सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गन्धर्वहरु पुख्र्यौली पेसा छोडी अन्य पेसा अङ्गाल्न बाध्य

शुक्रबार, ०८ माघ २०७२, १० : ४२
शुक्रबार, ०८ माघ २०७२

तुलसीपुर (दाङ) - परापूर्वकालदेखि गाउँगाउँमा पुगी सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्वहरुको पुख्र्यौली पेसा हाल आएर ओझेलमा परेको छ । अहिले पुख्र्यौली पेसा सङ्कटमा परेपछि उनीहरु अन्य पेसा अङ्गालेर जीवनयापन गर्न बाध्य भएका छन् । बढ्दो गीतसङ्गीत एवम् प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने गरेका कारण आफूहरु अहिले यो पेसा छोडेर अरु पेसा अङ्गाल्न बाध्य भएकाले आफूहरुको पेसा ओझेलमा परेको उनीहरु बताउँछन् । तुलसीपुरनगरपालिका वडा नं २, गण्ोशटोलका ४५ वर्षीय गणेश गन्धर्व भन्नुहुन्छ – “अहिले त सारङ्गी बोकेर गाउन हिँड्दा कतिले अल्छी भनेर गाली गर्छन् । त्यसले आफूलाई सरम लाग्छ । अहिले वैकल्पिक पेसा अङ्गाल्न बाध्य भएका छौँ ।’’ बीस वर्षदेखि जिल्लाका विभिन्न ग्रामीण क्षेत्र एवम् तुलसीपुर, घोराही, लमहीका बजार क्षेत्रमा गीत गाउँदै हिँडेको बताउने उहाँ भन्नुहुन्छ – “हामीलाई समाजले हेला गर्ने, राज्यले पनि राहतका कुनै कार्यक्रम नदिनु, बढ्दो गीत–सङ्गीत र प्रविधिको विकासका कारण गाउने पेसाबाट खान लगाउन नपुग्ने अवस्था आएको छ ।’’ गणेशका अनुसार ३० देखि ३५ घरघुरी रहेको गणेश टोलमा करिब ४०० गन्धर्व बसोबास गर्छन् । अहिले १२ देखि १५ जनाले मात्र यो पेसा अङ्गालेका छन् । उनीहरु पनि कुनै काम नपाएका बेलामा मात्र गाउँदै हिँड्छन् । अन्यले मजदुरी, माछा मार्नेलगायत अन्य वैकल्पिक पेसा अपनाएर जीवनयापन गर्ने गरेका छन् । यो पेसाले हातमुख जोड्न साह्रै मुस्किल परेकाले आफूहरुले जीवनयापनका लागि अन्य पेसा गरेर घरपरिवार पाल्ने गरेको उनीहरुको भनाइ छ । अहिलेका पिँढीले गायन पेसाप्रति देखाएको उदासीनताले आफ्नो जातिको अस्तित्व नै हराउन सक्ने पिर छ सोही गणेश टोलका ५५ वर्षीय खुनी गन्धर्वलाई । गन्धर्वहरुका युवा पिँढीलाई पुख्र्यौली पेसाबाट आर्थिक रुपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचानलाई जोगाउन सकिने उहाँको भनाइ रहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप