शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भोलिदेखि एसएलसी : शिक्षामन्त्रीको ६ बुँदे अपिल (पूर्णपाठ)

बुधबार, १७ चैत २०७२, १६ : १६
बुधबार, १७ चैत २०७२

एसएलसी परिक्षा- २०७२को सन्दर्भमा सार्वजनिक अपिल

१. नेपालको विद्यालय शिक्षामा गौरवशाली इतिहास बोकेको एसएलसी परिक्षा वि.सं. २०७२ सम्म आइपुग्दा ८३औं वर्षमा प्रवेश गरेको छ । एसएलसी परीक्षाले हरेक वर्ष खुट्किलो चढ्दै गर्दा विद्यालय शिक्षाको उत्तरार्धमा रहेका विद्यार्थी एवम् उनीहरुका अभिभावकमा उत्साह पैदा गर्ने गरेको छ । राष्ट्रिय रुपमा शिक्षाप्रेमी एवम् बिध्दिजीविहरुमा शैक्षिक विकास सम्बन्धमा प्राज्ञिक बहस गर्ने अवसर हुने गरेको छ । सर्वप्रथम त: भोलि (२०७२ साल चैत १८ गते बिहीबार) देखि सञ्चालन हुने एसएलसी परीक्षामा सामेल हुनुहुने सम्पूर्ण परीक्षार्थी भाईवहिनीहरुमा पूर्ण सफलताको कामना गर्दछु ।

२. यसै वर्ष मुलुकमा आइपरेको प्राकृतिक विपत्ति तथा तराइमधेसमा उत्पन्न असहज परिस्थितिका कारण एसएलसी परीक्षा तयारी तथा नियमित पठनपाठनमा पुग्न गएको क्षतिलाई ध्यानमा राखी SLC तयारीको लागि शिक्षा मन्त्रालयले मातहतकाका निकायहरुलाई परिचालन गरी वैकल्पिक शिक्षण कार्यक्रम सञ्चालनद्वारा आपुरण गर्ने व्यवस्था मिलाएको कुरा विदितै छ । यस परिस्थितीमा विविध मेहनतकासाथ अतिरिक्त ढंगबाट शिक्षण सिकाई कार्यलाई अगाडि बढाएर छोटो समयमा नै कोर्ष पूरा गराई नियमित कार्यतालिका बमोजिम नै परिक्षा सञ्चालनको वातावरण बनाइएको छ । यसमा सहयोग पुर्याउने सबै विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समितीका सदस्यहरु, अभिभावक, पत्रकार र शिक्षासँग सम्बन्धित सबै पक्षप्रति हार्दिक आभार ब्यक्त गर्दछु । ३. हाम्रो सार्वजनिक परीक्षा प्रणालीमा एकैचोटी सबैभन्दा धेरै परीक्षार्थीहरु सामेल हुने, शहरदेखि गाउँसम्म, हिमालदेखि तराइमधेससम्म एकनासले परीक्षा सुचारु हुने र परीक्षा सञ्चालन तथा व्यवस्थापनमा उल्लेख्य जनशक्ति परिचालन हुने भएकाले यो राष्ट्रिय चासो र चुनौतिको पनि विषय हो । राष्ट्रिय महत्वको काम हो । यस कामलाई चुस्त र प्रभावकारी बनाउन यो वर्ष ७२,८९६ जनशक्ति परिचालित छ । ४. परिक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि मुलुकभरका ७५वटै जिल्लाहरु समिटिने गरि तोकिएका जिल्लाहरुमा १८वटा समुह (Clusters) बनाई शिक्षा मन्त्रालयबाट सहसचिवहरुलाई परिक्षा अनुगमनकालागि खटाईएको छ । साथै परिक्षा नियन्त्रण कार्यलय, क्षेत्रिय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यलयहरुबाट समेत अनुगमनको व्यवस्था मिलाइएको छ । ५. विगतमा एसएलसी नतिजा प्रकाशनले पासफेल घोषणा गरी परीक्षार्थीहरुमा मनोबैज्ञानिक त्रास सिर्जना गर्ने गरेको र परीक्षा तथा मुल्याङ्कन प्रणालीमा राष्ट्रिय र अन्तराष्ट्रिय परिवेश अनुरुप समसामयिक सुधार हुनुपर्ने बहस हुदै आएको सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको निर्णयअनुसार यस वर्षको एसएलसी परीक्षामा विगत वर्षदेखि प्रयोग हुदै आएको अंकमा आधारित नतिजा प्रकाशनको सट्टा अक्षराङ्कन पद्दतिमा आधारित नतिजा प्रकाशन तथा प्रमाणिकरणको व्यवस्था मिलाइएको छ । यस अक्षराङ्कन पद्दतिले परीक्षार्थीहरुको सक्षमतालाई उपयुक्त ढङ्गले मूल्याङ्कन गरी थप अध्ययन गर्ने अवसरलाई अझ फराकिलो बनाउने छ । यस पद्दतिको प्रयोगबाट परिक्षार्थीहरुको परीक्षा तयारी तथा सक्षमता प्रदशनमा थप उर्जा थप्ने विश्वास लिएको छु ।

अहिले अक्षराङ्कन पद्दतिमा आधारित नतिजा प्रकाशन तथा प्रमाणिकरणको विषयलाइ लिएर केही टिकाटिप्पणीहरु बाहिर आएका छन । परिक्षार्थी भाईवहिनीहरुमा यसै विषयलाई लिएर द्वविधा उत्पन्न भएको भन्ने खवरबाट दुखित छु । हामीले २०७२ मंसिर २३ को निर्णयबाट एसएलसी परिक्षाको नतिजा अक्षराङ्कन पद्दतिमा गर्ने व्यवस्था मिलाएका हौ । यस पश्चात भएका प्रवोधिकरण, छलफलका दौरानमा आम सरोकारवालाहरुबाट प्राप्त सुझाव र गुनासोलाई संबोधन गर्न, थप स्पस्ट गर्न र एकरुपता कायम गर्न चैत्र ६ मा ग्रेड सिटमा स्तरीकृत अङ्क (GPA) राख्ने, समग्र ग्रेड नराख्ने लगायतका पुरक निर्णय भएको छ । प्रशिक्षार्थीले प्राप्त गर्ने ग्रेडसिटमा विषय, सो विषयमा प्राप्त गरेको ग्रेड, ग्रेड प्वाईन्ट र सम्पूर्ण विषयमा प्राप्त गरेको स्तरिकृत अङ्क राखिने भएकोले आम शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक र बुध्दीजीवीलाई यो विषयमा कुनै द्वविधामा नपर्न अनुरोध गर्दछु ।

६. परिक्षा अवधिभर कुनै पनि प्रकारका बन्द हड्ताल (अवरोध) नगर्न, परिक्षार्थीहरुको सहज आवागमनमा सहयोग पुर्याउन र विद्यालय वरिपरी अनावश्यक भिडभाड नगरिदिनु हुन सम्बन्धित पक्षलाई अनुरोध गर्दछु । साथै परिक्षालाई थप मर्यादित र व्यवस्थित बनाउन आ-आफ्नो ठाउँबाट आवश्यक भुमिका निर्वाह गरिदिनु हुन म सम्पूर्ण शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, व्यवस्थापन समितीका सदस्यहरु, अभिभावक, कर्मचारी, सुरक्षाकर्मी, बुध्दिजीवि, समाजसेवी, राजनीतिक कार्यकर्ता र पत्रकारहरुसँग अनुरोध गर्दछु ।

धन्यबाद !

........................... गिरिराजमणिपोखरेल शिक्षा मन्त्री नेपाल सरकार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप