सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

वार्ताद्वारा समस्याको हल गर्न राज्य र आन्दोलनरत पक्षलाई इन्सेकको आग्रह

शुक्रबार, ०८ माघ २०७२, १४ : १३
शुक्रबार, ०८ माघ २०७२
काठमाडौं – मावनअधिकारवादी संस्था इन्सेकले राज्य र आन्दोलनरत पक्षलाई यथाशीघ्र वार्ताद्वारा समस्याको हल गर्न आग्रह गरेको छ । प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा तीन जनाको ज्यान गएपछि शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै इन्सेकले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना कार्यक्रमहरु शान्तिपूर्ण तबरले सञ्चालन गर्न तथा भिन्न विचार तथा अभिव्यक्ति स्वतन्त्रताका अधिकारका बारेमा सचेत रहन मधेसी मोर्चालाई आग्रह गर्दछौँ । शान्ति सुरक्षा कायम गर्दा धनजनको क्षति हुन नदिन हरसम्भव उपाय अवलम्बन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ । राजनीतिक समस्याको समाधान हिंसात्मक तवरबाट होइन, शान्तिपूर्ण राजनीतिक संवादबाट खोजी गरिनुपर्छ ।’ आफ्ना अधिकारको उपभोग गर्दा अरुको पनि त्यस्तै अधिकार हुन्छन् भन्ने कुरातर्फ मधेसी मोर्चाले ख्याल नगरेको मात्रै होइन हिंस्रक आक्रमण गर्ने र अरुलाई निषेध गर्ने नीति लिएकोतर्फ हाम्रो ध्यानाकर्षण भएको इन्सेकले जनाएको छ ।

राजनीतिक संवाद चलिरहेको अवस्थामा हिंसा र दङ्गा मच्चाउने तत्वहरुबाट सावधान रही तार्किक, पारदर्शी र औचित्यपूर्ण तवरले निकास खोज्ने काममा धैर्यतापूर्वक संलग्न रहन इन्सेकले अपिल समेत गरेको छ । त्यस्तै रङ्गेली घटनाको न्यायिक छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितहरुलाई तत्काल राहतको प्रबन्ध गर्न संस्थाले जोडदार माग समेत गरेको छ। प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीच माघ ७ गते मोरङको रङ्गेलीमा भएको झडपमा प्रहरीले प्रहार गरेको गोली लागेर रंगेली नपा-३ की ६२ वर्षीया द्रौपती चौधरी, बरडंगा गाविस-२ का ४५ वर्षीय महादेव ऋषिदेव र डायनिया गाविस(९ का २५ वर्षीय सिरु माझीको मृत्यु भएको छ । रङ्गेली नगरपालिकामा युवा सङ्घ नेपालले आयोजना गरेको मधेश जागरण अभियानसम्बन्धी आमसभालाई मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्न खोज्ने क्रममा सो झडप भएको थियो । प्रहरीले चलाएको गोली लागेर रङ्गेली नपा(७ का ३५ वर्षीय जितेन्द्र मण्डल, सोही नपा(९ का ५० वर्षीय सत्यनारायण साह, सोही ठाउँका ३५ वर्षीय जगरनाथ साह, रङ्गेली नपा(४ का २६ वर्षीय सुवोध मण्डल, सोही नपा(७ का श्रवणकुमार मण्डल र सिजुवा गाविस( ८ का ४० वर्षीय प्रकाश ढकाललगायत घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप