आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

घनश्यामको उम्मेदवारीले दबाबमा एमाले, रुपन्देही- १ मा तरंग

बुधबार, ०२ कात्तिक २०७९, २३ : ०१
बुधबार, ०२ कात्तिक २०७९

-भुवन कार्की
नेकपा एमालेका महासचिव शंकर पोखरेलले केही दिनअघि एक अन्तरवार्तामा घनश्याम भुसालमाथि दलित उम्मेदवार हराउने ‘दुष्प्रयास’ गरेको आरोप लगाएका थिए । पार्टीबाट उम्मेदवार बन्न नपाएको आवेशमा आएर भुसालले एमालेबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छविलाल विश्वकर्मालाई हराउन स्वतन्त्र उम्मेदवारी दिएको पोखरेलको आरोप थियो ।

एमाले महासचिव पोखरेलले भुसालको उम्मेदवारीको राजनीतिक, सैद्धान्तिक रुपमा खण्डन गर्न नसकेपछि जातीय मुद्दालाई उठाएर प्रतिवाद गर्न खोज्नुले नै रुपन्देही–१ मा एमाले रक्षात्मक अवस्थामा पुगेको प्रस्ट हुन्छ ।

लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री समेत बनेका पोखरेलले रुपन्देहीको राजनीतिलाई नजिकबाट नियालेका छन् । केन्द्रीय राजनीतिमा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेतामध्येका एक भुसालले विश्वकर्मालाई हराउन लागेको टिप्पणी गरेका पोखरेलजस्तै यहाँका एमाले नेता कार्यकर्ता पनि भुसालको उम्मेदवारीले तरङ्गित बनेका छन् ।

रुपन्देही–१ का एमाले क्षेत्रीय संयोजक वेद गिरीले एमालेबाट विद्रोह गरेका नेता घनश्याम भुसालप्रति लक्षित गर्दै भने, ‘उहाँ अलि अस्थिर मान्छे हो, अस्थिरता निम्त्याइरहनु हुन्छ, त्यसैले उहाँले निर्वाचन जित्न सक्नुहुन्न ।’

एमालेका देवदह नगर कमिटी इन्चार्ज यम रानाले पनि भुसालको कुनै पार्टी नभएको र अर्काको बैशाखी टेकेर आएको टिप्पणी गरे ।

सत्तारुढ पाँच दलीय गठबन्धनको समेत समर्थन पाएपछि स्वतन्त्र वाम उम्मेदवार भन्दै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका भुसाल भने उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिएका छन् । रुपन्देहीका धकधईमा भएको एक चुनावी कार्यक्रममा उनले आफ्नो जित सुनिश्चित देखेपछि केही एमाले नेताहरु अत्तालिएको टिप्पणी गरे ।

गठबन्धनका तर्फबाट निर्वाचन परिचालन कमिटीका संयोजक तथा नेपाली कांग्रेसका नेता हिरा केसीले रुपन्देही–१ मा गठबन्धन दलको जित सहज भएको तर्क गरे । प्रतिनिधिसभातर्फ भुसाल र प्रदेशसभातर्फ कांग्रेस नेता विश्वनाथ यादव र अब्दुल रज्जाकको अवस्था निकै राम्रो देखिएको उनको भनाइ छ ।

भुसालको उम्मेदवारीले एमाले त्रसित हुनुका चार कारण

भुसाललाई एमाले नेतृत्वले उम्मेदवार नबनाएपछि रुपन्देहीमा एमालेकै कार्यकर्ता केही समय चकित भए । उनी २०७४ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित भएका थिए ।

उम्मेदवार बन्न नपाएपछि उनले सत्तारुढ गठबन्धनसँगको छलफलका आधारमा आफ्नो क्षेत्र छाडेर जिल्लाको क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिए । उनको उम्मेदवारीले नेकपा एमाले विभिन्न चार कारणले त्रसित देखिन्छ ।

१– स्थानीय तह निर्वाचनको आँकडा अनुसार रुपन्देही–१ मा एमालेको गठबन्धन अगाडि देखिए पनि हालैमात्र एमालेका देवदह नगर इन्चार्ज टीकाराम चापागाईँले पार्टीमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी यहाँका लोकप्रिय नेता हुन् । उनले प्रतिनिधिसभा सदस्यकै लागि स्वतन्त्र उम्मेदवारी दिएकाले करिब ७÷८ हजारको हाराहारीमा एमालेको मत काट्ने स्थानीय नेता–कार्यकर्ता बताउँछन् । त्यो अवस्थामा घनश्याम भुसाललाई लाभ पुग्न सक्ने भन्दै एमाले त्रसित देखिन्छ ।

२– रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष तथा एमालेका स्थानीय स्तरका प्रभावशाली नेता सनोजकुमार यादव अहिले घनश्याम भुसालको पक्षमा उभिएका छन् । उनीसँगै स्थानीय ३१ जना नेता–कार्यकर्ताले पनि एमाले परित्याग गरिसकेका छन् । यसर्थ रोहिणी गाउँपालिकाबाट पनि एमालेको भोट काटिने निश्चितजस्तै छ । जसका कारण घनश्याम भुसालको उम्मेदवारीले एमालेलाई थप संकट बढाएको छ ।

३– एमालेको गठबन्धनमा सामेल रहेको जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदकै लागि केन्द्रीय सदस्य मातृका यादव यो क्षेत्रमा बागी उम्मेदवार बनेका छन् । यहाँ यादव समुदाय भोट उनले पाउने छन् । यसको अर्थ एमालेका उम्मेदवारले जसपासँगको तालमेलबाट यो क्षेत्रमा खासै फाइदा लिन नसक्ने देखिन्छ । यस कारण पनि घनश्याम भुसालको उम्मेदवारी बलियो देखिएकाले एमालेलाई त्रास बढाएको छ ।

४– एमाले अध्यक्ष केपी ओलीले नेता भुसाललाई टिकट नदिएकोप्रति रुष्ट यहाँका कतिपय एमाले कार्यकर्ताले भुसाललाई समर्थन जनाएका छन् । कतिपय नेता कार्यकर्ता एमाले छोडेर भुसालको गठबन्धनमा आउन नसक्ने अवस्था भए पनि भुसालको राजनीतिक आदर्शलाई मन पराउने नेता कार्यकर्ता पनि यहाँ प्रशस्त छन् । उनीहरु खुलेर भुसाललाई समर्थन नगरे पनि एमालेको भोट काट्ने अस्त्रका रुपमा रहेको कारण पनि एमाले सशंकित भएको छ ।

देवदह निवासी बुद्धिजीवी तथा लेखक बिनबहादुर कुँवरका अनुसार यस क्षेत्रका कतिपय एमाले कार्यकर्ताले भुसाललाई आदर्शका रुपमा लिने गरेका छन् । अर्कोतिर यसअघि निर्वाचन जितेका छविलाल विश्वकर्माले विगतमा देवदहवासीलाई दिएका कयौं विकास निर्माणका आश्वासन पूरा गर्न नसकेकाले पनि उनको उम्मेदवारीप्रति जनताको खासै उत्साह नदेखिएको कुँवरको भनाइ छ ।

भुसालले निष्ठाको राजनीति गर्दै आएका कारण पनि उनीप्रति कयौं एमाले कार्यकर्ताले सहानुभूतिको मत दिन आकलन आफूले गरेको उनले बताए । कुँवर आफूले भने ‘नो भोट’को सिद्धान्त लिएकाले कसैलाई पनि भोट नहाल्ने बताउँछन् ।

यस्तो छ अंक गणित

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पहिलो शक्ति छ । यहाँ नेपाली कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १४ हजार ५५२, जनता समाजवादी पार्टीको ६ हजार ६९५, माओवादी केन्द्रको ४ हजार २०२, नेकपा एकीकृत समाजवादीको १ हजार २४३ र लोसपाको ३२५ मत छ ।

यो क्षेत्रमा एमाले, राप्रपा र जसपाबीच चुनावी तालमेल छ । यसरी एमाले गठबन्धनको कुल मत ५१ हजार ६४१ मत देखिन्छ भने पाँच दलीय गठबन्धनको कुल मत ३८ हजार ७६९ मत देखिन्छ । यसरी हेर्दा १२ हजार ८७२ को मतान्तरले एमाले गठबन्धन अगाडि देखिन्छ ।

यद्यपि स्वतन्त्र उम्मेदवार भुसाल लामो समय एमालेमा समर्पित नेता रहेका कारण उनले एमालेकै भोट काट्ने र एमाले र जसपाबाटै बागी उम्मेदवारी दिएका उम्मेदवारका कारण एमाले–जसपा–राप्रपा गठबन्धनको मत काटिने अवस्था देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप