शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२० औं किम्फ फेष्टिभल काठमाडौंमा सुरु

बिहीबार, २२ मङ्सिर २०७९, १७ : ४३
बिहीबार, २२ मङ्सिर २०७९

२० औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) बिहिबारदेखि सुरु भएको छ । राष्ट्रिय सभागृह (सिटी हल) र नेपाल पर्यटन बोर्ड (एनटिबी) मा सुरु भएको फेष्टिभलको एक कार्यक्रमका बीच बलिउड अभिनेता तथा निर्देशक प्रकाश झाले शुभारम्भ गरे । कार्यक्रममा झाले काठमाडांैलाई सांस्कृतिक शहर बनाउनुपर्ने धारणा राखेका थिए ।

कमलकुमार र विद्या चापागाईं निर्देशित फिल्म ‘बाघको बंगारा’ देखाउँदै किम्फ सुरु गरिएको हो । फिल्मले जाजरकोट जिल्ला कर्णाली प्रदेशको हनी हन्टरको साहसिक कथा व्यक्त गरेको छ । योसँगै सम्राट खनाल निर्देशित ३३ मिनेट लामो डकुमेन्ट्री ‘थ्रु द सिंगिङ भिलेज’को पनि प्रिमियर भएको थियो ।

महोत्सवमा विशेष वक्ताको रुपमा बलिउड अभिनेता तथा निर्देशक प्रकाश झा रहनेछन् । उनी अभिनीत फिल्म ‘मट्टो की साइकिल’ आजै प्रदर्शन हुँदैछ । हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरपालिकाको सह–अयोजनमा सुरु भएको फेष्टिभल अगामी २६ गतेसम्म चल्नेछ । फेस्टिभलमा यसपटक ३० मुलुकका ६० वटाभन्दा बढी फिल्म प्रदर्शन गरिनेछ ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । कोभिड महामारीको कारण किम्फका अठारौं र उन्नाइसौं संस्करण भर्चुअल माध्यममार्फत भएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछन् । यस वर्ष किम्फको मूल नारा दिगो आरोहण रहेको छ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एकलाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत पचास हजार पाउनेछ ।

यो वर्ष किम्फको जुरीमा जर्मन लेखक÷निर्देशक÷निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक÷निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली छन् ।

चलचित्रकर्मी, चलचित्रप्रेमी दर्शक, समीक्षक, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने उक्त महोत्सवमा फिल्म सम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी कार्यक्रमहरू राखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप