सडकबाट : सडक व्यापारीका गुनासो – नगरपालिकाले सामान खोस्छ, फिर्तै दिँदैन
दुर्गा भण्डारी, धादिङ, फुटपाथ व्यापारी
फुटपाथमै फलफूल बेचेर जीवन चलाउन थालेको १२ वर्ष भयो । यहिँबाट कमाएको आम्दानीले दुई छोरी पढाउँछु, घर चलाउँछु । काठमाडौँको ठाउँ, कोठा भाडा पनि महँगो छ । धादिङको घर पनि भूकम्पले ढालिदियो । यही व्यापार कुरेर बस्नुभन्दा अर्को कुनै विकल्प पनि छैन । दिनभरिमा २ हजार जति व्यापार हुन्छ । त्यतिले नै घरखर्च, बचत र नयाँ सामान जुटाउनुपर्छ । देशमा नाकाबन्दी लागेपछि हाम्रो व्यापारमा असर पुगेको छ । सामान पाइँदैन, पाए पनि महँगो । हामीले पनि महँगो भाउ लगाएर बेच्दा ग्राहकले गाली गर्छन् । ग्राहक ठग्न त बसेका होइनौँ नि हामी पनि । फेरि ढुक्कले बसेर सामान बेच्न कहाँ पाइन्छ र ? कतिबेला नगरपालिकाका मान्छे आएर सामान उठाएर लगिदिन्छन् थाहा नै हुँदैन । दाउ हेर्दै बस्नुपर्छ । फेरि मान्छे हिँड्ने सबै बाटो नै छेकेर त बसेका छैनौँ नि । पहिले त सामान लगिदिए पनि लिन बोलाउँथे आजभोलि त दिँदैनन्, गाली गरेर पठाउँछन् । गाउँमा धेरै खेती छैन । ठूला जागिर खान हामीले पढ्न पाएनौँ, न त धेरै लगानी गरेर ठूलो पसल थाप्ने हाम्रो हैसियत नै छ । पेट पाल्नै परिहाल्यो । केही उपाय नपाएपछि फुटपाथ बाटामा पसल थापेको हो । सरकारले बुझ्दैन । दुःख गरेर खान पनि पाइएको छैन । सरकारले कि त जागिर दिन पर्यो कि हाम्रो सामान थुत्नलाई नगरपालिका पठाउनु भएन ।
धनु सापकोटा (सर्लाही), फुटपाथ व्यापारी
बाटामै नाङ्ले पसल थापेर जीविका चलाउँछु । १५ वर्ष जति भो, यसरी नै चलिरहेको छ । गाउँमा केही छैन । कोही आफन्त पनि छैनन् । बुढा अर्कै घरजम गरेर बसेका छन् । सन्तान छैनन् । काठमाडौंमा एक्लै बस्छु । नाङ्ले पसलको व्यापारले जसोतसो साँझबिहानको छाक टर्छ । मासिक २५ सय कोठाभाडा तिर्नुपर्छ । मुश्किल पर्छ । नाकाबन्दी लागेपछि मेरो व्यापार घटेको छ । सामान नै राख्न सकिरहेको छैन । आधा नाङ्लो सामान छ । फेरि ग्यास पनि पाइएको छैन । आगो बाल्ने ठाउँ छैन । म त आजभोलि नजिकको पसलमा गएर चिया पाउरोटी खान्छु । खाना नखाएको दुई महिना हुन लाग्यो । बूढीमान्छे यो जाडोमा तातोपानी तताएर खान पनि पाएको छैन । गुनासो पोखुँ कसलाई, सुनिदिने कोही छैनन् । यहि नाङ्लाको सामान बेचेर खान पनि कहाँ सजिलो छ र ? दिनमा २÷३ पटक नगरपालिकाका मान्छेहरु आएर गाली गर्छन् । सामान फालिदिने धम्की दिन्छन् । पहिले त मेरो नाङ्लै उठाएर लगिदिन्छन् । अनेक बिन्तीभाउ गरेर मागेर लिएर आउँछु । कहिले दिन्छन्, कहिले दिँदैनन् । दिनहुँ बाटोमा नगरपालिकाको गाली खाएर बस्ने रहर कसलाइ थियो र बाबै ! केही उपाय नपाएर यसो गरेकी हुँ । पेट पाल्न परिहाल्यो पालिदिने कोही छैन । हामी बेसहाराका लागि सरकारले केही गर्दैन । हाम्रो पीर–मर्का बुझेर सरकारले हाम्रो सामान नखोसिदिए हुन्थ्यो ।
पार्वती काफ्ले (मोरङ) फुटपाथ व्यापारी
२० वर्षदेखि गाडामा सामान बेचेर जीविका चलाएकी छु । चना केराउ बेचेरै घर चलाउँछु । छोराछोरी पढाउने गरेकी छु । गाउँमा हाम्रो केही छैन । जागीर खाऊँ, पढेको छैन । केही उपाय नलागेर गाडामा सामान बेच्ने काम थालेको । दैनिक ५/७ सय आम्दानी हुन्छ । पहिले त एक हजार पनि हुन्थ्यो । नाकाबन्दी लागेपछि व्यापार सुक्यो । सामान महँगो भएर किन्नै गाह्रो छ । धेरै सामान राखेको छैन । महँगो भाउ लगाउँदा ग्राहक फर्किन्छन् । आजभोलि घरखर्च जुटाउनै मुश्किल छ । फेरि जहाँ पायो, त्यहीँ गाडा राख्न पाइँदैन । नगरपालिकाले देख्यो भने लगिदिन्छन् । दिनहुँ जसो आएर धम्की दिन्छन् । सामान नराख नत्र खोसेर लगिदिन्छु भन्छन् । कहिले त लिएरै जान्छन् । मन लागे फिर्ता दिन्छन्, मन नलागे दिँदैनन् । बाटोको धूँवा–धुलो खाएर बस्न हाम्रो पनि रहरको विषय होइन । गरिखाने बाटो नपाएर बाटोमा बस्नु बाध्यता हो हाम्रो । कि त सरकारले निश्चित ठाउँ तोकिदिनुपर्यो कि त यसैगरि कमाएर खान दिनुपर्यो । फेरि सरकारले जागिर दिए त हामी पनि बाटो छेकेर बस्दैनथ्यौँ नि ।
प्रस्तुति : फातिमा बानु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण