मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञाको अलख जगाउने जोगी प्रदीप गिरि

बिहीबार, ०९ भदौ २०७९, १३ : ५७
बिहीबार, ०९ भदौ २०७९

 प्रदीप गिरि (२००४/२०७९–०५–०४) एक असाधारण क्षमता भएका व्यक्ति थिए  । काँग्रेस सधैँझैं सत्तामा रहे पनि उनी जुनसुकै सरकारको सदावहार विपक्षीजस्ता थिए । तर आफैमा एक सत्ता थिए, जुन सत्ता उनलाई उनको पार्टी र नेपाली जनतामार्फत् प्राप्त थिएन । उनको सत्ता आफ्नै बुताको आर्जन थियो, जुन ज्ञानको सत्ता थियो । ज्ञानको सत्ता त्यस्तो सत्ता हो, जसले सबैका अघिल्तिर आफूलाई शिखरमा राखेको हुन्छ । 

‘नलेज इज पावर’ मिसेल फुकोले उसै भनेका होइनन् । जसलाई कसैले खोस्न र छेक्न सक्दैनथ्यो । प्रदीप गिरिले राज्यको सत्तामा जान मरिहत्ते गरेनन् । अवसर पाउँदा पनि इन्कार गरे । मन्त्री बनाइदिने भन्दै २०५६ मा कृष्णप्रसाद भट्टराईको चुनावी प्रचार थियो तर गिरि चुनाव हारे र हार्नुमा यस्तो प्रकारको सन्तोष प्रकट गरेका थिए । ‘मलाई मन्त्री बन्नबाट भगवानले बचाउनु भयो, म किसुनजीको आग्रह टार्न सक्दिनथेँ तर भगवान्ले चुनाव हराएर मलाई त्यो अवस्थाबाट मुक्त गरिदिए । 

यसको अर्थ हो, प्रदीपलाई सत्ताको भोक र लोभ थिएन । संसद र पार्टीको केन्द्रीय सदस्य चैं किन नि भन्ने प्रश्नमा गिरि जनतासँग जोडिने सङ्गठित मन्च र आधार चाहिन्छ । त्यसैले म पार्टीको फोरम प्रयोग गर्छु भन्थे ।’ 
२०५६ मा काँग्रेसको  पोखरा अधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गिरि काठमाडौंमा २०७९ मंसिरमा सम्पन्न १४औँ अधिवेशनमा विरामीको कारण भारतमा उपचाररत रहेकोले सहभागी हुन सकेनन् । २०५१, २०५६ र २०७० मा सिरहाबाट चुनाव लडेका गिरिलाई २०५६ मा पराजय बेहोर्नु पर्यो । 

२०६३ को अन्तरिम संसदमा मनोनित सांसद, २०६४ र २०७० मा समानुपातिक सांसद भएर गिरिले संसदमा आफ्नो बौद्धिक पहलमानी देखाए । संसदमा गिरिको सम्बोधन एउटा उत्सव जस्तो देखिन्थ्यो, सबैलाई उत्सुकता हुन्थ्यो । विपक्षी समेत उनको भाषण सुन्न उत्साहपूर्ण सहभागिता जनाउँथे । गिरिले बोल्दा छुट्टयाइएको समय नाघ्दा समेत सभामुखले माइक काटिदिन दकस मान्थे तसर्थ गिरिको सम्बोधन पाएको समय भन्दा लम्बिने गरेको अनुभव सांसद र सभामुखहरूको हुन्थ्यो । 

पूर्वसभामुख ओनसरी घर्ती प्रदीप गिरिले संसदमा बोल्दा आउने रौनक र तरङ्गमा आल्हादित हुने गरेको बताउनु हुन्छ । वामपन्थी बाहुल्य संसदमा गिरिको मन्तव्य सुरू हुँदा पिन ड्रप साइलेन्स देखिन्थ्यो । तर आफ्नै पार्टीका नेता र महत्त्वपूर्ण व्यक्ति बोल्दा संसादहरू स्कुले केटाकेटीझैँ चञ्चल र गफगाफ खासखुसमा रमाएका भेटिन्थे । 

प्रदीपले बोल्दा सांसदहरूको एकाग्रता साँच्चिकै हेर्न लायक र स्मरणीय हुन्थ्यो । कृष्णप्रसाद भट्टराईले पहिले नै ज्ञान (प्रज्ञा)को अलख जगाउने जोगीको रूपमा चित्रण गरेर उनको प्राज्ञिक चिनारी दिइसकेका थिए ।  गिरिको देहावसानपछि नेताहरूबाट व्यक्त निम्न धारणा र शोक सन्देशले गिरि को हुन् बुझ्न सघाउँछ ।

‘मेरा अनन्य मित्रको देहावसानले मर्माहत छु ।’– प्रधानमन्त्री देउवा । 
‘प्रदीपजीको अभाव नेपाली राजनीतिमा लामो समयसम्म खट्किरहने छ ।’ –प्रचण्ड 
‘एउटा विश्वविद्यालय बन्द भयो ।’ – विश्वप्रकास शर्मा 
‘आफू कहाँ योग्य छु, त्यो थाहा भएका नेता हुन् प्रदीप गिरि ।’ –नरहरि अचार्य 
‘मैले जीवनमा यत्तिको तीक्ष्ण बुद्धि र स्मरण शक्ति भएको अर्को मान्छे भेटेको छैन ।’–गगन थापा 

‘कर्मले, लेखनले, विचारले, चिन्तनले, समयले र परिश्रमले अहिलेको समाजवादी आन्दोलनका सम्भवतः सबैभन्दा अग्लो व्यक्ति हुन्, प्रदीप गिरि । बौद्धिकता, राजनीतिक सक्रियता र प्रतिबद्धतालाई एकैठाउँमा राखेर हेर्दा प्रदीप गिरि जत्तिको कोही मान्छे अब बाँकी रहेका छैनन् ।’ –घनश्याम भुसाल 
‘मधेसका मात्र होइनन् देशका नेता, टेकनिकल्ली काँग्रेसको नेता भए पनि देशका नेता हुनुहुन्थ्यो ।’ –राजेन्द्र महतो
‘पद, पैसा र प्रलोभनका लागि सिद्दान्तलाई लात मार्ने समाजमा उहाँ आफ्नै आदर्श, त्याग र ढिपीका एक सिङ्गो टापु र प्रतीक भएर रहनु भयो ।’ –दमननाथ ढुंगाना 

यी केही प्रस्तुत प्रतिनिधि भनाइलाई प्रतिनिधिमूलक मानेर विश्लेषण गर्दा प्रदीप गिरि नेपाली राजनीतिको कुन धरातल र कहाँ उभिएका छन् भन्ने थाहा हुन्छ । नेताहरूले प्रदीप गिरिको गुणगान उनको मृत्युपछि मात्रै गरेका हुन् ? या उनी जीवित हुँदा नै उनको ज्ञान र बुद्धिको कदर भएको थियो ? पक्कै पनि मार्क्सवादको वृहत् व्याख्या र विश्लेषण गर्न कम्युनिष्ट घटकहरूले प्रदीप गिरिलाई प्रमुख वक्ता बनाएर ठाउँ ठाउँमा लगेबाट उनको ज्ञानको क्षितिज पहिल्याउन सकिन्छ । 

मार्क्सवादी अध्येता घनश्याम भुसाल प्रदीप गिरिको स्मरण गर्दै लेख्छन्, ‘कार्ल मार्क्सः व्यक्तित्व र कृतित्व’मा प्रवचन दिन काठमाडौैं, धुलिखेल, वीरगंज, पोखरा, नेपालगन्ज सबैतिर गए । एंगेल्सपछि मार्क्सको सबैभन्दा नजिकको साथी उनी नै हुन्, जसरी मार्क्सको जन्म, पालनपोषण, अध्ययन, परिवार, निर्वासन, अभाव रुचि र मजदुर आन्दोलन, विवाद र तत्कालीन युरोपेली विश्व परिस्थितिलाई यसरी व्याख्या गर्थे, जसले श्रोतामा असाधारण प्रभाव पाथ्र्यो ।’ 
गिरिले नेपाली समाजलाई नजकिबाट चिनेका थिए । सोहीअनुसार व्याख्या विश्लेषण र व्यवस्थाको कुरा गर्थे । त्यसैले ओली सरकारको पालामा उनले ‘इनफ इज इनफ’ भन्दै संसदमा ओली सरकारको चर्को तर तार्किक आलोचना गरेका थिए । 

यही क्रममा ऐतिहासिक तथ्य पस्कँदै जर्मनीको उदाहरण दिएर भारतमा इन्दिरा गान्धी र राजीव गान्धीको प्रचण्ड बहुमतको सरकार असमयमा गिरेको उदाहरण पेश गरेका थिए । संसद्को गणितको भर हुँदैन, केवल प्रजातान्त्रिक मूल्य र मान्यतामा जोड दिएर दम्भ त्याग्न सुझाएका थिए । नेकपाको सरकार यही ढङ्ग र तरिकाले सन्चालन भए गिर्ने उनको सङ्केत आखिर पुष्टि भएर नै छाड्यो । यसर्थ उनी दुरदृष्टि राख्ने र राजनीतिक घटनाक्रमको पूर्व आकलन गर्न सक्ने राजनीतिज्ञ भएको प्रमाणित हुन्छ । 

प्रदीपले मनोगत होइन, वस्तुगत कुरा गरे । सबैलाई मुख फर्काए । विरोधका लागि कसैको विरोध गरेनन् । सैद्धान्तिक विरोध गर्न र मनपरेको कुरामा समर्थन गर्न कसैलाई छोडेनन् । पार्टी अनुशासनको दृष्टिले अराजक र अनुशासनहीन भएर उत्ताउला देखिए तर उनको अराजकतामा पार्टी होइन देश अटाउँथ्यो । त्यसैले २०७२ को संविधानमा हस्ताक्षर समेत गरेनन् । संविधानमा त्रुटी छ भनिरहे । 

उनी पार्टीको पेट बोली नबोलेर आफ्नो अन्तर्य बोल्थे । प्रज्ञा ओकल्थे, जसमा देश दुखेको पक्षदेखि समाधानको गाँठो फुकाउने विचार व्यक्त हुन्थ्यो । २०५१ सालमा सुरू भएको माओवादी जनयुद्धलाई हेर्ने काँग्रेसको दृष्टि आतंककारी भन्ने नै थियो । 

उता एमाले स्थायी समितिले २०५४ साउन २८ गते माओवादीलाई आतङ्ककारी घोषणा गर्दै आतङ्कवाद नियन्त्रणसम्बन्धि कानुन बनाउन सरकारलाई प्रस्ताव गर्यो । त्यसअनुसार तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विध्वंसात्मक नियन्त्रण विधेयक मन्त्रीपरिषद्बाट अनुमोदन गराएर संसद्मा लगे तर काँग्रेसका नेता प्रदीप गिरिले माओवादी समस्या पूर्णतः आतंकवादी गतिविधि होइन, यो आतंकको छाँयामा गरिएको राजनीतिक गतिविधि हो, जसको सैन्य समाधान होइन, राजनीतिक समाधान खोजिनुपर्छ भन्थे । 

जबकि त्यसबेला माओवादीहरू काँग्रेसलाई खोजी खोजी र एमालेलाई रोजी रोजी सिध्याउने रणनीति अख्तियार गरेर हिंसात्मक गतिविधि गर्थे । त्यसैले प्रदीप गिरि आलोचनाको शिकार पनि बने तर उनको निस्कर्षमा अन्ततः मुलुक पुग्यो । र, माओवादीसँग संसदवादी दलको सहकार्यको वातावरण बन्यो । सरकार र माओवादी २०६३ मंसिर ५ मा शान्ति सम्झौता गर्न आइपुगे । त्यही राजनीतिक परिणतिको कारण आज देश संघीय गणतन्त्रात्मक मुलुक भएको छ ।
शेरबहादुर देउवाको अग्रसरतामा २०५९ असारमा नेपाली काँग्रेस फुट्यो । गिरि देउवा पक्षधर भए । नेपाली काँग्रेस प्रजान्त्रिकलाई मूल काँग्रेस भन्दा फरक देखाउन २०६० मा कदमजमको अवधारणा ल्याएर राज्यमा सबैको प्रतिनिधित्व बढाउने र काँग्रेस संघीयताको पक्षमा जाने नीति पास गर्यो, जसको श्रेय प्रदीप गिरिलाई जान्छ । उनले कर्णाली, दलित, मधेसी, जनजाति र महिलाको लागि समान व्यवस्थाको प्रावधान मात्र होइन, विशेष व्यवस्था र अवसरको कुरा गरेर किनाराकृत वर्गलाई काँग्रेसले ध्यान दिनुपर्ने विशेष पहल लिए र कदमजमको अवधारणालाई प्रयोगमा ल्याउन पार्टीलाई सहमत गराए । 

तसर्थ पनि अन्य राजनीतिज्ञ भन्दा प्रदीपको समाज बुझ्ने चेत अघि थियो भन्न सकिन्छ । समाजलाई हेर्ने आलोचनात्मक दृष्टिकोण निर्माणको पछाडि उनमा हिन्दुस्थानका प्रख्यात समालोचकहरू नामवर सिंह र मैनेजर पाण्डेको प्रभाव देख्न सकिन्छ । एउटा भनाइ छ, ‘सैन्यवारमा सेनाको कमजोर किल्लामा हान्नुपर्छ तर वौद्धिक पहलमानीमा प्रतिपक्षको बलियो किल्लामा हमला गर्नुपर्छ ।’ विपक्षीको बौद्धिक किल्लामा प्रहार गर्ने खुवी प्रदीप गिरिको थियो । तसर्थ उनीसँग सबैलाई तह लगाउने बौद्धिक कारखाना र उत्पादन थियो । समालोचक खगेन्द्र सङ्ग्रौला भन्छन्, ‘गान्धी, मार्क्स, लेनिन, वीपी र केपी सबैका प्रभावबाट निर्मित क्वाँटी हुन् प्रदीप ।’

अराजक थिए प्रदीप 
काँग्रेसका कतिपय तत्कालीन नेताले अपनाएका कतिपय कुरा प्रदीपलाई चित्त बुझेनन् । जस्तो सुवर्णजीले अपनाउनु भएको ‘सभक्तिपूर्ण सहयोग” मा वीपीको मेलमिलापको नीति अन्तरविरोधले ग्रस्त रहेको २०४६ भाद्र १६ मा साप्ताहिक विमर्शमा हरिहर विरहीद्वारा लिएको अन्तर्वार्तामा प्रदीप गिरिले विचार व्यक्त गरेका थिए । वीपीसँग असहमत हुनु चानचुने आँट होइन । वीपीलाई माक्र्सवाद र एंगेल्सबारे बुझाउने क्षमता प्रदीपसँग थियो भन्छन् उनका समकालीनहरू । 

पढ्ने र बुझ्ने मान्छेलाई अतिरिक्त स्थान दिन्थे वीपी । त्यसैले प्रदीपले राय बझाउँदा बीपी रिसाएनन् । सुवर्ण समशेरको सभक्तिपूर्ण सहयोग पनि धेरैले राय बझाएको विषय थियो । बनारसमा गिरिजाप्रसादले भौतिक आक्रमण गर्न लगाएको कुरा प्रदीप गिरिको अन्तर्वार्तामा सुन्न पाइएको थियो । शायद प्रदीपको अराजक शैली तथाकथित अनुशासनहीनाताले नै यस्तो भएको होला । 

२०५० सालमा कृष्णप्रसाद भट्टराई उपचुनावमा उठ्न नहुने तर्क गर्दा भट्टराई स्वयंले झपारेको काँग्रेसजन चर्चा गर्छन् । २०७२ को संविधान काँग्रेसले आफ्नो नेतृत्वमा बनाएको थियो तर यसमा अप्रयाप्तता र त्रुटी छ भन्दै प्रदीपले हस्ताक्षर नै गरेनन् । यसबाट उनको पार्टी अनुशासन नमान्ने प्रवृति देखिन्छ  । 

राष्ट्र, जात, धर्म, लिङ्ग भूगोल र पार्टीका दास बनेनन् उनी । पार्टी राजनीतिमा यो ग्राह्य हुन नसकेपनि विवेकको आवाज बोल्नेको मर्जीले देशलाई कुभलो गर्दैन । प्रदीपले देशको हित नै गरे । अन्तिम समयमा उपचारको खर्च सरकारसँग मागिदिने शुभेच्छुकको सल्लाहलाई आफ्नो इमानको नाक नकाट्न सुझाएर आफ्नै घरखेत बेचेर उपचार गरे । राज्यकोषबाट करोडौ लिनेलाई उनको यो नैतिक दृष्टान्त गतिलो झापड पनि हो । 

प्रेम र विवाह 

पत्रकार किशोर नेपालका अनुसार प्रदीप गिरि र शैलजा आचार्य गहिरो प्रेममा थिए । शैलाजकै कारण प्रदीप राजनीतिमा सक्रिय भएका पनि हुन् । तर यो प्रेम कसरी वियोगान्त बन्यो, त्यसबारे अहिले नै केही नभन्ने किशोर नेपालको धारणा छ । शायद प्रदीप गिरिको आत्मकथामा यो छुट्ने छैन । प्रदीपले आफ्नो कथा लेख्दै गरेको कुरा बिभिन्न समयमा पत्रकार सामू भनेका थिए । उनको जीवनको नखुलेका पाटाहरू अवश्य पनि आत्मकथामा समेटिने होलान् । 
प्रदीप गिरिले औपचारिक बिहे गरेको कसैलाई थाहा छैन तर उनी भारती सिलवाल गिरिसँग लिभिङ टुगेदर रहेको सबैलाई थाहा थियो । मृत्युपछि भारती सिलवालसँग कानुनी रूपमा नै बिहे भैसकेको र उनको छोरा सन्तोषलाई प्रदीपले आफ्नो थर र गोत्र दिएर बाबु बनेको प्रसंग प्रदीपको देहावसानपछि घनिभूत भएर आएको छ । 

आफ्नो बिहे हुनु दुई वर्षअघि नै प्रेमिकासंग भागौँ कि भनेर प्रदीप गिरिले भनेको कुरा नेतृ सरिता गिरिले खुलासा गरेकी छन् । सरिता प्रदीपका काइँलो भाइ लक्ष्मण गिरिकी श्रीमती हुन् । तर उनको प्रसङ्ग बिहे नहुँदै र भाइले सरिता गिरि बिहे गरेको पनि पछि मात्र थाहा भएको सरिताले उल्लेख गरेकी छन् । पत्रकारहरूले बिहे र महिलाबारे सोध्दा महिलाको बारेमा नबोल्ने महिलालाई इश्र्या हुन्छ भनेर छलिने गरेका थिए । महिलासँगको सम्बन्ध र रुचिले प्रदीप रोमान्टिक नै थिए भन्न सकिन्छ । 

शिक्षा र रूचि
प्रदीप गिरिले कति किताव पढे, त्यसको लेखाजोखा छैन । तर उनले बेजोड पढे । समाजको मन मस्तिष्क झन्झन् पार्ने ज्ञान किताब पढेर नै बटुले । प्रदीपलाई दर्शनशास्त्र र अर्थशास्त्रका जवाहरलाल नेहरु विश्वविद्यालयका स्नातकोत्तर मात्रै भनियो भने उनको ज्ञानको सङ्कुचन हुन्छ । त्यो केवल औपचारिक शिक्षा मात्रै थियो । नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषामा विशेष दख्खल राख्ने प्रदीप पूर्वीय वाङ्मयमा प्राधिकार व्यक्तिका रूपमा चिनिन्छन् । 
त्यस्तै, पश्चिमा फिलोसोफी र ज्ञानमा पनि उत्तिकै अब्बल थिए उनी । माक्र्सवादबारे उनको जति ज्ञान र क्षमता दक्षिण एशियामा नै अरुसँग थिएन भनेर तर्क गर्ने वामपन्थीहरू नै छन् । रामायण, महाभारत, पुराण माक्र्स, गान्धी, वीपी साहित्य कला सङ्गीत संस्कृति सबै पढेर पचाए । 

पूर्वीय साहित्य सङ्गीत र पश्चिमी दुवैमा भारी क्षमता प्रदर्शन गर्ने गिरि प्राथमिकता तय गर्न लगाउँदा साहित्य, अध्यात्म र राजनीति भन्थे । पठन सौख र नशा थियो । वीपी विचारलाई अध्यावधिक र जीवन्त गर्ने, पठन, विपठन र पुनर्पठन संस्कृतिका शिखर नै लाग्थे । दर्जनौ पुस्तक लेखे, अनुवाद गरे । 

उनले लेखेका, सम्पादन गरेका केही चर्चित पुस्तकबारे उनका समिपमा रहने लेखक राजनीतिकर्मी शङ्कर तिवारीले जानकारी दिएका थिए । लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्र, रोजा लक्जेम्बर, गान्धी, काँग्रेस माओवाद र मधेसलगायत विषयमा छन् उनका पुस्तक । उनले बनारसमा बस्दा समताको पत्रिकाको सम्पादक भएर पनि काम गरेका थिए । 

यस्तो चाहन्थे गिरि
अहिलेको जस्तो पाँच पाँच वर्षमा चुनाव गर्ने कोही निर्वाचित भएर आउने सरकार चलाउने पद्दतिबाट नेपालको विकास हुन् सक्दैन । नेपाल युरोप जस्तो होमोजिनियस् सोसाइटी होइन । त्यसैले समाजको शक्तिलाई विकेन्द्रीत गरेर भुइँतहका मान्छेसम्म पुर्याउनु पर्छ, भुइँ तहमा प्रजातन्त्रको अभ्यास गर्न पाउनुपर्छ भन्नेमा उनको जोड थियो ।

राजनीतिक व्यवस्था भन्दा मर्ममा जोड दिन्थे उनी । लामो समय एकै मान्छेको नेतृत्वमा भइ रहनु हुँदैन भन्थे । नेपाली समाजलाई चिनेका थिए । सोहीअनुसार व्याख्या विश्लेषण र अर्थ व्यवस्थाको कुरा गर्थे । गाउँलाई आधुनिक सुविधायुक्त सभ्यताको मानक किन नबनाउने ? भनेर ग्रामीण विकासको धारणा सत्ताधारीसँग नभएकोमा क्षुब्ध हुन्थे । हाम्रो अर्थतन्त्र समाजवादउन्मुख कि दलालवाद उन्मुख ? प्रश्न तेस्र्याइ रहन्थे ।

काँग्रेसका नेता र अर्थमन्त्रीलाई धान र गहुँ छुट्याउन नसक्ने अमेरिकामा पढेका अर्थमन्त्री भनेर व्यङ्ग गर्थे । शिक्षा, स्वास्थ्य र बाँच्न पाउने जस्ता जनताका आधारभूत कुरा राज्यको संरक्षणमा हुनुपर्छ भनेर वकालत गर्थे । साहित्य, कला, राजनीति, इतिहास, दर्शन, संस्कृति, भाषा, मिथ, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र सबैका अन्तर्विषयक शिक्षक थिए । कम्युनिष्ट शिविरका प्रिय शिक्षक बने, जसको कारण वामवृत्तल पनि गिरिको महाप्रस्थानले रिक्तता महशुश गरेको छ । 

 समाजवादका आफै दृष्टान्त 
चर्चित राजनीतिज्ञ डा तुलसी गिरीका भतिजा प्रदीप काँग्रेस नेता मित्रलाल गिरीका पुत्र थिए । सानैदेखि राजनीतिक परिवारमा हुर्केका गिरि आमा पुण्यप्रभा गिरीको शालीनताको सधैँ तारिफ गर्थे । राजनीतिको दौडानमा २०२५ र २०४२ गरी दुई पटक ४ वर्षको जेल जीवन व्यतित गरेका गिरि नेपाली राजनीतिका सुनौला नक्षेत्र थिए । 

बहुआयामिक व्यक्तित्व भएका प्रदीप बनारसमा २०२४ मा नेपाल छात्र सङ्घको चुनावबाट निर्वाचित उपाध्यक्ष बनेर पदीय दायित्व बोकेका पार्टीको केन्द्रीय सदस्य र संसद भन्दा माथि जान चाहेनन् । चुनाव हार्दा पनि मन्त्री बन्ने बाटो छेकिएको भनेर प्रसन्न हुने गिरि सत्ताको राजनीतिभन्दा कोसौ टाढा बसेर रेफ्रीको भूमिकामा बसे । ‘वाच डग’ बनेर देशलाई नै खबरदारी गरिरहे । 

प्रजातान्त्रिक समाजवादका व्याख्याता होइन, दृष्टान्त थिए उनी । आफ्नो जन्मस्थल बस्तीपुर, सिरहामा मित्र आश्रम खोलेर सेवाभावमा निर्लिप्त थिए । उनको आश्रममा समाजका सबैभन्दा पिंधमा रहेका सीमान्तकृत वर्ग चमार डोम लगायत दलित भान्सेको दर्जामा थिए, जसले उनको समाजवादी शैली र चिन्तनलाई प्रतिनिधित्व गथ्र्यो । गिरि साधारण भएर रहन्थे । काँग्रेसमा भीमबहादुर तामाङ, रामहरि जोशी, सुशील कोइराला र गिरिलाई सादगी र समाजवादी जीवन शैलीका नेताको रूपमा चिनिन्छ । 
 

सुशीला कार्कीका पति दुर्गा सुवेदी काँग्रेसका क्रान्तिकारी नेता थिए । विराटनगरबाट प्लेन हाइज्याक गरेर फारवेसगन्ज पुर्याएर तीस लाख भारु नेपाली काँग्रेस नेता गिरिजाप्रसादलाई सुम्पने पार्टीका साहसी कार्यकर्ता थिए दुर्गा । उनी राजनीतिबाट पर बसेकोमा गिरिको दुःखेसो अन्तिम बेलासम्म राखेको सुशीला कार्कीको स्मरण छ । गिरिले सुशीललाई भनेका थिए, मेरो बाघ जस्तो साथीलाई बाँधेर राखिदिएकी छौ ।
पार्टी भित्र गिरिलाई आराजक मानिन्थ्यो । गिरि माक्र्सवाद पढाउन कम्युनिष्टहरूको संगठनमा पनि पुग्थे । माक्र्सवादबारे भीषण ज्ञान राख्थे । तसर्थ किन काँग्रेसमै बसिरहनु हुन्छ ? भन्ने प्रश्नमा उनी भन्थे, ‘मेरो स्वतन्त्र चिन्तन र अभिव्यक्तिमा कहिल्यै काँग्रेस बाधक छैन । त्यसैले म काँग्रेस ।’

कमजोरी र आलोचना 
प्रदीप गिरि आम मान्छे हुनुको अर्थमा कमजोरीसहित नै स्थापित नेता हुन् । उनलाई मान्छेको दर्जामा समीक्षा गरौं, ईश्वरीय आवरण मात्रै प्रदान नगरौं । उनको अवगुण छोपियो भने इतिहासमाथि अन्याय हुन जान्छ । प्रदीप गिरिको दाम्पत्य सम्बन्ध उनको आदर्श अनुकूल थिएन । उनी दिनभर सुत्ने र रातभर पढने गर्थे, जुन रुटिन असामाजिक हो । सधैँ संसदमा उपस्थित हुँदैनथे । यदाकदा कार्यकर्तालाई अभद्र व्यवहार गर्थे, डेरा बसेको घरमा घरबेटीसँग उनको लेनदेनको मामलामा किचकिच हुन्थ्यो । साफी हिसाब किताब राख्दैनथे ।

कहिलेकाही रातभर ठूलो भोलुममा म्युजिक बजाएर छिमेकको निद्रामा डिस्टर्ब गर्थे । समाज बदल्नेले कार्यकारी भूमिका ग्रहण गरेर आफ्नो क्षेत्रमा परिवर्तन गरेर देखाउन सक्नुपर्छ तर जिम्वेवारी लिने कामबाट भागेर हिँडे, फकिर थिए । यसरी उनका बारेमा सुनिएका, देखिएका यावत कुराले उनलाई पनि कमजोरी भएका मान्छेका रूपमा देखाउँछ । 

तसर्थ, प्रदीपलाई ईश्वरीय आवरण ओढाइदिएर एउटा मान्छे हुनुको अर्थ गुमाउन दिनु हुँदैन । मान्छेलाई त्रुटिसहित नै मूल्याङ्कन गर्नु वस्तुवादी हुनु हो । प्रदीप नेपाली राजनीतिका उच्च नैतिकता भएका दुर्लभ पात्र मध्येका एक हुन् उनी । इमान, नैतिकता र देशको माया क्षय हुँदै गएको वर्तमान परिपेक्षमा प्रदीप गिरिको महायात्राले शून्यता थपिदिएको छ । मृत्यु शाश्वत हो । जन्मकै दिन मृत्यु अनिवार्य शर्तनामा गरिएको हुनाले मृत्यु अस्वाभाविक होइन । तथापि वियोगमा पीडा हुँदोरहेछ । ज्ञानको एउटा सत्ता गर्लम्म ढलेको छ । प्रदीप दाइ तपाईको महायात्रा सहज होस् । शब्द श्रद्धाञ्जली । 

लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमफिल–पिएचडी अनुसन्धाता हुन्                     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप