हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
सारांश
- पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षका लागि १ अर्बको सट्टा ३ अर्ब १ करोड आन्तरिक आम्दानीको लक्ष्य राखेर बजेट बनाउँदा ४५ करोड भुक्तानी रोकिन पुगेको छ ।
- आन्तरिक आम्दानीको लक्ष्य प्रक्षेपणभन्दा निकै कम, करिब १ अर्ब २५ करोड मात्र सङ्कलन भएपछि कार्यान्वयन भएका योजनाको भुक्तानीमा समस्या आएको छ ।
- घरनक्सा र भवन अभिलेखीकरणबाट २ अर्ब आम्दानी हुने अपेक्षा गरिए पनि सङ्घीय सरकारको निर्देशनले काम रोकिँदा जम्मा ११ प्रतिशत मात्र आम्दानी भएको छ ।
पोखरा । नियमित १ अर्ब भन्दा कम आन्तरिक आम्दानी गरिरहेको पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षका लागि असारमा हौसिएर बजेट बनायो । आन्तरिक आम्दानी ३ अर्ब १ करोड उठाउने लक्ष्य सहित बजेट निर्माण भयो । तर, महानगरपालिकाले प्रक्षेपण गरेको १ तिहाइ रकम पनि उठाउन सकेन ।
जेठ मसान्तसम्म १ अर्ब २५ करोड हाराहारी मात्रै सङ्कलन भएको महानगरपालिकाले जनाएको छ । राजस्व परामर्श समितिले बढीमा १ अर्ब ५५ करोड आन्तरिक आम्दानी गर्न सकिने प्रक्षेपण सहित नगरसभालाई सिफारिस गरेको थियो।
नगर सभाले समितिको सिफारिसलाई लत्त्याएर आफूखुसी बजेट बनाउँदा अहिले भुक्तानीमा भद्रगोल भएको हो । आगामी आर्थिक वर्षका लागि समितिले अझै घटाएर प्रक्षेपण गरेको छ । १ अर्ब ३७ करोड रुपैयाँ आन्तरिक आम्दानी हुने समितिको प्रक्षेपण छ ।
तर, २ अर्ब आम्दानी हुने गरी बजेट बनाउने तयारी महानगरले गरेको छ । ‘अहिलेको अवस्थालाई हेरेर आन्तरिक आम्दानीको प्रक्षेपण समितिले गरेको छ । यसलाई बढाउने तयारी गरेको सुनिएको छ,’ समितिका एक सदस्यले भने, ‘अहिले पनि जबरजस्ती गर्न खोजे ठुलो दुर्घटना हुन्छ ।’
कार्यान्वयन भैसकेका योजनामा अहिले भुक्तानीका फाइल अड्किएका छन् । ५५ करोडपति भुक्तानी अहिले रोकिएको महानगरले जनाएको छ ।
‘दिनदिनै उपभोक्ता समिति र निर्माण व्यवसायीहरू वडा कार्यालय घेर्न आउँछन् । हामीले महानगरसँग पैसा मागेको मागै छौँ,’ १२ नम्बरका वडाध्यक्ष सन्तोष बास्तोला भन्छन्, ‘कार्यपालिकामा सधैँ यही छलफल हुन्छ ।’ आन्तरिक आम्दानीबाट उठेको रकम सीधै वडाको खातामा पठाएर भुक्तानीका लागि सहजीकरण गर्ने समझदारी भएको उनले जनाए । त्यसबाहेक खर्च गर्न नसकेका वडाबाट पनि बजेट तानेर भुक्तानी बाँकी भएका वडामा पठाउन महानगर राजी भएको छ।
के मा बिग्रियो हिसाब ?
यो वर्ष घरनक्सा र भवन अभिलेखीकरणबाट सबैभन्दा धेरै पैसा उठ्छ भन्ने आँकलन थियो । २ अर्ब रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको शीर्षकबाटै ११ प्रतिशत मात्रै आम्दानी भएको वित्त महाशाखा प्रमुख जयराम पौडेल बताउँछन्।
‘हाम्रो हिसाब नमिल्ने आन्तरिक आयको सबैभन्दा ठुलो हिस्सा चाहिँ भवन अभिलेखीकरणमा गुम्यो,’ उनले भने, ‘२ अर्ब प्रक्षेपण गरेको थियौँ । ११ प्रतिशत मात्रै आम्दानी भयो ।’
अभिलेखीकरणबाट करिब २३ करोड आम्दानी भएको उनले जानकारी दिए । भवन अभिलेखीकरणको लागि निवेदन सङ्कलन भइरहेका बेला सङ्घ सरकारले अहिले भवन अभिलेखीकरण नगर्न निर्देशन जारी गरेको थियो । त्यसपछि काम रोकिएकोले आम्दानी नभएको महानगरले जनाएको छ।
निर्माण व्यवसायी सङ्घ कास्कीका अनुसार काम सकिएर भुक्तानीका लागि पेस भएका निवेदन नै २० करोड भन्दा बढी रहेको छ । सङ्घका उपाध्यक्ष शिरष बास्तोलाले उति नै रकमको काम अहिले चलिरहेकोले छिटै विल सहित निवेदन आउने बताए । ‘अहिले नै २० करोडपति रकम लिन बाँकी छ । काम पनि भइरहेका छन् । तिनको भुक्तानीको ज्ञारेण्टी छैन,’ उनले भने, ‘भइसकेको कामको छिटो भुक्तानी होस् भन्ने हाम्रो माग हो ।’ उनीहरुले अहिले वडैपिच्छे भुक्तानीको लागि आग्रह गर्दै हिँडेका छन् । ‘काम गर्ने बेलामा ताकेता लगाउँछन् । उधारोमा सामान ल्याएर काम सक्यौँ अहिले भुक्तानी रोकियो,’ उनी भन्छन्, ‘अझै भुक्तानी नभए अदालत जानुको विकल्प छैन ।’
कसरी हुन्छ रोकिएको भुक्तानी ?
महानगरपालिकाले यो वर्ष तिर्न नसकेको रकम आगामी वर्षलाई दायित्व सार्ने तयारी गरेको छ । ‘असारको २५ सम्म भुक्तानी दिँदै जान्छौँ । बाँकी रहेकोलाई भुक्तानी बाँकी भनेर शीर्षक नै राखेर अर्को सालमा हामीले तिर्ने प्लान बनाएका छौँ,’ उनले भने । आगामी वर्ष पहिलो प्रायोरिटी चाहिँ दायित्व भुक्तानीमा हुन्छ ।’
दायित्व बढी भए नयाँ योजना आगामी वर्ष कम हुने उनको तर्क छ । करिब ५५ करोड रुपैयाँ भुक्तानी बाँकी रहने अनुमान गरिएको छ ।
‘हाम्रो मुख्य समस्या आन्तरिक आम्दानीमा हो । करको दायरा अलि बढाउन सकिन्छ भनेर ठुलो बजेट बनेको रहेछ,’ उनले भने, ‘त्यो अनुमान अलि अमिल्दो नै देखियो अहिले आए । अनुमानभन्दा साह्रै कम राजस्व उठ्नु नै हाम्रो चुनौती हो ।’ उनले आगामी वर्षको प्रक्षेपण वास्तविक बनाउने दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण