लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?

बुटवल । लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको पहिलो बैठक बुधबार बसेको छ । बुधबारको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरूबारे सदनलाई जानकारी दिइएको थियो भने संसदीय दलका प्रमुखहरूले अधिवेशन सफलताको शुभकामनासहित समसामयिक विषयमा धारणा राखेका छन् ।
बैठकको सुरुमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट प्राप्त पत्रहरू सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाएका थिए। त्यसपछि, प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेको उल्लेख गर्दै नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय चाहिने बताएका छन् ।
उनले प्रदेश सरकारले आर्थिक स्रोतको परिचालनमा दृढता देखाएको र नीति तथा कार्यक्रमलाई साझा बनाउँदै अघि बढेको बताए ।
यसैगरी, प्रदेश सभा सदस्य जमुना ढकालले यथार्थपरक बजेट ल्याउन सुझाव दिइन् । चालू वर्षमा घाटाको बजेट देखिएको भन्दै अनुमानभन्दा वास्तविक अवस्था झल्किने बजेट ल्याउन उनले आग्रह गरिन् ।
प्रदेश सभा सदस्य इन्द्रजित थारुले नीति तथा कार्यक्रम र बजेटबिच तालमेल हुनुपर्ने धारणा राखे। सरकार प्रमुखले नीति तथा कार्यक्रम ल्याउने तर आर्थिक मामिला मन्त्रीले तालमेल नमिलाएर बजेट ल्याउने खतरा देखिएको बताउँदै प्रदेशको आर्थिक सर्वेक्षणमा आधारित नीति तथा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए ।
प्रदेश सभा सदस्य भण्डारी लाल अहिरले सरकारले ल्याउने नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट हुनुपर्ने बताए । यस्तै, प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले किसानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यान्वयन गर्न सकिने नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिँदै प्रहरीको सेवा सुविधा सुधारतर्फ पनि उनले ध्यानाकर्षण गराए ।
यता, प्रदेश सभा सदस्य सन्तोष पाण्डेले संघीय सरकारसँग समन्वय गरी बजेटको आकार बढाउन सकिने बताए । यसैगरी प्रदेश सभा सदस्य मीना कुमारी श्रेष्ठले लुम्बिनी प्रदेशको समग्र विकासमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
सभामुख तुलाराम घर्तीमगरले आगामी बैठक जेठ १ गते दिउँसो १ बजे बस्ने गरी सम्पन्न भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’