बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

साउदी पुगे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन

सोमबार, १७ वैशाख २०८१, १५ : ३१
सोमबार, १७ वैशाख २०८१

रियाद । हमास र इजरायल विगत ६ महिनादेखि लडिरहेका छन् । हमासलाई सिध्याउने इजरायलको संकल्पले गाजा पट्टीका जनताले ठुलो मूल्य चुकाउनु परिरहेको छ । 

हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसैबिच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार साउदी अरबको रियाद पुगेका छन् । साउदी अरबपछि ब्लिन्केनले जोर्डन र इजरायलको पनि भ्रमण गर्नेछन् । ब्लिन्केनको भ्रमणको उद्देश्य मध्यपूर्वमा शान्ति प्रक्रियालाई गति दिनु र इजरायली बन्धकहरूको रिहाइ गर्नु हो ।

युद्धविरामबारे पनि छलफल हुने

अमेरिकी विदेश मन्त्रालयका अनुसार साउदी अरबमा ब्लिन्केनले क्षेत्रीय सुरक्षामा समन्वयलाई अगाडि बढाउन खाडी सहयोग परिषद्को मन्त्रीस्तरीय बैठकमा भाग लिनेछन् । उनी विश्वव्यापी सहयोग र विकासका लागि ऊर्जा सम्बन्धी विश्व आर्थिक मञ्चको विशेष बैठकमा पनि सहभागी हुने बताइएको छ । अरब साझेदारहरुसँगको अप्रिल २९ देखि मे १ सम्मको भेटघाटको क्रममा ब्लिङकनले गाजामा युद्ध विरामको लागि जारी प्रयासबारे छलफल गर्ने बताइएको छ । यसबाहेक गाजालाई दिँदै आएको मानवीय सहायतामा वृद्धिबारे पनि कुराकानी गरिने बताइएको छ ।

बन्दीहरूको रिहाइमा जोड

ब्लिन्केनले कैदीहरूको रिहाइबारे पनि कुराकानी गर्ने बताइएको छ । प्यालेस्टिनी जनता र युद्धविराम बीचको यो विषय मुख्य अवरोधको रुपमा रहेको छ । इजरायलले इजिप्टका मध्यस्थकर्ता मार्फत हमासलाई ३३ बन्दी तुरुन्त रिहा गरिएन भने दक्षिण गाजा पट्टीको रफाह क्षेत्रमा आक्रमण सुरु गर्ने बताएको छ । राजनीतिक वार्ता असफल भएमा आफ्ना सेना रफाह क्षेत्रमा प्रवेश गर्ने पनि इजरायलले बताएको छ ।

ब्लिन्केनले साउदी अधिकारी र मन्त्रीहरूलाई पनि भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका इजरायली समकक्ष बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा बन्दीहरूको रिहाइको बदलामा हमला रोक्ने विषयमा छलफल गरेका थिए । यसको केही घण्टामै ब्लिन्केन रियाद पुगे । साउदी अधिकारी र मन्त्रीहरूसँग गाजाको भविष्यका सम्बन्धमा भेट्ने विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले आइतबार बताएका थिए । एन्टोनी ब्लिन्केनले पनि युद्ध विराम र यस क्षेत्रमा दिगो शान्ति र सुरक्षा स्थापित गर्न जारी प्रयासहरूबारे छलफल गर्नेछन् । ब्लिङ्केनले इजरायल र जोर्डन भ्रमण गर्ने घोषणा  पनि विदेश मन्त्रालयले गरेको छ ।

फेब्रुअरीमा पनि गएका थिए साउदी अरब

एन्टोनी ब्लिन्केनले गत फेब्रुअरीमा पनि साउदी अरबको भ्रमण गरेका थिए । यस क्रममा उनले युवराज मोहम्मद बिन सलमानलाई भेटेर धेरै महत्त्वपूर्ण विषयहरूमा छलफल गरेका थिए । इजरायल र हमासबlच छ महिनादेखि युद्ध चलिरहेको छ । इजरायली सेनाले गाजा पट्टीमा लगातार आक्रमण गरिरहेको छ । यसैबिच स्वास्थ्य मन्त्रालयले हमास र इजरायलबिचको द्वन्द्व बढेपछि गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप