रातोपाटी समाचार प्रभाव : मध्यपश्चिम विश्वविद्यालयले नियमावलीविपरीत गरेको विज्ञापन स्थगन

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु)ले मंगलबार ७ वटा पदमा गरेको नियमावलीविपरीत गरेको दरखास्त आह्वान सम्बन्धीको विज्ञापन स्थगन गरेको छ ।
रातोपाटीले ‘एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन, उस्तै पदमा फरक–फरक विज्ञापन, उपकुलपति र रजिस्ट्रारमाथि नै गम्भीर प्रश्न’ शीर्षकमा बुधबार समाचार प्रकाशन गरेको थियो ।
बिहीबार जारी स्थगित सूचनामा भनिएको छ, ‘२३ गते प्रकाशित सूचनाबमोजिम विभिन्न ग्य्राजुएट स्कुलका डीन, कार्यकारी निर्देशक र परीक्षा व्यवस्थापन प्रमुख पदका लागि माग गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना कारणवश अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ ।’
विश्वविद्यालयले मंगलबार नियमावलीविपरीत सूचना निकालेको थियो । मध्यपश्चिम विश्वविद्यालयका नियमावलीहरूको परिच्छेद—३३ मा डीनसम्बन्धी विभिन्न व्यवस्था गरिएको छ । जसमा १० वर्षको कार्य अनुभव भएका सहप्राध्यापकमध्येबाट डीनको नियुक्ति हुने कुरा उल्लेख छ ।
साथै मान्यताप्राप्त जुनसुकै विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा पीएचडी उपाधिप्राप्त व्यक्तिले डीनका लागि दरखास्त दिन सक्ने व्यवस्था छ । नियमावलीअनुसार डीनका लागि मान्यता प्राप्त जुनसुकै विश्वविद्यालय र पीएचडी उपाधिप्राप्त विज्ञहरूले प्रतिस्पर्धा गर्न पाउँछन् । उक्त व्यवस्था ऐनको दफा २६ बमोजिम छ ।
तर विश्वविद्यालयले मंगलबार त्यसविपरीत ‘मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत इच्छुक शिक्षकहरू मध्येबाट’ भनेर ७ दिने सूचना निकालेको थियो । अहिलेको सूचनाअनुसार पीएचडी उपाधिप्राप्त तथा अन्य मान्यताप्राप्त विश्वविद्यालयका प्राध्यापकहरूले दरखास्त दिन पाउने छैनन् । जुन नियमावली विपरीत हो ।
सूचनामा ‘विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली—६९ बमोजिम’ भनिए पनि नियमावलीका बुँदाहरू अनुसार सूचना छैन ।
गत माघ ९ गते तीन वटा डीन पदका लागि सूचना पत्रिकामा निकाल्नुका साथै ‘मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा पीएचडी उपाधिसहित कम्तीमा १० वर्ष सेवा पुगको सहप्राध्यापक हुनुपर्ने’ मापदण्डसहितको विज्ञापन गरेको थियो । उक्त विज्ञापन नियमावलीअनुसार आए पनि दोस्रो विज्ञापन नियमावलीविपरीत पाइएपछि रातोपाटीले समाचार प्रकाशन गरेको थियो ।
विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुव कुमार गौतम र रजिस्ट्रार शोभाकर कँडेलले आफूनिकट व्यक्तिलाई डीन बनाउन नियमावलीविपरीत विज्ञापन गरेको खुलासा भएको थियो ।
यो पढ्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर