डिआइजी बनेर अनुसन्धानमा जागिर लगाई दिने भन्दै लाखौं ठगी गर्नेहरु पक्राउ
काठमाडौं – राष्ट्रिय अनुन्धानमा उपरिक्षक र सहायक निरिक्षकको पदमा जागिर लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोट पुर्कोट वडा नं.५ घर भई हाल भक्तपुर ठिमी बस्ने सतल महतरा, कालिकोटकै नेत्र बहादुर शाही र गोरखा गुम्दा घर भई हाल नयाँ बसपार्क बस्ने विकाश गुरुङ्ग रहेका छन् । उनीहरुले गृह मन्त्रालय र प्रहरी हेडक्वाटर नक्शालको च.नं.२०८पत्र सं.१५३ बाट अनुसन्धानमा उपरिक्षक तथा सहायक निरीक्षक गरी ४० जनाको आवश्यक परेको सूचना देखाई जागिर लगाउने भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । महतराले गोरखा घर हुने वीर बहादुर गुरुङ्ग समेत ११ जनालाई सम्पर्कमा ल्याएका थिए । उनीहरुलाई सिंहदरवार स्थित राष्ट्रिय अनुसन्धानको अफिसको बाहिर गेटमा बसी सम्पुर्ण कागजात बुझाउन लगाई अनुसन्धान निरीक्षकको लागि ७ लाख र सहायक निरीक्षकको लागि ५ लाख लाग्ने र २० प्रतिशतमा प्रतिस्पर्धा गर्न नपर्ने सिधै नियुक्ती हुने भन्दै पैसा असुलेका थिए । उक्त छनौट प्रकृयामा नेत्र बहादुर शाहीले आफूलाई डिआइजी कमल सिंह बम बताउँदै ठगी गर्ने गरेका थिए । उनीहरुले ११ जनाबाट ३४ लाख ४० हजार लिएका थिए ।
यसमा विकाश गुरुङ्गले वेरोजगार युवा खोजी गरी सम्पर्कमा ल्याउने र सम्पुर्ण व्यावस्थापन छनौट प्रकृयाको कागजात संकलन महतराले गर्ने गर्थे । उनी रकम गंगा प्रसाद न्यौपानेको ग्लोवल आई एमई बैंकको खाता नं.०८०७०१०००८९३८मा जम्मा गर्न लगाउँथे ।
गैरकानूनी तवरले संगठितरुपले ठगी गर्दै गरेको सूचना प्रहरीको अपराध महाशाखामा प्राप्त भएपछि खटिएको विषेश प्रहरी टोलीले तीन जनालाई सतल महतराको कोठाबाट पक्राउ गरेको थियो । उनीहरुको कोठाको खानतलासी गर्दा हेडक्वाटरबाट प्रकाशित भएको सूचना, छनौट भएका ४६ जनाको नामवली रहेको कागजात समेत फेला परेको थियो । पक्राउ परेका तीनै जनालाई नै ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको प्रहरीले बताएको छ । उक्त घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने दखिएकोले सो विषयमा समेत अनुसन्धान जारी राखिएको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण