शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फकनर र स्मिथको उत्कृष्ट प्रदर्शन, पाकिस्तान पराजित

शुक्रबार, १२ चैत २०७२, १६ : ५३
शुक्रबार, १२ चैत २०७२

काठमाडौं – जेम्स फकनर र कप्तान स्टिभन स्मिथको उत्कृष्ट खेलको मद्दतले अस्ट्रेलियाले पाकिस्तानलाई २१ रनले पराजित गर्दै अर्को चरणमा पुग्ने आफ्नो आशा जिवितै राखेको छ । फकनरले कसिलो बलिङ गर्दै ५ विकेट लिए पछि १ सय ९४ रनको लक्ष्य पाएको पाकिस्तान १ सय ७२ मा सिमित बन्यो । पाकिस्तानका लागि खालिद लतिफले सर्वाधिक ४६ रन बनाए भने सोहेब मलिकले नटआउट रहँदै ४० रन बनाए पनि आफ्नो टोलीलाई जीत दिलाउन सकेनन् । त्यस्तै उमर अक्मलले ३२ रन बनाए । अस्ट्रेलियाका लागि एडम जाम्पाले २ विकेट लिए । यसअघि, अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले कप्तानी इनिङ खेल्दै ६१ रन बनाएपछि अस्ट्रेलियाले पाकिस्तान सामु १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाले ४ विकेटको क्षतिमा १ सय ९३ रनको स्कोर खडा गरेको थियो । विश्वकप टि–२० अन्तरगत ‘गर–या–मर’ को खेलमा स्मिथले यसअघि पाकिस्तानविरुद्धको आफ्नो खराब फर्मलाई तोड्दै ४३ बलमा ६१ रन बनाए । यसक्रममा उनले ७ चौका हिर्काए । यसअघि पाकिस्तानविरुद्धका पाँच खेलमा उनले ५ रनको औसतले मात्र रन बनाएका थिए । उनलाई सेन वाटसनले राम्रो साथ दिए । यस प्रतियोगितापछि सन्यासको घोषणा गरेका वाटसनले मात्र २१ बलमा ४४ रन बनाए । मोहलाीमा भएको खेलमा अस्ट्रेलियाले टस जितेर पहिलो ब्याटिङको निर्णय गर्यो । उस्मान ख्वाजा र एरोन फिन्चले अस्ट्रेलियालाई राम्रो शुरुवात दिलाए पनि अस्ट्रेलियाले लगातार तीन विकेट गुमाउँदै आठौं ओभरमा ५७ रनको स्थितिमा पुग्यो । त्यसपछि आएका स्मिथ र ग्लेन म्याक्सवेलले अस्ट्रेलियाको इनिङलाई सम्हाले । म्याक्सवेलले १८ बलमा ३० रन बनाए । पाकिस्तानका लागि वहाब रिहाज र इमाद वसिमले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप