बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले प्रतिबन्ध हटाएपछि डेढ महिनामा ४ अर्बको धान आयात

शुक्रबार, १५ पुस २०७९, ०८ : ५०
शुक्रबार, १५ पुस २०७९

धानको निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध खुला गरेसँगै वीरगन्ज भन्सार नाकाबाट डेढ महिनाको अवधिमा करिब ४ अर्बको धान आयात भएको छ । भारत सरकारले कार्तिक १५ गतेदेखि नेपालको लागि धानको निर्यात खुला गरेको हो ।

धानको आयातमा आएको सहजतासँगै कात्तिक १५ गतेदेखि मंसिर मसान्तसम्म ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार रुपिया बराबरको ९९ हजार ९ सय ४८ मेट्रिक टन धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ६ लाख मेट्रिक टन धानमा कर नलाग्ने गरी कोटा नै तोकेर भारतले नेपालका लागि निर्यात खुला गरेपछि  अहिले नेपाली व्यापारीहरुले भारतबाट धमाधम धान आयात गरिरहेका छन् । नेपालकै प्रमुख भन्सार नाका वीरगन्जस्थित एकिकृत भन्सार जाँच चौकी (आईसिपि) को यार्डमा आँखाले देख्नसक्ने जति ठाउँ अहिले धान बोकेको मालबाहक सवारीका साधनले ओगटेका छन् ।  दिनहुँ भारतबाट धान बोकेर नेपाल भित्रिएका मालवाहक सवारीका साधनहरु भन्सार परिसरमा राखिएको छ  ।

नेपाल सरकारको पहल र व्यवसायीहरूको अनुरोधमा भारत सरकारले कात्तिक १५ गतेदेखि धानमा लगाएको प्रतिबन्ध हटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका  अध्यक्ष डा। सुबोधकुमार गुप्ताले बताएका छन् । ‘भारत सरकारले आन्तरिक उत्पादन घटेको र मुलुकभित्रै खपत बढी भएकाले नेपालमा धान निर्यात रोकेको थियो, हाम्रो माग १६ लाख मेट्रिक टन धान शून्य भन्सार शुल्कमा नेपालका लागि छोडिदिनुपर्छ भन्ने हो तर अहिले भारत सरकारले ६ लाख मेट्रिकटन धानमा मात्रै भन्सार नलाग्ने निर्णय गरेको छ’ अध्यक्ष गुप्ताले भने ।

भारतको आफ्नै आन्तरिक खपतलाई नपुग्ने भएपछि नेपालका लागि  धानको निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर नेपाली व्यवसायीहरूको अनुरोध र नेपाल सरकारको पहलमा भारत सरकारले कार्तिक १५ गतेबाट  प्रतिबन्ध हटाएपछि भारतबाट धानको आयात सहज भएको हो । वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लीराम सुवेदीले कात्तिक १५ गतेदेखि भारतले धानको निर्यात खुला गरेको बताए । ‘मंसिर मसान्तसम्म नेपाल सरकारले ९९ हजार ९४८ मेट्रिक टन धान आयात भएको छ, जस्को मूल्य ३ अर्व ९८ करोड ६६ लाख ४३ हजार मूल्य बराबर पर्न आउँछ’ भन्सार अधिकृत  सुवेदीले भने ।

कृषि प्रधान देशको रुपमा चिनिने नेपाल पछिल्लो समय अन्य मालबस्तु जस्तै धानका लागि पनि भारतमाथि पर निर्भर छ । नेपालको आफ्नै उत्पादनले मुलुकभित्रको  खाद्यान्नको आवशयकता धान्न नसकेपछि प्रति वर्ष ५ देखि ६ लाख मेट्रिकटन धान र त्यही अनुपातमा व्यवसायीहरूले चामल आयात गर्दै आएका छन् ।

यसअघि भारतले धानमा लगाएको प्रतिबन्धले झण्डै १५ लाख मेट्रिक टन धानको अभावसँगै त्यत्तिकै मात्रामा खाद्य संकटको खतरा देखिएको थियो । नेपालको अनुरोधमा भारत सरकारले ६ लाख मेट्रिक टन धान शून्य करमा नेपालका लागि निर्यात खुला गरेको हो । तोकिएको परिमाणको धान अहिले नेपाली व्यवसायिहरुले भारतबाट आयात गरिरहेका छन । तर त्यो पर्याप्त नभएको नेपाली व्यवसायीको गुनासो छ ।

 भारतबाट आयात भएको धानले ३ देखि ४ महिना मात्रै धान्नसक्ने भन्सारको बाटो हुँदै भारतबाट आयात भएको धानले नेपाली बजारमा ३ देखि ४ महिना मात्रै धान्न सक्ने व्यवसायीहरुले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भारतबाट आयात भएको धानले नेपाली बजारमा ३ देखि ४ महिना मात्रै धान्न सक्ने बताएका छन् । ‘यो अपुग छ यस्ले हामीलाई ३÷४ महिना मात्रै पुग्छ, त्यसपछि फेरि धान सटेज हुन्छ, ६ लाख मेट्रिकटन भन्दा धेरै धान निर्यात हुनासाथ भारतले २० प्रतिशत कर लगाउन सुरु गर्छ,’ अध्यक्ष गुप्ताले भने ‘भारत सरकारले कम्तीमा १५ लाख मेट्रिकटन धान भन्सार छुटमा निर्यात गनुपर्छ’

भारतले रुस र युक्रेन युद्धका कारण घरेलु बजारमा खाद्यान्न अभाव हुने देखेर नेपालमा धान निर्यात रोकेको थियो । धानको निर्यात रोकेपछि भन्सार छलेर चोरीको बाटो हुदै नेपालमा ठुलो मात्रामा चामल आयात हुँदै आएको थियो । उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले भन्सार छुटमा नेपाल आएका ४-५ सय ट्रक धानले नेपाली बजारमा ३ देखि ४ महिनामा मात्रै धान्न सक्ने बताउँछन् ।

नेपालमा उत्पादन भएको धानले कति महिना धान्नसक्छ भन्ने सरकारी निकायसँग नै तथ्याकं नहुँदा भारतीय धान र चामल कति आउँछ भन्न नसकिने अध्यक्ष लाठको भनाई छ ।

‘अहिले पहाडमा धान उत्पादन हुन छाड्यो, धानमा खर्च धेरै लाग्ने भएकोले तराईको आधा भन्द बढी खेतमा किसानले उखु र तरकारी गर्न थालेका छन्’ उनले भने ‘हामीकहाँ २ नं को बाटो (चोरी तस्करी) बाट भन्सार छलेर भारतीय चामल ल्याउने र त्यसलाई नेपाली ब्रान्ड बनाएर बिक्री गर्ने प्रचलन धेरै छ’ बारा–पर्सा औधोगिक करिडोरमा एक दशक अघिसम्म सय भन्दा बढी चामल उद्योगहरु सञ्चालनमा थिए तर पछिल्लो समय अधिकांश बन्द भएर साना–ठुला गरी करिब ५० वटा चामल उद्योग सञ्चालनमा रहेको अध्यक्ष लाठले जनाएका छन् ।

इतिहास खोज्ने हो भने पनि सन् १९७० देखि ८० को दशकसम्म नेपालले भारतसहित तेस्रो मुलुकमा धान र चामल निर्यात गर्ने गर्थ्यो  । तर ८० को दशक पछि नेपाल धान चामल आयात गर्ने देश बनेको हो । आफ्नै उत्पादनले नेपाली बजारको माग धान्न नसकेपछि धान चामल व्यवसायीहरु भारतबाट धान र चामल आयात गरिरहेका छन । भारतले बेलाबखत धानको निर्यातमा लगाउने प्रतिबन्धले नेपालमा खाद्य संकटसँगै  यहाँ रहेका झण्डै ३ हजार धान चामल उधोगहरु बन्द हुने र त्यसको मारमा उधोगी व्यवसायीसँगै त्यसमा काम गर्ने कामदारहरु पर्ने खतरा पनि उत्तिकै छ ।

कृषि प्रधान मुलुक नेपालको धानमा भारत माथिको निर्भरता कम गर्न र नेपालमा रहेका धानचामल उधोगहरुलाई सहज रुपमा काम गर्ने बाताबरण निर्माण गर्न नेपालमा किसानहरुका लागि सहुलियतमा सहज ढंगले मलखाद बिउ,आधुनिक प्रविधिसहितको कृषि क्रान्तिको आवश्यकता रहेको व्यवसायीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप