सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कर छलेको आरोपमा बार्सिलोनाका मास्चेरानोलाई जेल सजाय, मेस्सी पनि तानिँदै

शुक्रबार, ०८ माघ २०७२, ०० : ०८
शुक्रबार, ०८ माघ २०७२

बार्सिलोना — कर छलेको आरोपमा बार्सिलोना तथा अर्जेन्टिनी स्टार ह्याभियर मास्चेरानोलाई एक वर्षको जेल सजाय तथा ६ लाख २५ हजार पाउण्ड जरिवानाको सजाय सुनाइएको छ । यद्यपि, मास्चेरानो जेल भने बस्नुपर्ने छैन । हत्या जस्तो जघन्य अपराध नगरेको खण्डमा स्पेनमा दुई वर्षभन्दा कम सजाय पाएकाहरुले जरिवाना रकम तिरेर जेल नबस्दा पनि हुने प्रावधान रहेको छ । मास्चेरानोका वकिलले जेल सजायको साटो जरिवाना तिर्नका लागि आग्रह गरिसकेका छन् । यद्यपि, उनले जरिवाना रकम भने तिरिसकेका छैनन् । ३१ वर्षीय अर्जेन्टिनी खेलाडीलाई सन् २०११ र सन् २०१२ मा दुई पटक कर छलेको आरोपमा क्रमशः ४ र ८ महिना जेल सजाय सुनाइएको थियो । पर्चुगल र अमेरिकामा इमेज राइटबाट आउने रकम खुलासा नगरेको उनीमाथि आरोप लगाइएको थियो । सजायअघि नै मास्चेरानाले करबापतको १।१५ मिलियन रकम तिरिसकेका छन् । उनले त्यसबापत लाग्ने ब्याज पनि तिरे पनि उनलाई थप जरिवाना सुनाइएको छ । कर छलीको आरोपमा फँस्ने मास्चेरानो मात्र एक्लो बार्सिलोनाका खेलाडी भने होइनन् । अर्का अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पनि यसै वर्ष कर छलीको आरोपमा अदालतमा उपस्थित हुँदैछन् । उनी र उनको बुवामाथि इमेज राइटको रकम लुकाएर कर छलेको आरोप छ । मेस्सीको सुनावाइ मे ३१ देखि जुन ३ मा राखिएको छ । ठीक यही समयमा अमेरिकामा कोपा अमेरिका शुरु हुँदैछ । मेस्सीका वकिलले सुनुवाईको मिति परिवर्तन गर्ने प्रयास गर्नेछन् । गत सप्टेम्बरमा कर नतिरेको भन्दै नेयमारको पनि ३० मिलियन बराबरको सम्पति फ्रिज गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप