शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री भर्सेस पूर्व प्रहरी प्रमुख

मङ्गलबार, ०१ कात्तिक २०७९, २० : २२
मङ्गलबार, ०१ कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । 

हालै एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका खनाल र विगत लामो समयदेखि राजनीतिमा जम्दै काठमाडौँ ६ बाटै पटकपटक चुनाव जित्दै आएका प्रधानबीच हुन लागेको प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रधान र खनाल बाहेक यो क्षेत्रमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, स्वतन्त्र उम्मेदवार निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि चर्चित उम्मेदवार हुन् ।

२०४८ सालदेखि यो क्षेत्रमा कांग्रेसको राजनीति गरेका प्रधान र एमालेका नवप्रवेशी खनाल चुनावी प्रचार प्रसारको अभियानमा लागिसकेका छन् । यसअघि २ पटक निर्वाचित भएर सो क्षेत्रमा गरेको विकास निर्माणको काम हेरेर मतदाताले आफूलाई निर्वाचित गराउने कुरामा प्रधान विश्वस्त देखिएका छन् भने खनाल प्रहरी सेवामा रहँदाको आफ्नो लोकप्रियता र नयाँ चुनावी एजेण्डाका साथ मत तान्ने कोसिसमा लागेका छन् ।

भीमसेनदास प्रधान (नेपाली कांग्रेस)  

प्राध्यापन पेसासँगै नेपाली कांग्रेसमा राजनीति गरेका प्रधान २०४८ सालदेखि काठमाडौँ क्षेत्र नं ६ मा भिजेका पुराना नेता हुन् । यसअघि २ पटक संसदीय निर्वाचनमा विजयी भएका उनले २०७० सालको चुनावमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी माओवादीका हीतमान शाक्यसँग ३ सय भोटले पराजित भएका थिए ।

अघिल्ला २ कार्यकालमा आफूले गरेको कामको मूल्याङ्कन गर्दै जनताले आफूलाई निर्वाचित गराउने उनको विश्वास छ । रातोपाटीसँगको कुराकानीमा प्रधानले भने, ‘तपाईले क्षेत्र नम्बर ६ का लागि राम्रो काम गर्नुभएको छ भनेर जनताबाट प्रतिक्रिया पाएको छु । जनताले मैले गरेको काम हेरेर विजयी गराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’

राजनीतिक दलले पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति भने उनलाई ठिक लाग्ने गरेको छैन । जुनसुकै पार्टीले उम्मेदवार बनाउँदा राजनीतिमै त्याग गरेको व्यक्तिलाई महत्त्व दिनुपर्ने उनको धारणा छ ।

उनले भने, ‘जुनसुकै राजनीतिक पार्टीको भए पनि राजनीतिमै लागेको व्यक्तिले निकै लामो त्याग तपस्या गरेर अगाडि बढेको हुन्छ । त्यो योगदानलाई कदर गर्नुपर्नेमा पूर्व कर्मचारीलाई राजनीतिमा ल्याएर अगाडि बढाउने काम अराजनीतिक चरित्र हो । यस्तो प्रक्रियाले भोलिको राजनीतिलाई विकृत बनाउँदै लान्छ । राजनीतिमा लाग्नेहरुलाई यस्तो कार्यले त निराशा जगाउने काम गर्छ ।’

स्थानीय तहमा आफ्नो निर्वाचन क्षेत्रमा व्यक्ति हेरेर जनताले भोट हाले पनि संसदीय निर्वाचनमा कांग्रेसको मत बढेर आउने उनको विश्वास छ ।

२०४८ सालमा वामपन्थी नेता पद्मरत्न तुलाधर र कांग्रेस नेतृ मंगलादेवी सिंह चुनाव लडेका बेला कांग्रेसको चुनाव प्रचार संयोजक रहेका प्रधान त्यसयता निरन्तर सो क्षेत्रमा क्रियाशील छन् ।

विभिन्न आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनले पछिल्लो समय ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकको विरुद्धमा संसदमा पहिलो पटक आवाज उठाउने काम गरेका थिए । यस्तै खुला मञ्च खाली गर्न र अवैध ढंगले बनाएका सटर हटाउन, कंक्रिटको रानीपोखरी बनाउने काम रोकेर पुरातात्विक ढंगले मल्लकालीन रानीपोखरी बनाउनका लागि पनि प्रधानको महत्त्वपूर्ण भूमिका थियो ।

धर्मस्थली, काभ्रेस्थली लगायतका क्षेत्रमा सडक निर्माण, खानेपानी लगायतका क्षेत्रमा काम गरेको, संसद विकास कोषको पैसा आउने बेला वडाको माग अनुसार विकासको काम अघि बढाएर जनताको मन जित्न सफल भएको प्रधानको भनाइ छ ।

सर्वेन्द्र खनाल (एमाले)

हालै पार्टी प्रवेश गरेर काठमाडौँ–६ मा एमालेको तर्फबाट उम्मेदवारको टिकट हात पारेका खनाल राजनीतिमा नयाँ अनुहार हुन् । प्रहरी संगठनमा हुँदा विभिन्न काम गरेर चर्चा कमाउन सफल भए पनि केही घटनामा उनी विवादमा परे ।

समकक्षी डीआइजी रमेश खरेललाई पाखा लगाउँदै खनाल प्रहरी प्रमुख भएका थिए । उनको कार्यकालका बेला बहुचर्चित ‘निर्मला पन्त’को बलात्कारपछि हत्याको घटना भएको थियो । सो घटनाको सत्यतथ्य अझै पत्ता लाग्न सकेको छैन । २०७६ मा सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँगै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको थियो । प्रहरी प्रमुखबाट अवकास पाएपछि खनालमाथि ‘सांसद अपहरण’को आरोप लागेको थियो ।

रातोपाटीसँगको कुराकानीमा खनालले अपहरणको आरोपबारे प्रष्टीकरण दिएका छन् । अपहरणको जाहेरी लिएर जानेहरु नै अहिले केपी ओलीसँग सहकार्य गर्न आएको र उनीहरुले उजुरी पनि फिर्ता लिएकाले उक्त आरोपको कुनै तुक नरहेको उनको जिकिर छ ।

गैर राजनीतिक क्षेत्रबाट राजनीतिमा आएर पनि विश्वका विभिन्न देशलाई अगाडि बढाउनेहरुको धेरै उदाहरण रहेको बताउँदै उनले आफू सोही रुपमा अघि बढ्न लागेको बताए । रातोपाटीसँग कुरा गर्दै खनालले आफू यही क्षेत्रको बासिन्दा रहेकाले काठमाडौँ–६ का जनताले आफूलाई उपयुक्त उम्मेदवार पाएको दाबी गरे ।

उनले भने, ‘क्षेत्र नम्बर ६ सँग परिचित छु, उत्कृष्ट बनाउनुपर्छ भनेर लागेको छु । प्रहरीमा बस्दा काठमाडौँ–६ लाई सेवा गरेको छु । जहाँ प्रतिभा त्यहाँ अवसर, मैले युथलाई फोकस गरेको छु, काठमाडौँमै पानीको समस्या छ, स्कुल जाने बाटोघाटोको समस्या छ, समन्वय छैन् । त्यो त इम्लिमेन्ट गराउन सकिन्छ, म सक्छु ।’

काठमाडौँका खोलालाई सौन्दर्यीकरण गरेर आसपासमा बस्न सक्ने बनाउन आफूलाई जिताउन पनि उनले आग्रह गरे । सो क्षेत्रमा जित हासिल गर्न कठिन नभएको उनको भनाइ छ ।

यस्तो छ काठमाडौँ–६ मा अघिल्ला चुनावको अवस्था

अघिल्ला चुनावको मतपरिणामको अवस्था हेर्ने हो यो क्षेत्रमा नेपाली कांग्रेसको पकड देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा नेपाली कांग्रेसले १६ हजार ४७९ मत पाएको थियो । दोस्रो स्थानमा रहेको एमालेले १३ हजार ४४५ मत पाएको थियो ।

यो क्षेत्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको खासै उपस्थिति छैन । यहाँ गत चुनावमा माओवादी केन्द्रले २ हजार ३३९, एकीकृत समाजवादीले १ हजार ७५२, राप्रपाले १ हजार ७४६ मत पाएको थियो ।

यहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत मिसाउँदा २० हजार ५ सय ७० हुन्छ, जुन एमालेले पाएको मतभन्दा ७ हजार १२५ ले बढी हो । 

प्रतिनिधिसभा निर्वाचन २०७४ कांग्रेसका भीमसेनदास प्रधानले १६ हजार ७ सय ८५ मत पाएर वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए । सुवेदीले १५ हजार ४८५ मत पाएका थिए ।

यी हुन् काठमाडौँ–६ अन्तर्गतका स्थान  

काठमाडौँ क्षेत्र नं. ६ मा महानगरपालिकाका वडा नम्बर २६, २७, २८, तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा र  टोखा नगरपालिकाको १, ८, ९, १० र ११ नम्बर वडा पर्दछ ।

काठमाडौँ महानगरको वडा नम्बर २६ मा सामाखुसी, लैनचौर, ठमेल, वडा नम्बर २७ मा असन, भोटाहिँटी, महाबौद्ध, सञ्चयकोष तलसम्मको भाग पर्छ । यस्तै, वडा नम्बर २८ मा सिंहदरबार गेटबाट पुतलीसडक, कमलादी, धोवीधारा क्षेत्र पर्छ ।

यता तारकेश्वर नगरपालिकामा साङ्ला, धर्मस्थली, काभ्रेस्थली, फुटुङ, मनमैजु, गोगंबु लगायतका क्षेत्र पर्छन् भने टोखाका ५ वडा अन्तर्गत झोर महांकाल, गोंगवु लगायतका क्षेत्र पर्छन् ।

यी हुन् काठमाडौँ–६ का उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ६ बाट राजनीतिक दल तथा स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

एमालेबाट सर्वेन्द्र खनाल, कांग्रेसबाट भीमसेनदास प्रधान, जसपा नेपालबाट मनोज आचार्य, राप्रपाबाट विष्णुप्रसाद आचार्य, नेमकिपाबाट सनकमान महर्जन, मौलिक जरोकिलो पार्टीबाट कमल न्यौपाने, हाम्रो नेपाली पार्टीबाट मुकुन्द सिलवाल, राप्रपा नेपालबाट महेश्वर कार्की, राष्ट्रिय जनमुक्ति पार्टीबाट तारा रसाइली उम्मेदवार छन् ।

यस्तै विवेकशील साझा पार्टीबाट अजित खड्का, एकीकृत शक्ति नेपालबाट काजी कार्की, नेपाल आमा पार्टीबाट राजेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार छन् ।

स्वतन्त्रबाट विष्णुप्रसाद ढकाल, दीपु उप्रेती, जनकराज थपलिया, सञ्जयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इङनाम, खगेन्द्र ढकाल, राजेश श्रेष्ठ चुनावी मैदानमा छन् ।

यो निर्वाचन क्षेत्रमा विगतमा एमालेका योगेश भट्टराई र वाम गठबन्धनका झक्कु सुवेदीलाई पराजित गरेका कारण पनि यहाँ कांग्रेसको बलियो पकड रहेको मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप