शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै

शुक्रबार, ०१ साउन २०८३, २२ : ५०
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • अमेरिका र इरानबीच शुक्रबार पनि ड्रोन र मिसाइल आक्रमण जारी रह्यो।
  • इरानले खाडी क्षेत्रमा अमेरिकी सम्पत्तिमाथि लक्षित आक्रमणको घोषणा गरेको छ।
  • यो दुई देशबीचको युद्धविराम भङ्गपछि सबैभन्दा ठूलो तनाव हो।

काठमाडौँ । अमेरिका र इरानबिच शुक्रबार पनि ड्रोन तथा मिसाइल आक्रमण जारी छ ।

तेहरानले खाडी क्षेत्रभरि अमेरिकी सम्पत्तिहरूलाई लक्षित गरेको घोषणा गरेको छ । यो दुई देशबिचको युद्धविराम भङ्ग भई युद्धमा फर्किएपछि भएको सबैभन्दा ठुलो तनाव हो ।

दुई पक्षबिच द्वन्द्व अन्त्य गर्न समझदारी भएको एक महिनापछि अमेरिकी सेनाले इरानी विमानस्थल, रेलवे स्टेसन र दुई वटा पुलसहित नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप इरानले लगाएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणबाट क्ष्रानतर्फ कम्तीमा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।

यो घटनाले इरानी पूर्वाधारमा केन्द्रित अमेरिकी आक्रमणको विस्तारको सङ्केत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणबारे पहिले नै चेतावनी दिइसक्नुभएको थियो । पछिल्लो आक्रमणबारे अमेरिकी अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यो युद्ध फेब्रुअरी २८ मा अमेरिका–इजरायलको व्यापक संयुक्त आक्रमणबाट सुरु भएको थियो। इरानले जवाफमा हर्मुज जलडमरूमध्यलाई प्रभावकारी रूपमा बन्द गरेको थियो र इजरायल तथा खाडी क्षेत्रमा अमेरिकी हितमा आक्रमण गरेको थियो ।

तनाव बढ्दै जाँदा ‘इरानी रिभोलुसनरी गाड्र्सको एयरोस्पेस फोर्स’का कमान्डर माजिद मुसावीले भने, “जबसम्म अमेरिकाले दक्षिणी तटीय सुविधा र जलडमरूमध्य वरपरको आफ्नो अभियान रोक्दैन इरानबाट शत्रुमाथि प्रभावकारी र लक्षित आक्रमणहरू जारी रहनेछन् ।”

इरानको ऊर्जा मन्त्रालयले ऊर्जा सुविधामा अमेरिकी आक्रमणका कारण विद्युत् ग्रिड प्रभावित भएको बताउँदै केही क्षेत्रमा तापक्रम अत्यधिक बढिरहेको बेला पनि नागरिकहरूलाई विद्युत् खपत घटाउन र अत्यधिक विद्युत्को खपत हुने समयमा एयर कन्डिसनर बन्द राख्न आह्वान गरेको छ ।

इरानी सेनाले आफ्नो देशमा कुनै आक्रमण भएमा खाडी क्षेत्रभरिका अमेरिकी पूर्वाधारहरूलाई लक्षित गर्ने चेतावनी दिएको थियो र शुक्रबार ठुलो स्तरको आक्रमण गरेको छ । यो आक्रमण गत महिना अमेरिकासँग युद्ध रोक्ने समझदारी भएयता दुवैतर्फबाट भएको सबैभन्दा भीषण हवाई आक्रमण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप