहाँ पाठयोजना बनाई साध्य हुन्छ र ? त्यो त सुविधा सम्पन्न स्कुलमा दैनिक एक, दुई घण्टी पढाउनेलाई मात्रै सम्भव होला ।” 

प्रश्नकर्ता अझैँ छोड्दैन, “खै, त्यही एक दुई पिरियडको मात्रै भए पनि हेरौँ न ।” अब हाम्रो पारो तात्तिहाल्छ, “किन चाहियो योजना–स्योजना । वर्षौँदेखि यसरी नै चलिरा छ त मजाले ।”

ओई, सर, म्याम कहाँ चलिराछ मजाले ? मजाले चलिरहको भए तलब थोरै भयो भनेर किन रोएका हामी ? सम्मान पाइएन भनेर किन अलापविलाप गरेको हामीले ? विभेद भयो भनेर किन डाँको छोडेको ? मर्यादाक्रममा परिएन भनेर किन भक्कानिएको ?

यदि हामीले योजनाबद्ध शिक्षण सिकाइमा जोड दिएको भए आज देशको शैक्षिक अवस्थामा आमूल परिवर्तन भइसकेको हुनेथियो । समाजका हरेक नागरिकको आँखामा शिक्षकको छवि एक आदर्श र प्रिय व्यक्तिको रूपमा नानी बनेर बसेको हुनेथ्यो । हाम्रो छाती गर्वले फुल्नेथ्यो । सम्मानले शिर उचो हुनेथ्यो । कमसेकम “कुन दिनको कुबुद्धिले मास्टर भइएछ ,” भन्दै धिक्कार्नुपर्ने त थिएन ।

आजकाल शैक्षिक सुधार गर्न भन्दै प्रअ वा विव्यस वा स्थानीय निकायका जनप्रतिनिधि वा शिक्षा महाशाखाहरूको अग्रसरतामा विभिन्न उपाय अपनाइएको देखिन्छ । अङ्ग्रेजी माध्यम, विद्युतीय हाजिरी जस्ता उपायलाई शैक्षिक सुधारका अत्याधुनिक उपायहरूको रूपमा निकै हल्लिखल्लि मच्चाइरहेका हुन्छन् तिनीहरू । म दाबीका साथ भन्छु ती सबै ‘झुर आइडिया’ हुन् । एक मात्र उत्तम उपाय हो योजनाबद्ध शिक्षण । अरू सब तपसिलका सहायक पक्ष मात्र हुन् ।

शिक्षकहरूले ‘योजनाबद्ध शिक्षण गर्छौ’ भनेर प्रण गर्ने दिन एक आँधीमय उथलपुथल हुनेछ । अल्छी, आलस्य र बहानाबाजी सब उडाएर लानेछ । शिक्षा क्षेत्रका सम्पूर्ण हाडे गाँठाहरु आफसेआफ फुस्किन सुरु हुनेछन् । खिया परेका शैक्षिक संयन्त्रहरू बिस्तारै चल्न थाल्नेछन् । दूर क्षितिजमा शैक्षिक परिवर्तन र उन्नतिको सुनौलो किरण झुल्किने छ ।

‘कसरी ?’ जिज्ञासा उठ्नु स्वाभाविकै हो ।

जब शिक्षकले योजनाबद्ध शिक्षणको लागि प्रतिज्ञा गर्नेछन्त, तब कक्षा व्यवस्थापनको आवश्यकता खट्किनेछ  । सिकाइ सामग्री चाहियो । मूल्याङ्कन सामग्री चाहियो । सामग्री बनाउनुपर्यो । सामान खरिद गर्नुपर्यो । शिक्षकले प्रअ गुहार्नेछ । प्रअले विव्यस तथा शिअसं । विव्यसले अभिभावक र स्थानीय नेता कार्यकर्तालाई बाध्य पार्नेछ  । सबै मिली स्थानीय सरकारलाई समस्या सुनाउनेछन् । केही उसले पूरा गर्ला, नसके प्रदेश र सङ्घतिर पुर्याउला । सांसदले मन्त्रीलाई, मन्त्रीले प्रधानमन्त्रीलाई । देशैभरिबाट एकैसाथ माग उठ्यो भने बाध्यात्मक परिस्थिति सिर्जना हुनेछ । सरकारका मन्त्रालय र मातहतका विभागहरूले आआफ्ना जिम्मेवारीका काम गर्न बाध्य हुनेछन् । त्यसपछि ढुसी परेका शिक्षा क्षेत्रका किलाकाँटा देशव्यापी रूपमा एकैसाथ चल्न थाल्नेछन् ।

अब दोस्रो सवाल छ, सामुदायिक विद्यालयका शिक्षकहरू आफ्नो पेसागत दक्षतामा उत्कृष्ट छन् त ?

सामुदायिक विद्यालयका शिक्षकसँग विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा अध्ययन गरेका योग्यताका प्रमाणपत्र छन् । हामीमध्ये धेरैजसोको नोकरीको लागि तोकिएको भन्दा पनि निकै उच्च तहका योग्यता हासिल गरेका प्रमाणपत्र छन् । प्रमाणपत्रमा प्राप्ताङ्क पनि उत्कृष्ट नै छ । हामीसँग पूर्वसेवाकालीन, सेवाकालीन, पेसागत विकासलगायतका अनेक प्रकारका तालिमहरू पूरा गरेका प्रमाणापत्र पनि छन् । तालिमका प्रमाणपत्रमा झन् धेरैजसोको प्राप्ताङ्क विशिष्ट श्रेणीकै छ ।

हामीसँग स्थायी अध्यापन अनुमतिपत्र छ । लामो अवधि शिक्षण गरेको अनुभव छ । विषयविज्ञको सूचीमा पनि हाम्रो नाम अग्रपङ्क्तिमै छ । कतिले रोस्टर प्रशिक्षक भएर शिक्षासम्बद्ध तालिम, गोष्ठी र सेमिनारहरू सञ्चालन गरिरहेका पनि छौँ । शैक्षिक परामर्शकर्ता छौँ । अनेक शोध अनुसन्धान गरेका छौँ । लेख रचना र पुस्तक प्रकाशन गरेका छौँ । यसरी हेर्दा सामुदायिक शिक्षकहरू योग्यता र अनुभवका आधारमा उत्कृष्ट नै छौँ । तर हामीले गरेका कामका नतिजा हेर्ने हो भने प्राप्त तथ्यगत आँकडाहरूले हामी उत्कृष्ट छौँ भन्ने दाबीलाई पुष्टि गर्दैनन् ।

 सामुदायिक विद्यालयका विद्यार्थीहरूको सिकाइ स्तरको तथ्याङ्कले हाम्रा प्रमाणपत्रमा उल्लिखित उत्कृष्टताको वैधता र विश्वसनियता पुष्टि गर्दैनन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोग, विश्वविद्यालय सेवा आयोग, प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम प्रतिवेदन, आधारभूत शिक्षा उत्तीर्ण परीक्षा आदि जुनसुकै संस्था वा आयोगहरूद्वारा लिइएका परीक्षासम्बन्धी नतिजाहरूको तथ्य, तथ्याङ्कहरूले हाम्रो उत्कृष्टता पुष्टि गर्दैनन् । यसमा शिक्षकको मात्रै दोष छ त ? भन्ने प्रश्न तेर्सीहाल्छ फेरि । हो यसमा दोषी तमाम पक्ष  छन् ।

तर अमेरिकाकी एनी सुलिभान वा जापानका सोसाकु कोबायशी वा भारतका गिजुभाई वा नेपालकै गजेन्द्र सर आदिका दृष्टान्तलाई हेर्ने हो भने उत्कृष्ट शिक्षकले जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा परिणत गरेर अपेक्षित नतिजा हासिल गराउन सक्छ भन्ने पुष्टी हुँदैन र ? हामीले हाम्रो उत्कृष्टता पुष्टि गर्ने गरी कुनचाहिँ काम गर्यौँ त खै ?

हाम्रो पढाउने शैलीलाई लिएर कति प्रहसन, व्यङ्ग्य, क्यारिकेचर र ट्रोल नै ‘भाइरल’ छन् । हाम्रो प्रश्न निर्माणको ल्याकत गत शैक्षिक सत्रको वार्षिक परीक्षाका लागि विभिन्न स्थानीय निकायद्वारा तयार गर्न लगाएका ‘नमूना प्रश्नपत्र’ले देखाइदिई सके । मूल्याङ्कन प्रणालीप्रतिको हाम्रो बुझाइ र काम गराइको ताइँफाइँ त भरखर भएको एसईईको परीक्षाफलबारे सामाजिक सञ्जालमा पोस्ट गरेका आआफ्ना स्टाटस हेरे भइहाल्यो । उत्तरपुस्तिका परीक्षणको हाम्रो रङ्गढङ्ग भरखरै प्रकाशित “एसईईको उत्तरपुस्तिकामा परीक्षणमा चरम लापरवाही” शीर्षकको समाचारले देखाइसक्यो । कुनै खास विद्यालय वा कुनै शिक्षकको कमजोरीलाई लिएर त्यसलाई समान्यीकरण गर्न मिल्छ र ?भन्ने तर्क पनि उठ्न सक्छ । मिथ्या लाग्छ र जाँगर छ भने स्थलगत अवलोकन गरे हुन्छ । वास्तविक तथ्य अझै योभन्दा डरलाग्दो हुन सक्छ । 

“देशका सारा डाक्टर, पाइलट, इन्जिनियर हामीले नै पढाएका हुन्” भनी बेलाबेला हामी गौरवगाथा सुनाइरहन्छौँ । देशमा डाक्टर पाइलटको सङ्ख्या कति ? आजसम्म हामीले पढाएका विद्यार्थी मध्ये कति जना भए डाक्टर पाइलट ? त्यसमा पनि इमानदार र असल र दक्ष डाक्टर इन्जिनियर कति ?

अरे, दुई चार पिपलका बीज त पहरा फोरेरै पनि उम्रन्छन् । बाँकी सयपत्री वा सूर्यमुखी वा मकै, भटमास वा तोरीहरूलाई मल, बीउ, माटो मौसम तयार गरिदिनु पर्दैन , त्यो जिम्मेवारी हाम्रो होइन , डाक्टर, इन्जिनियर बनायौँ भनी गर्व गर्ने हामीलाई दिनहुँ विमानस्थलमा भक्कानिदै विदेशिने युवाहरूको लस्कर देख्दा ग्लानी हुनुपर्दैन < प्रत्येक दिन कफिनमा फर्किने युवाहरूको लाश देखेर छाती पोल्नुपर्दैन ? देशको बेरोजगारी, अनैतिकता र अपराध कर्म देख्दा कस्तो शिक्षा दिइएछ भनेर पछुतोले भाउन्न हुन्न ? “देश बनाउने डाक्टर इन्जिनियर जन्माउने शिक्षक हामी नै हौँ” भनेर जसको ताज पहिरिने हामीले देश बिगार्ने नालायक नेता जन्माउने पनि हामी नै हौँ भनेर अपजसको भार पनि स्विकार्न तयार हुनुपर्दैन ?

हाम्रो पेसागत कार्यशैली र हासिल भएका नतिजाहरूलाई आधार मान्ने हो भने हाम्रो प्रमाणपत्रको विश्वसनियता र वैधताप्रति गम्भीर आशङ्का पैदा गर्ने प्रशस्त नजिर स्थापित भइसके । प्रमाणपत्रमा उल्लिखित  उत्कृष्ट अङ्क हाम्रै मिहिनेत, बुद्धि र बर्कतले प्राप्त भएको हो भनेर ढुक्क हुने अवस्था कतै देखिदैन । आफू सेवा प्रवेश गर्दाको परीक्षा वा छनोट प्रक्रिया कति पारदर्शी, वैज्ञानिक र व्यावहारिक थियो ? वा त्यसको अन्तरकथा अर्कै थियो अब आत्मसमीक्षा गर्ने बेला भइसकेको छ ।

अचेल हामीमध्ये धेरैले जे जे हाम्रो भनिरहेका हुन्छौँ, खासमा त्यो हाम्रो हुँदैन ।  परीक्षामा हामीले सार्ने उत्तर हाम्रो हुँदैन,  विश्वविद्यालयमा बुझाउने शोधग्रन्थ हाम्रो हुँदैन,  तालिम केन्द्रमा बुझाउने परियोजना कार्यको प्रतिवेदन हाम्रो हुँदैन, प्रअ छनोटका लागि बुझाउने विद्यालय प्रस्तावको खाका हाम्रो हुँदैन, विषय विज्ञ हुनका लागि बुझाउने प्रश्नावली हाम्रो हुँदैन, कासंमूसँगै बुझाउने कार्यमूलक अनुसन्धान प्रतिवेदन पनि हाम्रो हुँदैन ।

यदि हाम्रै हो भने त्यसको विश्वसनियता व्यवहारमा झल्किनुपर्छ । अब हामी सबैले आत्मसमीक्षा गर्नै पर्दछ । फाइल बढुवा हुनेले पनि आफू कुन कुन श्रेष्ठ गुणले बढुवामा परेँ समीक्षा गर्नुपर्छ । अबको पुस्ता र जमाना नोकरीको बढी वर्ष गुजार्दैमा त्यसलाई वरिष्ठ वा श्रेष्ठ स्विकार गर्न तयार छैन । नतिजामुखी काम हेर्छ ।  पुरस्कृत हुनेले पनि आफ्नो कुन विशिष्ट कार्यले गर्दा पुरस्कृत भएँ भन्ने अनुभव र अनुभूति सबैलाई बताउन सक्नुपर्छ । विषयविज्ञहरूले पनि आफूभित्र भएको कुन विशेष ज्ञान, गुण वा सिपका कारण सूचीकृत भएँ भन्ने सगर्व भन्न सक्नुपर्छ । शिक्षक छनोटको परीक्षाका लागि विषय विज्ञ बन्न तँछाडमछाड गर्ने सर, म्यामहरूले पनि  एकपटक आफूले शिक्षण गर्दै आएको विषयमा आफ्ना विद्यार्थीहरूको वास्तविक औसत सिकाइ उपलब्धिको हालत हेरेर थोरै सर्म गर्न सिक्ने हो कि ? 

अब, तेस्रो सवालतिर जाऔँ ।

नेपाली शिक्षकहरूको सदावहार दुःखेसो छ, शिक्षकलाई सम्मान भएन, मर्यादाक्रम भएन, शिक्षकको अपमान भो, विभेद भो, प्रतिष्ठा हरायो । त्यही भएर गुणस्तर ओरालो लाग्यो । साथै हामी शिक्षकहरू व्यक्तिगत, सामूहिक र साङ्गठिनक रूपमा पनि आक्रोश पोख्छौँ, आन्दोलन गर्छौँ, मागपत्र चढाउँछौँ, ‘शिक्षकलाई सम्मान देऊ ।’

शिक्षक भनेको शिक्षारूपी संसारलाई हाँक्ने रथ र राष्ट्रको भाग्य निर्माता हो । शिक्षक नै त्यो शक्ति हो, जसको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भावी सन्ततिहरूमाथि प्रभाव रहन्छ । त्यसैले होला, प्राचीन कालमा शिक्षक (गुरु)लाई देवताका रूपमा सम्मान गरिएको । विद्वान् एचजी वेल्सले भनेका छन्, “शिक्षक इतिहासको वास्तविक निर्माता हो ।” जोन एडम्सको भनाइ छ “शिक्षक मनुष्यको निर्माता हो ” यसरी शिक्षक भनेको वास्तवमा व्यक्ति, समाज र राष्ट्र निर्माता हो । यति भन्दाभन्दै पनि फेरि यो पनि भन्नुपर्ने हुन्छ कि योग्य, सक्षम, कुशल र अनुभवी शिक्षकमात्र पुज्य हुन्छन् ।

त्यसो हो भने, राज्यमा यति महत्त्वपूर्ण योगदान पुर्याउने शिक्षक राज्यकै मर्यादाक्रममा किन पर्न सकेन ? समाजमा ज्ञानको ज्योति फैलाउने शिक्षक सामाजिक अपहेलनामा पर्नु, हँस्सी मजाक, खिसीटिउरी र दयाको पात्र बन्नुको कारण के त ?

अहिलेसम्म हामीले चोर आौँलो अर्कैतिर तेर्स्याइरह्यौँ, ‘शासक सब मूर्ख छन् । सडकमा ढुङ्गा हानेर नेता भएकाहरूमा शिक्षकलाई सम्मान गर्नुपर्छ भन्ने संस्कारै छैन । कर्मचारी सारा फटाहा छन् । शिक्षकभन्दा तल परिएला भनेर सधैँ शिक्षकविरुद्ध नेता, मन्त्रीका कान फुकिरहन्छन् । ईर्ष्याले जल्छन् र जुन थालमा खायो त्यसमै थुक्छन् । विद्यार्थी सब उल्लु छन् । समाजै घामड छ । समय नै खराब छ ।’

तर आफैँतिर फर्किएका चार औँलातिर हाम्रो ध्यान कहिल्यै गएन । आफैँतिर फर्किएर सोच विचार वा चिन्तन मनन गर्ने चेष्टा कहल्यै गर्दै गरेनौँ । शिक्षक राष्ट्रको निर्माता हो भनेर मान्ने हो भने आफैँभित्र प्रश्न गरौँ, हामीले निर्माण गरेको राष्ट्र कस्तो छ त ? वा कस्तो राष्ट्र निर्माण गर्दै छौँ त ? एचजी वेल्सको ‘शिक्षक इतिहासको सच्चा निर्माता हो’ भन्ने पत्याउने हो भने सोधौँ आफैँलाई, हामी कस्तो इतिहास रच्दै छौ त ? जोन एडम्सको ‘शिक्षक मनुष्यको निर्माता हो’ भन्ने भनाइसँग सहमत हुने हो भने आफैँलाई कठघरामा उभ्याएर साबिती बयान गरौँ, हामीले कस्तो मनुष्य निर्माण गर्यौँ ? मनुष्यभित्र मनुष्यत्व कति जगाउन सक्यौं ? यदि हामी निर्दोष छौँ भनी दाबी गर्ने हो भने हामीले नै निर्माण गरेको मनुष्यले किन हाम्रै अपमान गर्यो त ? कि हामीले गर्नुपर्ने जसरी र गर्नुपर्ने जति गरेनौँ र हो ?

शिक्षक र गुरुका बिचमा भिन्नता छर्लङ्ग पार्दै पूर्वीय शास्त्र भन्छ, दश जना उपाध्यायभन्दा बढी एक जना आचार्य उत्तम हुन्छ । जीविकाका निम्ति कुनै वा केही विषय पढाउने शिक्षक उपाध्याय हो भने प्रतिदानको अपेक्षा विना निःशुल्क विद्यादान गर्ने र आचार सिकाउने गुरु आचार्य हो ।

आजका सन्दर्भमा तलबप्रति निरपेक्ष रहेर शिक्षण कार्यमा पूर्णतः समर्पित आदर्श शिक्षकलाई पनि गुरुको कोटीमा राख्न सकिन्छ । हामी आफूलाई साक्षात् गुरुकै कोटीमा राख्छौँ । तर त्यसअनुसारको आचार अनुसरण गरेका छौँ ? शिक्षणप्रति मन, वचन र कर्मले समर्पित भई आदर्शको पालन गरेका छौँ ? तलबप्रति निरपेक्ष हुन सकेका छौँ ?

कुन देशमा शिक्षकलाई कति तलब, कति सुविधा, कुन कुन ठाउँमा निशुल्क सुविधा, कुन कुन ठाउँमा प्रवेश खुला सब हामीलाई कण्ठस्थ छ । के ती देशका शिक्षकहरूको मेहनत, लगनशीलता, कर्तव्यबोध अनि त्यहाँका बालबालिकाको सिकाइ स्तर पनि हामीलाई कण्ठै छ त ? हाम्रो मन मस्तिष्कमा पैसाबाहेक केही छैन । हामी निद्रामासमेत पैसा, पैसा गर्दै बर्बराउनेवाला पर्यौं ।

 सोची हेरौँ त, पैसाका लागि हामीले के के गर्यौ ? अझैँ के के गर्दै छौँ ? पैसाका लागि शिक्षकको आदर्श कुल्चेर हामी कति तलसम्म गिर्न सक्छौँ भन्ने सारा दुनियाँ नियालिरहेछ । पैसाका लागि हाम्रो दौडधुप देखेर मान्छेले हाम्रो नयाँ न्वारन गरिदिएका छन् “हेलमेट टिचर” । हामीमध्ये कतिपय अनेक धन्दा चलाउँछौँ र ‘रेस्ट गर्न” स्कुल जान्छौँ । अझ कतिले स्कुलबाटै धन्दा चलाइदिन्छौँ । कति त दुई ‘नम्बरी’मा समेत संलग्न छौँ । कतिले स्कुललाई नै ‘पार्टी अफिस’ बनाएका छौँ । कतिले स्कुलबाटै पार्टी चलाइदिन्छौँ ।

गरिब, दुःखी र टुहुरा विद्यार्थीसँग चर्को शुल्क असुलेर आफ्नो सेवा, सुविधा थप्ने हामी नै हौँ । भ्रमण र भोजमा उडाउने हामी नै हौँ । सुजी पिठो र डाल्डा घिउमा लामो हात गर्ने हामी नै हौँ । साना नानीहरूको खाजा खर्चमा समेत र्याल चुहाउने हामी नै हौँ । केवल पैसाका लागि । फेरि ओठेजवाफ फर्किन सक्छ, “शिक्षकको यति थोरै तलबबाट अहिलेको जमानामा कसरी “स्टान्डर्ड लाइफ स्टाइल मेन्टेन” गर्न सकिन्छ र ? दोस्रो, तेस्रो पेसा गर्नु हाम्रो बाध्यता हो ।”

त्यसो भए सेवा प्रवेश गर्नुअघि शिक्षकको तलब वा अन्य सुविधा के कति हो भन्ने थाहा थियो, थिएन < नियुक्ति बुझ्ने दिन के भनेर शपथ खाएको हो < हाम्रो व्यक्तिगत भविष्य बनाउन सारा  बालबालिकाको भविष्य चौपट बनाउन मिल्छ , बरु एकजुट भएर सुविधा बृद्धिका लागि सरकारसँग निर्णायक लडाइँ गर्नु उचित उपाय होइन र ? पैसा र सम्मान दुवै सँगै पाइन्न । सच्चा सम्मान पैसाले मिल्ने होइन ।

शिक्षक आदर्शको कठोर पालनाबाट मात्र सच्चा सम्मान मिल्ने हो । सम्मान भनेको मागपत्र बुझाएर, आन्दोलन गरेर, सन्धि–सम्झौता गरेर वा ऐन, नियममा लेख्दैमा पाइने होइन । हाम्रो आदर्श कर्मले निर्धारण गर्ने हो । आत्मिक र भावनात्मक विषय हो । शिक्षक शैली अपनाएर सम्मानित जीवन जिउने कि जीवन शैली उच्च बनाउन घृणाको पात्र बन्ने छनोट आफैँमा निर्भर छ । 

शिक्षक र गुरुका बिचमा भेद प्रस्ट पार्दै दार्शनिक ओशो भन्नुहुन्छ, “शिक्षक त्यो व्यक्ति हो जसले अरूलाई जे जे सिकाउँछ, स्वयंले त्यो पालना नगर्न सक्छ । तर, गुरु त्यो हो जसले अरूलाई जे सिकाउँछ, त्यो आफ्नै जीवन व्यवहारमा पनि पालना गरिरहेको हुन्छ ।”

यति हुँदाहुँदै  पनि शिक्षकले न्यूनतम नैतिकता र आदर्शको ख्याल गर्नैपर्ने हुन्छ । तर हामी त “किताबको माछो पो हो त नखाने, खोलाको माछो त खाइहाल्ने हो ।” खाले प्रवृत्तिका अब्बल दृष्टान्त हौँ । बिहानभरि निजी स्कुलको ब्यानर बोकेर घरदैलो गर्छौँ  र दिउँसो सरकारीमा हाजिर लाउन जान्छौँ । आफ्ना बच्चा निजी स्कुलमा पुर्याएर सरकारीमा पढाउन जान्छौँ । हामी निजीको सञ्चालक हौ,  संरक्षक हौँ, एजेन्ट हौँ तर जागिर सरकारीमा खान्छौँ । बोल्ने कसको हिम्मत < पार्टी हाम्रै दाहिने । नेता हाम्रै साक्खै । कसैले बोल्ने दुस्साहस गरिहाल्यो भने हामी सबैभन्दा ‘खतरा’ बालअधिकारवादी । मानवअधिकारवादी ।

शिक्षकलाई नशा सेवन छुट छ । विद्यार्थीलाई बर्जित । शिक्षकलाई शृङ्गार स्वतन्त्रता । विद्यार्थीलाई निषेध । शिक्षकलाई मोबाइल ‘फ्री’ । विद्यार्थीलाई प्रतिबन्ध । शिक्षकलाई विवाहइतर प्रेम, यौनसमेत स्वाभाविक मानवीय आवश्यकता । विद्यार्थीको उमेरगत स्वाभाविक ‘लभ’, ‘रिलेशनसिप’, ‘डेटिङ’ सब उत्ताउलो र अपाच्य ।

शिक्षकलाई परीक्षा विना स्थायी चाहिने, सजिलो प्रश्नपत्र चाहिने । परीक्षामा चिट चोर्न नपाए आन्दोलन । विद्यार्थीले चिट चोरे कार्वाही ।  शिक्षकले गर्दा सबै सही । विद्यार्थीले गर्दा अपराध । दण्ड सजाय । यी सबै पाखण्डहरूको ढाकछोप गर्न शिक्षकले अचेल एउटा नयाँ महावाणी व्युत्पन्न गरेका छौँ, “शिक्षकले जे गर्छ, त्यो नसिक, शिक्षकले जे भन्छ त्यो मात्र सिक ।” यही वाक्यको आवरणभित्र गर्नु–नगर्नु सबै गर्यौँ । खानु–नखानु सबै खायौँ । बोल्नु–नबोल्नु सबै बोल्यौँ । हेर्नु–नहेर्नु सबै हेर्यौँ । समाज यी सबै कृत्याकृत्यको चस्मदिद साक्षी छ ।

लोकगायक पशुपति शर्माको व्यंग्य गीतको थालनी नै शिक्षकबाट किन भयो ? लेखक बुद्धिसागरले आफ्नो उपन्यास फिरफिरेमा ‘सर्वजित माड्साब’ लाई किन त्यति निरीह, लाचार र अन्धविश्वास र सामाजिक अत्याचारको मुकदर्शक बनाए ?  सायद समाजको नजरमा हाम्रो यथार्थ चित्र त्यस्तै देखिने भएर त होला ।

हामीले पढाएका हिजोका विद्यार्थीहरू नै आज राज्यको उच्च शासकीय र प्रशासकीय ओहोदामा बहाल छन् । उनीहरूको विद्यार्थी जीवनमा हामीले प्रदर्शन गरेका सम्पूर्ण पाखण्डहरूको सूची तिनका स्मृतिमा अझैँ ताजै छ । शिक्षा दिने बहानामा हामीले तिनीहरूप्रति गरेका सम्पूर्ण ज्यादतीको हिसाबकिताब तिनले सुरक्षित राखेकै छन् । तिनका मस्तिष्कमा शिक्षक नामको एउटा कुरूप तस्वीर ठिङ्ग उभिएको छ । त्यो यथावत् रहुन्जेल न हाम्रो सेवा सुविधा वृद्धि हुनेवाला छ न त हामीले सच्चा सम्मान र मर्यादा पाउनेवाला छौँ । हाम्रो सोच, विचार, आचरण र कार्यशैलीमा आमूल परिवर्तन गरेर समाजका नजरमा शिक्षकको सुन्दर बिम्ब निर्माण गर्न सक्यौँ भने मात्र हामी शिक्षकले सम्मानित जीवन जिउन पाउने छौँ ।

यति धेरै अव्यवस्था, बेथिति, विसङ्गति र प्रतिकूलतालाई परास्त गर्दै निस्काम कर्मयोगमा जुटेर जसजसले नौला अभ्यास गरिरहनु भएको छ । निराशाको कालो अँध्यारोबिच पनि आशाको किरण देखाउन सफल हुनुभएको छ । अब्बल नतिजा हासिल गराउन दत्तचित्त हुनुहुन्छ त्यस्ता निस्वार्थ कर्मयोगी साक्षात् गुरु, गुरुआमाहरूप्रति हार्दिक नमन गर्दछु । मेरा आलोचनात्मक शब्दले यदि उहाँहरूको स्वाभिमानमा ठेस पुगेको रहेछ भने क्षमाप्रार्थी छु ।

लेखक तुलसीपुर–१७, मानपुर, दाङस्थित दीपेन्द्र माध्यमिक विद्यालयमा शिक्षक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भूपाल आचार्य
भूपाल आचार्य
लेखकबाट थप