शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नाकाबन्दी फिर्ता लिँदा ‘हेपाई’ मा परेको मोर्चाको निश्कर्ष : चैत ६ देखि अर्को आन्दोलन

बिहीबार, ०४ चैत २०७२, १५ : २१
बिहीबार, ०४ चैत २०७२

काठमाडौ – विभिन्न माग गर्दै ६ महिनासम्म आन्दोलन तथा तीन महिनाभन्दा बढी सीमा अवारोध गरेको मधेशी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेपछि पनि सरकारसँग कुनै सहमति हुन सकेको छैन । मधेशी मोर्चाका नेताहरुले वार्ता र छलफल होस् भनेरै आन्दोलनको स्वरुप परिवर्तन गरेको बताइरहँदा सरकारले त्यसको सदुपयोग गर्न नसकिरहेको उनीहरुले आरोप लगाएका छन् । नाकाबन्दी र आमहड्ताल जारी रहेको बेला ३५ भन्दा बढी पटक वार्ता गरेको सरकारले नाकाबन्दी फिर्ता भएपछि हालसम्म औपचारिक वार्ता गरेकै छैन । मोर्चाले गत माघ २५ गते नाकाबन्दी र आमहड्ताल फिर्ता लिएको थियो । अहिले एक महिनाभन्दा बढी भइसक्यो तर सरकार भने मधेशवादी दलसँग वार्ता गरेर समस्याको समाधान गर्ने भन्दा पनि विभिन्न बहानामा वार्ता प्रकृयालाई टार्दै आएको छ । आन्दोलन फिर्ता लिएपनि सरकारले वार्ता नगरेपछि मधेशी मोर्चाले ध्यानाकर्षण गराउनका लागि फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र नै बुझाएका थिए । ज्ञापनपत्र बुझाएकै दिन प्रधानमन्त्री ओलीले मधेशी नेताहरुसँग साँझ आफ्नो निवासमा छलफल गरेका थिए । छलफलमा निकै सकारात्मक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले घाइतेलाई निःशुल्क उपचार, आन्दोलनका क्रममा समातिएका तथा मुद्दा लगाइएको बारेमा अगामी मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने आश्वासन पनि दिएका थिए । तर त्यसपछि मन्त्रीपरिषद्का दुईटा बैठक बस्यो तर प्रधानमन्त्री ओलीले दिएको आश्वासनको कुनै चर्चा पनि भएन । बरु मधेशी मोर्चाले विरोध गर्दै आएको सीमांकन निर्माण सम्बन्धि आयोग गठन गरियो ।

वार्ता टार्दै सरकार मधेशी मोर्चाले विज्ञप्ति जारी गरेर नाकाबन्दी लगायत आमहड्तालहरु फिर्ता लिने बित्तिकै त्यसलाई प्रधानमन्त्री ओलीले स्वागत गर्दै वार्ता र सहमतिबाट मधेशको समस्या समाधान गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्री ओलीले भारत भ्रमणपछि मेधशी दलसँग गम्भिर छलफल हुने सन्देश मधेशी मोर्चा कहाँ पठाएका थिए । तर दिल्ली भ्रमणमा गएर १२ गते फर्केको आज २२ दिन भइसक्यो, मधेशी मोर्चासँग कुनै औपचारिक वार्ता हुन सकेको छैन । फेरि प्रधानमन्त्री चीन भ्रमणको तयारीमा रहेकोमा अब चैत १४ गतेसम्म कुनै सम्भावना पनि छैन । भारत भ्रमणबाट फर्केपछि सरकारसँग वार्ता हुन्छ भन्ने कुरामा मधेशवादी दल निकै आशावादी थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मधेशवादी दलसँग वार्ता र संवाद गरेर समस्या समाधान गर्न प्रम ओलीलाई सुझाव दिएका थिए । तर दिल्लीबाट फर्केर अब चीन जाने बेला भइसक्यो तर मधेशवादी दललाई सरकारले वास्ता गरेको छैन । कति पर्खने ? सरकारी स्रोत भन्छन्, चीन भ्रमणबाट नफर्केसम्म मधेशवादी दलसँग तत्कालै कुनै औपचारिक वार्ता हुँदैन । अब मधेशी मोर्चाका नेताहरु १४ गतेसम्मका लागि पर्खिनु नै पर्ने अवस्था छ । त्यसो त मधेशी मोर्चाका नेताहरु काँग्रेस र एमाओवादीका नेताहरुसँग आन्तरिक रुपमा भेटी वार्ताका लागि पहल नगरेको पनि होइन, तर उनीहरुबाट मधेशी मोर्चाका नेताहरु आश्वासन मात्रै पाए । त्यसो त मधेशी मोर्चाका नेताहरुले पनि एकातिर वार्ताका लागि पहल गर्ने र अर्कोतिर आन्दोलनको धम्की पनि दिँदै आएका कारणले पनि सरकार वास्ता नगरेको हुनुपर्ने भनि एकथरीको विश्लषण छ । नयाँ आन्दोलनको तयारी अब उनीहरुले देशैभरि आन्दोलन गर्ने तयारी भइरहेको बताउँदै आएका छन् । त्यसको शुरुवात चैत ६ गतेबाट गर्दैछन् । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानु एक दिनअघि मधेशी मोर्चाले काठमाडौमा प्रदर्शन गरेर देशव्यापी आन्दोलनको शुरुवात गर्ने भनिएको छ । वार्ता समिति तथा कार्यदलमा रहेर मधेशी मोर्चासँग पटक पटक वार्ता गरिसकेका नेपाली काँग्रेसका नेता महेश आचार्यले वार्ताको बारेमा आफूलाई केही थाहा नै नभएको प्रतिकृया दिए । यता मधेशी मोर्चाका एकघटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारको संवेदनशिलता हराएको भन्दै टिप्पणी गरे । नाकाबन्दी र आमहड्ताल हुँदा वार्ताका लागि घरघर पुग्थे । तर त्यो फिर्ता भएपछि उनीहरुले वास्ता गर्न छाडेका छन् । यसले झन अविश्वासको वतावरण सृजना भएको छ,’ उनले भने । उनले सरकारले वार्ता गर्न नचाहेको र मधेशवादी दललाई त्यतिकै अल्झाएर आन्दोलन समाप्त पार्न चाहेको आरोप लगाए । उनले भने, ‘सरकारले यदि यस्तो सोचेको हो भने गलत सोचेको छ । उनीहरुको यस्तै सोचले गर्दा देशमा द्वन्द्व हुन्छ र यसको दोषी स्वयं सरकार नै हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप