शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एमाले स्थायी कमिटी : विभागमा मनोनयन हुन सकेन

बुधबार, १७ चैत २०७२, १२ : ४८
बुधबार, १७ चैत २०७२
काठमाडौँ - नेकपा (एमाले) को स्थायी कमिटीको आजको ३५ औँ बैठकमा पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय हुन सकेन । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बसेको बैठकमा सो कार्यसूचीमाथि मङ्गलबारको स्थायी कमिटीको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले रातिसम्म लगाएर गरेको गृहकार्यसहितको प्रस्तावमा प्रस्तुत भए पनि निर्णय हुन सकेन । विभागका सदस्य चयन गर्दा सबै पक्षसँग परामर्श अपुग भएको भन्दै आलोचना भएपछि निर्णय हुन नसकेको हो । प्रधानमन्त्री ओली चितवनको कार्यक्रममा जानुपर्ने भएकाले बैठक लम्बिने भएपछि ओलीले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गर्नुभएको केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । चीन भ्रमणबारे जानकारी बैठकमा चीन भ्रमणबारे उनले आफ्नो बैठकमा जानकारी गराएका थिए । भने भ्रमण ऐतिहासिक भएको ठहर गरिएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा दुई देशबीच यातायात तथा पारवहन सम्झौतालगायतका सम्झौता भएको र भ्रमण समग्रमा सफल रहेको बताएका छन् । प्रधानमन्त्री ओली यही चैत ७ देखि १४ सम्म छिमेकी चीनको औपचारिक भ्रमणमा गएका थिए । चीनले देखाएको सत्कार र सद्भावका लागि बैठकले आभार पनि व्यक्त गरेको छ । गत फागुन २३ र २४ गते सम्पन्न स्थायी कमिटीको ३४ औँ बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे समीक्षा भएको थियो । नवौँ महाधिवेशनयता मनोनयन हुन नसकेका ती पदमा यही चैतको अन्तिम साता हुने केन्द्रीय कमिटीको बैठकअगावै निर्णयमा पुग्ने तयारी भएको बुझिएको छ । पोलिटब्युरोको बैठक यही चैत २३ र २४ गते तथा केन्द्रीय कमिटीको बैठक चैत २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप