बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति

बुधबार, ०३ असार २०८३, २१ : ३७
बुधबार, ०३ असार २०८३

झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदनअनुसार आगलागी, हावाहुरी र जङ्गली जनावरको आक्रमणका कारण ठूलो परिमाणमा भौतिक तथा मानवीय क्षति भएको हो ।

प्रहरीको तथ्याङ्कअनुसार जिल्लाभर प्राकृतिक विपद्मा सबैभन्दा बढी क्षति आगलागीका कारण भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार जेठमा जिल्लाका विभिन्न स्थानमा १५ वटा आगलागीका घटना घटेका थिए । सो आगलागीका कारण नागरिकको घरगोठ र धनमाल नष्ट हुँदा रु छ करोड ३९ लाख ४० हजार बराबरको आर्थिक क्षति भएको हो ।

त्यसैगरी सोही महिनामा आएको ठूला हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा गरी रु चार करोड सात लाख १६ हजार बराबरको क्षति भएको छ ।

झापामा रैथाने तथा सीमावर्ती क्षेत्रबाट आउने वन्यजन्तुको त्रास र प्राकृतिक प्रकोपको क्षति पनि उत्तिकै चुनौतीपूर्ण देखिएको छ । यस अवधिमा जङ्गली जनावरको आक्रमणका आठ वटा घटना भएका छन् । जसमा परेर एक जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएको तथ्याङ्क रहेको छ । वन्यजन्तुको आक्रमणबाट मात्रै रु तीन लाख ७० हजार बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ ।

यस्तै, चट्याङ्बाट रु एक लाख ३६ हजार ५०० को भौतिक क्षति भएको तथ्याङ्क छ । सोही अवधिमा आएको बाढीपहिरोको घटनामा मानवीय क्षति नभए पनि प्रहरी टोलीले विपद्मा फसेका सात जनाको सकुशल उद्धार गरेको थियो ।

प्रहरीले विपद्का घटनालगत्तै नागरिकको जीउधनको रक्षा, उद्धार र राहतका आवश्यक प्रहरी जनशक्ति परिचालन गरेको सूचना अधिकारी अवाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप