जीवन संघर्ष : दौडिन नसकेर के भो ?
घिस्रिएरै बित्यो बाल्यकाल मेरो अवस्था देखेर अधिकांश मानिसले एकैखालको अनुमान लगाउँछन् । सायद म जन्मजातै अपांग भएर जन्मेकी हुँला । तर, उनीहरू गलत अनुमान लगाउँछन् । आमाले सधँै भनिरहनुहुन्थ्यो, ‘जन्मदा तेरा दुवै खुट्टा सग्ला थिए, तैँले खुट्टा टेकेर नहिँडुन्जेल तेरा खुट्टा बाङ्गा होलान् भनेर हामीले कहिल्यै सोचेका थिएनौँ ।’ मलाई त होश छैन तर आमाले भन्नुहुन्छ, ‘बामे सर्ने उमेर काटेर डेढ वर्षकी हुँदा मैले आफ्ना दुवै खुट्टाले पहिलोपटक उभिन खोजेँ । त्यही दिन म लड्बडाएर ढलेँ । त्यसपछि लामो समयसम्म म घिस्रिएरमात्रै हिँडेँ ।’ हामी दिदीबहिनी, दाजुभाइ गरी नौजना छोराछोरी । नौजनामध्ये मेरोमात्रै अवस्था यस्तो हो । गाउँघर, मेलापात गरी साँझ बिहानको छाक जोहो गर्ने चटारोले गर्दा आमाबुवाले हामी कोही पनि सन्तानलाई पोलियो थोपा खुवाउन भ्याएनछन् । अरू दाजुभाइ, दिदीबहिनीलाई केही भएन तर मलाई पोलियो रोगले समातेछ ।
मलाई याद भएसम्मचाहिँ एकपटक म नराम्ररी थला परेकी थिएँ । ज्वरोले गलेर महिनौँसम्म म ओछ्यानबाट उठ्न पनि सकिनँ । मोरङ जिल्लाको सुन्दरपुर गाउँमा हो– मेरो घर । त्यतिखेर हाम्रो गाउँमा मानिस बिरामी पर्दा तत्कालै उपचार गरिहाल्दैनथे । एक त अस्पताल टाढा त्यसमाथि आर्थिक अवस्था कमजोर । महिनौँ थला परिरहँदा पनि मेरो उपचार गाउँकै धामीझाँक्रीकै भरमा चलिरह्यो । आफ्ना गाउँदेखि नजिकका अरू गाउँका नाम चलेका एक–एक झाँक्रीले मेरो उपचार गरे तर मेरो व्यथा २० को १९ पनि हुन सकेन । मैले खुट्टै टेक्न सकिनँ । गाउँमा अनेक गर्दा पनि मेरो उपचार हुन नसकेपछि ऋण गरेर बुवाले मलाई धरानको बीपी मेमोरियल अस्पताल लगे । त्यहाँ चाइनिज विधिबाट मेरो अकुपंचर उपचार गरियो । सम्झना थोरैमात्रै छ । त्यतिबेला मोटरको राम्रो सुविधा पनि थिएन । घरबाट घन्टौँ हिँडेर बुवाले मलाई बोकेरै दैनिक बीपी अस्पताल धाउँथे । अरू सानातिना मेडिकलका डाक्टर भने अब तेरी छोरी जीवनभरि अपांग हुन्छे भनेर भनिदिन्थे तर बुवाले आशा नमारी मेरो उपचार गरिरहे । बिस्तारै मेरा लुला गोडा अलि दह्रा हुँदै गए । चार हातखुट्टा टेकेर घिस्रिनुपर्ने अवस्था थोरै सुध्रियो । बल्लबल्ल उभिएर खोच्याउँदै हिँडन सक्नेसम्म भएँ । स्कुलबाट घर पुग्दा रगताम्यै स्कुल जाने उमेरकी भएँ । करिब एक घन्टा हिँडेर स्कुल पुग्नुपर्थ्यो । घरका दाजुभाइ, दिदीबहिनी र गाउँका साथीहरू स्कुल गएको देखेर म पनि स्कुल जान हुरुक्कै हुन्थेँ । मेरा लागि एक घन्टाको बाटो हिँडर स्कुल जानु सम्भव थिएन । धेरै समयसम्म त मैले स्कुल जान सक्छु भनेर सोच्न पनि सकिनँ । दिनहुँ त्यही पिरलोले मलाई भित्रभित्रै खाइरहन्थ्यो । त्यही पीर बोकेर बस्नुभन्दा मैले गोडा खोच्याएरै भए पनि स्कुल जाने निर्णय गरेँ । मेरो निर्णयमा आमाबुवाले पनि सहमति जनाए ।
रहरले त होइन नि तर पनि कसैको केही नबिगार्ने ममाथि घृणाको नजरले हेर्ने ती मानिस सम्झँदा अहिले पनि कटक्क मन पोल्छ । अझ तिनै मानिस अपांग छोरीलाई बिजोगले स्कुल पठाएर के जात्रा गरेको ? यसले पढेर के गर्छे ? भन्दै घरमा आमाबुवाको कान भरिदिन्थे । तर, आमाबुवाले मेरो साथ कहिल्लै छाड्नुभएन ।
मेरो दिमाग तेजिलो छ, म पढ्न सक्छु भन्ने उहाँहरूलाई विश्वास थियो । मेरो पढ्ने रहर पूरा गर्न बुवाले मलाई दिनहुँ बोकेरै स्कुल पुर्याइदिन्थे । सबै साथी साइकलमा स्कुल जान्थे । आफू पनि साइकल चलाउन पाए हुन्थ्यो भनेर मेरा खुट्टा सल्बलाइरहन्थे । मलाई कसैले पनि साइकल सिक्न हौसला दिँदैनथे । म भनेको अरूकै आडमा मात्र हिँड्न सक्ने हुँ भन्ने सबैको बुझाइ थियो । मैले पनि त्यसैलाई सत्य ठानेर कहिल्यै साइकल छोइनँ । एक वर्षसम्म बुवाले बोकेरै स्कुल लगिदिए । घरका बाँकी काम थाती राखेर भए पनि बुवाले मलाई स्कुल लगिदिन्थे । मेरा कारण बुवाले दुःख पाएको देखेर मलाई अर्को पीर पर्यो । मैले आफैँँ हिँडेर स्कुल जाने सोँचे, कति दुःख पाइन्छ होला भनेर मैले सोचिनँ । मानिसको स्वभाव पनि कस्तो होला, आफूसँग जे छैन, जे गर्न सकिँदैन, त्यही नै जीवनको सबैभन्दा प्यारो चीजजस्तो लाग्ने । साथीहरू खेल्दै, उफ्रँदै, चल्दै स्कुल गएको देखेर मलाई पनि त्यस्तै रहर लागेर आउँथ्यो । जसरी हुन्छ– मलाई आफैँ हिँडेर स्कुल जानु थियो । शरीर आधा ढल्काएर घुँडामा हात राख्दै भए पनि मैले पाइला चाल्न थालेँ । कसैले बिस्तारै घचेटेमात्रै म भक्लक्कै ढलिहाल्थेँ । भन्नलाई मात्रै साथीहरूसँग स्कुल जान्थेँ तर उनीहरूका दस पाइला बराबर मेरा एक पाइला हुन्थे । कहाँ उनीहरूको बराबरी गर्न सक्थेँ र म । मैले हार मानिनँ । अनेक सकस खपेर म हिँड्दै स्कुल जान थालेँ । हिँड्न सके हिँड्थे, कतिपटक लड्थेँ भनेर साध्य छैन । नसके फेरि घुँडा खुम्च्याएर घिसिँ्रदै स्कुल पुग्थेँ । हुन त एउटै स्कुलमा पढ्ने आफ्नै दाजुदिदी पनि थिए तर आफूसँगै लैजाने मेसो पाउँदैनथे उनीहरू । स्कुल जाँदा–फर्कंदा सयौँपटक म ढल्मलाउँथे तर पढाइप्रतिको मेरो उत्साह, जाँगर र लगाव कहिल्यै ढल्मलाएन । कक्षामा पनि राम्रै पढ्ने विद्यार्थीमा पर्थें । २०४६ सालमा बहुदल ल्याउन गाउँमा आन्दोलन हुन्थ्यो । बहुदल पक्ष र विपक्षबीचको झडप हुन्थ्यो । प्रहरीले तिनलाई स्कुलमै आएर कुट्थे । म कुनै पक्षको वकालत त गर्दिनथेँ तर तिनीहरूको झडप हुँदा भाग्न नसकेर म सधँै घाइते हुन्थँे । चैत, वैशाखको हुरीमा तराईको वातावरण निकै डरलाग्दो हुन्थ्यो । खुला ठाउँमा उडेर आएका घरका जस्तापाताले लागेर कति घाइते हुन्थे, कति मर्थे पनि । हुरी आउँदा भागाभाग हुन्थ्यो तर म भाग्न पनि सक्दिनथेँ । स्कुलबाट घर फर्कंदा रोडाको खस्रो बाटोमा घिस्रिएका मेरा घुँडा रगताम्यै हुन्थे । साथीहरू दिउँसै घर पुगिसकेका हुन्थे । म घर पुग्दा झमक्कै साँझ परिसकेको हुन्थ्यो । थकानले शरीर फतक्कै गलेको हुन्थ्यो । घिस्रिएर स्कुल गएको देखेर गाउँले पनि गिज्याउँथे मलाई । यस्ता अपांगले पढेर पनि के गर्ने होला र शरीरलाई थप कष्ट दिएर स्कुल जान लागेको होला भन्थे । कतिले त अशक्त देखेर ढुंगाले हान्थे । केटाकेटीहरू पनि मेरो नक्कल गरेर हिँड्दै मलाई जिस्काउँथे । कतिसँग बाझेर साध्य । म सबै चुपचाप सहन बाध्य हुन्थेँ । कसैले पनि पढ्नका लागि गरेको मेरो संघर्षलाई बुझेर हौसला दिँदैथे । उल्टो मेरो आत्मसम्मान र हिम्मतमाथि ठेस लाग्ने वचनले मलाई घोचिरहन्थेँ । म अशक्त थिएँ । रहरले त होइन नि तर पनि कसैको केही नबिगार्ने ममाथि घृणाको नजरले हेर्ने ती मानिस सम्झँदा अहिले पनि कटक्क मन पोल्छ । अझ तिनै मानिस अपांग छोरीलाई बिजोगले स्कुल पठाएर के जात्रा गरेको ? यसले पढेर के गर्छे ? भन्दै घरमा आमाबुवाको कान भरिदिन्थे । तर, आमाबुवाले मेरो साथ कहिल्लै छाड्नुभएन । दौडिन नसकेर के भो ? कक्षामा पढ्न जान्नेहरू अगाडि–अगाडि बेन्चमा बस्थे । नजान्ने पछाडि । म पनि के कम छु र जस्तो लाग्थ्यो । अगाडि बेन्चमा बस्न खुबै रहर लाग्थ्यो तर मलाई राख्दैनथे । टिफिन समयमा सबै साथीहरू हुरुरुरुरुरु... बाहिर खेल्न जान्थेँ । म दौडन सक्दिनथेँ । एक्लै कक्षाभित्रै खुम्चिएर बस्नुपर्दा नरमाइलो लाग्थ्यो । मलाई कसैले खेलमा समावेश पनि गराउँदैनथे । हेरेरैमात्र बस्थेँ । यदि मेरा खुट्टा दह्रा भएका तिनीहरूभन्दा राम्ररी खेल्न सक्थेँ भन्ने विश्वास चाहिँ ममा थियो । किनभने खेलमा कसले कत्तिको प्रभावकारी खेलिरहेको छ मैले टाढैबाट मूल्यांकन गरिरहेको हुन्थेँ । तिनै साथीहरू स्कुल बिदाको दिन फिल्म हेर्न जान्थे, कहिले मेलामा अनि कहिले पिकनिक जान्थे । मलाई पनि कति घुम्न मन लाग्थ्यो, बाहिरी संसार कस्तो छ हेर्न बुझ्न रहर हुन्थ्यो । तर, कसैले मलाई एकपटक जाउँ पनि कहिल्यै भनेनन् । म हुर्कंदै गएँ । मलाई उदाहरणीय काम गरेर देखाउनैपर्छ भन्ने बोध हुँदै गयो । जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास थियो मलाई । म त मात्र सही समयको खोजमा थिएँ । बिस्तारै मैले स्कुलमै आयोजना हुने हाजिरीजवाफ प्रतियोगिता, निबन्ध लेखनमा भाग लिन थालेँ । कतिपटक फेल हुन्थेँ तर मैले हरेस भने खाइनँ । म गीत गाउँथेँ । कमसेकम राम्रो गीत गाउने केटी भनेर मैले स्कुलभरि आफूलाई चिनाएँ । पछि स्कुलमा हुने बौद्धिक प्रतियोगिता मैले मात्रै जित्न थालेँ । पुरस्कार पाउन थालेँ । त्यसपछि सबैले मलाई इज्जत गर्न थाले । मेरो सहयोग लिन थाले । त्यसदिन मैले आफूलाई सफल हुन सक्छु भन्ने हिम्मत जितेको अनुभूति भयो ।
दसैँ–तिहार सामाजिक कार्य, बिहे, भोजभतेर या मानिस जम्मा हुने कार्यक्रम मलाई मन पर्दैनथ्यो । त्यस्ता ठाउँ पुग्दा त्यहाँको शोभा नै बिग्रिएजस्तो व्यवहार गर्थे मानिस । यस्तो रमाइलो माहोलमा अपांग किन आएकी होली नआए पनि हुन्थ्यो नि भन्थे । मानिसको त्यस्तो व्यवहार देख्दा म झन् जिद्दी हुन्थँे । नआइजो भन्नेहरूकहाँ त म झन् जान्थेँ । उनीहरूले हेलाँ स्वीकार्नुलाई आफ्नो हार ठान्थेँ । हार्ने मेरो बानी थिएन । त्यसैले म त्यस्ता ठाउँ मन नपरे पनि गइरहन्थे । आफन्तको घर र बिहेको जन्तीचाहिँ म कहिल्यै जान सकिनँ । धेरै टाढा हुने हुँदा म सक्तिनथेँ । एसएलसीमा फेल भएँ २०५० सालमा मैले एसएलसी परीक्षा दिएँ । तर, म फेल भएँ । विज्ञान र गणित विषय लाग्यो । त्यतिखेर कमै विद्यार्थी पास भएका थिए । म अलि निराश भएँ । त्यसदिन खुट्टा सँगसँगै मेरो दिमाग पनि कमजोर रहेछ कि जस्तो लाग्यो । परिवारले सम्झाएर हौसला दिएपछि कम्पार्ट दिएर भए पनि मैले एसएलसी परीक्षा पास गरेँ । कलेज पढ्न सकिनँ एसएलसी दिएपछि गाउँका सबै साथी कलेज पढ्न जाने भए । हाम्रो गाउँमा कलेज थिएन । पढ्नलाई कोही काठमाडौँ गए, कोही धरान । कोही गाउँबाट दुई÷तीन घन्टा टाढा गाडी चढेर जान्थे । हुनेखानेहरू विदेश जान थाले । अनि अरू खोई कता–कता पो भन्थे । मेरो पनि कलेज पढ्ने रहर थियो । तर, म न गाडी चढेर जान सक्थेँ न मेरा कतै एक्लै डेरा लिएर पढ्ने मेरो अवस्था थियो । मेरो पढाइ अघि बढ्न सकेन । म निराश निराश हुन्थेँ । मेरो नैराश्यता देखेर आमाबुवा पनि दुःखी हुन्थे । जहिले पनि कसो गरौँ कि कलेज जान पाऊँझैँ हुन्थ्यो । पढाइविना मैले केही गरेर देखाउन सक्तिनथेँ । करिब पाँच महिना म घरमै बसेँ । जीवन अन्धकार हुनेभयो भनी मैले हार मानिसकेको थिएँ । झापाको उर्लाबारीमा दिदीको घर थियो । त्यहीँ राखेर मलाई पढाइदिन घरमा झगडा गरेँ । केही सीप नलागेपछि मलाई त्यहीँ पुर्याइदिए । दिदीको घरबाट आधा घन्टा दूरीमा कलेज थियो । म केही दिन कलेज गएँ । कलेज पुग्न मुस्किल थियो । दिदीलाई दुःख थियो । दिनदिनै रिक्सा चढेर कलेज जान सक्ने हाम्रो आर्थिक अवस्था थिएन । मेरो कलेज आउने जानेक्रमै रोकियो । घरै बसेर स्वअध्ययन गरी परीक्षा दिने निर्णय गरेँ ।
दुःख जहाँ पनि छ, योसँग जुध्न मैले आफूलाई बनाउनैपर्छ भन्ने मलाई थाहा थियो । कि त गर्छु कि त मर्छु भनेर पढिरहेको कलेज र नजिकिँदै गरेको १२ को परीक्षा छाडेर म काठमाडौँ हिँडे ।
परीक्षा नदिई काठमाडौँ काठमाडौंमा अपांगलाई निःशुल्क कम्प्युटर तालिम खुलेको छ भनेर काठमाडौंमा बस्ने दिदी भिनाजुले खबर गरे । खबर थाहा पाएपछिे मन थामिएन । जसरी हुन्छ– काठमाडौँ जाने मैले अडान लिएँ । काठमाडौँ कहाँ हो, कस्तो छ ? कति दुःख पाइन्छ ? मैले केही सोचिनँ । दुःख जहाँ पनि छ, योसँग जुध्न मैले आफूलाई बनाउनैपर्छ भन्ने मलाई थाहा थियो । कि त गर्छु कि त मर्छु भनेर पढिरहेको कलेज र नजिकिँदै गरेको १२ को परीक्षा छाडेर म काठमाडौँ हिँडे । ललितपुरको सानेपामा रहेको अन्धा अपांग सीप विकास तालिमकेन्द्रमा मैले कम्प्युटर कक्षा भर्ना गरेँ । हामीलाई त्यहीँ बस्ने सुविधा थियो । पहिलो दिन मलाई कम्प्युटर छुन निकै डर लागिरहेको थियो । छुन खोज्छु थर्रररररर्र हात काप्छन् । किबोर्डमा बलेका बत्ती देख्दा करेन्ट लागेर मरिएला कि झैँ लाग्थ्यो । कम्तीमा पनि १० पटक सोचेरमात्र मैले किबोर्डमा हात हालेकी थिएँ । ओहो मैले कम्प्युटर छुन पाएँ भनेर त्यस दिन म असाध्यै खुसी भएँ । हामी कम्प्युटर सिक्न बस्ने घर त्यति राम्रो थिएन । काँचा इँटाले बारेको घर थियो । न खानेपानी व्यवस्था न त राम्रो शौचालय । पकाएर खान पनि धौ–धौ । बाहिर गएर खान पनि खुड्किला नै खुड्किला चढेर जानुपर्ने । एक त म तराईबाट आएकी त्यहीमाथि अपांग । त्यस्ता बाटा म हिँड्नै जान्दिनथेँ । नयाँ ठाउँ, नयाँ वातावरण । समयमा खाना खान नपाउने, पानी पनि खान नपाउने हुँदा मलाई कहिल्यै थाहा नभएका व्यथाले च्याप्न थाले । ग्यास्ट्रिक, टन्सिल, रुघा, ज्वरो खै के–के पो एकै पटक । न घर जाने अवस्था थियो, न त त्यहीँ बस्न सक्ने । जेसुकै होस् ज्यानै मारेर म कम्प्युटर सिक्ने ठाउँमै बसिरहेँ । मेडिकलका औषधि खाएर म अलि सन्चो भएँ । औषधिभन्दा पनि मेरो लक्ष्य र सकारात्मक सोचले मलाई बचायो । मैले कम्प्युटर सिक्न छाडिनँ । राम्ररी कम्प्युटर सिकी तालिम केन्द्रबाट चाँडै निस्केर मलाई जागिर खोज्नु थियो । आर्थिक रूपमा सबल भएर आफूलाई प्रमाणित गर्नु थियो । हामी २५ जना कम्प्युटर सिक्थेउँ । अरूभन्दा अगाडि हुन म सधैँ मेहनत गर्थें । कक्षामा मात्र सिकेको भरमा अरूभन्दा अगाडि हुने सम्भावना कम थियो । मैले जुक्ति लगाएँ । कम्प्युटर सिकिसकेर सबै बाहिर निस्कन्थे । म भने भित्रै लुकेर बस्थेँ । सबै गएपछि पालेदाइले ताल्चा लगाएर हिँड्थे । अनि म रातभरि कम्प्युटर सिकेर अभ्यास गरेर बस्थेँ । भोक, निद्रा, बिरामी केही नभनी कैयौँ रात मैले नेपाली टाइपिङ खर्ररररररर्र सिकेँ ।
चर्का घाममा हामी दिनभरि मन्त्रालयअगाडि हप्तौँ धर्ना बस्थ्यौँ । जागिर नदिएसम्म धर्ना नछाड्ने अडान लियौँ । अन्ततः मन्त्रीले हामीलाई स्वयम्भूको एउटा एनसिसिएन नामक कार्यालयमा काम लगाइदिए । जागिर त पाइयो तर पारिश्रमिक भने भात खान पनि पुग्दैनथ्यो । दिनको ३३ रुपैयाँ कमाउँथेँ । पैसा नभएपछि हामी छिँडीमुनिका चिसा न चिसा कोठा लिएर बस्थ्यौं । त्यहाँ न पानीको सुविधा हुन्थ्यो न उज्यालो देख्न पाइन्थ्यो । दैनिक ३३ रुपैयाँले काठमाडौंमा बिजोगबाहेक केही भएन ।
थेसिस टाइप गरेर मैले जीवनमा पहिलोपटक कमाइ एक हजार कमाएँ । एक हजारले अरू हजारौँ कमाउने सपना बुन्न थालँे । मजत्तिको त्यहाँ अरू थिएनन् । सिक्दासिक्दै मैले कम्प्युटर हार्डवेयरसम्बन्धी काम पनि आफैँ गर्न सक्ने भएँ । भोकभोकै काम गर्ने बानीले मेरो स्वास्थ्यस्थिति भने खस्कँदै गयो । सात वर्षसम्म मलाई ग्यास्ट्रिकले सतायो । ६ महिनाको कम्प्युटर कोर्स मैले तीन महिनामै सिकेर जागिरको खोजीमा म हिँडे । विभिन्न पत्रपत्रिका हेरेर जागिर खोज्ने मेरो दिनचर्या सुरु भयो । मलाई आफ्नो क्षमतामा यति विश्वास थियो कि मजत्तिको नेपाली टाइप गर्न सक्ने नेपालमै कोही नभएको म दाबी गरेरै भन्न सक्थेँ । तर, काम पाउन निकै गाह्रो भयो । कति ठाउँमा म काम खोज्न भौँतारिएँ । जहाँ गए पनि मानिसले मेरो शारीरिक बनोटसँग तुलना गरेर मेरो क्षमतालाई हेर्थे । कतिले त काम हेर्नुभन्दा पहिल्यै यस्तो अवस्थामा काम गर्न सक्नुहुन्न तपाईं भनेर फर्काइदिन्थे । कतै भने कामको तारिफ गर्थे । पछि बोलाउँला भनेर फेरि कहिल्यै पनि सम्पर्कमा आउँदैनथे । महिनौँ कामको खोजीमा काठमाडौँका गल्ली–गल्ली भौँतारिएँ । कतिले भने अनुहारजस्तै खुट्टा पनि भए त तपाईंलाई हामी मोडल बनाउँथ्यौँ भनेर मेरो अपांगतालाई गिज्याउँथे । आफूसँग जति नै क्षमता भए पनि शारीरिक रूपले आकर्षक नभई कसैले नपत्याउने ठाउँ रहेछ काठमाडौँ । नक्सालमा एउटा म्यागेजिन डिजाइन गर्ने काम पाएँ । त्यहाँ काम दिने मानिसको अनुहार र बानीबेहोरा दुवै जंगली स्वभावको थियो । कर्मचारी पनि केटीमात्रै राख्थ्यो । हामीलाई काममा दिनरात पेलाउँथ्यो । न काम गर्ने समयको निश्चित थियो न पारिश्रमिक नै दिन्थ्यो । त्यो व्यक्तिले त्यहाँ काम गर्ने अरू साथीलाई यौन दुव्र्यवहार गरेको गुनासो आइरहन्थ्यो । त्यस्तै नियतले होला उसले मलाई पनि प्रायःजसो साँझ र छुट्टीको दिनमात्रै काम गर्न बोलाइरहन्थ्यो । त्यस्तो ठाउँमा महिनौँ काम गरेको पारिश्रमिकको माया मारेर मैले काम छाडिदिएँ । काम नपाएर महिनौँको घरभाडा तिर्न सकेनौँ । जागिर खाने, बस्ने केही ठेगान थिएन । त्यतिखेरका भौतिक निर्माण तथा यातायातमन्त्री भरतमोहन अधिकारीसँग हाम्रो सामान्य चिनजान थियो । अपांग महासंघ खुलिसकेको हामीलाई थाहा थियो । दैनिक सिंहदरबार धाएर मन्त्री अधिकारीसँग जागिर माग्ने हाम्रो दिनचर्या बन्न थाल्यो । चर्का घाममा हामी दिनभरि मन्त्रालयअगाडि हप्तौँ धर्ना बस्थ्यौँ । जागिर नदिएसम्म धर्ना नछाड्ने अडान लियौँ । अन्ततः मन्त्रीले हामीलाई स्वयम्भूको एउटा एनसिसिएन नामक कार्यालयमा काम लगाइदिए । जागिर त पाइयो तर पारिश्रमिक भने भात खान पनि पुग्दैनथ्यो । दिनको ३३ रुपैयाँ कमाउँथेँ । पैसा नभएपछि हामी छिँडीमुनिका चिसा न चिसा कोठा लिएर बस्थ्यौं । त्यहाँ न पानीको सुविधा हुन्थ्यो न उज्यालो देख्न पाइन्थ्यो । दैनिक ३३ रुपैयाँले काठमाडौंमा बिजोगबाहेक केही भएन । आन्दोलनका कष्टकर दिनहरू कसै गरेर पनि जीवन सहज भएन । हामीले बेरोजगारी आन्दोलन गर्ने योजना बनायौँ । जागिर छाडी ५५ सालतिर बेरोजगारीहरू एकजुट भएर सहरका गल्ली–गल्ली चहार्दै आन्दोलन खर्चका लागि चन्दा उठाउन थाल्यौँ । सरकार जागिर देऊ भन्दै आन्दोलन सुरु भयो । आन्दोलनक्रममा प्रहरीले कुट्थे । कति दिन त जेलमै लगेर हाल्थे । अपांगलाई के जागिर, घरमा थन्केर बस भन्दै गाली गर्थे । हामी डराएनौँ । अधिकारको लडाइँ हामीले निरन्तर जारी राख्यौँ । बीचमा निःशुल्क पढ्न देऊ भनेर लामो आन्दोलन गर्यौँ । अपांग महिलामाथि हुने दुव्र्यवहार त्यस्तै, अपांगका लागि बजेट छुट्याऊ, हाम्रा आन्दोलनका नारा हुन्थे । अपांगका आन्दोलनमा पनि विभेद सिर्जना भएको मलाई सम्झना छ । पुरुष अपांग अघि बढ्न पाउँथे, हामी महिलालाई पछाडि धकेल्थे । बोल्न जाने पनि नजाने पनि भाषण भने पुरुषहरूले नै गर्थे हामीलाई दिँदैनथे । कतिपय ठाउँमा निःशुल्क तालिम सञ्चालन हुन्थे । संस्थाको प्रतिनिधि नभई यस्ता तालिममा हामीलाई अवसर दिँदनथे । आन्दोलनक्रममा धेरै महिला साथी यौन हिंसामा पर्थे । कति साथीलाई आफ्नै सहकर्मीले बलात्कार गर्ने घटनासमेत घट्न थाले । हाम्रा लागि आन्दोनको वातावरण सुरक्षित हुन सकेन । आन्दोलन छाडेर मैले अपांग महिलाका हक–हितका लागि अपांगका काम गर्ने अपांग महिला संघ स्थापना गरेँ । काम सजिलो थिएन । विधान बनाउन, दर्ता गर्न पैसा चाहिन्थ्यो । हामीसँग पैसा थिएन । चन्दा उठाएर संस्था खडा गरेँ । जागिर छाडेर म संस्था दह्रो बनाउनतर्फ लागेँ । भोको पेट बसेर भए पनि मैले संस्था ढल्न दिइनँ । पेट भोको भए पनि म आफ्नो कामले सन्तुष्ट थिएँ । कमसेकम म बेसाहरा अपांग महिलाका हक–हितका लागि काम गर्न सक्ने त भएकी थिएँ नि संस्था दह्रो हुँदै गएपछि यसैक्रममा काठमाडौँको कपनमा मैले महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा अपांग महिला पुनःस्थापना केन्द्र पनि सञ्चालन गरेँ । घरबाट निकालिएका, हिंसामा परेका बेसाहरा महिला मकहाँ आउँथे । उनीहरूलाई आफैँले कमाएर, पकाएर खुवाउन म भ्याउँथेँ । सार्वजनिक स्थानमा साँस्कृतिक कार्यक्रम, देउसीभैलो र चन्दा हाम्रो आर्थिक स्रोत हुन्थे । त्यहाँबाट उठेको पैसाले साँझ–बिहानको छाक टार्न पनि धौ–धौ हुन्थ्यो । पाँच वर्ष त मैले पुनःस्थापना केन्द्र बिजोगले चलाएँ । पछि ओरेक, टेवाजस्ता सामाजिक संस्थाको सहयोग र सरकारको थप सहयोगमा संस्था दह्रो भयो । पछि त्यसै संस्थाबाट महिलाले निःशुल्क पढ्न पाउने, रोजगारीलगायतका अवसर पाए । संस्था बलियो हुँदै गयो । अहिले पनि सञ्चालनमा छ । सबैले सोध्छन्– विवाह गर्ने बेला भएन ? विवाह गर्दै गर्दिनँ भनेर मैले कुनै अडान त लिएको होइन । गर्छु नै भनेर ढोल पिटेर हिँड्ने कुरा पनि त होइन विवाह । विवाह गर्ने रहर र सपना सजाउने उमेरमा त मैले आफूलाई दह्रो बनाउने संघर्षमा लागेँ । विवाहका लागि मैले रोजेको बर पाएमात्रै विवाह गर्छु भनेर सोचेकी छु । विवाह भनेको घरपरिवार र समाजको मुख टाल्ने विषयमात्र पनि त होइन नि । यसमा आफ्नो राजी र इच्छा हुन आवश्यक हुन्छ । नेपालमा महिलाले विवाह गर्ने भनेको गृहिणी हुने, श्रीमान्, सासूससुरा र छोराछोरीको सेवा र रेखदेख गर्नका लागि मात्रै गर्ने हो भन्ने गलत सोच छ । अपांग महिलाले ती जिम्मेवारी पूरा गर्न सक्तिनन् भन्छन् । किनकि अपांग महिला शारीरिक हिसाबले कमजोर हुन्छन् । शरीर कमजोर भएकी महिलाको मानसिकता पनि कमजोर हुन्छ भन्ने उनीहरू सोच्छन् । अपांग महिलाले पनि विवाह गर्नुपर्छ भन्नेतर्फ त कसैको ध्यान जाँदै जाँदैन । मैले त आफूलाई कोभन्दा कम छु र भन्ने सोच्छु । आज म सक्षम भएकी छु । कतिले मेरो क्षमतालाई मात्रै हेरेर विवाहका प्रस्ताव राख्छन् तर मैले आफ्नो लक्ष्यबाहेक अरू कतै ध्यान दिन सकिनँ । विवाह गरेपछि घर–व्यवहारमै अल्झिन्छन् मानिस । तर, अपांगता भएका महिलाले पनि विवाह गर्न पाउनुपर्छ, उसको जन्मसिद्ध अधिकार हो । यसलाई राष्ट्रिय मुद्दा बनाएर हामीले वकालत गर्न आवश्यक छ । मन मिल्ने कोही पाएमा म पनि विवाह अवश्य गर्ने छु । अपांगता भएका महिलालाई मेरो अनुरोध अपांग भएर जन्मनु वा हुनुमा कुनै पनि व्यक्तिको दोष हुँदैन । जीवन हो, समस्या सबैलाई हुन्छन् । फरक यतिमात्र हो कि कसैका देखिन्छन् कसैका देखिँदैनन् । त्यसैले सर्वप्रथम त हामी आफूले आफूलाई स्वीकार्नुपर्छ । आफूलाई स्वीकार्न नसक्ने मानिसले जीवनमा केही गर्न सक्दैनन्, चाहे त्यो अपांग होस् या सद्दे । म अपांग छु भनेर कसले मलाई के भन्लान् भनेर जब मानिस आफैँमा केन्द्रित हुन्छ, त्यसले हामीलाई खान्छ, सिध्याउँछ । हामी महिला अरूका मनोरजञ्नका विषय होइनौँ । हामी पनि केही उदाहणीय काम गरेर देखाउने क्षमता छ । अपांग हुँदैमा के भो त हामीमा अरू क्षमता लुकेका पनि हुन सक्छन् । त्यसलाई निखार्न हामीले संघर्ष गर्ने हो भने सफलता सम्भव छ । आफूलाई स्वीकारिएन भने कमजोर भइन्छ । जहिले पनि आफूलाई आफूभन्दा कमजोरसँग तुलना गरेर हेर्नुपर्छ अनि मात्र हामी सफलताको सिँढी चढ्न सक्छौँ । झमक घिमिरेलाई हेरेर मैले पनि धेरै सिकेकी छु । उहाँलाई देख्दा म आफूलाई त केही नै भएको छैन जस्तो लाग्छ । खोच्याएर के भो, म हिँड्न सक्छु, बोल्न, सुन्न जे पनि गर्न सक्छु । मलाई केही भएकै छैन भनेर मैले टुंगो लगाएकी छु । न त झमक दिदीलाई नै केही भएको छ । केही भएको भए त आज उहाँ यति सफल नै हुन सक्नुहुन्थेन नि । सबै मानिसका हेर्ने नजरका मात्र दोष हुन् । आफूलाई खुम्च्याएर बस्नुहुँदैन । आफूलाई स्वीकारेर केही गर्न सुरु गर्नुपर्छ । आफ्नो पहिचान आफैँ बनाउनुपर्छ । परिवारको इज्जत जान्छ भनेर बाहिर ननिस्कने, भेदभाव सहने गर्नु आफैँलाई बर्बाद गर्नु हो । क्रान्ति आफैँबाट सुरु गरौँ । जित अवश्य हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण