रंगेली घटनाबारे उपेन्द्र यादवको प्रतिक्रिया ः आन्दोलनलाई साम्प्रदायिक बनाउने सरकारी प्रयास
काठमाडौं – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोरङको रंगेलीमा बिहिबार तीन जनाको ज्यान ज्याने गरी भएको घटनालाई ‘सरकारको आन्दोलनलाई साम्प्रदायिक बनाउने प्रयास’ भएको आरोप लगाएका छन् ।
मोरङको रंगेलीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली तीन जना कार्यकर्ताको मृत्यु भएको घटनाको विरोध गर्दै संघीय समाजवादी फोरम नेपालले बिहिबार प्रेस वक्तव्य जारी गर्दै उक्त घटनाको भत्सर्ना गरेको हो । ‘मोर्चाको विरोधका बावजूद संवेदनशील स्थानमा कार्यक्रम आयोजना गरी सरकारले जारी आन्दोलनलाई साम्प्रदायिक मुठभेड तर्फ लैजाने, आन्दोलनलाई कमजोर बनाउने र पाँच महिना बढीदेखि आन्दोलनरत मधेशी, आदिवासी जनजाति, खस, थारु, महिला लगायत सीमान्कृत र उत्पीडित समुदायलाई पहिचान र अधिकार नदिने षड्यन्त्रमा लागेको रङ्गेली घटनाले प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । पार्टीले वार्ता र संवाद मार्फत् नयाँ संविधन संशोधन गरी मुलुकलाई निकास दिनुको सट्टा आन्दोलनकारी माथि चरम दमन गरी सरकार आफै वार्ता बिथोल्न लागि परेको गम्भीर आशंका उत्पन्न भएको बताएको छ । ‘सरकारले एकातिर वार्ता गर्ने अनि अर्कोतिर जनता भिडाउने र आन्दोलनकारी माथि दमन गर्ने निकृष्ट कार्य तत्काल बन्द गरी सार्थक वार्ता मार्फत् देशलाई निकास दिने तर्फ गम्भीर हुन आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच वार्ता प्रक्रिया चलिरहेकै अवस्थामा मोरङ्गको रङ्गेलीमा युवा संघको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथ प्रहरीको गोली प्रहारबाट तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको गोली लागि ६० वर्षिय पुनम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । उपचारका लागि अस्पताल लैजाने क्रममा महादेव ऋिषिदेव, र शिबु माझीको मृत्यु भएको छ । त्यस्तै, प्रहरीले गोली लागि मुन्ना मण्डल, विरेन्द्र मण्डल, सत्य नारायण साह, रमानन्द यादव, लल्लन मेहता, विक्रम सहनी, जगन्नाथ साह, श्रवण मण्डल र सुबोध मण्डल लगायत ३५ जना भन्दा बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण