शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ

शुक्रबार, ०१ साउन २०८३, २२ : २१
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • नेकपा नेता नारायणकाजी श्रेष्ठले प्रदेश सरकार हेरफेरको घटनालाई अवाञ्छनीय र दुःखद भनेका छन् ।
  • उनले नेपाली कांग्रेस र नेकपा (एमाले) को निर्णयले यो स्थिति निम्त्याएको र निर्वाचन नजिकिँदै गर्दा सरकार परिवर्तन उचित नहुने बताएका छन् ।
  • श्रेष्ठले नेकपा प्रदेश सरकार हेरफेरमा सहभागी नहुने तर विशेष परिस्थितिमा मात्रै सहकार्य गर्न सकिने नीतिगत निर्णयबारे जानकारी दिएका छन् ।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अहिले प्रदेश सरकार फेरबदलको परिघटना  अवाञ्छनीय र दुःखद भएको बताएका छन् । नेता श्रेष्ठले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेपाली कांग्रेस र नेकपा (एमाले( को निर्णयका कारण यो स्थिति उत्पन्न भएको बताएका हुन् ।

उनले भनेका छन् : ‘यतिबेला विभिन्न  प्रदेश सरकारहरूको फेरबदलको कुरा सतहमा आएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)को निर्णयका कारण यो स्थिति उत्पन्न भएको छ । राजनीतिक घटनाक्रम नियमित रुपमा अघि बढ्दा करिब एक वर्ष पछि प्रदेशसभाको निर्वाचन हुने  स्थितिमा अहिले सरकारको फेरबदलको परिघटना  अवाञ्छनीय र दुःखद हो ।’

उनले आफ्नो पार्टी नेकपाले यस सम्बन्धमा नीतिगत निर्णय नै गरिसकेको बताउँदै लेखेका छन्-
यतिबेला विभिन्न प्रदेश सरकारहरूको फेरबदलको कुरा सतहमा आएका छन् । नेपाली काँग्रेस र नेकपा ( एमाले) को निर्णयका कारण यो स्थिति उत्पन्न भएको छ । राजनीतिक घटनाक्रम नियमित रुपमा अघि बढ्दा करिब एक वर्ष पछि प्रदेशसभाको निर्वाचन हुने स्थितिमा अहिले सरकारको फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद हो ।

हाम्रो पार्टीले यस सम्बन्धमा निम्न नीतिगत निर्णय पहिले नै गरिसकेको छ । एक ,हाम्रो पार्टी प्रदेश सरकारहरूको फेरबदल र सरकारमा सहभागिताको निम्ति अग्रसर हुनेछैन ।नेका र एमालेले नै बाँकी समय सरकार सञ्चालन गरोस् । सरकार फाल्ने र बनाउने खेलमा हाम्रो पार्टी लाग्नेछैन । दुई ,नेका र एमालेले आपसमा मिलेर यथास्थितिमा सरकार सञ्चालन गर्न नसक्ने भई हाम्रो पार्टीलाई पनि सरकारमा सहभागी हुन संयुक्त अनुरोध गरेमा अर्को निर्वाचनसम्म लागि मिलेर सरकार सञ्चालन गर्न समझदारी बनाउन सकिनेछ। तर यसलाई अपवादको रुपमा स्वीकार गरिनेछ । किनकी यस्तो सरकार निर्माण आमरुपमा सही कुरा होइन । तीन ,नेका र एमाले आपसमा एउटै सरकारमा बस्नै नसक्ने स्थितिमा पुगेका हुन् भने अहिले नै प्रदेशसभा विघटन र तत्काल अर्को चुनावको दिशामा घटनाक्रम जान नदिन कुनै एउटा पक्षसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई स्वीकार गरेर अघि बढ्न सकिनेछ । चार , त्यस अवस्थामा राष्ट्रिय स्वाधीनता ,संविधान एवं लोकतन्त्रको रक्षा र समग्र नेपाली कम्युनिष्ट आन्दोलनको हितमा कम्युनिष्ट तथा बामपन्थी शक्तिहरुको सहकार्यलाई प्राथमिकता दिईनेछ ।बामपन्थी शक्तिहरुको विरुद्ध अरु कसैसँग सहकार्य वा मोर्चा निर्माण गरिनेछैन । यो हाम्रो पार्टीको केही अघि बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको निर्णय हो ।

तसर्थ हामी कसैले कहिँ कतै राष्ट्रिय स्वाधीनताको विरुद्ध बाह्य योजना एवं राष्ट्रिय आत्मसमर्पणवादको पक्षमा ,सविधान र लोकतन्त्रको विरुद्ध प्रतिगामी प्रतिक्रियावादको पक्षमा र समग्र नेपाली कम्युनिष्ट आन्दोलनको विरुद्ध कम्युनिष्ट विरोधी रणनीतिक योजनाको पक्षमा बल पुग्न जाने कुनै काम नगरौं । हामी यतिबेला राष्ट्रिय स्वाधीनता ,संविधान एवं लोकतन्त्र र नेपाली कम्युनिष्ट आन्दोलन गंभीर संकटबाट गुज्रिरहेको अवस्थामा छौं ।यस्तो अवस्थामा हामीले इतिहासले सुम्पेको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै हर कदम सचेततापूर्वक चाल्नु आवश्यक छ । पहिलेका गल्तीबाट शिक्षा लिऔं ,उनै गल्तीको पुनरावृत्ति हुन नदिऔं । बाह्य शक्तिकेन्द्रको योजना सफल हुने ,राष्ट्रिय स्वाधीनतामाथि कुठाराघात हुने र नेपाली कम्युनिष्ट तथा बामपन्थी आन्दोलनलाई अझ कमजोर पार्दै विघटन वा विसर्जनको दिशामा धकेल्ने कार्य हुन नपाओस् ।सबैले समयमै होस पूर्याऔं।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप