बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अवैधरुपमा भित्र्याइएको एक ट्र्याक्टर भारतीय ग्यास सिलिन्डर बरामद

बुधबार, ०८ पुस २०७२, १४ : ५३
बुधबार, ०८ पुस २०७२

पर्सा–मधेस केन्द्रित दलले गरेको नाका अवरुद्धले वैध व्यापारलाई समाप्त पार्दै अवैध व्यपारलाई बढावा दिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्दै आएको बन्द हड्ताल र नाकाबन्दीको कारण नेपालको लागि भारत तथा तेस्रो मुलुकबाट हुने आयात ठप्प भएपछि सीमाक्षेत्रमा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अवैध कारोवार फस्टाउँदै गएको हो । बन्द हड्ताल र नाकाबन्दीको कारण इन्धन तथा दैनिक उपभोग्य वस्तु अभावको फाइदा उठाउँदै तस्करले पर्साका विभिन्न नाकालाई प्रयोग गर्दै डिजल, पेट्रोल, खाना पकाउने ग्यासदेखि दैनिक उपभोग्य वस्तु भित्र्याउने गरेका छन् ।

यसै क्रममा आज बिहान भारतबाट अवैधरुपमा भित्र्याइएको नम्बर नभएको ट्र्याक्टरसहित ५५ थान भारतीय ग्यासको सिलिन्डर प्रहरीले बरामद गरेको छ ।

भारतबाट अवैधरुपमा तस्करले ग्यास सिलिन्डर भित्र्याएको पूर्व सूचनाको आधारमा प्रहरीले कारवाही गर्दा पर्साको महादेवपट्टी गाविस–१ जिराभवानी मन्दिर नजिकैबाट भारतीय ग्यास सिलिन्डरसहित ट्याङ्करलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक यादव घर्तीमगरले जानकारी दिए । उनले बरामद गरिएको ट्र्याक्टर र ग्यास सिलिन्डरलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको बताए । बन्द हड्तालको कारण हाल देखापरेको अवैध कारोवारलाई निरुत्साहित गर्न प्रहरी दिनरात लागिपरेको प्रवक्ता घर्तीमगरले जानकारी दिए । उनले भारतबाट हुँने अवैध कारोवारलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा प्रहरीको गतिविधिलाई बढाइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप