सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बालकोटमा ओलीको हिसाब : गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री !

शुक्रबार, ०८ पुस २०७९, १४ : ४१
शुक्रबार, ०८ पुस २०७९

५ वर्षे कार्यकालका लागि पहिलो प्रधानमन्त्री कसले लिने भन्नेमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ठोस सहमति जुट्न नसकेका बेला दोस्रो ठूलो दल नेकपा एमालेले सत्ता गठबन्धन भत्काउने र वैकल्पिक गठबन्धन बनाउने कसरतलाई तीव्रता दिएको छ ।

 त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूले समेत आन्तरिक भेटघाट र संवादमा सक्रियता बढाएका छन् । घोषित रुपमै हालको सत्ता गठबन्धन भंग हुनुपर्छ भन्ने मान्यता अघि सारेको एमालेले यदि त्यसो भएमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री मान्न समेत तयार भएको संकेत गरिसकेको छ ।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई गठबन्धन भत्काएर आउन पटक पटक आफू निकट नेताहरुमार्फत सन्देश पठाइसकेका छन् । केही दिनयता एमालेका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले गठबन्धन छोडेर आउन र एमालेको सहयोगमा प्रधानमन्त्री बन्न प्रचण्डलाई भेटेरै आग्रह गरिसकेका छन् । तर, एमाले नेताहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले तत्काल कांग्रेससँगको गठबन्धन आफूले तोड्न नचाहेको जवाफ दिने गरेका छन् । 

अध्यक्ष प्रचण्डको संकेत बुझेपछि एमालेले वैकल्पिक गठबन्धनका लागि नेपाली कांग्रेस हुँदै संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरुसँग पनि छुट्टाछुट्टै संवाद गरिरहेको छ । ‘हामी सबै राजनीतिक दलसँग संवादमै छौँ । चाहे कांग्रेस होस् वा माओवादी र अन्य साना दल नै किन नहुन् ’, एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘एकअर्का दलका नेताबीच राजनीतिक संवाद भइनैरहन्छ, अहिले पनि त्यो भइरहेको छ ।’

उसो त बुधबार र बिहीबार शीतल निवासदेखि नयाँ बानेश्वरसम्म ओली र प्रचण्ड आमनेसामने हुँदा विभिन्न कोणबाट सहकार्यबारे विश्लेषण भइरहेका छन् । दुई कार्यक्रममा दुई नेताबीच भलाकुसारी र मुस्कुरावटले एमाले र माओवादीबीचको सहकार्य बढ्नसक्ने संकेतका रुपमा समेत कतिपयले लिन थालेका छन् ।  राष्ट्रपतिले दिएको समयसीमा सकिन करिब ४८ घन्टा बाँकी हुँदा पनि सत्ता गठबन्धनबीच खुस खबर नआउँदा एमाले अझै आशावादी देखिएको छ । 

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाबीच हालकै गठबन्धनलाई निरन्तरता दिने सैद्धान्तिक सहमति भएपनि आलोपालो प्रधानमन्त्रीमा ‘प्रचण्ड पहिला कि देउवा ?’ भन्नेमा कुरा मिल्न सकेको छैन । गठबन्धनको ठूलो दलको हैसियतले देउवा नै पहिला प्रधानमन्त्री बन्नुपर्ने कांग्रेसको अडानमा प्रचण्ड सहमत छैनन् । ओली सरकारको बहिर्गमनपछि हालसम्म देउवा प्रधानमन्त्री भएकाले नयाँ जनादेशपछि आफू प्रधानमन्त्री हुनुपर्ने प्रचण्डको भनाइ छ । यसमा देउवाले ठोस जवाफ नदिएपनि ‘सल्लाह गर्न सकिने’मात्रै भनेका छन् । यदि यही गठबन्धनबाट अध्यक्ष प्रचण्ड पहिलो प्रधानमन्त्री बन्ने विषयमा सहमति नजुटे विकल्पका रुपमा प्रचण्डले पनि एमालेसँग सहकार्य गर्न पछि नपर्ने सन्देश देउवालाई दिइसकेका छन् ।

शुक्रबार बिहानमात्रै पनि प्रचण्डले कांग्रेस नेता प्रकाशमान सिंहमार्फत सोही सन्देश पठाएको खुमलटार स्रोतले बताएको छ । बिहान प्रचण्डसँग कुराकानी गरेका सिंह दिउँसो प्रचण्डको सन्देश लिएर बालुवाटार पुगेर देउवासँग छलफल गरेका थिए । नेताहरुका अनुसार प्रचण्डलाई मनाउन सिंह र देउवालाई मनाउन माओवादी केन्द्रका नेता जनार्दन शर्मा आन्तरिक रुपमा लागेका छन् । गठबन्धनमा भइरहेको राजनीतिक माच्छापच्छिलाई नियालेको एमाले नेताहरुले यदि गठबन्धन टुटेमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न कुनै समस्या नभएको सार्वजनिक रुपमै बताउन थालेका छन् ।

‘सरकार बनाउने जनादेश अहिले हामीलाई छैन । तर गठबन्धनले सकेन भने दोस्रो ठूलो दल चुप लागेर बस्ने कुरा आउँदैन’, उपाध्यक्ष नेम्वाङ भन्छन्, ‘त्यो अवस्था आयो भने के गर्ने भनेर एमालेले सोचेको छ ।’

यदि गठबन्धनमा कुरा मिलेन भने प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेर अघि बढ्न एमाले तयार छ ? भन्ने प्रश्नको जवाफमा नेम्वाङको भनाइ छ, ‘विकल्पविहीन अवस्था आउनुहुँदैन । हामी त्यसमा नकारात्मक बन्नुपर्ने अवस्था छैन ।’

नेम्वाङले भनेजस्तै विकल्पविहीन अवस्था आउन नदिने भन्नुको अर्थ एमाले अरू पद आफूले लिएर प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न पनि तयार छ भन्ने बुझ्न कठिन छैन । बिहीबार संसदको सपथ लिनु अघि अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा सचिवालय बैठक राखेर सोही आशयको ब्रिफिङ गरेका थिए ।

त्यस क्रममा अध्यक्ष ओलीले अहिले सरकार बनाउन एमालेले हतारिनु नपर्ने भन्दै ‘पर्ख र हेर’को अवस्थामा बस्दै आन्तरिक तयारीलाई पनि निरन्तरता दिनुपर्ने बताएका थिए ।

एमाले सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार बिहीबारको सचिवालय बैठकमा ओलीले गठबन्धन नटिक्ने निष्कर्ष समेत सुनाएका थिए । ‘यो गठबन्धन टिक्ने देखिँदैन । त्यसैले हामी हतारिन त जरुरी छैन । तर आफ्नो तर्फबाट तयारी भने गरिरहनुपर्छ’, ओलीको भनाइ उदृत गर्दै एक नेताले भने,‘ अहिले गठबन्धनले जर्वजस्त सरकार बनायो भनेपनि विश्वासको मत लिनेबेलासम्म पनि गडबड हुनसक्छ ।’

एमालेसँग हाल उपेन्द्र यादव नेतृत्वको जसपा, राप्रपालगायतका दलहरु नजिक छन् । यस्तोमा माओवादीले गठबन्धन छोडेर आएमा माओवादी, जसपा, राप्रपा र नागरिक उन्मुक्ति वा जनमतलाई समेत साथमा लिएर सरकार बनाउन भुमिका खेल्ने देखिन्छ । ७८ सिट रहेको एमालेमा माओवादीको ३२, राप्रपाको १४, जसपाको १२ सिट जोड्दा १३६ हुन्छ । यसमा सिके राउत वा रेशम चौधरीमध्ये एकलाई आफूतिर तानेर (१३८) बहुमतको आफूअनुकुल सरकार बनाउने एमालेको आन्तरिक रणनीति रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप