शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस नआउँदा भावी प्रधानन्यायाधीशको नाम सिफारिस भएन

मङ्गलबार, १६ चैत २०७२, २० : २६
मङ्गलबार, १६ चैत २०७२

काठमाडौँ - भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न आज बसेको संवैधानिक परिषद् बैठक प्रमुख प्रतिपक्षी दलको सहभागिता नभएकाले स्थगित भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठकका बारेमा जानकारी दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले भावी प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने भनिएता पनि प्रमुख प्रतिपक्ष दलको संसदीय दलका नेता चयन हुन बाँकी भएकाले स्थगित भएको जानकारी दिए ।

उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आगामी यही वैशाख १ गतेबाट अवकाश हुँदैछन्। श्रेष्ठपछि प्रधानन्यायाधीश कार्की हुँदै छिन् । नेपालको संविधानअनुसार संवैधानिक परिषद्को निर्णयबाट प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको चयन भइनसकेकाले बैठकमा आउन नसकेको पत्र परिषद्मा आएको थियो ।

मन्त्री खरेलअनुसार परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको संसदीय दलका नेतालाई आह्वान गरिएको थियो । तर संसदीय दलका नेताको निर्वाचन हुन बाँकी भएकाले बैठकमा आउन नसक्ने पत्र परिषद्लाई प्राप्त भएको थियो ।

काँग्रेसको यही चैत २४ गते संसदीय दलको नेताको निर्वाचन हुने मिति तय भएको छ । संसदीय दलको नेता पनि तय भइसकेपछि आगामी २६ गते बस्ने गरी आजेको बैठक स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री खरेल उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप