शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बधाई छ मोदी, नेपाललाई चीनको अंगालोमा धकेलेकोमा : भारतीय नेता ऐयर

मङ्गलबार, १६ चैत २०७२, ११ : ५०
मङ्गलबार, १६ चैत २०७२

काठमाडौं – भारतीय कांग्रेसका नेता मणिशंकर ऐयरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यंग्य गर्दै नेपाललाई चीनको अंगालोमा धकेलेकोमा बधाइ दिएका छन् । मंगलबार एक लेख लेख्दै ऐयरले मोदी र विदेशमन्त्री सुस्मा स्वराजमाथि कडा टिप्पणी गरेका हुन् । भारतीय रवैयाका कारण नेपाल चीनतर्फ ढल्किएको विश्लेषण गर्दै उनले यसबाट भारतलाई ठूलो नोक्सानी हुने बताएका छन् । ‘नरेन्द्र मोदी र सुस्मा स्वराज, जो आफूबाहेक अरुलाई ‘अराष्ट्रिय’ भन्न रुचाउँछन्, भारतको उत्तरी सीमामा रहेको सुरक्षाको बाँध भत्काउन सफल भएका छन् । त्यो बाँध सैन्यरुपमा रणनीतिक थियो,’ उनले लेखेका छन् । ऐयरले स्वतन्त्रतापछि भारतले आफ्नो उत्तरी छिमेकीको रुपमा रहेको नेपालसँग तल–माथि हुँदै भए पनि राम्रो सम्बन्धको सन्तुलन राख्न सफल भएको तर, नेपालको सार्वभौमिकताविरुद्ध मोदी–स्वराजले छाडा शक्ति प्रदर्शन गरेका कारण सो सन्तुलन स्थायीरुपमा विक्षिप्त पारेको टिप्पणी गरेका छन् ।

‘हामीले आफ्नो पूर्व सर्तहरु लागु नभएसम्म अनुचित साम्राज्यवादी तरिकाले संविधानसभाको मतदान रोक्ने प्रयास गर्यौं भने चुनावमा हारेका तराईका तत्वहरुसँग मिलेर नेपालमा नाकाबन्दी लगायौं जसले नेपाली जनता जाडोमा अत्यावश्यक वस्तुको अभावमा बाँच्नु पर्यो,’ ऐयरको तर्क छ, ‘यसले नेपाली जनता, विशेष गरेर पहाडका, मा भारतविरोधी भवना पैदा गरिदियो ।’ ‘नेपालले संविधान जारी गरेर खुसियाली मनाएकोमा साथ दिएर असन्तुष्टहरुको माग पनि सम्बोधन गराउने बाचा दिनुको साटो नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेर के मोदी–स्वराजले यही चाहेका थिए ?,’ उनले प्रश्न गरेका छन्, ‘के उनीहरु हिमालय हुँदै तराईसम्म चिनियाँ राजनीतिक र आर्थिक प्रवेश चाहन्थे ? के उनीहरु तिब्बत हुँदै काठमाडौं मात्र होइन भारतको सीमा नजिकै रहेको लुम्बिनीसम्म आउने राजमार्ग र रेलमार्गको स्वागत गर्न चाहन्छन् ? के उनीहरु नेपाले हल्दियाको निर्भरता घटाउँदै चीनको तियान्जिन बन्दरगाहमा निर्भर भएको हेर्न चाहन्छन् ? के उनीहरु नेपाल चीनको वान बेल्ट–वान रोड प्लानको हिस्सा भएको हेर्न चाहन्छन् ? के चिनियाँ राष्ट्रपति सि जिनपिङले दाबी गरेजस्तै उनीहरु नेपाललाई साँच्चै चीन र भारतबीचको ‘आर्थिक पुल’ को रुपमा हेर्छन् ?’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनमा भारत भ्रमण गरेर सम्बन्ध सुधार गर्ने अवसर दिँदा पनि त्यसको सदुपयोग गर्न नसकेको बताएका छन् । ऐयरले भारतले नेपालको एउटा पूरै पिढीको सद्भाव गुमाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप