बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सार्वजनिक यातायात व्यवस्थित गर्न संसदीय समितिको निर्देशन

बुधबार, ०८ पुस २०७२, १५ : १८
बुधबार, ०८ पुस २०७२

काठमाडौँ–संसदको विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सार्वजनिक यातायात व्यवस्थित गर्न निर्देशन दिएको छ ।

समितिले आज आयोजना गरेको सार्वजनिक यातायात व्यवस्थापन र वातावरणमैत्री विद्युतीय सवारीसम्बन्धी बैठकपछि मन्त्रालयलाई यस्तो निर्देशन दिइएको हो । इन्धन अभावले सवारी सञ्चालनमा समस्या आएपछि पेट्रोलियम पदार्थभन्दा विद्युतीय सवारीलाई प्राथमिकता दिन समितिको बैठकले निर्देशन दियो । विद्युतीय सवारी वातावरणमैत्री पनि हुने भएकाले यसको प्रबद्र्धन हुनुपर्नेमा सांसदहरुले जोड दिए ।

देशमा उत्पादन नहुने पेट्रोलियम पदार्थको प्रयोग गरी सञ्चालन हुने सवारी साधनको आयातलाई क्रमशः कम गर्दै लैजान तथा विद्युतीय ऊर्जाको प्रयोग गरी सञ्चालन हुने सवारी साधनलाई प्राथमिकता दिन, हाल सञ्चालनमा रहेका सवारी साधनलाई विद्युतीय परिवहनमा रुपान्तरण गर्ने सम्बन्धमा यसको दीर्घकालीन प्रभावको मूल्याङ्कनसमेत गरी स्पष्ट खाका तयार गरेर मात्र कार्यान्वयनमा लैजान सांसदहरुले जोड दिएका छन् । विद्युतीय परिवहनको प्रवद्र्धनमा ऊर्जा मन्त्रालय, विज्ञान प्रविधि तथा वातावरण मन्त्रलाय एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच समन्वय समिति बनाई द्रुतमार्गमा काम गर्न समितिले सम्बन्धित मन्त्रालयलाई निर्देश गरेको छ ।

सहरी सार्वजनिक यातायात तथा प्रदुषण व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनी विस्तृत जानकारी लिन समितिले अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले पर्याप्त कानुनी र ऐन नियमको अभावमा समस्या समाधान हुने भन्दा पनि बल्झिने गरेको बताए ।

“सार्वजनिक यातायातको व्यवस्थापनलाई प्रभावकारी बनाउन सकारात्मक प्रारम्भ भएको छ, यसमा मन्त्रालयले कार्ययोजना बनाएर सरोकारवाला एवम् विज्ञहरुसँग सल्लाह सुझाव लिई कार्यान्वयनमा लगिनेछ, यातायात व्यवस्थापनका लागि विद्युतीय साधनलाई नै जोड दिइनुपर्छ”–उनले भने ।

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई पनि विद्युतीयमै परिवर्तन गरिनुपर्नेमा पनि उनले जोड दिए । यातायात क्षेत्रलाई समग्र रुपमा व्यवस्थापनका लागि मन्त्रालयले गम्भीरताका साथ नेतृत्व लिने प्रतिबद्धता पनि मन्त्री गच्छदारले व्यक्त गरेका थिए ।

समितिका सभापति रवीन्द्र अधिकारीले विश्वमा मानव विकास र प्रगतिको सूचकाङ्क सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापनमा पनि निर्भर हुने भएकाले नेपालको सार्वजनिक यातायात सुधार गरिनुपर्ने बताए ।

“यातायातको सुधार गरिनुका साथै स्वच्छ वातावरणमैत्री सवारी साधनमा जोड दिइनुपर्छ, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीको सङ्ख्या घटाई विद्युतीय सवारीलाई प्राथमिकता दिइनुपर्छ, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई पनि विद्युतीयमा रुपान्तरण गरिनुपर्छ”–उनले भने ।

सांसदहरु केशवकुमार बुढाथोकी, महेन्द्र यादव, गणेश पहारी, हरिचरण साह, प्रकाश शर्मा पौडेल र रामकुमार भट्टराईले सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने उल्लेख गरिएकाले कार्यान्वयनमा ल्याउन ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले सहरलाई प्रदूषणरहित र स्वच्छ बनाई आत्मनिर्भर बनाउनका लागि विद्युतीय सवारी साधनलाई बढीभन्दा बढी सञ्चालनमा ल्याइनुपर्ने बताए । “विद्युतीय सवारीलाई प्रबद्र्धन गर्ने काम सरकारबाट सुरु गरिनुपर्छ, यसवर्ष सरकारले किन्ने सबै सवारी साधन विद्युतीय किनेर यसको सुरुवात् गरौँ, २०० सवारी किन्नु छ भने १०० मात्र किनौँ, तर विद्युतीय नै किनौँ”–उनले भने ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले २०७७ सालसम्म वातावरणमैत्री विद्युतीय सवारी साधनको सङ्ख्या २० प्रतिशत पु¥याउने लक्ष्य रहेको जानकारी गराए ।

“यसका लागि वातावरणमैत्री सवारी तथा यातायात नीति २०७१ र विद्युतीय सवारी साधन कार्यविधि २०७२ जारी गरी कार्यान्वयनमा ल्याइएको छ”–उनले भने ।

यातायात क्षेत्रका विज्ञ प्रा डा सूर्यराज आचार्यले नेपालको यातायात व्यवस्थापन पद्दति ५० वर्ष पुरानो भएकाले व्यवस्थित हुन नसकेको बताए ।

“काठमाडौँमा सात प्रतिशत मात्र सडक छ, अन्य सहरमा २० प्रतिशतभन्दा बढी सडक हुन्छ, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सहरी यातायातसम्बन्धी व्यवस्था गरिएको छैन”–उनले भने ।

जिल्लास्तरमा यातायातलाई व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिमा यातायात व्यवसायी र मजदुरसमेत रहने व्यवस्था गरेकाले यातायातमा एकाधिकार कायम गर्न बल पुगेको आचार्यको तर्क थियो ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले उपत्यकामा मेट्रो र मोनो रेलको कुरा धेरै भए पनि काम हुन नसकेकाले सार्वजनिक यातायात व्यवस्थित हुन नसकेको बताए । “यसको जिम्मा महानगरपालिकालाई दिएमा पूरा गर्नेछौँ”– प्रतिबद्धता जनाउँदै उनले भने ।

नेपाल विद्युतीय सवारी सङ्घ ९इभान० का अध्यक्ष उमेशराज श्रेष्ठले काठमाडौँमा आउने ५९ प्रतिशत पर्यटकले प्रदूषणयुक्त सहर भनेकाले पर्यटन व्यवसायमा गम्भीर असर पुगेको बताए । यसबाट मुक्त हुनका लागि रातमा खेर जाने विद्युत्लाई सवारीमा चार्ज गरी चलाउने विधिको विकास गर्न सके सहर स्वच्छ बनाउन सहयोग पुग्ने उनको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप