शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रंगमञ्च : पुरानो प्रेमकथाको ताजा सुवास

शनिबार, ०६ चैत २०७२, १२ : २९
शनिबार, ०६ चैत २०७२

न प्रेम पुरानो हुन्छ, न त यससँग जोडिएका अन्य आयाम । त्यसैले प्रेमसरोकार भएका कृति हरेक समय–रेखामा उत्तिकै जीवन्त लाग्छन् । त्यसैले त विलियम सेक्सपियरले चार शताब्दी अघि लेखेको सोह्रौं शताब्दीको अन्त्यमा लेखेको नाटक ‘अ मिडसमर नाइट्स् ड्रिम्स’ यो समयमा मञ्चन हुँदा पनि पुरानो लाग्दैन । नेपाली रंगमञ्चका ‘पायनियर’ सुनिल पोखरेलको निर्देशनमा ४ चैतदेखि मञ्चन भइरहेको नाटकको नेपाली ‘भर्सन’ ‘अ मिडसरम नाइट्स् सपना’मा दर्शकले प्रेमका ‘ताजा’ आयाम अनुभूत गर्छन् ।

महिलालाई आफ्नो नियन्त्रणमा राख्ने पुरुषसत्ताको सोच र त्यसलाई कार्यान्वायन गर्न चाहने बाबुसँग छोरीको संघर्ष नाटकको मूल विषय हो । स्वतन्त्रताको खोजीको त्यो संघर्षको तनावले नाटकलाई अघि बढाउँछ । नाटकमा जंगल त्यस्तो स्वतन्त्रताको गन्तव्यको रूपमा बिम्बित छ । त्यो स्वतन्त्रता यस्तो वर्षा हो, जसले मात्रै प्रेमको गुलाफ फक्राउन सक्छ । र त, नाटककी प्रेमिका पात्र हिरा बिम्बमा भन्छिन्, ‘मेरो गालाको गुलाफलाई वर्षाको खाँचो छ ।’

तर जंगलमा पुगेपछि थाहा लाग्छ– स्वतन्त्रताको कुनै पनि गन्तव्य बाधारहित भने छैन । भ्रमको साम्राज्य र कल्पनाको स्वर्गबीचको संघर्ष र रुपान्तरणपछि नै वास्तविक स्वतन्त्रताको संसार प्राप्त हुन्छ भन्ने कुरा नाटकले बिम्बमा बोल्छ । सँगै प्रेम र स्वतन्त्रता दुवै आलोकाँचो कर्म होइन, यसमा पर्याप्त परिपक्वपन चाहिन्छ भन्ने तथ्य पनि पुष्टि हुँदै जान्छ । त्यसो त नाटकभित्र पनि नाटक छ । परिकल्पना र यथार्थबीचको खाडल कति छ भन्ने कुरा यसले देखाउँछ । नाटकको कथा प्रेममय छ, रोमाञ्चक छ । प्रेमसँगै जोडिएको यौनबिम्ब यताउति छरिएकै छन् । अर्को त यो सुखान्त नाटक हो, नाटक हेरिसक्दा हृदयमा आनन्द सञ्चार हुन्छ । ‘कमेडी’ नाटक भएकाले भरनाटक प्रशस्तै हाँसिसकिएको हुन्छ । हास्यलाई नेपाली ‘फ्लेवर’ दिनमा निर्देशक सम्पूर्ण सफल छन् ।

नाटक अनुवादमा पाँचजनाको मिहिनेत छ । मनु मञ्जिल, सफल पोखरेल, बलराम अधिकारी, हरि पौडेल र प्रतीक्षा कट्टेलले सेक्सपियरको काव्यिक भाषालाई नेपाली हृदयमा सजिलै छुने गद्यमा रुपान्तरण गरेका छन् । त्यसमा कवि विप्लव प्रतीकको सम्पादनको पनि उत्तिकै भूमिमा छँदैछ । नाटकमा समावेश अन्तिम संवाद मौलिक छ, जसमा कुमार नगरकोटीको ‘क्रियटिभ खप्पर’को सही सदुपयोग भएको छ । नाटकको प्रभावलाई ताजा नेपालीपन दिन निर्देशकले गरेको मिहिनेत प्रशंसनीय छ । उनले नाटकलाई नेपालीमा प्रस्तुतमात्रै गरेका छैनन्, परिवर्तित सामाजिक, राजनीतिक मनोविज्ञान पनि पक्रेका छन् । नाटकमा विभिन्न जातीय भेषभुषा र लवज प्रयोग गरिएको छ । यसले सामयिकतामा निर्देशकको सचेतता प्रष्ट देखिन्छ । पात्रहरूलाई सुहाउँदिला नेपाली नाम दिइएको छ । कतिपय नामले कथालाई यसरी ‘जस्टिफाइ’ गर्छन्, त्यसले फरक आनन्द र रोमाञ्च दिन्छ । स्थान र अवस्थाको नेपालीकरण पनि उत्तिकै प्रभावशाली छ ।

हास्यप्रधान नाटक भएका कारण सुनिल पोखरेलबाट गम्भीर काम खोज्नेहरू यसमा केही निराश हुन सक्छन् । तर उनको काम गर्ने शैलीको प्रभाव भने यसमा पनि कायम छ । नाटकमा नयाँ कलाकार छन्, जो सुनिलका विद्यार्थी हुन् । तर उनले जसरी ‘कास्ट’ गरेका छन्, त्यसले हरेक कलाकारलाई ‘एक्सप्लोर’ गरेको छ । विजय ताम्रकार, पुजन थापा, सगुन पोखरेल, सुनिशा बजगाईं, ऐश्वर्या देवकोटा, प्रिया पाण्डे, भावना थापा, सन्जु क्षेत्री, जेडी तमू, सुयशा अधिकारी, मोहन पौडेल, सन्दिप अधिकारी, देवेन्द्र सावद, दीपक चन्द, अनिल सुब्बा, कुमार थामी, संगीत सापकोटा, आभाष अधिकारी, सुरज चौंलागाईं, निशा जोशी, सफल पोखरेल र बालकृष्ण रिजालको अभिनय नाटकमा हेर्न सकिन्छ । हरेकले आफ्नो भूमिकामा न्याय गर्न मिहिनेत गरेका छन् ।

त्यसो त सुनिल पोखरेलले भनेकै कुरा हो कि यो नाटक उनको सपनामध्ये एक हो । जुन सपना उनले भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा अध्ययन गर्दाताका नै देखेका थिए । झण्डै दुई दशक पुग्न लाग्दा उनले सपना पूरा गरेका छन् । उनको सपनामा शिल्पी थिएटरले साथ दिएको छ, जहाँका निर्देशक छन् घिमिरे युवराज । जसलाई सुनिलले रंगमञ्चको सपना देखाएका थिए । नर्वेजियन नाटककार मोर्टन क्रोगलाई समर्पण गरिएको नाटक निर्देशन गर्न सरिता गिरी, विजया कार्की र प्रिया पाण्डेले सहयोग गरेका छन् ।

बाजा समूहको नाटकको लागि मौलिक संगीत दिएको छ । ‘रेशम फिलिली’को गीत ‘जालमा’को स्वतन्त्र भिडियो बनाएर चर्चामा आएका प्रदीप लामाको कोरियाग्राफीको प्रभाव नाटकमा देखिन्छ । प्रकाश चाँदवरकरले डिजाइन गरेको नाटकको पोस्टर पनि उत्तिकै प्रभावशाली छ । रंगकर्म र सिनेमा उत्तिकै सक्रिय भइरहेका अनुप बरालले सामान्य तर प्रभावशाली मञ्च परिकल्पना गरेर सुनिलको कामलाई ‘फिनिसिङ’ गर्न सघाएका छन् । ‘ज्ञ : डिस्कभर योरसेल्फ’ र शिल्पीको प्रस्तुति रहेको नाटक २० चैतसम्म मंगलबारबाहेक साँझ पाँच बजे मञ्चन हुन्छ ।

(फोटोपत्रकार बिजु महर्जनले खिचेको नाटकका तस्बिर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप