बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मोटो रकम ठगेर कन्सल्टेन्सी सञ्चालक फरार

मङ्गलबार, ११ फागुन २०७२, १३ : ३८
मङ्गलबार, ११ फागुन २०७२

उर्लाबारी–सिपिएन इडियु कन्सल्टेन्सीका सञ्चालक पिटर भनिने पंकज भट्टराईले मोटो रकम ठगेर फरार भएको रहस्य खुलेको छ । मोरङको उर्लाबारी–२ मा सो कन्सल्टेन्सी सञ्चालन गर्दै आएका पिटरले बैदेशिक रोजगारका लागिमा लैजाने भन्दै तीन जनालाई करिब ३ महिना दिल्लीमा बन्धक बनाई भागेपछि सो रहस्य खुलेको हो । पिटरले उर्लाबारी– ७ का राजेन्द्र लिम्बुबाट साढे ८ लाख र उर्लाबारी– ६ का रविन धिमाल तथा सुनसरी प्रकाशपुरका समराज राईबाट जनही साढे ६ लाख गरी कुल साढे २१ लाख रुपैयाँ लिएर फरार भएको पीडितहरुले बताएका छन् । लिम्बुलाई फ्रान्स र धिमाल तथा राईलाई जर्जियामा भिजिट भिषामार्फत रोजगारको ग्यारेण्टीका साथ पठाउने भन्दै रकम असुलेको उनीहरुको भनाई छ । पिटरले नेपालबाटै विदेश पठाउने भनेपनि प्राविधिक समस्या देखाउँदै भारतको दिल्ली पु¥याई बन्धक बनाएको पीडित राजेन्द्र लिम्बुले बताएका छन् । आफुहरुलाई दिल्लीमा पु¥याएर बन्धक बनाई पिटर भागेको पीडित लिम्बुको भनाई छ । करिब ३ महिना दिल्ली बसाईपछि ढोकामा बाहिरबाट चाबी लगाई पिटर भागेको र स्थानीयको सहयोगमा मुक्त भई आफ्नो साथमा रहेको केही पैसाले नेपाल आइपुगेको उनले बताएका छन् । पिटरले आफुहरुलाई अलपत्र पारेर भागेको भन्दै लिम्बुले कानुनी कार्वाही माग गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएको बताएका छन् । ऋणपान गरी बैदेशिक रोजगारका लागि जान भनेर खोजेको रकम ठगेर पिटर भागेपछि समस्यामा परेको पीडितहरुले बताएका छन् । सुनसरी घर भई उर्लाबारीमा कम्प्युटर सिकाउने भन्दै कन्सल्टेन्सी सञ्चालन गर्दै आएका पिटरले उनीहरुका आफन्तलाई स्थानीय पि.के. ट्राभल्समा रकम जम्मा गर्न लगाएका थिए । आफन्तले रकम जम्मा गरेको २ घण्टाभित्र पिटरका भाई प्रशान्त भट्टराईले साढे २१ लाख रुपैयाँ लगेको बुझिएको छ । भाई प्रशान्तलाई सो कन्सल्टेन्सी जिम्मा लगाई पिटर फरार रहेको खुल्न आएको छ । प्रशान्तलाई सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीले सोधपुछ गरेको छ । आफ्नै कन्सल्टेन्सीमा भाषा सिकाई विभिन्न मुलुकमा पठाउने भन्दै उनले मोटो रकम असुल्दै आएको बताइन्छ । जर्मनी दुई लाख रुपैयाँमा पठाउने भन्दै स्थानीय पत्रपत्रिकामा विज्ञापनसमेत उनले गरेका थिए । लामो समयदेखि पत्रपत्रिकामा छपाएको विज्ञापनको रकम पनि उनले बुझाएका छैनन् । सिपिएन इडियु कन्सल्टेन्सीको नाममा ठगी धन्दा चलाएका पिटरलाई पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न पीडितहरुले माग गरेका छन् । यस बिषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले उक्त ठगीका बिषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागबाट अनुमती लिनु पर्ने हुन्छ । विभागबाट वैदेशिक रोजगारीमा कामदार पठाउनको लागि स्वीकृती लिएका करिब हजारको हाराहारीमा म्यानपावरहरु रहेका छन् । विभागले अनुमती दिएका म्यानपावर कम्पनी बाहेक अन्यले त्यसरी कसैलाई पनि वैदेशिक रोजगारीमा पठाउन नपाउने व्यवस्था कानुनले तोकेको छ । तर सरकारले तोकेको व्यवस्थालाई लत्याउँदै कन्सल्टेन्सीले आकर्षक मागपत्र देखाई युवाहरुसँग रकम उठाइरहेका छन् । त्यसैगरी उर्लाबारीमा कम्प्युटर सिकाउने बहानामा खोलिएका विभिन्न कलेजहरुले प्राइभेट एसएलसी भन्दै बिद्यार्थीहरुलाई सतप्रतिशत पास गराउने सर्तमा मोटो रकम असुल्ने गरेको पाइएको छ । शिक्षा मन्त्रालयले प्राइभेट रूपमा अध्ययन गरेर एसएलसीमा सहभागी हुने परिपाटी अन्त्य गरेको भएपनि विभिन्न स्कुलहरुमा नाम दर्ता गरेर सञ्चालकहरुले प्राइभेट एसएलसीमा सहभागी गराउँदै आएका छन् । शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी प्राइभेट टेष्ट र एसएलसी हटाएर खुला विद्यालयबाट मात्र परीक्षामा सामेल हुन पाउने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप