शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाबुराम, माधवसहितको नेकपा समाजवादी केन्द्र बनाउने प्रारम्भिक सहमति भएको छ’

मङ्गलबार, १५ कात्तिक २०७९, १४ : ०१
मङ्गलबार, १५ कात्तिक २०७९

संघीय सरकारका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ आफ्नै गृह जिल्ला रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनले हालै आफ्ना क्षेत्रका जनतासँग भलाकुसारी गरेका छन् ।

‘जनभेटघाट’ नाम दिएर उनले कार्तिक ७ र ८ गते गरी दुई दिन १० ठाउँमा जनतासँग भलाकुसारी गरे । जनताका समस्या सुन्ने, तिनको समाधानका लागि भएका प्रयास जानकारी गराउने जस्ता कार्यमै उनले ‘जनभेटघाट’लाई सीमित राखेका थिए ।

रुकुममा समाजवादको अभ्यास भइरहेको बताउने शर्मासँग सोही क्रममा रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश–

चुनावले भ्याई–नभ्याई छ, हैन त ?  

— स्वाभाविक रुपका निर्वाचनको तयारी व्यापक रुपमा भइरहेको छ । हाम्रो पार्टीले देशभर चुनावी अभियान अगाडि बढाइरहेको छ ।

कार्तिक १८ गते अघि निर्वाचन आयोगले प्रचारात्मक कार्यक्रम नगर्ने भनेको हुँदा सोही समयलाई लक्षित गरी अन्य तयारी गरिरहेका छौँ ।

सत्तारुढ गठबन्धनमा सिटको भागबण्डाको विषयलाई माओवादीले कसरी लिएको छ ?

— नेपालका गठबन्धनको संस्कृतिको विकास भर्खरै सुरु भएको हो । विस्तारै विकास हुँदै जाने कुरा भएकाले उद्देश्यमा पुग्नका लागि केही त्याग गर्नु पर्छ ।

अध्यक्ष प्रचण्डज्यूले समग्र कार्यकर्ताको मनोभावलाई बुझेर ‘मलाई दानी भन्छन्’ भनेर भन्नुभएको थियो । गठबन्धनको महत्वलाई बुझेर उहाँ (प्रचण्ड) ले त्याग गर्नुभयो जस्तो लाग्छ । सिट कति पाउनेभन्दा पनि एकले अर्काको महत्त्वलाई बुझ्न सक्नुप¥यो भन्ने कुरा हो ।

टिकट नपाएर असन्तुष्ट देखिने जमात पनि माओवादी केन्द्रमा प्रशस्त छ, त्यसले निर्वाचनमा कस्तो प्रभाव पार्ला ?

— व्यक्तिगत रुपमा भएका असन्तुष्टिले कमिटीमा असर पार्दैन । प्रतिस्पर्धाको दुनियाँमा सन्तुष्टि–असन्तुष्टि भन्ने कुरा स्वाभाविक रुपमा हुन्छन् नै, यद्यपि पार्टीभित्र केही कमजोरी भने पक्कै छन् ।

कतिपय स्थानमा उम्मेदवार तय गर्दा पनि कमजोरी भएका होलान्, हामीले त्यसको समीक्षा गर्नुपर्छ । यद्यपि निर्वाचनमा होमिइसकेपछि आधिकारिक उम्मेदवारलाई जिताउने कुरामा माओवादी पार्टी एकताबद्ध भएर लाग्छ ।

कर्णालीका विभिन्न क्षेत्रमा एकीकृत समाजवादीले गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दिएको छ, त्यसलाई गठबन्धनले कसरी लिएको छ ?

— गठबन्धनको निर्णय विपरीत उम्मेदवार उठाउने कुरा गलत नै हो । त्यो विषयमा छलफल चलिरहेको छ नै । यदि गठबन्धनको निर्णय विपरीत गएको खण्डमा कारबाही गरिनुपर्छ भन्ने नै हो । 

०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर तपाईहरु चुनावमा जानुभयो, चुनावमा जनताले वाम गठबन्धनलाई अनुमोदन गरे पनि बीचमै भताभुङ्ग भयो । अहिले फेरि वाम–लोकतान्त्रिक गठबन्धन भनेर चुनावमा जाँदै हुनुहुन्छ, यो गठबन्धन दिगो होला र ?

— यो प्रश्न अहिले नै असान्दर्भिक हो जस्तो लाग्छ । दुई पटक संसद विघटन भएपछि संविधान र संघीयताको रक्षा गर्ने सन्दर्भमा बनेको गठबन्धन हो यो ।

दिगोभन्दा पनि त्यसको उद्देश्य के छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । अब संघीयता र संविधानमाथि कसैले हमला गर्न सक्दैन भन्ने खालको वातावरण नबनुञ्जेलसम्म गठबन्धनलाई लैजाने प्रमुख उद्देश्य छ ।

गठबन्धन कति सिट ल्याउने भन्नका लागि होइन, संविधान रक्षा र कार्यान्वयनको कुरासँग सम्बन्धित भएकाले उद्देश्यलाई केन्द्रमा राखिनुपर्छ । देशको विकास र समृद्धिका लागि गठबन्धनले यात्रा लामो रुपमा तय गर्छ, जसले गर्दा राष्ट्रको हित हुन्छ र देश समृद्धितिर अघि लम्किन्छ । अन्यथा देश संकटमा पर्छ ।

देशलाई संकटमा पार्नतर्फ राजनीतिक पार्टी, जनता तयार छैनन् । यसमा बरु सबैलाई समेटेर लैजानुपर्छ, त्यो भनेको राष्ट्रिय सहमति हो ।

उसो भए मंसिर ४ पछिको राजनीतिक परिदृश्यचाहिँ कस्तो होला ? माओवादीले प्रचण्डको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा गरिरहेको छ नि ?

— अहिले नै को व्यक्ति प्रधानमन्त्री हुन्छ भन्नेतर्फ जानु भन्दा पनि पहिलो कुरा गठबन्धनले जित्छ र गठबन्धनकै सरकार बन्छ । नेतृत्वचाहिँ कसले गर्ने भन्ने कुरा अहिले नै भन्ने कुरा भएन । प्रचण्डज्यू पनि सम्भावित नेतृत्व हो नै ।

विगतमा संविधान उल्लंघन गर्ने तत्व अघि बढेपछि नेकपा फुटेको थियो । अध्यक्ष प्रचण्ड सडकमा गएर नेतृत्व गर्नुभयो । संविधानको रक्षा गर्ने क्रममा शेरबहादुर देउवासँग पनि वार्ता भयो । त्यसपछि एक खालको वातावरण बनेर गठबन्धन बनेको हो । नेतृत्व पनि सोही अनुसारको समझदारीपूर्ण तरिकाले बन्ला नि !

अर्को कुरा बाबुराम, माधव नेपालसहित नेकपा समाजवादी केन्द्र बन्ने कुरा पनि व्यापक रुपमा आइरहेको छ । यो हल्लैहल्ला मात्र हो कि के हो ?

— एक खालको प्रारम्भिक सहमतिचाहिँ भएको छ । बाबुरामसँग मैले नै वार्ता गरेको हो । उहाँले कम्युनिस्ट पार्टी हुँदैन, अरु पार्टी बनाउँ भन्ने कुरा गर्नुहुन्थ्यो, त्यसो हुँदैन भनेर मैले नै नमानेको हो ।

उहाँलाई कम्युनिस्ट पार्टीमा आउनुस्, नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीको महत्त्व छ बरु त्यसलाई कुन रुपमा अगाडि बढाउन सकिन्छ, सल्लाह गरौं भन्ने कुरा भएको हो नै । यसको निचोड पनि चुनावपछि नै हुन्छ । 

केही समय अघि प्रचण्डले कर्णालीमा पार्टीभित्र गुटैगुट देखियो भनेर आक्रोश पोख्नुभएको थियो । तपाईं र शक्ति बस्नेतले कर्णालीमा माओवादीभित्र गुट चलाउनु भएको आरोप छ नि ?

— यो गतल कुरा हो । अध्यक्षज्यूले बरु उतै केन्द्रतिर गुट देख्नुभएको होला, कर्णालीतिर छैन । केन्द्रको कुरा कर्णालीमा आएर आक्रोश पोख्नुभयो होला, म गुटबन्दी गर्न चाहन्न र छैन पनि ।

गठबन्धन बचाउने कुरामा शक्ति बस्नेत र म एउटै खेमामा उभिएका छौँ । गुटबन्दी हुनका लागि त योजना फरक हुनुपर्छ नि !

माओवादी पार्टी केन्द्रले त कर्णालीलाई हेप्यो रे, प्रचण्ड स्वयं आउँदा पनि यहाँ माओवादी नेतृत्वमा सरकार बन्नेगरी सिट बाँडफाँट गर्ने आश्वासन दिनुभएको थियो तर २४ मध्ये १० मा सीमित राखियो, यसले अब माओवादी केन्द्रको सरकार बन्छ त ?  

— को कसले पाउँछ भन्ने कुरा केन्द्रमा प्रधानमन्त्री को बन्छ भनेजस्तै हो । भोलि गठबन्धनले निर्वाचन जितेको खण्डमा माओवादीले कुनै प्रदेशको नेतृत्व गर्छ र अन्य पार्टीले पनि कुनै प्रदेशको नेतृत्व गर्छन् । कतिपय कुराहरु नचाहेर पनि त्याग गर्नुपर्ने अवस्था आउँछ । अध्यक्षज्यूले भनिसक्नुभएको छ नि, सबैले मलाई दानी भन्छन् भनेर ।

तपाईंले कर्णालीलाई सुनको डल्लो भनेर भन्नुभएको थियो, तपाईंको विचारमा कर्णाली समृद्धिको आधार के हो ?

— कर्णाली सुनकै डल्लो हो, यहाँ कालिगढको खाँचो छ । सुनको डल्लो कानमा त अल्झिँदैन नि, त्यसलाई गहनामा बदल्नुपर्छ । भन्नुको अर्थ यहाँको भरिपूर्ण स्रोत साधनको सदुपयोग गर्ने कुरामा हामी चुकिरहेका छौँ ।

मैले सुरुमै कर्णालीको विकास मोडेलबारे प्रतिवेदन तयार गरेर प्रस्तुत गरेको थिएँ । यद्यपि सबैलाई ‘कन्भिन्स’ गर्न सकिएन । कर्णालीको समृद्धिका लागि आम कर्णालीवासीलाई समूहगत तरिकाले परिचालन गरिनुपर्छ । उनीहरुलाई आवश्यक साधन स्रोतको उपलब्धता गरेर यहाँको जमिन, जंगलको प्रयोग गर्न सक्ने क्षमता, विकास गर्ने, उनीहरुको शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि गर्ने वातावरण बनाइनुपर्छ ।

कम्पनीको माध्यमबाट ठुला परियोजनामा जोसँग जे जति छ, त्यही कुरामा जनसहभागिता हुनुपर्छ र स्रोत बापतको जनताले सेयर पाउनुपर्छ ।

तेस्रो कुरा, उत्पादित बस्तुको बजारीकरण र शिक्षालाई विशेष जोड दिन आवश्यक छ । यहाँको जनशक्तिलाई यहीँ तालिम दिएर यहीँ रोजगारी दिने खालको वातावरण सिर्जना गरिनुपर्छ ।

हाम्रो खेती प्रणाली परम्परागत सामन्तवादी भयो, त्यसको अन्त्य हुन जरुरी छ । मैले बजेटमै भनेको छु कि कर्णालीमा लगानी गर्नेलाई १५ वर्ष कर छुट गरिने छ । यहाँ निजी क्षेत्रको लगानी आकर्षित गर्ने र भेरी–कर्णाली जस्ता नदीको सदुपयोग गर्नुपर्ने छ ।

यहाँको पर्यटन, जडीबुटी, खानी र पानीलाई व्यवस्थित गर्न सके यहाँ आर्थिक समृद्धिको ढोका खुल्छ । तर गरेर मात्रै भएन, आम्दानी जनताले नपाएको खण्डमा यहाँको गरिबी अन्त्य हुँदैन । त्यसका लागि जनताको सहभागिता आवश्यक हुन्छ ।

अब रुकुमकै कुरा गर्दा लगातार तीन पटक चुनाव जितेर ह्याट्रिक गरिसक्नुभयो, तपाईंसँग त्यस्तो के चिज छ, जसले रुकुमेलीको साथ पाउनुभएको छ ?

— तपाईंहरुलाई अघि नै नयाँ कुरा भनिसकेको छु । हो, त्यही अभियान अन्तर्गत हामीले रुकुमको विकास मोडेल तयार गरेका थियौंँ र अहिले जुन खालको विकास भइरहेको छ, त्यो त्यसैको देन हो । 

रुकुम एकीकृत विकास योजना बनाएर त्यसमा जिल्लास्थित सबै दललाई सहभागी गराएका छौँ । ०६४ अघिसम्म यहाँको जिल्ला सदरमुकामसम्म सडक खुलेको मात्रै थियो । माओवादीको अगुवाइपछि १५ वर्षको अवधिमा जिल्लाभर झन्डै १२ सय किलोमिटर सडक विस्तार भएको छ ।

हामीले जनपरिचालनको माध्यमबाट सल्यानबाट डोजर ठेलेर ल्याएका थियौँ । त्यत्तिले पुग्दैन भनेर हेलिकप्टरमा डोजर बोकेर यहाँ ल्याएर उल्टोतिरबाट सडक खन्ने कामको सुरुवात हामीले गरेको थियौं, जुन ऐतिहासिक थियो । अहिले आठबिसकोट नगरपालिका–१ बाहेकका सम्पूर्ण वडामा सडक विस्तार भइसकेको छ । समाजवादको आधार सडक हामीले तय गरिसकेका छौँ ।

दूध र मासुमा आत्मनिर्भर भएका छौँ भने आर्थिक समृद्धिका आधार तयार गर्न किबी, ड्रागन लगायत फलफूल खेतीको विस्तार र परम्परागत सामन्तवादी खेती प्रणालीको अन्त्य गर्न अग्रसर छौँ । विद्युतीकरणमा पश्चिम कर्णालीका अन्य जिल्लाभन्दा रुकुम अगाडि छ । अब ३५ प्रतिशत जति भूभागमा मात्रै विद्युतीकरण हुन बाँकी रहेको र यही वर्षभित्रै विद्युतीकरण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

उज्यालो रुकुम अभियान ल्याएर अहिले ३८ वटा माईक्रो हाइड्रो छन् । यद्यपि ती पर्यात नहोलान् । यसरी रुकुमको विकास भइरहेको छ ।

अर्को कुरा, मैले जनतालाई ढाँटेको छैन । यहाँका जनताको समझदारी, राजनीतिक चेतना, जनताको बलिदानी र इमानदारिता नै महत्वपूर्ण कुरा हो । म जनताको आदेश मान्छु । यहाँ मलाई जनताले गीतमार्फत आलोचना, खबरदारी गर्छन् । मेरो आलोचना गर्नुहोस्, म बिग्रन सक्छु भनेर म भन्छु, जनताले त्यो कुरा स्वीकार गर्छन् ।

जनताकै बीचमा खान्छु बस्छु । जनताका बीचमा मेरो राजनीतिक सम्बन्ध मात्रै नभई भावनात्मक सम्बन्ध छ । अरु त मसँग केही पनि छैन । जनादेशलाई जिम्मेवारी ठान्ने हाम्रो परम्परा छ । म ठूला आश्वासन दिन्नँ, जे गर्न सकिन्छ, त्यही काममात्र गर्छु ।

प्रायः पार्टीहरू पार्टीकै उत्थानका लागि काम गरेको देखिन्छन् तर तपाईंले यहाँ पार्टी नै रुकुमको विकासमा अग्रसर छ भन्नुभयो नि ?

— हो यहाँ माओवादी रुकुम पश्चिमले जुन अभियान लिएको छ, त्यो महत्त्वपूर्ण छ । पार्टीले आर्थिक विभाग, विकास निर्माण विभाग, अनुगमन विभाग, सामाजिक समाज कल्याण विभाग लगायतका विभाग बनाएका छौँ पार्टीभित्रै । ती सक्रिय रुपमा लागेका छन् भने समाजवादको अभ्यास कसरी सुरुवात हुन्छ भन्नेतर्फ हामी लागेका छौँ ।

समाजवादी अभ्यासको सुरुवात भएको भन्नुभयो, अबको १० वर्षपछि रुकुम पश्चिम कस्तो हुने छ ?

— युवा स्वरोजगार र आर्थिक समृद्धि अबका प्राथमिकता हुन् । यहाँ जनतालाई रोजगारीसँग जोड्नका लागि १८ वटाभन्दा बढी उद्योग छन् । यहाँ जिल्ला समन्वय र पालिकाहरुको नेतृत्वमा स्यार्पु होइड्रोपावर, स्यार्पु कृषि कम्पनी गरी दुई वटा सरकारी कम्पनी बनाईएका छन् । जुन अन्त कतै देख्नुभएको छैन होला । त्यहीँबाट अहिले हाईड्रोपावर बनिरहेको छ, जुन अबको १८ महिनामा तयार हुन्छ ।

१ लाख लिटर दुधको प्रशोधन गर्ने उद्योग निर्माण भइरहेको छ । समाजवादको आधार तयार गर्नका लागि यहाँ दुई वटा अभियान चलिरहेका छन्, त्यो भनेको आर्थिक उत्पादन, आत्मनिर्भरता र समृद्धिको अभियान र सामाजिकीकरणको विकासका लागि सामाजिक, सांस्कृतिक रुपान्तरणको अभियान ।

रुकुमको विकास मोडेल यही हो । एउटा नीति नै ल्याएर अब सबैलाई उत्पादनमा लगाउँछौं । त्यसैले अबको १० वर्षमा रुकुम पश्चिममा गरिबी र बेरोजगारी हुने छैन, मेडिकल र आईटी शिक्षा यहीँ पढ्न पाउने छन् भने कुनै व्यक्तिले रोजगारीका लागि बाहिर जानुपर्ने छैन । कृषिलाई औद्योगिकीकरण र व्यावसायिकीकरण गरिएको हुनेछ भने सामाजिक विभेदको अन्त्य हुने छ । सामाजिक न्याय स्थापित भएको समाज निर्माण हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप