शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुस र इरानको दुश्मनी कसरी मित्रतामा परिणत भयो ?

शनिबार, ०५ कात्तिक २०७९, १५ : ५०
शनिबार, ०५ कात्तिक २०७९

युक्रेनमा आक्रमण सुरु गरेदेखि विश्वमा अलग थलग बन्दै गएको रुसले नयाँ मित्र शक्तिहरु खोज्न थालेको छ । इरानसँग विकसित उसको सम्बन्धमा यही सिलसिलामा विकसित सम्बन्धलाई उल्लेख गरिएको छ । इतिहासमा इरान र रुसको सम्बन्ध जटिल रहेको छ । दुई देशबीच धेरै मुद्दाहरूमा ऐतिहासिक मतभेद देखिएको छ । रुसी साम्राज्य र सोभियत संघको समयमा इरानीहरू माथि भएका दमन इरानमा अझै ताजा छ ।

लामो समय रुस र इरान आर्थिक र ऊर्जा मामिलामा प्रतिद्वन्द्वी थिए । तर पश्चिमी मुलुकसँगको दुई देशबीचको साझा मतभेदले उनीहरूलाई एकअर्काको नजिक ल्याएको छ । पछिल्लो समय युक्रेन युद्धमा इरानले रुसलाई ड्रोन सहयोग गरिरहेको छ । 

युक्रेन युद्ध सुरु भएयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचवटा विदेश भ्रमण गरे, जसमध्ये प्रायः सबै भ्रमणहरू रुसका छिमेकी र सोभियत संघका पूर्व घटक राष्ट्रहरु थिए । तर इरान यसमा अपवाद रह्यो । पुटिन जुलाईमा तेहरान गए ।  पुटिनले इरानको भ्रमण गरेर रुससँग अझै पनि सहयोगीहरु रहेको र अन्तर्राष्ट्रिय मञ्चमा उसलाई सुनिदिनेहरु रहेको देखाउन खोजेको थियो ।

तर वास्तवमा, कयौंले यसलाई रुसको राजनीतिक र कूटनीतिक अलगावको अर्को प्रमाणको रूपमा हेरे ।  अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले यस्तै टिप्पणी गर्दै भने– ‘यसले पुटिन र रुस कत्तिको एक्लो भएको देखाउँछ । अब उनीहरू मद्दतको लागि इरानतिर फर्केका छन् ।’ 

रुसलाई इरानको सैन्य सहयोग

हालैका केही रिपोर्टले रुसले इरानबाट सैन्य सहयोग गरिरहेको देखाएको देखिन्छ ।  रुसले सोमबार युक्रेनको राजधानी किभमा गरेको आक्रमणमा इरानमा बनेको शहीद–१३६ ड्रोन प्रयोग भएको पाइएको छ । ‘शहीद–१३६’ लाई रुसमा ‘जेरेनियम–२’ भनिन्छ ।

यो वास्तवमा उड्ने बम हो, जसले दुई हजार किलोमिटरको दुरी पार गर्न सक्छ । इरानले रुसलाई ड्रोन आपूर्ति नगरेको दावी गरे पनि अमेरिकी अधिकारीहरुले ‘शहीद–१३६’ को पहिलो खेप अगस्टमा नै रुस पठाइएको बताएका छन् ।
अमेरिकी थिंक ट्याङ्क ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ को हालैको प्रतिवेदनमा अनुसार ‘शहीद–१३६’ को प्रयोग गर्न रुसी सैनिकलाई तालिम दिन इरानीहरूको एउटा समूह क्राइमिया क्षेत्रमा गएको हुनसक्छ । जर्मन इन्स्टिच्युट फर इन्टरनेशनल सेक्युरिटी अफेयर्समा इरान तथा रुसका जानकार हमिद रजा अजीजी भन्छन्– मस्को र तेहरान एक अर्काका शत्रु र मित्र रहिसकेका छन् । 

‘रुस र इरानको वर्तमान नेतृत्व दुई देशबीच रणनीतिक सम्बन्ध र सहयोग स्थापित गर्न चाहन्छ । तर अर्कोतर्फ, सिरिया, उर्जालाई लिएर दुई देशबीच प्रतिस्पर्धा पनि देखिन्छ ,’ अजीजीले भने ।  रुस र इरानले सिरियाको कमाण्ड बसर अल असदमा नै रहनुपर्छ भन्ने बाहेक अन्य कुरा मिल्दैन । युद्ध समाप्त भएपछिको सिरियाको भविष्यलाई लिएर पनि रुस र इरानबीच मतभेद छ ।

ऐतिहासिक प्रतिद्वन्द्वी
रुस र इरानबीचको प्रतिस्पर्धाको पुरानो इतिहास छ । हामिद रजा अजीजी यसबारेमा भन्छन्, ‘इरानको घरेलु मामिलामा रुसी हस्तक्षेपको लामो इतिहासका कारण इरानी जनताले रुसलाई शंकाको दृष्टिले हेर्छन् ।’ १९ औं शताब्दीभर र २० औं शताब्दीको सुरुमा, इरानले धेरै रूसी आक्रमणहरूको सामना गर्यो ।

इरानी भूमि र यसको घरेलु राजनीति नियन्त्रण गर्ने रुसको प्रयासहरू कहिलेकाहीं सफल पनि भए । तर सन् १९७९ को इरानी क्रान्तिपछि यसमा बदलाव आयो । त्यस क्रान्तिको एउटा लक्ष्य तत्कालीन सोभियत संघको विरोध गर्नु पनि थियो ।

तर सन् २००७ मा पुटिनको इरान भ्रमणपछि दुई देशबीचको सम्बन्धमा सुधार देखिन थाल्यो । पुटिनको सो भ्रमण सन् १९४३ मा जोसेफ स्टालिनको तेहरान भ्रमणपछि कुनै रुसी नेताको पहिलो इरान थियो । हमिद रजा अजीजीको नजरमा रुस र इरान एकअर्काका सहयोगी होइनन्, तथापि दुई देश आफूहरूबीच रणनीतिक सम्बन्ध बढ्दै गएको कुरामा जोड दिन थालेका छन् ।

रुसी सैनिकहरूले इरानी ड्रोन प्रयोग गर्नुले दुई मुलुकको रणनीतिक सम्बन्धमा भएको प्रगति कै संकेत गर्ने अजीजीले बताए ।  सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि पश्चिमी देशहरूले अमेरिकाको नेतृत्वमा रुसमाथि प्रतिबन्ध लगाए ।

त्यसयता रुसले अमेरिकी प्रभाव कम गर्न विश्वभरका नयाँ सहयोगीहरू खोजिरहेको अस्ट्रेलियन नेशनल युनिभर्सिटीको ‘सेन्टर फर अरब एन्ड इस्लामिक स्टडीज’ का विशेषज्ञ आलम सालेह भन्छन् ।  यस्तो अवस्थामा रुस इरानसँग निकटताको वातावरण सिर्जना भएको र यस नज्दीकी दुवै देशको हितमा देखिएको सालेहले बताए ।

सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेपछि इरानलाई पनि रुसको सहयोग आवश्यक देखिएको छ । आलम सालेहको विचारमा इरानलाई संयुक्त राष्ट्रसंघमा पनि रुसको समर्थन चाहिन्छ । इरान भ्रमणका क्रममा पुटिनले आर्थिक सहयोग बढाउने वाचा गर्नुका साथै इरानको तेल तथा ग्यास क्षेत्रमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

‘दुई देश एकअर्काका परिपूरक होइनन्’ तर धेरै मानिसहरूलाई शंका छ कि रुसले इरानलाई धेरै सहयोग गर्न सक्षम हुनेछैन, विशेषगरी आर्थिक रूपमा । अन्तर्राष्ट्रिय मुद्रा कोषकाअनुसार रुसको अर्थतन्त्र यसवर्ष ३.५ प्रतिशत र पश्चिमी प्रतिबन्धका कारण आगामी वर्ष २.३ प्रतिशतले घट्ने अनुमान छ ।

हामिद रजा अजीजी पनि रुस–इरान सम्बन्धमा आर्थिक सम्बन्ध त्यति महत्वपूर्ण नभएको मान्छन् । आर्थिक रूपमा रुस र इरान एकअर्काका प्रतिद्वन्द्वी हुन् । दुवै देश पेट्रोलियम पदार्थको बिक्रीबाट हुने राजस्वमा निर्भर छन् । र दुई देशको अर्थतन्त्रको प्रकृति यस्तो छ कि दुई देशबीच अर्थपूर्ण सहयोगको सम्भावना कठिन देखिन्छ । –बीबीसी हिन्दीबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप