शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा पुरानै अनुहार, पुरानै एजेण्डा

बिहीबार, ०१ मङ्सिर २०७९, १५ : २१
बिहीबार, ०१ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अन्त्यतिर पुगेको छ । उम्मेदवारहरुले मतदातासामु आफ्ना एजेण्डा र प्राथमिकता राखिसकेका छन् । यसै क्रममा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवारले पुरानै एजेण्डालाई अघि सारेर मतदातासामु भोट मागेका छन् । यतिमात्र होइन, यो क्षेत्रमा प्रमुख दलका उम्मेदवार पनि पुरानै छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल २०६४ सालदेखि रुपन्देही क्षेत्र नम्बर २ मा लगातार सांसद छन् । तर पौडेलका अधिकांश चुनावी प्रतिबद्धता १५ वर्षअघि र अहिले पनि करिब उस्तै छन् । धेरै आयोजना अधुरा भएर पनि यस्तो भएको हो ।

उनले यस निर्वाचन क्षेत्र बाहिरका कतिपय विकासका योजनाहरुको जस पनि लिने प्रयास गरेका छन् । यो क्षेत्र र जिल्ला बाहिरका विभिन्न सरकारले अघि बढाएका योजनाहरु आफूले गरेको र गर्न लागेको भन्दै उनले चुनावी प्रतिबद्धता पत्रमा समेटेका छन् ।

अधुरा आयोजनाहरु

१. बुटवलमा आधुनिक बसपार्क बनाउने एजेण्डा रुपन्देही–२ का सबैजसो उम्मेदवारले अघि सार्ने गरेका छन् । यो पटक पनि दलका चुनावी घोषणापत्रमा हालको लुम्बिनी बस टर्मिनललाई सिटी बसपार्क बनाएर उपयुक्त जग्गाको खोजी गरी अत्याधुनिक बसपार्क बनाउने भनिएको छ । बुटवलमा नयाँ ठाउँमा बसपार्क बनाउने कुरा पनि १५ वर्ष अघि कै चुनावी एजेण्डा हो । यो एजेन्डा प्रायः सबै दलको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

२. हरेकजसो चुनावमा तिनाउ पारीको पुरानो बुटवल अर्थात् ‘बटौली’को विकास तथा संरक्षणको कुरा पनि उठ्ने गर्दछ । बटौली बजारमा पुरानो बजार क्षेत्र हो । बुटवलको पुरानो बजारलाई पहिचान दिलाउने गरी बटौलीको मौलिकता कायम राख्नुपर्ने कुरा बेला बेलामा उठिरहन्छ ।

बटौलीमा अहिले पनि पुराना घर छन् । तर ती जीर्ण छन् । तिनीहरुको संरक्षण गर्ने सक्ने हो भने यहाँको मौलिकता कायम राखी पुरानो बुटवलको पहिचान दिलाउन सकिन्छ । तर पछिल्लो समय बटौली क्षेत्रमा पुराना घरहरू मासिएर नयाँ घर बन्ने क्रम बढ्न थालेको छ ।

जसले बटौलीको मौलिकता लोप हुन सक्ने खतरा छ । यहाँबाट जितेर गएका जनप्रतिनिधिले १०–१५ वर्ष अघि बटौलीको ठोस गुरुयोजना ल्याएको भए बटौलीको पहिचान र मौलिकता कायम गरी पर्यटकीय विकास गर्न सकिन्थ्यो । लगातार यस क्षेत्रबाट चुनाव जितेका जनप्रतिनिधिले यसमा चासो भने दिएका छैनन् ।

३. फोहरमैला व्यवस्थापन पनि बुटवलको पुरानो चुनावी नारा हो । तर अहिलेसम्म हल हुन सकेको छैन । यसको ठोस कार्ययोजना बनेको छैन ।

४. सुकुमबासी समस्या हरेक चुनावमा नारा बन्ने गरेको छ । संसदीय चुनावैपिच्छे यहाँका उम्मेदवारहरुले आफूले जिते समस्या समाधान गर्ने बताउँदै आएका छन् । तर एउटै पार्टीको झण्डै दुई तिहाइको सरकार बन्दा पनि सुकुमबासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउन सकेका छैनन् ।

५. बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक विस्तारको लागि २०७३ फागुनमा ठेक्का लागेको हो । केही महिना अदालतमा मुद्दा परेकाले सडक विस्तारमा अवरोध भयो । तर अदालतले बाटो खोलेपछि पनि वर्षौंसम्म सडक विस्तार हुन सकेन । यात्रुहरुले हिउँदमा धुलो र वर्षामा हिलाम्य भएर सडकमा यात्रा गर्नु परिरहेको छ ।

राजमार्ग चौराहदेखि गोलपार्कसम्म पुग्न निकै सकस हुने गरेको छ । यति लामो समयसम्म सडक अस्तव्यस्त हुँदा पनि जनप्रतिनिधिले सडक विस्तारका काम समयमा सकाउन कुनै पहल देखाएनन् । अहिलेसम्म उक्त सडक विस्तारको काम सकिएको छैन ।

६. बुटवलको सुख्खानगर, दिपनगर लगायतका क्षेत्रमा खानेपानीको समस्या छ । गर्मी याममा धारामा पानी आउँदैन । बुटवलको खानेपानीको समस्या हल गर्न वर्षौं अघि झुम्सा खानेपानी आयोजना अघि सारिएको हो । तर यो खानेपानी आयोजना कहिले सम्पन्न हुन्छ भन्ने टुंगो छैन । तर दलहरुको प्रतिबद्धतापत्रमा यो एजेण्डा छुटेको छैन ।

जस लिने होड

रुपन्देही–२ बाट लगातार सांसद बनिरहेका एमाले नेता विष्णु पौडेलले निर्वाचन क्षेत्र बाहिर भएका कामहरुको पनि आफूले जस लिने प्रयास गर्दछन् । चुनावी अभियानका क्रममा उनले जिल्लाभित्र भएका मुख्य विकासका आयोजनाहरु आफ्नै पहलमा भएको दाबी गरे पनि ती आयोजनाहरु सबै पौडेलको निर्वाचन क्षेत्रमा पर्दैन ।

बुटवल–बेलहिया ६ लेनको सडकको केही भागमात्र रुपन्देही क्षेत्र नम्बर २ मा पर्दछ । बाँकी धेरै भाग क्षेत्र नम्बर ३ को भूगोलमा पर्दछ । तर यो ६ लेन सडक आफूले निर्माण गरेको भन्दै पौडेलले चुनावी प्रचार गर्ने गरेका छन् भने नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पनि यसको श्रेय लिने प्रयास गरेका छन् ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आयोजना पनि आफूले नै ल्याएको जसरी पौडेलले दाबी गर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप