सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रंगेली घटनामा प्रचण्डको प्रतिक्रिया : अतिवादी भएर समस्याको निकास निस्किँदैन

शुक्रबार, ०८ माघ २०७२, १२ : २०
शुक्रबार, ०८ माघ २०७२

कास्की – एमाओवादी अध्यक्ष प्रचण्डले बिहिबार मोरङको रंगेलीमा तीन जनाको ज्यान जाने गरी भएको घटना बारे प्रतिक्रिया दिँदै अतिवादी तरिकाले देशको समस्या समाधान नहनुे बताएका छन् । अध्यक्ष प्रचण्डले मोरङको रंगेली घटना दुःख भएको बताउँदै उक्त घटना जसले घटाए पनि गलत भएको बताए ।

उनले अगाडि भने, ‘विराटनगरमा हिजो घटेको घटना निकै दुखद र दुर्भाग्यपूर्ण घटना हो । यो घटनाबाट सबैले शिक्षा लिएर छिटोभन्दा छिटो सहमति गर्नुपर्दछ । सन्तुलित ढंगले वातावरणलाई सहजीकरण गर्नुपर्दछ ।' क्रान्तिकारी पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी अध्यक्षले प्रधानमन्त्री केपी ओलीको पनि बचाउ गरेका छन् । बिहिबार बिहान शीर्ष दल र आन्दोलनरत मधेसी मोर्चाबीचको बार्ता प्रधानमन्त्री ओलीकै कारण भाँडिएको भन्ने सञ्चारमाध्यमा खबर आएपछि उनले मधेसका समस्या समाधान गर्न मन्त्रिपरिषद्बाटै निर्णय भएका कारण प्रधानमन्त्री सहमतिको बाधक नरहेको स्पष्टिकरण दिएका हुन् । ‘वहाँकै नेतृत्वमा संविधान संशोधन विधेयक संसद्मा पुगेको हो । ओलीजी बाधक हो भन्ने कुरा सत्य होइन ।’

उनले प्रमुख राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने वर्तमानको आवश्यकता भएको बताउँदै एनेकपा (माओवादी)ले काँग्रेस र एमाले दुबै दललाई एक ठाउँमा ल्याउने उल्लेख गरे ।

मधेसी दलले उठाएका समानुपातिक, समावेशिता, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारणलगायतका विषयमा लगभग सहमति भइसकेको र एक दुई दिनभित्रमा संविधान संशोधन मार्फत सम्बोधन गरिने बताउँदै उनले सिमाङ्कनको विषयलाई राजनीतिक समिति निर्माण गरी तीन महिना समयावधि निर्धारण गरी टुङ्ग्याउन पहल भइरहेको बताए ।

संविधान संशोधनसँगै जारी जटिलताको अन्त्य हुने विश्वास उनले व्यक्त गरे । ‘अन्तराष्ट्रिय सन्धी अनुरुप व्यापार सहज हुनुपर्ने हो तर नाकाबन्दी कायमै छ, यो मधेश आन्दोलनसँग जोडिने विषय होइन,’ अध्यक्षले भने ।

माओवादी पार्टीभित्रको विभाजनको वस्तुगतरुपमा औचित्य पुष्टि हुन नसकेको चर्चा गर्दै उनले औचित्य पुष्टि नहुनुले नै एकताको आवश्यकता भएको उल्लेख गरे । नयाँ शक्तिको कुरा केवल शब्दमा मात्र नयाँ भएको उनको भनाइ थियो । प्रचण्ड प्रदेश नं ४ को अगुवा कार्यकर्ता प्रशिक्षणलगायतका कार्यक्रमका लागि पोखरा आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप