सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काँग्रेसले धोका दियो : प्रम ओली

बिहीबार, ०७ माघ २०७२, २३ : ०४
बिहीबार, ०७ माघ २०७२

भक्तपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले यो सरकारलाई सहयोग नगरेर धोका र बेइमानी गरेको उल्लेख गर्दै सरकारलाई अप्ठ्यारो पार्न काँग्रेस पनि लागिपरेको बताएका छन् । ओलीले आफू सिंहदरबारमा फोटो झुन्ड्याउन प्रधानमन्त्री नभएको उल्लेख गर्दै मुलुकका लागि केही गरेर देखाउने दाबी गरे ।

प्रधानमन्त्री ओलीले मधेस र पहाड छुट्याउन ‘चलखेल’ भइरहेको भन्दै सरकारले त्यसलाई कुनै हालतमा सफल हुन नदिने दृढता व्यक्तसमेत गरे । नेकपा एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीले आज बोडेमा आयोजना गरेको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीको अस्तित्व र एकतालाई तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । तराईका केही स्थानमा अराजक समूहले परिस्थिति बिगार्ने कार्य गरिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको उल्लेख गरे ।

देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताए ।

प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्तिलाई हावादारी भन्ने नै हावादारी भएको उल्लेख गर्दै तीन महिनामा यो सरकारले उल्लेख्य काम गरिसकेको र पुनःनिर्माणको महाअभियानसमेत शुभारम्भ भइसकेको बताए ।

सामाजिक सञ्जालमा सुनियोजित रुपमा आफ्नो विरोध भइरहेकाले त्यसको पछि नलाग्न ओलीले आग्रह गरे । यो सरकारलाई देश र जनताको पक्षमा काम गर्न नदिने षड्यन्त्रसमेत भइरहेको उनले बताए ।

सरकारले एक सय दिन पूरा गरिरहँदा उल्लेख्य काम गरेकैले प्रतिपक्षीले यो सरकारले केही गर्छ कि भनेर डराएको बताउँदै उनले सरकारले दुई वर्षमात्रै काम गर्न पाए मुलुकको कायापलट हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप