शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवाको विश्लेषण: ओलीको रणनीति सफल भयो

‘प्रधानमन्त्री‍ नलिँदा प्रचण्डलाई बुझायो भन्थे, अहिले दिएन भन्दैछन्’
बुधबार, १३ पुस २०७९, १० : १०
बुधबार, १३ पुस २०७९

गठबन्धन भत्किएर सत्ता विमुख हुँदा संघीय संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका कार्यकर्तामा निराशा र आक्रोश देखिएको छ । आक्रोशको निशानामा छन् पार्टी सभापति शेरबहादुर देउवा ।

कांग्रेस नेतृत्वमा सरकार बनाउने पुस ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार प्रधानमन्त्री छाड्न सकिने अवस्था थिएन । देउवाले प्रधानमन्त्रीको अडान नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन भत्काएर एमालेसहित सात दलको समर्थनमा सरकार बनाएपछि कांग्रेसमा सन्नाटा छाएको छ ।

देउवाले प्रधानमन्त्रीमा आफ्नो व्यक्तिगत अडान नभई केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गराउन खोज्दा गठबन्धन भत्किएको महतको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्रीमा पार्टी सभापतिको व्यक्तिगत अडान थिएन । संस्थागत निर्णय कार्यान्वयन गराउन खोज्नु स्वाभाविक थियो ।’

‘मैले दाबी नगरेको भए मलाई पछि भनिहाल्थे– तैँले पार्टी लगेर प्रचण्डलाई बुझाइस्, आफूले दाबी गर्नुपर्थ्यो नि भनिहाल्थे । त्यसैले मैले ठुलो पार्टीका नाताले प्रधानमन्त्रीमा अडान दिएको हुँ,’ देउवाको भनाई उद्धृत गर्दै खड्काले रातोपाटीसँग भने ।

छैटौँ पटक प्रधानमन्त्री बन्न देउवाले अडान राख्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्ताविहीन भएको छ । देउवाले भने आफ्नो अडानलाई स्वाभाविक भएको आफू निकटस्थलाई बताउने गरेका छन् । तत्कालीन पाँच दलीय गठबन्धन र संसद्को ठुलो दलका हैसियतले कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी गर्नु आवश्यक थियो भन्ने देउवाको बुझाइ छ । 

सोमबार निवर्तमान परराष्ट्रमन्त्री नारायण खड्का भेट्न बालुवाटार पुग्दा पनि सभापति देउवाको सोही बुझाइ देखिन्थ्यो । खड्का अनुसार ठुलो दल भएको नाताले प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने आन्तरिक बाध्यता भएकाले देउवाले सुनाएका थिए ।

‘मैले दाबी नगरेको भए मलाई पछि भनिहाल्थे– तैँले पार्टी लगेर प्रचण्डलाई बुझाइस्, आफूले दाबी गर्नुपर्थ्यो नि भनिहाल्थे । त्यसैले मैले ठुलो पार्टीका नाताले प्रधानमन्त्रीमा अडान दिएको हुँ,’ देउवाको भनाई उद्धृत गर्दै खड्काले रातोपाटीसँग भने । 

‘म अन्तिम घडीसम्म गठबन्धन जोगाउने पक्षमा थिएँ । प्रचण्डजी गठबन्धन भत्कियो भन्दै हिँड्नु भयो,’ देउवाको भनाइ खड्काले सुनाए, ‘फोन गरेर बोलाउँदा पनि ढिलो भयो भन्नुभयो । गठबन्धन मैले टुटाएको होइन ।’

पार्टीमा उत्पन्न आक्रोशलाई देउवाले स्वाभाविक ढंगले लिएको खड्काले बताए । ‘हामीले प्रधानमन्त्रीमा दाबी राखे गलत भयो भनिहाल्थे । नराखे पनि लगत भयो भनिहाल्थे,’ देउवाको भनाई उद्धृत गर्दै खड्काले भने, ‘मलाई भन्नका लागि त यिनीहरू छाड्दैन थिए । हिजो केन्द्रदेखि सातै प्रदेशमा पार्टी सरकारमा जाँदा पनि मैलाई खराब गरे भन्थे ।’ 

सोचेर, विचार गरेर ठुलो पार्टीको नाताले नेतृत्वमा दाबी गरेको देउवाको भनाइ छ । ‘सधैँको परम्परा पनि त्यही छ । बहुमत नआएको बेला २०५१, ०६४, ०७० र ०७४ मा पनि संसद्को ठुलो दलले नेतृत्व गरेको नजिर छ,’ देउवाको भनाई छ । 

देउवाले प्रचण्डका कारण गठबन्धन टुटेको नेताहरूलाई बताउने गरेका छन् ।  चुनावपछि प्रधानमन्त्री छाड्ने बचन दिएकाे भए प्रचण्डलाई छाडिदिएकाे भए हुने भन्ने प्रश्नमा त्यसाे गरेकाे भए राम्राे हुने बताएका थिए । खड्काले ​पनि साे सुझाव देउवालाई दिएका थिए । जवाफमा देउवाले, ‘म अन्तिम घडीसम्म गठबन्धन जोगाउने पक्षमा थिएँ । प्रचण्डजी गठबन्धन भत्कियो भन्दै हिँड्नु भयो । फोन गरेर बोलाउँदा पनि ढिलो भयो भन्नुभयो । गठबन्धन मैले टुटाएको होइन ।’

यद्यपि गठबन्धन भत्किँदा केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नु परेकोमा देउवा चिन्तित रहेको खड्काले बताए । ‘अन्तिम घडीमा गठबन्धन भत्किने अवस्थामा प्रचण्डजी प्रधानमन्त्री दिन तयार नै थिए । तर उहाँ ओली कहाँ गएपछि फर्किनु भएन,’ देउवाको भनाइ छ । गठबन्धन भत्काउने रणनीतिमा ओलीले झुक्याएको कांग्रेस नेताहरूको बुझाइ छ । 

खड्काले भने, ‘गठबन्धन भत्काउने ओलीजीको रणनीति थियो । प्रचण्डलाई लिएर माधव नेपालजीलाई दण्डित गर्न चाहनुहुन्थ्यो । उहाँले त्यही गर्नुभयो ।’ रणनीतिक रूपमा कांग्रेस असफल हुँदा एमाले राज्य सत्ताको केन्द्रमा आएको उनको भनाइ छ । आफ्नो हातमा भएको मौका गुमाउँदा पार्टीमा सबैलाई पिडाबोधको अनुभूति भएको खड्काले बताए ।

उनी भन्छन्, ‘हामीले हाम्रो हातमा भएको मौका गुमायौँ । यसको पीडाबोध साथीहरूले गरिराख्नु भएको छ ।’ तर देउवाले कांग्रेस चाडै फेरि सत्तामा आउने विश्वास दिलाइरहेका छन् । आइतबार साँझ भेट्न पुगेका पार्टीका नेताहरूसँग पनि देउवाले कांग्रेस चाँडै सरकारमा फर्किने बताएका थिए । डा. खड्काले पनि कांग्रेस सत्ताको खेलमा लाग्दा सरकार बनाउन केही गाह्रो नहुने बताए । ‘नेपालमा असम्भव भन्ने कुरा हुँदैन । अनेक खेल भइरहन्छन् । खेलहरू खेल्नुपर्छ । नेकपाको बहुमतको सरकार ढलेर कांग्रेस सत्तामा पुगेको हो । अहिले त्यस्तो गाह्रो केही छैन,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप